सन् २०१९ को अन्त्यतिर देश छाडेर परदेश आउँदा मन अमिलो थियो। जहाजको झ्यालबाट एकपल्ट मधुरो हुँदै गएको काठमाडौं सहर हेरेँ। त्यसपछि 'अब चाहिँ साँच्चै कतै टाढा जाँदैछु' भन्ने भयो।
गोरखा अनि काठमाडौं हुँदै नेपाल छोडेर अस्ट्रेलिया आएको पनि पाँच महिना भइसकेछ। यी महिना कसरी बिते, पत्तै पाइरहेकी छुइनँ।
सुरूका केही महिना त घुमघाम र रमझममै बित्यो। तिहारको बेला थियो, सायद नेपालीहरूको बाक्लो बसाइ भएर होला, यहाँ पनि नेपाल जस्तै लाग्यो।
आएको दिनमै मःम पार्टीले स्वागत, अनि भोलिको देउसीभैलो कार्यक्रम। विदेशमा पनि स्वदेशी मायाले म आश्चर्यचकित थिएँ। सबैप्रति आभारी पनि।
विस्तारै म यताको रहनसहन र परिवेशमा घुलमिल हुँदै थिएँ।
‘बुस फायर’ले अस्ट्रेलियालाई तहसनहस पारिदियो। करौडौंको क्षति भयो। दिनानुदिन डढेलोको खबरले मन त्रसित भइरहन्थ्यो। कक्षामा पनि सबैको ध्यान अनि कुरा पढाइमाभन्दा धेर डढेलामै हुन्थ्यो। आज डढेलो कहाँसम्म फैलियो, हामीभन्दा कति पर छ? यस्तै कुराले हामी चिन्तित हुन्थ्यौ।
शिक्षकहरू पनि यस्तो खडेरी पहिले कहिल्यै नदेखेको भन्दै वर्षाका लागि प्रार्थना गर्थे। हामीलाई भने, आगलागीले रंगाएको यहाँको आकाश अनि प्रदूषण देख्दा पनि नेपालकै झल्को आइरहन्थ्यो।
विस्तारै सबै कुरा सामान्य हुँदै थियो। कोरोना भाइरसले संसार नै तहसनहस पारिदियो।
मलाई लाग्न थालेको छ, मेरा दुई वर्ष यस्तैयस्तैमा बित्ने हुन कि? यो परदेशसँग धेरै आश गरेर आएकी त थिइनँ, तर पनि केही गर्छु-सिक्छु, केही हदसम्म भए पनि आमाबाका सपना पूरा गर्छु भनेर आएकी थिएँ। यो सबथोक भोगिरहँदा आजकल कताकता मनमा चिसो पस्छ- भोलि के हुने हो चिन्ता लाग्छ।
अचेल मन बेचैन हुन्छ, छट्पटिन्छ। न खुलेर रमाउन सक्छु, न दुःखी भएर बसिरहन। रमाइलो गर्न मसँग साथीसंगी छन्। आफ्नो रहरको काम गर्न समय छ। घन्टौं फेसबुक चलाएर बस वा संसारका कुनाकाप्चामा छरिएर बसेका मित्रजनसँग भलाकुसारी गरेर बस- इन्टरनेट सुविधा छ।
तर पनि यो मनमा बेग्लै खालको छटपटी र औडाह छ। कोरोना कहरले सबथोक लथालिंग र भताभुंग भएको देख्दा आज त रमाउँला, भोलि के गरौंला भन्ने पिर लाग्छ।
अझ, मजस्ता भर्खरै मात्र पढ्न आएका अन्तर्राष्ट्रिय विधार्थीलाई त के–के समस्या पर्छ त्यो भनि राख्न नपर्ला। पत्रपत्रिका र टेलिभिजनमा आइरहेकै छन्, सामाजिक सञ्जालमा त झन् चाहिनेभन्दा बढी भाइरल भइरहेकै छन्।
