एक साताअघि सेतोपाटीमा 'कोरोना: नेपालका सबल पक्ष' शीर्षकमा मेरो आलेख प्रकाशित भएको थियो। त्यसपछिको यो हप्तादिनको अवधिमा कतैकतै नयाँ खालका असहज कुराहरु देखा परेकाले थप विषयवस्तु सहितका थप आधारहरुलाई बुँदामा नै प्रस्तुत गरिएको छ:
१) अहिलेको हाम्रो अवस्था: विकसित देशबाट प्लेन चढेर आउनेहरुले भित्र्याएको कोरोना भाइरस अहिले सिमित घेरामा साँघुरिएको मात्रै नभएर लगभग अन्त्यतिर लाग्दै गरेको अनुमान छ। तर, लकडाउन सुरु भएपछि भारतबाट घर फर्किएकाको भीडमा आएको भाइरस एकाध ठाउँमा त स्थानीय नागरिकमा सरिसकेको समेत पुष्टि भएको छ।
उसैपनि उक्त भीडमा आउनेहरु जोखिममा त छँदैछन्, तिनीहरुले विभिन्न जिल्लाका गाउँगाउँमा सार्ने जोखिम पनि छ। त्यो बाहेक हालैका सयौँ बिरामीहरुमा कोरोनासँग मिल्दोजुल्दो लक्षण मिलेको पाइएकाले खकार परिक्षण भइरहेको बताइएको छ भने तिनमा कोरोना देखिने संभावना न्युन छ।
प्रधानमन्त्रीले यिनै घटनालाई आधार मानेर नेपाल कोरोना महामारीको दोश्रो चरणमा प्रवेश गरेको घोषणा गर्दै आगामी १४ दिन नेपालको लागि महत्वपूर्ण हुने कुरा बताएका छन्।
लकडाउन सुरु भएपछि भारतबाट एक्कासी घर फर्किएका नेपालीहरुको भीडलाई तोकिएको समयसम्म सीमामा नै क्वारेन्टाइनमा राखेर व्यवस्थापन गर्न नसकिएको कमजोरीलाई एकछिन बिर्सिने हो भने त्यसपछि हालसम्म सुरक्षाकर्मीहरु र तीनै तहका सरकारले महामारी विरुद्ध गरिरहेको प्रयास र त्यसमा प्राप्त जनसहयोग प्रशंसा योग्य छ।
अबको दश/बाह्र दिनमा थप संक्रमित नभेटिएमा स्थिति राम्रैसँग काबुमा रहेको अनुभूति हुन्छ। साथै कोरोना जस्तो महामारी विरुद्ध अपेक्षाकृत सहज ढंगले बिजय हासिल गर्ने आधारहरु बन्दै गएको अनुभूति हुनेछ।
२) रोग प्रतिरोधात्मक क्षमता र रगतमा एन्टिबडीको अवस्था सम्बन्धमा नेपाल: विभिन्न रोगहरुको सम्बन्धमा नेपालीको सबैभन्दा सबल पक्ष भनेको घनिभूत रुपमा रोग प्रतिरोधात्मक क्षमता हुनु हो। स्थानीय नेपालीहरुको रोग प्रतिरोधात्मक क्षमता विश्वमा नै अब्बल हुनुको कारणहरु छन्। यस सम्बन्धमा निम्न तथ्यहरु महत्वपूर्ण देखिन्छन्:
क) प्रकृतिले सबै जीवजन्तु र बनस्पतिलाई आइपर्ने सबै रोगसँग लड्ने क्षमता दिएको हुन्छ। हामी जन्मिँदा प्रकृतिले रोग लाग्दा कुनै डाक्टर हुन्छन् भनेर हाम्रो शरीर बनाएको हुँदैन। जेजस्तो रोग लागेपनि त्यो बिरुद्ध आफैँ लड्ने गरी शरीर बनेको हुन्छ। आइपर्ने सबै रोगको औषधी शरीरले नै बनाउँछ, तिनै औषधीहरु नै एन्टिबडी हुन्।
