हरियो गहुँका फाँट, सिरसिर हावा। ओहो कति आनन्द। कति सुन्दर छ प्रकृति। घरभित्रै गुम्सिएको अठार दिनपछि देखिएको बाहिरी सुन्दरता।
त्यो उकुस मुकुसबाट फुत्किएकाले फुरूंग छु, पिँजडाबाट उम्किएको सुगाझैँ। पाक्न लागेको गहुँ एकआपसमा ठोकिँदा छुट्टै धुन आईरहेको थियो।
काठमाडौं बलुवाको तारे भिरतर्फ उकालो लाग्दै गर्दा भेटिए तेन्जिन तामाङ। तीन वटा गाई पालेका रहेछन्। दैनिक ७० लिटर दुध हुन्छ रे। अहिले दुध बजार पुर्याउन पाएका छैनन्। दुध फाटेर खेर गएको छ। लकडाउन पहिले अठार सय पर्ने पचास केजीको दानालाई अहिले तीन हजार तिर्नु परेको उनी सुनाउँछन्।
रामेछाप घर भएकी ललिता पुरीको व्यथा पनि उस्तै रहेछ। दैनिक २० लिटर दुध दिने गाई छ। त्यही दुध बेचेर तीन जनाको परिवार चलेको थियो। दुई वर्षदेखि पाँच रोपनि जग्गा भाडामा लिएर गाई पालन र तरकारी खेती गरेको। कोरोनाले गर्दा दैनिकी पनि लथालिंग हुन पुगेको छ। तरकारी पनि बिक्री गर्न पाएका छैनन्।
धेरै किसानको हालत तेन्जिन र ललिताको जस्तै छ। व्यवसाय गर्नेहरुलाई अहिले झन् बढी समस्या भएको छ। कुखुरा बजार लग्न पाइएको छैन।
लकडाउनले किसानको काममा फरक पारेको छैन। तर जीविकामा भने नराम्ररी प्रभावित गरेको छ। प्रायः दैनिक बिक्री गरी उपभोग गर्नुपर्ने वस्तु उत्पादन गर्ने किसान बढी मारमा छन्।
आमाको फोनबाट उब्जिएको प्रश्न
नयाँ सालको पहिलो दिन। फोनमा पहिलो घन्टी बज्यो। हेरेँ आमाको रहेछ। छोरा चामल सकियो होला, के खान्छौं? सबै पसल बन्द छ भन्ने हल्ला छ। तरकारी पनि छैन होला। घरमा सबै थियो। अब भोकै मर्ने भयौ।
यति भनि फोन राख्नु भयो। मेरा आमा र बा जस्तै लाखौ किसानलाई यती खेर गहुँ थन्क्याउने, धान रोप्ने र मकै छर्ने चटारो छ।
एक छिन सोचेँ, आमा र बा नभएको भए यत्रो दिनको बन्दीमा मलाई साँच्चै समस्या पर्थ्यो? मलाई चामल र आलु त किन्न परेको छैन। फेरि मनमा अर्को प्रश्न उब्जियो। यदि नेपालमा जमिनलाई मलिलो बनाउने किसान नभएको भए कति मान्छे भोका हुन्थे होला?
२०७२ को भूकम्पमा घर पूरै क्षती भयो। एक हप्तासम्म मरेका पशु चौपाया निकाल्ने र मानवीय सहायता गर्नमै व्यस्त भइयो। पहिलो हप्तासम्म खाने अन्नको समस्या भयो। तर त्यसपछी भत्केको घरमा भएको अन्न निकाल्न थाल्यौं। तेस्रो हप्ता खेतको गहुँ काट्न थाल्यौं। भत्केको घरमा बचेको मकै, कोदो, धान अनि उतिन्खेरै भित्र्याइएको गहुँ। खाने कुराको समस्या टर्यो। त्यसैले विपद् व्यवस्थापनमा किसानहरूको ठूलो योगदान छ।
सोही वर्षको असोजमा भारतले नाकाबन्दी गर्दा पनि गाउँमा समस्या थिएन। खेती नगर्नेलाई चिन्ता थियो। पैसा खान मिलेन। त्यस्तै अहिले कोरोनाले तर्साएको छ। यदि भारतमा कोरोनाको संक्रमण र समस्या बढ्दै गए, के खाने? देशमा भएको उत्पादनले कति दिन थेग्ला? यो सोचनीय विषय बनेको छ।
यसले भोकमरी ननिम्त्याउला भन्न सकिन्न। किसानले जोहो गरेको अन्नले सबै नेपालीलाई अघाउने क्षमता छैन। किनकी २०७६ मंसिरसम्मको तथ्यांक हेर्दा कृषि बालीमा ३ अर्बको निर्यात हुँदा साढे २७ अर्बको आयात भएको रहेछ।
राहतको खोजीमा श्रमिक
