उज्यालो अनुहार, कलकलाउँदो उमेर मानौं खप्तडको हरियो र शान्त फाँट जस्तो संसारको खुसी ती युवकको आँखाबाट झल्किँदै थियो। घरिघरि पुलुक्क पुलुक्क मेरो अनुहारमा हेर्दै अलिक डराएको भावमा सोध्यो-हजुर नेपाली हो?
मैले टाउको हल्लाएँ।
हुनत लखनऊमा नेपाली देखिनु कुनै अनौठो कुरा होइन, सुदूरपश्चिम र कर्णाली प्रदेशका मानिस सर्लक्कै औषधि उपचार र व्यापार-व्यवसायको लागि लखनऊसम्म सजिलै पुग्छन्।
हामी बस्ने होटल सानो तिनो पाँचतारे जस्तै सुविधा सम्पन्न थियो।
त्यस होटलमा पाँच जना नेपाली काम गर्ने रै’छन् वेटरदेखि लेखापालसम्म। ती सबै मुश्किलले २० देखि ३० वर्षका देखिन्थे।
हाम्रो पाँच दिनको लखनऊ बसाइँ ती पाँच जना भाइहरूले निकै सहज बनाइदिएका थिए।
ती भाइहरू अछाम, डोटी र कञ्चनपुरका रहेछन्।
अछामका एक जना त हाम्रै जिम्मा लगाएका थिए। घुमाउनेदेखि किनमेलसम्म, हामी होटल प्रवेश गर्ने समयमा यिनै अछामका २१ वर्षे भाइ थिए।
बिहानको ब्रेक फास्टमा धेरै किसिमका खानाका परिकारहरू सजाएर राखिएका थिए। ती भाइ हाम्रै वरिपरि लुटुपुटु गर्थे, ‘मेम नेपालीहरूको टेस्टसँग मिल्ने छ चाख्नुस् त!’ हामी पनि खुसी खुसी चाख्थ्यौं। उनको निश्चल माया र सहयोगले नेपाल बाहिर रहेको पत्तै पाएनौं।
२०६५ सालतिरको कुरा हो, कामको सिलसिलामा हामी छ जनाको टोली गोरखपुर हुँदै बम्बई पुगेका थियौं। बसाइँको व्यवस्था दाँदरमा गरिएको थियो भने काम गर्ने ठाउँ गोरगाउँ।
पहिलोपटक हामी त्यहाँ पुगेका थियौं। जुन हाम्रो लागि बिल्कुलै नौलो थियो। ती खचाखच भरिएका डब्बामा दुई जना पुरूषले हामी चार जना महिलाहरूको अस्तित्व जोगाउन हम्मे परेको थियो। त्यो अन्जान सहरमा केही अन्जान युवाहरूले हामीलाई बचाएका थिए- ती नेपाली थिए।
उनीहरूले नै महिलाहरू ट्राभल गर्ने छुट्टै डब्बा हुने कुरा बताएपछि हामीलाई अर्को दिनदेखिको यात्रा सहज भयो।
हाम्रो लगभग १५ दिनको बसाइँमा हरदिन हर समय कुनै न कुनै रूपमा नेपालीहरूसँग भेट र सहयोग पनि उत्तिकै थियो। ती सहयोगहरू सायद अरू देशहरूमा पनि पाए होलान् कतिले।
माथि उल्लेख गरेका कुरा त देश बाहिरका भए देशभित्र पनि म लगायत कति धेरै संख्याका मानिसहरू सरकारी तथा गैरसरकारी संस्थाहरूमा काम गरेर आफ्नो जीविकोपार्जन गर्थ्यौं र छौं पनि जसलाई सुदूरपश्चिमले पालेको थियो र छ पनि सुदूरपश्चिमका समुदायको नाममा।
अहिले सुदूरपश्चिमलाई हाम्रो खाँचो छ तर हामी जान सक्ने अवस्था छैन तर हामी जान नसके पनि सुदूरपश्चिमलाई उच्च मनोबलका साथ एकजुट भई कोरोनालाई परास्त गर्ने शक्ति मिलोस् भन्ने कामना छ।
मलाई विश्वास छ, राज्यले जस्तो अवस्थामा पनि आफ्नो नागरिकहरूको बीच विभेद गर्दैन। यस्तो परिस्थितिमा कसैलाई दोष दिने र गाली बेइज्जती गर्ने समय छैन। कसरी सकिन्छ विषम परिस्थितिमा एकले अर्कालाई जे सकिन्छ त्यो सहयोग गर्ने हो। कोठामा बसेर नि सकारात्मक ऊर्जा प्रवाह गर्नु आजको आवश्यकता हो।