ख) शरीरमा जब हानीकारक बाह्य चिज वा एककोषीय खराब जीव प्रवेश गर्छ र शरीरको कुनै कोषलाई अनुचित रुपमा नियन्त्रण गर्न वा हानी गर्न थाल्छ, त्यो बेलामा हाम्रो शरीरले त्यसको प्रतिरोध गरेको हुन्छ। शरीरले आइलागेका सबै रोगका एन्टिबडी बनाउँदै हामीलाई बचाउँदै गरेको हुन्छ।
ग) अभ्यासले पोख्त बनाउँछ भन्ने भनाई पनि छ। शरीरले नयाँनयाँ बिमार चिन्दै, त्यस्ता बिमारीका एन्टिबडी सिर्जना गर्दै जाने काममा पूर्णरुपमा अभ्यस्त हुनको लागि विभिन्न बिमारहरु फैलिइरहने ठाउँमा बसिएको हुनुपर्छ। शरीरमा एन्टिबडीहरु निर्माण गर्ने यस्तो क्षमता केही हदसम्म जिनसँगै सरेर अर्को पुस्तामा समेत हस्तान्तरण हुनसक्छ।
घ) रगतमा कुनै रोगको एन्टिबडी पर्याप्त मात्रामा मौजुद रहेको अवस्थामा त्यस रोगका जिवाणुले शरीरमा आक्रमण समेत गर्न सक्दैनन्। तर, रगतमा कम मात्रामा वा नजानिँदो मात्रामा मात्र एन्टिबडी रहेको रोगका जीवाणुले आक्रमण त गर्न सक्छन्, तर केही संघर्षपछि शरीरले रोगलाई पराजित गर्छ।
रगतमा एन्टिबडी नै नभएको प्रकारको रोगले आक्रमण गर्दा भने शरीरले समयमै बिमारी चिनेर सही समयमा सही एन्टिबडी सिर्जना गर्न सकेन भने, सो रोगले सिकिस्त पार्न सक्छ र उस्तै परे मार्न पनि सक्छ।
ङ) एन्टिबडी भनेको कुनै खास रोगको बिरुद्धमा लड्ने क्षमता हो। एउटा रोग विरुद्धको एन्टिबडीले अर्को रोगमा काम गर्दैन भने कोरोना नेपालीको शरीरको लागि अपरिचित बिमार भएकाले त्यसको बिरुद्धमा नेपाली रगतमा कसरी रेडिमेड एन्टिबडी होला भन्ने प्रश्न उठ्न सक्छ। त्यो सत्य त हो तर त्यसबाहेक अरु महत्वपूर्ण कुरा पनि छन्।
मौसम बदलिँदा समेतगरी नेपालीहरु वर्षको दुई पटक वा बढी पटक अनेकौँ फ्लूसँग जुध्ने गर्छन्। त्यसरी अनेकौँ प्रकारका फ्लूहरुसँग जुधिरहँदा बनेका एन्टिबडीहरुको संमिश्रण ब्रोडस्पेक्ट्रोम प्रकारका औषधीजस्तै नयाँ फ्लूमा पनि उपयोगी हुनसक्छ।
च) नयाँ रोग आएमा शरीरले तत्काल त्यसलाई चिन्न र औषधी बनाउन गाह्रो पर्ने हुनाले शरीरले ढिलो मात्र एन्टिबडी बनाउन सक्छ। कोरोनाको बिमारमा बिरामीको शरीरले सामान्यतया तीन/चार दिनमा एन्टिबडीको बीउसम्म बनाउन भ्याएको हुन्छ भने त्यति बेलासम्ममा कतिपय व्यक्तिमा भाइरस धेरै फैलिसकेको हुन्छ।
