ʻश्रीमतीले बच्चा जन्माउने समय भयो। अस्पतालले सजिलै भर्ना लिनेछ, रगत चाहिएमा तुरुन्तै पाईन्छʼ, ʻमैले हिंसा सहेको छु। मैले जस्तो हिंसामा अरु नपरुन्, सबैको घरमा चुल्हो बलोस्, कोही भोको नहुन्ʼ, कोरोना फैलिन नदिन सबैले लकडाउनको पालना गरौँ, हामी सबै सुरक्षित हुने छौं’, ‘छिटो-छिटो कोभिड संक्रमणको अन्त्य होस्।’
यी अभिव्यक्तिहरु कोरोना भाइरसका कारण घरमा बसिरहेको गण्डकी र बागमती प्रदेशका युवाहरुले दिएका हुन्। कोरोना भाइरसले निम्त्याएको असरको बारेमा उनीहरु मात्र नभई धेरै बालबालिका, युवा, प्रौढ र वृद्धवृद्धाले चिन्ता व्यक्त गरेका छन्। कतिपयले कोरोना भाइरसलाई सरकारले छिटै व्यवस्थापन गर्ने छ भन्ने सकारात्मक धारणा व्यक्त गरेका थिए।
एक गैर-सरकारी संस्था उत्थान नेपालले हालै गरेको एक अनलाइन अनुसन्धानमा सहभागीहरुले त्यस्ता भावनाहरु व्यक्त गरेका हुन्। लकडाउनको अवस्थामा नेपालीहरुको मनोवैज्ञानिक पक्ष कस्तो छ? कोरोना भाइरसले व्यक्तिको मनमा कस्तो प्रभाव पारेको छ? त्यसलाई व्यक्तिहरुले कसरी सामना गरिरहेका छन्? लकडाउनका अवस्थामा व्यक्तिले कस्ता किसिमका सुचनाहरु चाहेका छन्? आदि विषयमा अनुसन्धान केन्द्रित थियो।
बागमती प्रदेश र गण्डकी प्रदेशलाई मुख्य आधार बनाई गरिएको उक्त अनुसन्धानमा एक सय जना व्यक्तिहरु सहभागी थिए। कोरोना भाइरसका कारण ३३ प्रतिशत व्यक्तिहरुले तनाव महशुस गरेको बताएका छन्।
त्यसैगरी २४ प्रतिशत व्यक्तिले डर, २४ प्रतिशत व्यक्तिले चिन्ता, १७ प्रतिशत व्यक्तिले उदासिनता र अन्यले सामान्य खालका मनोसामाजिक समस्याका लक्षणहरु (निन्द्रा नलाग्ने, छट्पटी भईरहने आदि) आउन थालेको जनाएका थिए।
तपाईमा आएको मनोवैज्ञानिक प्रतिक्रियाले तपाईको परिवारलाई कत्तिको असर गरेको छ भन्ने प्रश्नमा ६९.४ प्रतिशत व्यक्तिलाई अलिअलि समस्या भएको छ। १८.९ प्रतिशतलाई धेरै समस्याहरु भएको छ। ११.७ प्रतिशतलाई कोरोना भाइरसले खासै प्रभाव नपारेको पाइएको छ।
तपाई आफ्नो र परिवारका सदस्यलाई मनमा गाह्रो भएका अवस्थामा कसरी व्यवस्थापन वा हेरचाह गरिरहनुभएको छ भन्ने प्रश्नमा ३६.३ प्रतिशत व्यक्तिहरुले परिवार र साथीभाइसँग कुराकानी गर्ने गरेका छन्। जसका कारण कोरोनासँग जुध्न आत्मबल बढेको छ।
त्यसैगरी १६ प्रतिशत व्यक्तिले सामाजिक सञ्जाल (फेसबुक) चलाउने, १२ प्रतिशत व्यक्तिहरुले नयाँनयाँ किताबहरु पढ्ने गरेका छन्। त्यसैगरी १० प्रतिशत व्यक्तिहरु घरमा त्यत्तिकै बसिरहेने गरेका छन्। जसका कारण छट्पटी भईरहने बताएका छन्।
अधिकांश किशोर किशारीहरु मध्ये ९ प्रतिशतले भने टिकटकमा रमाउने गरेको पाइएको छ। अन्यले भने टेलिभिजन हेर्ने, मोबाइलमा गेम खेल्ने, तास खेल्दै दिनहरु बिताउने गरेको बताएका थिए।
त्यसैगरी लकडाउनको समयमा मनलाई खुशी बनाईराख्न कस्तो किसिमको जानकारी चाहिएको भन्ने अर्को प्रश्नमा २५.७ प्रतिशतले जीवनमा प्रेरणा मिल्ने खालका जानकारीहरु आवश्यक भएको प्रतिकृया दिएका छन्। २३.८ प्रतिशतले भने कोरोना भाइरसका डरका कारण आएको तनावलाई व्यवस्थापन गर्ने सीप आवश्यक परेको बताएका छन्।
२२.८ प्रतिशतले सकारात्मक सोचको विकास कसरी गराउने भन्ने जिज्ञासा राखेका छन्। अन्यले समय व्यवस्थापन गर्ने सीप, आधारभूत आवश्यकताको परिपूर्ति, आर्थिक पक्षको व्यवस्थापनको पक्षमा जानकारी चाहिएको जनाएका थिए।
कोरोना भाइरसका व्यक्तिहरुको आर्थिक गतिविधिमा पनि प्रभावित गरेको पाइएको छ। कोभिड-१९ ले आर्थिक स्थिरतामा कस्तो प्रभाव पारेको छ भन्ने अर्को जिज्ञासामा ४९.१ प्रतिशतले आर्थिक स्थिरतामा अलिअलि असर गरेको जनाएका छन्।
