सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
सर्वप्रथम सबैलाई घरमै बसी कोरोनाबाट सुरक्षित हुन हार्दिक अनुरोध गर्छु।
मेरो नाम आयुश्री घिमिरे हो। म युरो स्कुल हात्तिगौंडामा पढ्छु। म अहिले कक्षा पाँचको परीक्षा सक्काएर बसेकी छु। रिजल्ट हुनुअघि नै कोरोना संक्रमणबाट बच्न स्कुल बिदा भयो। परीक्षा त राम्रै भएको थियो तर रिजल्ट नभएकाले मनमा कस्तो-कस्तो खुल्दुली भइरहेको छ। स्कुल खुल्ने दिनको प्रतिक्षामा छु।
मेरो परिवारमा बाबा, ममी र मसहित तीन जना छौं। लकडाउनको कारण ममीबाबासँगै मेरो पनि दैनिकी फेरिएको छ। बिहान ममीबाबासँग योगा सिकिरहेकी छु। त्यसपछि घरभित्रै आधा घण्टाजति साइकल चलाउँछु। बिगत दुई वर्षदेखि सुशीला आर्टस् एकेडेमीमा पियानो सिकिरहेको छु। त्यसको नियमित अभ्यास पनि गरिरहेको छु। गीत संगीतमा रूचि भएकोले केही समय गाउने अभ्यास गर्छु।
यसअघि मलाई भान्साको काम खासै आउँदैनथ्यो। अहिले दिनहुँ ममीलाई सहयोग गर्दै खाना बनाउन पनि सिकिरहेकी छु। लकडाउन सुरू भएदेखि अजय देशार सरसँग अनलाइन आर्ट सिकिरहेकी छु। उहाँले प्रत्येक दिन दिउँसो दुई बजेदेखि फेसबुकमार्फत आर्ट सिकाइ रहनुभएको छ।
मैले बनाएको आर्टलाई बाबाले आफ्नो फेसबुकमा सेयर गर्नुहुन्छ। फेसबुकमा आएका राम्रा-राम्रा कमेन्ट देख्दा अझै धेरै मिहिनेत गर्न मन लाग्छ। बाबाले मैले गाएका धेरै गीत पनि फेसबुक र युट्युबमा पोस्ट गरिदिनुभएको छ। साँझपख विभिन्न प्रकारका खेल खेल्छु। कहिलेकाहीँ टिकटक भिडिओ पनि बनाउँछु।
स्कुलमा हुने सबै खालका कार्यक्रममा भाग लिने गरेकी छु। प्राय: सबैजसो प्रतियोगितामा केही न केही स्थान पाइरहेकी हुन्छु। शिक्षक र साथीहरूको प्रशंसा पाउँछु।
गत वर्ष 'स्टुडेन्ट अफ द इयर २०१९' भएकी थिएँ। उपत्यकाव्यापी कथालेखन प्रतियोगितामा चौथो भएँ। मिडिया ल्याण्डबाट आयोजित नवौं चाइल्ड आइकनमा सेकेन्ड रनरअप भएँ। त्यसपछि काष्ठमण्डप टेलिभिजनमा अन्तरवार्ता पनि दिएकी थिएँ। धेरैवटा अनलाइन पत्रिकामा मेरो फोटोसहित समाचार छापिएको थियो।
फुर्सदको समयमा केही न केही गरिरहुँ जस्तो लाग्छ। किताबहरू पढ्न मन लाग्छ। अहिले आन्विका गिरीद्वारा लिखित 'आमाले सक्नुहुन्छ' किताब पढिरहेकी छु। मलाई जस्तै साथीहरूलाई पनि केही न केही सिक्ने इच्छा होला। यो अवसरलाई राम्ररी प्रयोग गर्न सुझाव दिन चाहन्छु।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com