त्यसैले, कोरोना भाइरसले बिरामीलाई सिकिस्त बनाउन वा मार्न समेत सक्ने क्षमता राखेको हो। बिरामीको शरीरमा पूर्ण रुपमा कोरोनाको एन्टिबडी बनिसक्न झन्डै एक महिना नै लाग्ने बताइएको छ। अर्थात, सन्चो भएको पनि झण्डै दुई सातापछि सम्ममा मात्र रगतमा पूर्णरुपमा एन्टिबडी बनिसक्छ।
छ) समाचारअनुसार केही दिन अघि अमेरिकाको चिडियाखानामा एउटा बाघले सिँगान बगायो र खोक्यो। शंका लागेर चेक गर्दा त्यसमा कोरोना देखियो। लगत्तै अरु बाघ र सिंहहरुले खोके। उनीहरुमा पनि कोरोना भएको र चिडियाखानामा संक्रमित कर्मचारीबाट तिनीहरुमा कोरोना सरेको पुष्टि भयो।
हङकङमा एउटा अठार वर्षे बृद्ध कुकुरलाई कोरोना लाग्यो र मर्यो। यथार्थता यो होकी ती जनावरहरुलाई जंगलमा जस्तै बासीत्यासी वा रक्षानको सिनो खाने अभ्यास गराउँदै आएको भए त्यो हुँदैनथ्यो।
ज) चिडियाखानाका जनावरहरु र विकसित देशका नागरिकहरुको शरीरले बेलाबेलामा विभिन्न रोगका जीवाणु भेट्नै नपाउँदा एन्टिबडीहरु सिर्जना गर्ने अभ्यासको मौका नपाएको भनिएजस्तै फर्ममा पालेका ब्वाइलर कुखुराहरुमा पनि त्यही नियम लागू हुन्छ।
झ) शरीरले एन्टिबडी बनाउँदै जुध्नुपर्ने अवस्था आएमा एन्टिबडी बनाउँदै जाने र चाहिन छाडेपछि त्यस्तो एन्टिबडी क्रमश: हराउँदै जाने गर्छ। सामान्यतया विकसित देशमा जाने स्थानीय नेपालीहरुले तीनदेखि छ महिनाबाटै क्रमश: एन्टिबडी गुमाउँदै गएका हुन्छन्।
तर नेपाल फर्किएमा दुई/तीन महिनामा नै उनीहरुमा धेरैजसो एन्टिबडी हासिल भइसक्ने गरेको पाइएको छ। लगातार एक/डेढ वर्षभन्दा धेरै बसेर फर्किँएकाहरुमा तत्काल स्वासप्रस्वास वा आन्द्रा सम्बन्धि बिमारले छिट्टै छुने गरेको कारण पनि त्यही हो।
ञ) मौसमी भाइरल फ्लूको एन्टिबडी केही महिनामै हराउने प्रकृतिको हुन्छ। त्यसैले, मौसम बदलिनासाथ नेपालीहरुलाई पुन: रुघा लाग्ने र सञ्चो हुने गर्छ। टिटानसको खोप छ महिनालाई मात्र काम लाग्छ।
बिफर भने एक पटक सञ्चो भएपछि जीवनभर पुन: नफर्किने हुँदा मुलुकमा एकपटक चलाएको खोप अभियानले बिफर उन्मुलन गरेको थियो। यसर्थ, एन्टिबडीले काम गर्ने अवधी पनि रोग अनुसार फरकफरक हुन्छ।
ट) मौसमी फ्लू, बर्ड फ्लू र स्वाइन फ्लूजस्तै कोरोना पनि फ्लू भएकाले यसको खोप पत्ता लगाएपछि पनि एकपटक खोप लगाएर जिन्दगीभरलाई काम गर्ने सम्भावना देखिन्न। तर ठ्याक्कै सोही प्रकारको फ्लूको एन्टिबडी नभएर मिल्दोजुल्दो एन्टिबडीको बिउ मात्र रगतमा भएमा पनि शून्य एन्टिबडी भएको शरीरभन्दा बलियो हुने भएकाले पनि फ्लूको मामिलामा स्थानीय नेपाली बलिया छन् भन्न खोजिएको हो।