हाम्रो एउटा सानो सन्देशले सिंगो समुदायलाई सचेत हुन सिकाउँछ। म कोठामा बसेर पनि सुदूरपश्चिमका धेरै गाउँपालिका, नगरपालिकाको सूचनाहरू साथीमार्फत्, संसद र सञ्चारकर्मीहरूमार्फत् छलफल गर्ने गरेकी छु। जसले मलाई सुदूपश्चिम अझ नजिक बनाएको छ।
सीमापारि बस्नु भएका सम्पूर्ण सुदूरपश्चिमवासीहरूमा म एक शुभचिन्तकको नाताले यस परिस्थितिसँग सामना गर्ने शक्ति मिलोस् भन्ने कामना गर्न चाहन्छु।
सीमापारि तपाईंहरू जति दुःखी हुनुहुन्छ हामी पनि त्यति नै दुःखी छौं। हामीले चाहेर पनि केही गर्ने सक्ने अवस्था छैन।
जति सक्दो चाँडो आफ्नो भूमिमा आफ्ना नागरिकहरूलाई आउनको लागि सहज वातावरण बनाउन सरकारलाई आम नागरिकको हैसियतले अनुरोध गर्दछु।
तपाईंहरूको चिच्याहटले मेरो अन्तर्मनलाई छोएको छ। सयौं परिकार खुवाएका मुखहरूमा पानी परेको छ कि छैन?
अस्तित्व नै लुट्नबाट बचाएका शरीरमा सिटामोल पर्यो कि परेन?
छानी-छानी कपडा रोजाएका शरीर खुला आकाशमुनि पो छन् कि?
मेरो मुखमा पर्ने हरेक गाँस र सम्झनाहरूमा जसले हामीलाई सहयोग गरेको थियो ती अनुहारहरू नाचिरहेका छन्। सायद आज तपाईंहरूसँगै अलग्गै बसेर आफ्नो समस्याहरू साटासाट गर्न पाएको भए... एक अर्काको दुरी कायम गर्न पाएको भए..., कञ्चनपुर र धनगढीका सबै विद्यालय र होटलहरूमा तपाईंहरूलाई क्वारेन्टाइनमा राख्न पाएको भए... यो भयावह स्थितिको सामना गर्नुपर्ने थिएन।
कतिपय हाम्रै कमजोरीको कारण पनि तपाईंहरू सीमापारि बस्नु पर्ने सजाय काट्नु पर्यो। सीमापारिबाट आएका धेरै जना आफ्नो अनुशासनमा बसेनन् जसले पूरै समुदाय त्रसित छन् र यो कोरोनाभाइरस दोस्रो चरणमा प्रवेश सुदूरपश्चिमबाट नै गर्यो।
सबभन्दा ठूलो हतियार कोरोनालाई परास्त गर्ने आत्मविश्वास हो। यसलाई रत्तिभर पनि डगमगाउनु दिनु हुँदैन। यसलाई पखाली पखाली महाकाली नदीमा सेलाउनु पर्छ। कोरोना संक्रमणमा कसैको दोष छैन। तर हामीले न्यूनतम आचारसंहिता भने पालना गर्नुपर्ने हुन्छ।
थोरै संयमता र धेरै धैर्यता अपनाऔं यस परिस्थितिलाई सामना गर्न सरकार अझ धेरै जवाफदेही बनौं, प्रत्येक नागरिकले आफ्नो कर्तव्य पालना गरौं र हामी घरभित्र बसेकाहरूले सकारात्मक कुराहरूमा जोड दिऔं।
हाम्रो लागि आफ्नो ज्यान खुकुरीको धारमा राखेर अहोरात्र खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, धेरैजसो जनप्रतिनिधिहरू र सञ्चारकर्मीहरूको रत्तिभर पनि मनोबल गिराउने खालका शब्दहरू प्रयोग नगरौं।
उहाँहरूमा अझ सुरक्षित साथ काम गर्ने जोस जाँगर मिलोस् हामी घरभित्र बस्नेहरूकोतर्फबाट शुभकामना।
तर म धेरै कुरा व्यक्तिगत तहबाट गर्न सक्ने कुरा पनि गर्न नसकेकोमा दुःखी छु। त्यसैले ‘मलाई माफ गरिदेऊ सुदूरपश्चिम’
(लेखक महिला अभियान्ता हुन्।)