एक हुल मान्छे राहतको कुरा गर्दै वडा कार्यालयतर्फ लागे। उनीहरू ज्यालादारी गर्नेहरू हुन्। प्रायः सिन्धुपाल्चोक, दोलखा, ओखलढुंगा, रामेछाप र उदयपुरका थिए।
केहीको धेरथोर जमिन छ, तर बाँझो। उदयपुरका लालबहादुर तामाङसँग ९ रोपनि जग्गा छ। बाँदरले बस्न नदिएर गाउँ छाडे। काठमाडौंमा ज्यालादारी गरेर चार जनाको परिवार पालेका छन्। लकडाउनले उनको काम खोसे जस्तै भयो। गाउँ फर्कन न घर छ, भएको जमिन पनि बाँझै।
उदयपुरकी रीता राई चार जनाको परिवार लिएर काठमाडौंको बलुवामा बस्छिन्। श्रीमान् ज्यालादारी गर्छन्। आफूसँग भएको पैसा र खाद्यान्न दुई हप्ताको लकडाउनमै सकियो। अब कसरी धान्ने जीवन र लड्ने कोरोनासँग? यस्तै प्रश्न अनगिन्ती श्रमिकहरू माझ छ।
बाँझियो भूमि
२०७२ को भूकम्प, भारतले गरेको नाकाबन्दी र अहिलेको कोरोनाको महामारीले सबैलाई महशुस गराएको छ। यदि आफ्नै देशमा उत्पादन भएन भने भोकमरी अवश्य हुन्छ। तर, जमिन बाँझो राखेर कपोकल्पित महशुस गरेर पनि अर्थ छैन।
पहिला मकै, कोदो, बदाम, घैया, पिडाँलु, कर्कलो फल्ने धेरै पखेराहरू बाँझो छ। धेरै व्यक्तिहरू गाउँ छोडी बेसी र सहर पस्न थालेका छन्। युवाहरूको खेती प्रतिको चासो हराउँदै गएको छ। खेतीको कामलाई तुच्छ ठानिन्छ। त्यसको परकाष्ट अब आम नेपालीले भोग्नु पर्ने बाध्यताहरू सिर्जना हुँदैछ।
जमिन बाँझियो भनेर किसानलाई मात्र दोस दिने ठाउँ छैन। वास्तविक किसानहरू मर्कामा छन्। बालीको बीमा छैन। बीउ बिजन र मलखाँदमा सुहुलियत छैन। किसानले गरेको उत्पादनलाई स्रोतसँग जोडिदैन। किनकी बैंकमा ऋण लिन समेत किसानले गरेको उत्पादनको मुल्यांकन हुन्न।
अनि किसानहरूमा विस्तारै नैराश्यता आउन थालेको छ। कृषि प्रतिको मोह घट्दो छ। मकै छर्यो बाँदरले खान्छ। कोदो रोप्यो बालाजती मृगले खान्छ। त्यसैले आजभोलि मेरो घर वरिपरीका किसानले मकै ढोडको लागि र कोदो नलको लागि रोप्छन्।
यसैगरी जमिन बर्सेनी बाँझो हुँदै जाने, खेतको फाँटहरू प्लटीङ हुने, घर भरिने भयो भने, महामारीमा हामीले भोकमरी नभोगे कसले भोग्छ? त्यसैले अबको कृषि नीतिमा बाँझो रहेको जमिन उपयोग गरी उत्पादन कसरी बढाउने? स्थानीय तहले पनि आफ्नो क्षेत्रलाई पुग्ने अन्न उत्पादन गरी कसरी आत्मनिर्भर हुने भन्ने कुरा सोच्न जरूरी छ।
अन्त्यमा,
पाँच वर्षमा तीन वटा संकट झेली सकेका छौं- भूकम्प, नाकाबन्दी र कोरोना। यी तीनै वटा संकटमा खाद्यान्नमा कति आत्मनिर्भर छौं भन्ने कुरा छर्लंग भइसक्यो। पन्ध्र सय पर्ने चामल बाइस सय पुग्यो। डेढ सय पर्ने तेल दुई सय पुग्यो। अन्य खाद्य वस्तुको भाउ पनि उकालो लागेको छ।
यसको मतलव हामी र हाम्रो देश नेपाल खाद्यान्नमा संधै अरूको भर पर्नुपर्छ भन्ने नै हो। खाद्यान्नको हिसावले नेपालले विपद्को लागि कति पुर्व तयारी गरेको रहेछ भन्ने प्रश्न पनि यसबाट उब्जिएको छ।
खेती गर्नेको संख्या र उत्पादन ओरालो लाग्ने। विपद् र महामारी बढ्दै जाने। यस्तै हुने हो भने, कुनै न कुनै दिन हामी खानै नपाएर मर्ने छौँ। त्यसैले खेती बाँझो नराख्न खाद्यान्नमा आत्मनिर्भर हुन देशभर अभियान थालौं सरकार।
(लेखक भूमि अधिकारकर्मी हुन्।)