३) भाइरसको चिनारी:
क) भाइरस एककोषीय जीव भएकाले यसले अरु कुनै एउटा एककोषीय जीवसँग वा ठुला जीवजन्तुको एउटा कोषसँग मात्र व्यवहार गर्छ। भाइरसले आफ्नो आहारा अरुको कोषबाट लिन्छ। त्यस्तो कोषलाई होस्ट कोष भनिन्छ।
भाइरसको सन्तानवृद्धिको प्रकृया अरु जीवको भन्दा भिन्न तथा अत्यन्तै तीव्र हुने र वृद्धि भएका असंख्य सन्तानले अरु नयाँ कोष वा नयाँ जीवहरु खोज्दै तिनका नयाँ कोषलाई होस्ट कोष बनाउँदै फैलिने हुँदा भाइरसको पछि लागेर नियन्त्रण गर्न सजिलो हुँदैन। हरेक जीवाणु वा विषाणुहरुले शरीरको खास अंगको कोषलाई आक्रमण गरी होस्ट कोष बनाउने गर्छन।
ख) एककोषीय जीवहरुको दुनिया बिचित्रको छ। प्रोटोजोवा, भाइरस, ब्याक्टेरिया लगायतका अनेकौँ प्रकार र तिनका अनगिन्ति प्रजातीका एककोषीय असंख्य जीवहरुले घनिभूत रुपमा संसार ढाकेका हुन्छन् भने शरीरभित्र र आन्द्रा समेतमा उनीहरुको नियमित गतिविधि भइरहेका हुन्छन्। केही प्रकारका ब्याक्टेरियाहरु अत्यन्तै लाभदायक छन्। आन्द्रामा बसेर खाना पचाउँने, दूधको दही बनाउने, गुन्द्रुक वा अचार बनाउने आदि जस्ता राम्रा काम पनि ब्याक्टेरियाले नै गर्ने हुन्।
ग) एक ब्याक्टेरियाले अर्को प्रकारको ब्याक्टेरिया वा अन्य एककोषीय जीवलाई मार्ने गर्छन्। अर्थात भिन्न प्रकारका एककोषीय जीवहरु बीच निरन्तर लडाई चल्छ। त्यसबाट नै तिनीहरु बीच नियन्त्रण र सन्तुलन कायम हुन्छ। यदि त्यस्तो सन्तुलन खलबलिएमा कुनै एउटा एककोषीय जीवको एउटा प्रजातिले केही समय संसारै ढाक्न पुग्छ।
प्रायः यस्तो गुण भाइरसहरुमा हुन्छ। जस्तोकी अहिले कोभिड-१९ भइरहेको छ। एककोषीय जीवहरुमा सबै प्रकारका भाइरस हानिकारक नै हुने हुनाले भाइरसलाई विषाणु भनिएको हो।
घ) भाइरसहरु अरुभन्दा ज्यादै साना हुने र तिनीहरुले ब्याक्टेरिया वा बनस्पतिको कोष वा जीवजन्तुको कोषमा आक्रमण गरी त्यसैबाट आहार प्राप्त गर्दै र तिनीहरुलाई रोगी बनाउँदै आफ्नो जीवनचक्र चलाउँछन्। हाम्रो शरीर पनि जीवित एकएक कोषबाट बनेको हुनेहुँदा एउटा भाइरसले हाम्रो शरीरको कुनै एउटा कोषमा मात्रै आक्रमण गर्न सक्छ।
भाइरसहरुको संख्या वृद्धिसँगै तिनीहरुले एकएक कोष गर्दै शरीरको कुनै खास अंगमा संक्रमण फैलाउँछन्। त्यसरी संक्रमण फैलिएपछि मात्र हामी बिमारी हुन्छौँ। भाइरस साना हुने हुनाले एउटै ब्याक्टेरियामा वा शरीरको एउटै कोषमा एकै पटकमा धेरैवटा भाइरसले समेत गतिविधि गरिरहेका हुन्छन्।
