कोरोना भाइरसको विश्वव्यापी आतंकका कारण सबैको छुट्टी भएपछि अहिले हामी चारै जना (म, मेरा श्रीमान्, अनि सासूससुरा) घरमै छौँ। चारै जनालाई विभिन्न आफन्तजनको पालैपालो फोन आउँछ, फुर्सद भएपछि आमाले पनि बेलाबेला धेरै मान्छेलाई फोन गर्नुहुन्छ।
प्रायः धेरैले उस्तै दिक्कलाग्दो स्वरमा गुनासो गर्छन्। ‘कहिलेसम्म यस्तै हो कुन्नि?’, ‘बस्दाबस्दा दिक्क लागिसक्यो’, ‘दिन पनि कसरी बिताउनु?’, ‘के हुन लाग्या हो संसारमा?’, ‘कोरोनाले भन्दा घर बस्दाबस्दा नै मान्छे मरे भने?’ भनेजस्ता कुरा आउँछन्। तर मलाई अचम्म लाग्छ। सायद मै मात्र हुँ कि क्या हो, जति दिन घरै बस्नुपरे पनि केही चिन्ता नहुने?
म सोच्छुँ- घरमै बसिएको छ, सबै जना सँगै छौँ, आफन्तहरूका खबर पनि आएकै छन्, बिहानबेलुका खाइएकै छ। अहिल्यै लुगा फाटिहाल्लान् र बजार नखुलेर नाङ्गै भइएला भन्ने पीर छैन। तब हामी पीर गर्नु किन?
हो, सबैको अवस्था एउटै छैन। हाम्रो घरमा आक्कलझुक्कल मैला लुगा लगाएर माग्न आउने बुढी आमै कहाँ के खाँदै होलिन्? अस्ति पुतलीसडक चोकमा नाम्लो ओछ्याएर ग्राहक कुर्दै बसेका भरिया दाइ कहाँ गए होलान्?
पोहोर हाम्रो घर बनाउँदा बालुवा चाल्न आएकी बहिनीलाई ठेकेदारले हरेक साँझ घन्टा गनेर ज्याला दिने गरेका थिए, तिनले ज्याला नपाएको कति दिन भो होला? अघिपछि पनि राति न्यानो ओछ्यान छाडेर अस्पतालमा ‘ड्युटी’ गर्न जाने र चाडबाडमा बिदा नपाउने डाक्टर दाजुदिदी के सोच्दा होलान्?
यी मान्छेका बारे चिन्ता गरौँ न बरु टाउको दुखाउनु नै छ भने। अन्यथा नदुखेको टाउको नदुखाऔँ।
बरु हामीसँग यसभन्दा अगाडि नि यस्तो फुर्सद कहिल्यै थिएन र पछि पनि सायद नआउला भनेर नयाँ तरिकाले समयको सदुपयोग गरौँ न। म त त्यही गरिरहेकी छु।
मैले यसपाली मेरो जीवनका लागि अत्यन्तै महत्वपूर्ण एउटा नयाँ काम सुरु गरेकी छु। म आफ्नै जीवन कथा लेख्दै छु। हिजोसम्म म पनि सोच्थेँ, आत्मकथा वा जीवनी लेख्ने त ठूलाबडाहरूको हो, त्यो पनि धेरै वर्ष पार गरेपछि।
तर गुगल सर्चले देखाउन लायक केही काम गर्न नसकेकी मलाई (अस्तितिर आफ्नै नाम सर्च गर्दा अरूअरू मान्छेबारे केके आए, मेरोबारे केही आएन) दुई को दशकमै आफ्नैबारे लेख्ने जाँगर किन चल्यो होला त?
म पुस्तक प्रकाशन गर्ने वा आफू चर्चित हुने उद्देश्यले आफ्नो कथा लेखिरहेकी छैन। मलाई त खालि आफ्नो व्यक्तिगत र पारिवारिक इतिहासको दस्ताबेज तयार गर्नु छ ताकि भोलिको मेरो पुस्तालाई थाहा होस् आफ्नो विगत।
पहिलो कुरा त, मान्छेको स्वभाव नै छिट्टै बिर्सने हुन्छ। संभतः २०७२को भुइँचालोमा हामीले केकस्तो अनुभव गरेका थियौँ, हामीले आज बिर्सिसक्यौँ। कम्तीमा ती कुरा हामीले लेखेर राख्न पाएका भए, बिर्सिने त थिएनौँ नि।
अनि भोलिपर्सि अरू कसैलाई सुनाउन पाउँदा कसैलाई त्यसबाट ज्ञान मिल्दो हो, कसैलाई सूचना। कसैलाई रमाइलो हुँदो हो।
त्यसपछि परिवारको कुरा। आज हाम्रा आमाबा तथा हजुरबाहजुरआमाले ‘हाम्रा पालामा त यस्तो थियो बाबै’ भनेर सुनाउँदा आज हामीलाई ‘ओहो, समय त कस्तो बदलिइसकेछ है’ भनेजस्तो लाग्छ नि। यदि हाम्रा कुरा भोलिका पुस्ताले सुन्न पाए भने उनीहरूलाई पनि समयको गति थाहा होला नि।
आफ्नै परिवारभित्रको कुरा गर्दै छु म। हरेक समयका बालबालिकालाई देशविदेशमा कुन समयमा केके भए भनेर सिकाउनका लागि अनेक पुस्तक छन्, तर आफ्नै परिवारमा कुन समयमा के भए भनेर उनीहरूले कसरी जानुन्? के त्यो जान्नु आवश्यक छैन र?
आजको समय पहिलाको जस्तो छैन। हिजोअस्तिका आमाबा, हजुरआमा/हजुरबाहरू शारीरिक काममा बढी व्यस्त हुँदा नानाथरीका कुरा सोच्न उनीहरूको दिमाग खर्च हुँदैनथ्यो। फलतः उनीहरूको स्मरणशक्ति बढी तेजिलो हुन्थ्योजस्तो मलाई लाग्छ। त्यसैले उनीहरूले आफ्ना कथा हामीलाई फटाफट बताउन सके।
तर आज? आज हाम्रो दिमागलाई त आफ्नोबारे सोच्ने फुर्सदै छैन। काम, पढाइ, व्यापार, पैसा। खै मनलाई शान्ति? सधैँ तनाव। अनि आजका कुरा कसरी सम्झनु? भोलि कसरी भन्नु?
बल्लबल्ल मनलाई शान्त बनाउने समय पाइएको छ। मनलाई शान्त राखौँ। आजका कुरा भोलि पनि सम्झन सकियोस् भनेर केही गरौँ न।
अन्त्यमा एउटा फेसबुके घटना। एक जना चिनेजानेका दाजुले आफ्नो छिमेकका एउटा बालकको फोटो राखेर लेख्नुभएको थियो- 'भर्खरै पहिलो जन्मदिन मनाएको यो बच्चोलाई सन् २१०० ताका मान्छेहरूले सोध्नेछन्, कोरोना आउँदा कति वर्षको हुनुहुन्थ्यो, बाजे?'
विचरा त्यो बालकले आजका कुरा त के सम्झियोस्, उसका आमाबाबुले सहयोग गरे त हुन्थ्यो नि।