यो सब देखेर म सधैं दुःखी भइरहन पनि सक्दिनँ। किनकी मलाई थाहा छ, म एक्लो छैन। सबैलाई यस्तै परेको छ। यो बेला झुपडीमा बसून् वा महलमा, सबले आफ्नै खालका पीडा महशस गरेका छन्। अनि सबैलाई आफ्नै समस्या ठूलो लागेको छ।
हिजोआज जिन्दगी नै कस्तो कस्तो बनेको छ। आधा रातसम्म निद्रा नलागेर मोबाइलमा संसार चिहाउनु अनि मध्यदिनमा उठ्नु मेरो दिनचर्या बनेको छ। मलाई न छिट्टै उठेर काम जाने हतार छ, न त विश्वविद्यालय पुग्न। म उठूँ, सुतूँ, खाऊँ, नखाऊँ, जे गरूँ, घरको चार कोठाभित्र। मेरो लागि सबथोक खुला छ, सबथोक छुट छ अचेल।
कुनै दिन, हामीमध्ये धेरैले यस्तै कुराको इच्छा गरेको हुनुपर्छ। तर पनि खै त यहाँ सन्तुष्टि, खै त यहाँ हृदयदेखिको खुसी?
कारोनाका कारण घर बसेको महिना दिन पुग्न लागिसक्यो। अझ कति दिन यसरी बस्नुपर्ने हो, थाहा छैन। घर बसिरहँदा भएभरका फिल्म हेरेर र गेम खेलेर भ्याइसकेँ। तासको जुटपत्ति मात्र आउने मलाई अचेल म्यारिजबाहेक सबथोक आउँछ भन्दा फरक नपर्ला।
बाघचालबारे सुनेकी मात्र थिएँ, साथीसंगीले घरमै कागजको टुक्राले बनाएर सिकाएदेखि त्यै आजकल ‘फेभरेट’ बनेको छ। केही नहुँदा मोबाइलमा लुडो पनि खेल्छु र दिन कटाउँछु। मन भुलाउँछु।
यस्तै बेला विश्वविद्यालयले फेरि ‘असाइनमेन्ट’हरू दिन्छ— अनलाइन क्लास के–के हो, गरौं भन्छ।
तनमन बेचैन भइरहेका बेला पढाइमा पनि के मन जान्छ र? उताबाट त्यत्रो पैसा तिरेर पढ्न आइयो। यता विश्वविद्यालयको अनलाइन ‘पावर प्वाइन्ट’ र एक-दुई घन्टे लेक्चरमा भुलिनु परेको छ। चित्तै बुझ्दैन, तर पनि बुझाउनु परेको छ।
कोरोना सबैका लागि एक अप्रत्याशित वास्तविकता बनिसकेको छ। यस्तो होला भनेर न कसैले सोचेका थिए, न कोही यसबारे तयार नै।
मसँग आज जति गुनासा गर्ने ठाँउ छन्, सायद चित्त बुझाउने ठाउँ पनि उत्तिकै छन्। कोरोनाले संसारभरका लाखौं मान्छे संक्रमित भइरहँदा, म स्वस्थ छु। हजारौं भोकभोकै परिरहँदा, दुई छाक मिठो मसिनो खाइरहेकै छु। टाढा होस् या नजिक ‘के छ हालखबर, सन्चै छौ?’ भनेर सोध्ने साथीसंगी र शुभचिन्तक पाइरहेकै छु।
अर्काकै देशमा किन नहोस्, आफ्ना सोच्नेहरू भेटेकी छु। आमाबाको आर्शीवाद लागेकै छ। अनि... परिस्थिति जस्तोसुकै होस्, यो मुस्कान सधैं यस्तै रहोस् भन्दै हर दुःखसुखमा साथ दिने प्यारो मान्छे छन्। अहिलेलाई खुसी हुन योभन्दा बढी के चाहियो र!