ङ) हरेक एककोषीय जीवहरुको स्वभाव फरकफरक हुन्छ। कतिपय ब्याक्टेरिया आन्द्रामा मात्र बाँच्छन्। सामान्य फ्लूदेखि स्वाइन फ्लू, वर्ड फ्लू, कोरोना आदि फ्लू सम्बन्धी भाइरसहरुले जीवजन्तुको फोक्सोको कोषहरुमा मात्र आक्रमण गर्छन् र फोक्सोलाई संक्रमित बनाउँछन्। फोक्सोको संक्रमणलाई निमोनिया भनिन्छ।
च) कोरोना भाइरसले श्वासप्रश्वासका तन्तुहरुमा मात्र संक्रमण गरी त्यसैमा उसको जीवनचक्र चलाउने भएकाले यो भाइरस नाक, मुखको माध्यमबाट फोक्सोमा जान बल गर्छ। साथै नाकमुख वा आँखासम्म पुर्याउने गतिलो माध्यम हात हुनेहुनाले धेरैजसो संक्रमण हातको माध्यमबाट फैलिन्छ। त्यसैले भाइरस नै पखालिने गरी साबुनले हात धुने कुरालाई महत्व दिइएको हो।
छ) साबुनको प्रयोगको अर्को कारण पनि छ। कोरोना भाइरसको स्वरुप मोटामोटी रुपमा कछुवा जस्तो भएपनि बाहिरी छाला भने सेलवालले नबनेर अरु भाइरसजस्तै बोँसोको परतले बनेको हुन्छ। कोभिड १९ छैठौँ प्रकारको कोरोना भाइरस हो। कोरोनाको छालाको बोँसोलाई साबुनले धुँदा उक्त बोँसो पग्लिएर या त भाइरस मर्छ या कमजोर बन्छ।
ज) त्यस्तै, तातोपानीको प्रयोग सम्बन्धमा पनि तातोपानी पिउने र न्यानो भएर बसेर भाइरल फ्लूहरु भगाउने नेपाली परम्परागत प्रचलन छ। तातो र बोसो बिपरित कुरा हुन्। भाइरल लाग्दा चिसोबाट बँच्न खोज्ने नेपाली परम्परा पनि त्यस्तै अनुभवका कारणले बसेको हुनुपर्छ। खाडीमा गर्मी बढेपछि पनि कोरोना फैलिनुमा एसीको भूमिका धेरै छ।
चाइनाले कोभिड-१९ फैलिँदा तातोपानी अत्याधिक पिउन लगाएको थियो। पिएको तातोपानी पेटमा जाने र त्योसँग जोडिएको फोक्सोको ठूलो भागलाई निरन्तर तताइरहेको हुन्छ।
ज्वरोको तातोले पनि भाइरसलाई केही असहज पारेको हुन्छ भने नेपालीहरुले पुर्खौँदेखि जानेर वा नजानेर एक/दुई दिन कडा ज्वरो सहेर फ्लू भगाउने गर्दै आएका छन्। कडा ज्वरो सहन सक्ने क्षमता नेपालीमा भएकाले हत्तपत्ति कडा ज्वरोसँग नेपालीले आत्मसमर्पण गर्दैनन्।
झ) प्राकृतिक चिकित्सा विज्ञानको एउटा हाँगोले बिमार लाग्दा ज्वरो आउन दिने र भोक नलागे केही दिन नखाएर भोकथेरापी गराई निको गराउने गरेको छ। शरीरको आफ्नै सिस्टमले रोग भगाउन खोज्ने हुँदा प्राय भाइरस सम्बन्धि बिमारमा शरीरले ज्वरो झिक्ने गर्छ।