४१.८ प्रतिशत व्यक्तिहरुलाई धेरै असर गरेका छ भने ९.१ प्रतिशतलाई खासै प्रभाव नपारेको जनाइएको छ। लकडाउनको क्रम अर्को महिना पनि थपिएको खण्डमा आर्थिक स्थिरतामा धेरै असर गर्ने सहभागीहरुको भनाई थियो।
यो संकटको समयमा प्राय सरकारी, गैर-सरकारी, अन्तर्राष्ट्रिय दातृ निकायका कार्यालयहरु पूर्णरुपमा बन्दछन्। सरकारले प्रदेश सरकार र स्थानीय सरकारहरुको सहकार्यमा स्वास्थ्य संस्थाहरु, अस्पतालहरुमार्फत कोरोना भाइरसको पहिचान, उपचारको व्यवस्था गरिरहेको छ।
स्थानीय सरकारले स्थानीय रेडियोमार्फत सचेतनाका कार्यक्रमहरु संचालित छन्। तर त्यस्ता कार्यक्रमहरुले व्यक्तिको मनोसामाजिक पक्षलाई राम्रोसँग समेट्न सकेको पाइदैन। यस अनुसन्धानमा धेरै व्यक्तिहरुले मनोसामाजिक र मानसिक क्षेत्रले सरकारले प्राथमिकता नदिएको बताएका थिए।
मनोसामाजिक र मानसिक क्षेत्रमा काम गर्ने केही राष्ट्रिय र स्थानीय गैर-सरकारी संस्थाहरुले आफ्नो कार्यक्षेत्रमा नियमति मनोसामाजिक क्षेत्रसँग सम्बन्धित गतिविधिहरु संचालन गरिरहेको छन्। कोरोना भाइरसका कारण व्यक्तिमा आउन सक्ने चिन्ता, तनाव, डर, रीस, उदाशीनता आदि समस्याहरुलाई कम गर्न मनोशिक्षा कार्यक्रमहरु उनीहरुले संचालन गरेका छन्।
स्थानीय रेडियोहरु उनीहरुका प्रमुख माध्यम बनेका छन्। प्राथमिक मनोवैज्ञानिक सहयोगका लागि धेरै संस्थाहरुले निशुल्क फोनलाइन सेवा सुरु गरेका छन्। कतिपयले आफ्ना सम्पर्कमा रहेका मानासिक बिरामीहरुलाई नियमित औषधी खाने व्यवस्था मिलाएका छन्। डाक्टरसँग अनुगमनमा जाने उनीहरुले प्रबन्ध मिलाएका छन्।
कतिपयले क्यारेन्टाइनमा बसेकाहरुलाई व्यक्तिगत मनोविमर्श सेवा दिइएको पाइएको छ। सहभागीहरुले सीएमसी, टीपीओ नेपाल, माइति नेपाल, सहयात्री नेपाल, उत्थान नेपाल, कोशिस नेपाल, कोपिला नेपाल, सिर्जनशिल संस्था नेपाल, मानव अधिकार मञ्च नेपालको नाम बढी दिएका थिए।
यी संस्थामा आवद्ध मनोविमर्शकर्ता, मनोविद, मानसिक चिकित्सकहरुको रेडियो अन्तर्वार्ता, फेसबुकमा उनीहरुले सेयर गरेका लाइभ अन्तर्वार्ता अधिकांश नेपालीहरुको प्रेरणाको श्रोत बनेको छ। तर यस्ता सन्दर्भ सामाग्रीहरु सामाजिक सञ्लाजको पहुँचमा रहेकाहरुको लागि मात्र प्रभावकारी बनेको छ।
समुदायस्तरमा इन्टरनेटको पहुँच नभएको स्थानहरु धेरै छन्। यस्ता स्थानहरुमा स्थानीय रेडियोलाई सुचना संप्रेषणको आधार बनाउन सहभागीहरुको सुझाव थियो। मनोसामाजिक क्षेत्रमा गरिएको प्रयासलाई भने सरकारी क्षेत्रवाट थारैमात्रमा अनुगमन र उनीहरुको कामलाई प्राथमिकता दिइएको बताइएको छ। देशभित्र मनोसामाजिक क्षत्रेका थोरै जनशक्ति छन्। तर पनि उनीहरुको (मानसिक चिकित्सक, मनोविद, मनोविमर्शकर्ताहरु) समुचित प्रयोग गरिएको छैनन्।
उनीहरुको आफ्नै सहकार्य र समन्वय छ। जसका कारण कोभिड-१९ का लागि निर्देशिकाहरु तयार पारिएका छन्। यस क्षेत्रमा काम गर्ने जनशक्ति तयार पारिएका छन्। जसले गर्दा को व्यक्ति कहाँबाट कसरी सहयोग गर्न सक्छ भन्ने सुचनाहरु प्रस्ष्ट छन्।
तर त्यस्ता प्रयासहरु देशभरका मनोसामाजिक र मानसिक समस्या भएका व्यक्तिहरु र तिनका परिवारको पहुँचमा हुन सकेको छैन। मनोसामाजिक र मानसिक क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई सरकार, प्रदेश सरकार र स्थानीय सरकारले परिचालन गरेका खण्डमा कोरोना भाइरसले व्यक्तिको मनोविज्ञानमा पार्न सक्ने असरलाई केही हदसम्म पनि कम गर्न सकिने देखिन्छ।
(लेखक उत्थान नेपालका कार्यकारी निर्देशक हुन्।)