सायद भाइरसको छाला बोसोको भएकाले नै शरीरले हरेक फ्लूमा ज्वरो झिक्दै आएको हुनुपर्छ। आन्द्रासम्बन्धि बिमार लाग्दा पनि आन्द्रामा रहेका हानिकारक जीवाणुलाई खाना आपूर्ति बन्द गर्न तथा बिरामी आन्द्रालाई आराम गराउन शरीरले बमन र पखाला गराउनुको साथै अमन पनि गराउँछ।
प्राकृतिक चिकित्सा विज्ञानमा सिटामोल, ब्रुफिन आदि खाएर ज्वरो घटाउनु भनेको शरीरलाई आफैँ उपचार गर्न नदिनु भएकाले बिरामी असाध्य अवस्थामा जान लागेमा मात्र हस्तक्षेप गरेर बचाउनुपर्ने अन्यथा शरीरले आफै प्रयास गरेर प्रतिरोधी प्रणालीलाई सक्रिय बनाउनुपर्ने भन्ने कुरामा जोड दिएको देखिन्छ।
४) अबका दिनमा हामीले होस पुर्याउनु पर्ने कुराहरु:
क) नेपालले थप लकडाउन गरिरहेकोमा त्यसलाई हामीले सघाउनु पर्छ। यसैबाट नियन्त्रण सहज हुन्छ। कोरोनाले सर्ने मौका पाएमा एकै पटकमा सबैलाई बिमारी पार्ने क्षमता राख्छ। त्यसैले शंका लागेका वा जोखिमयुक्त व्यक्तिले अलग्गै बसेर कडा नियम पालन गरौँ।
ख) यति गर्दा पनि हामी कसैलाई कोरोना सरिहालेमा पूर्णआत्मविश्वास सहित बिमारसँग लडौँ। जति कडा भएपनि हामीसँग रुघाखोकीलाई पराजित गर्ने क्षमता भएकाले आफूलाई विश्वास गरौँ। बिमार लागेकालाई परै रहेर पूर्णसहयोग गर्दै निरन्तर हौसला दिउँ। जटिल बिमारी हुने भनेको निकै थोरै संख्यामा हुने हो।
अधिकांश बिमारीहरु हलुका बिमारबाटै उठिने हो। विगतमा पनि अज्ञात फ्लूले हामीलाई केही दिन थलाउने गरेकै हो। यो अतिसार फैलिने हुनाले मात्रै बढी खतर्नाक भएको हो। अन्यथा तीन/चार वर्षमा आउने अलगअलग प्रकारका कडा भाइरल फ्लूहरुले हामीलाई जसरी सताउँछन्, यदि साच्चै न्यूयोर्कमा त्यस्ता फ्लू एकपटक मात्र फैलिने मौका पाउने हो भने योभन्दा बढी मान्छे मार्न सक्छ।
ग) रुघाखोकी वा हलुका ज्वरो आउँदा पनि अलग्गै बस्ने र आफ्नै किसिमले घरेलु उपचार गर्ने गरौँ। सुसार गर्नेले नआत्तिई टाढैबाट र पर्याप्त सुसार गरौँ। संभाब्य जोखिमयुक्त व्यक्तिहरुलाई १४ दिन अलग्गै बस्न प्रोत्साहन गरौँ।
घ) स्थानीय नेपालीहरु जुन कोरोना संक्रमितहरुको सम्पर्कमा रहेका कारणले जोखिममा रहेको भनी उनीहरुको स्वास्थ्य परिक्षण पनि गरियो र उनीहरुमा भाइरस पनि भेटियो। उनीहरु कतिपयमा कोरोनाले लक्षण समेत देखाउन सकेको छैन। तर उनीहरुले कोरोना सार्न सक्ने क्षमता राख्ने हुनाले यदि त्यस्तो व्यक्ति आफू पनि हुनसक्ने संभावना छ भने जँचाउन ढिलो नगरौँ। आफू बँचेपनि अरुलाई पनि त बँचाउनु पर्यो।
ङ) विश्वव्यापीकरण र आइटीको विकाससँगै पृथ्वी अहिले सानो गाउँ भइसकेको छ। त्यसबाट संसार बुझ्न वा देख्न सजिलो भएको वा एक ठाउँको सामान तथा प्रविधि तात्तातै अर्को ठाउँमा पुग्न सकेको मात्र छैन कि एक ठाउँमा उत्पत्ति हुने रोगहरु छिनभरमा विश्वभर फैलिने जोखिम पनि बढेको छ। यस शिलशिलामा अहिले विश्वभरको आँकडालाई लिएर आतंकित हुने प्रचलन बढेको छ, जुन गलत छ।
च) यसैपनि विश्वमा एकदिनमा नै मर्नेको संख्या लाखौँ हुनेहुँदा कोरोनाले महिनौँ लगाएर दुई/चार लाख नै मारेछ भने पनि आकासै खस्ने छैन। विश्वको तथ्यांक हेर्नेहो भने दैनिक रुपमा केबल बुढ्यौलीले मात्र मर्नेको संख्या पनि कोरोनाले मारिरहेको भन्दा कैयौँ धेरै हुनुपर्छ। सानै चिजलाई पनि लेन्स लगाएर हेर्ने हो भने बाँकी संसार देख्नै सकिन्न।
अन्त्यमा, हामीले हाम्रो समाजमा क्वारेन्टाइनमा राख्नुपर्ने व्यक्ति कोही देखेका छौँ भने त्यता ध्यान दिउँ। आफू जोखिममा परेको जस्तो लागेमा आफूले पनि उसैगरी नियमहरुको पालना गरौँ। १४ दिन अलग्गै बसेर कठोर अनुशासनमा बस्दैमा के बिग्रिन्छ र? सबै प्रयास गर्दागर्दै पनि कोरोना लागिहालेमा अनुशासित भएर डटेर लडौँ।
रोग निको पार्न आत्मविश्वास ज्यादै महत्वपूर्ण हुने र त्यसले पनि एन्टिबडी कै तरिकाले काम गर्ने हुनाले रोगको बिरुद्ध जनचेतना बढाउने अभियानमा आमनागरिकको आत्मविश्वास बढाउने सबै खालका तथ्यहरु समावेश गरिनु जरुरी देखिएको छ, त्यसमा पनि ध्यान पुगोस्।
हामी नेपालीमा जेजति सबल पक्षहरु छन्, विश्वका सायदै अरु देशका नागरिकमा होलान्। अमेरिका र चीनमा आँधीले घर उडाएको देखेर यहाँ हावा देख्दा डराउने बानी नबसाउँ। त्यहाँ हुरिक्यान, टोर्न्याडो तथा टाइफुन आउँछन्। त्यहाँ त्यसको बहाव क्षेत्र छ, त्यहाँ बनिबनाउ अनुकूल वातावरण छ। यहाँ त्यो छैन।
कोरोनाको अझै औषधी पत्ता लागिनसकेको अवस्थामा अमेरिकी तथा युरोपियन देशहरुले सिटामोलसँग मिल्दाजुल्दा औषधीहरु र कफ सिरफ मात्र खुवाएर उपचार गरिरहेका छन्। यसप्रकार कोरोनाको डाक्टरी औषधीको मामिलामा विकसित देशहरु र हामी बराबर अवस्थामा छौँ, तर प्राकृतिक औषधी हामीसँग धेरै छ।
यस्तो अवस्थामा हामी आमनागरिकले आआफ्नो परिवारमा सिमित भएर तोकिएका नियम पालन गर्दै दोहोरी सुनेर वा भगवानको भजन गाएर घरैमा बसेपनि त भयो।