घरभित्रको लकडाउनले छोरी निकै निराश देखिन्थी। सबैका बालकालिका घरभित्रको लकडाउनमा आफ्नै परिवार साथ हुन्थे। छोरीको निराशपन र आफूभित्रको एक्लोपन बढ्दै गयो। लकडाउन भरी शहर छोड्ने निर्णय गर्यौँ।
जारी थियो २४ औं दिनको लकडाउन पनि। बिहानीको मिरमिरे उज्यालो, किर-किर किराहरूको आवाज। हामीभन्दा अघि गौंथलीहरू उड्न थालिसकेका थिए। भुर्र, भुर्र।
बिहानै बज्ने देउतीबज्यै मन्दिरको टिङ-टिङ घन्टीको धुन। लकडाउनसँगै बन्द भएको छ। काँक्रेबिहार जंगलबाट आएको न्याउलिको मिठो आवाजसँगै विरेन्द्रनगर बजार छोडी टिमुरकोटतर्फ उकालो लाग्यौं।
मनमा डर छ। बीचैबाट फर्कनु पर्ने पो हो की। छिटो-छिटो आर्मी ब्यारेक कट्यौं।
कति प्यारो छ, आमाको काख। त्यसैले प्राय छोरी मसँगै बस्न रूचाउँछे। आज म पनि आमाको काखमा जाँदै छु। आफू खेलेको त्यो घर, त्यो आँगन, त्यो चौरी कति खेर पुग्नु भएको छ।
कर्णाली शब्दले भौगोलिक विकटताको परिचय दिएको छ। यहाँको धेरै दाजुभाइ विदेशिएका छन्, जीवन धान्न। प्राय छिमेकी मुलुक भारतमा।
कोरोनाको सन्त्रासले उनीहरू आफ्नै आमाको काखमा आउन चाहेका छन्। बरू मर्न परे पनि आफ्नै परिवारको साथ मर्न चाहेका छन्। कति परिवार आफ्नो सन्तान देख्न र भेट्न आँतुर छन्।
यतिखेर परिवारलाई पैसा हैन, साथ चाहिएको छ। महल हैन, झुपडीमा सँगै रमाउन चाहेका छन्। तर आफ्नै आमाको काखमा आउनलाई हजारौं मान्छेले औंला उठाएका छन्। खबरदार, तँ यस ठाउँमा आउलास्।
धेरैपछि ती ढुंगा, माटो र वन पाखासँगको नाता पुनः नविकरण गर्दै उकाले लागे। धेरै बाटोहरूमा तगरो हालिएको थियो। बालीनाली खाला भनेर वस्तुलाई छेकिने जस्तै तगरो।
घरमा बस्दा बस्दै बिरामी जस्तै भएकी छोरी हरियो डाँडा/पाखा, चिसो हावा र वनको सुन्दरताले बिहानीपखको गुलाफझैं फक्री। ममी, हिड्ने बाटोमा किन बार हालेका? सामाजिक दूरी भनेको बाटो छेक्ने हो? कसैलाई पनि भेट्न हुन्न हो? अब यहिबाट फर्कनु पर्छ हो? छोरीको यस्तै प्रश्नले मन धमिलियो।
कस्तो अचम्म! अहिले त मानव पशुभन्दा तल झरे छन्। सामाजिक दूरी कायम गर्ने नाममा परिवारबीचको दूरीलाई निमिट्यान्न गरिदै छ। कोरोना रोगसँगको दूरी बढाउनु पर्ने हो। मानवबीचको दूरी बढाईदै छ।
अहिले नेपालभर धेरै सामाजिक दूरी कायम गर्ने नाममा झोलुंगे पुलहरू छेकिएका छन्। फड्नेहरूमा बार हालिएको छ। एक गाउँ र अर्को गाउँको सिमानामा बाँसको भाटा र्तेस्याईएको छ।
यो बेला भनेको सामाजिक दूरी बढाउने बेला हो, घटाउने हैन। सहयोग गर्ने हो, घरभित्रै खुम्चीने हैन। यसको लागि रोग पत्ता लगाउने हो। रोगले भेटेका विरामीलाई मानविय व्यवहारले उचार गर्ने हो। सचेत र संयम हुने हो। तर मानिस, मानिससँग भाग्ने हैन।
हरेक चोक र बाटोमा कहाँ जाने र किन आएको भन्ने प्रश्नको जवाफ दिँदै पहाड काटियो। खोल्सीमा सुशेली हाल्दै बगेको चिसो पानी। ओहो! कति आनन्द, कति सुन्दर गाउँ, अनि पहाड।
घरभन्दा तल चौतारीमा भेटिए एक हुल दिदी बहिनी, वन चाहारी ल्याएको घाँसको भारीसँगै। गाउँले मन। कति चोखो, इमान्दार अनि निस्वार्थ माया। पहिला सँगै खेलेका र वनपाखा डुलेका साथीहरू। दुःख सुखका कुरा गर्दै उकालो कट्यौँ।
गाउँमा कतै गहुँ काट्ने, मुसुरो उखेल्ने त कतै मकै छर्ने चटारो थियो। यो बेला किसानको मानो रोपेर मुठी उब्जाउने समय हो। केही मान्छेहरू निस्कनु हुन्न भनेर घरभित्र छन्। तर, सबै यसरी घरभित्र बस्यो भने कोरोनाभन्दा पनि नेपालले भोकमरीको संकट बेहोर्नुपर्छ। त्यो निश्चित छ।
किसानहरू बाली लगाउने र उठाउन व्यवस्त छन्। उनीहरूलाई खानाको समस्या छैन। सबै किसानहरूले लकडाउनमा सामाजिक दूरी कायम राख्नुपर्छ भनी बाहिर ननिस्कने हो भने भएका खेतबारीमा कसले आएर खेती गर्छ? उसै त खेती गर्ने किसान घट्दो छन्।
छ महिना भारत र छ महिना खेती गर्न घर आउने समय हो यो। तर, लकडाउनले बाटैमा विचलित हुनेहरूको धेरै जमिन बाँझो हुने पक्का छ। यसबाट मुलुकलाई धेरै घाटा हुनेवाला छ। त्यसैले स्थानीय सरकारले आ–आफ्नो तहबाट पहल गर्नुपर्छ।
भारत लगायत बाहिरी मुलुकबाट आउन चाहनेहरूको स्वास्थ्य चोक जाँच गरी क्यारेनटाइनमा राख्ने सर्तमा आउन दिनुपर्छ। र बाँझो जमिनलाई हराभरा बनाई उत्पादन बढाउनुपर्छ।
म रोगको दूरी कायम राख्दै गाउँ घुमे। लटरम्म फलेका चना, मुसुरो, केराउ र गहुँ बाली भित्र्याउन व्यस्त किसान। उनीहरूलाई लकडाउनले पटक्कै छोएको छैन। लकडाउन त सहरमा लागेको रहेछ। ठूला व्यापारी, पैसावाल र सहरमा जोडिएका घरमा।
पैसावाल, व्यापारी र घर बनाएर भाडामा लगाउनेहरूलाई जस्तै किसानले पनि लकडाउन गरेर बस्ने हो भने पैसाले मात्र बाच्न सकिन्न। बाँच्नको लागि खाद्यवस्तु नै चाहिन्छ।
गाउँमा सबैभन्दा छिटो सूचना दिने सञ्चार माध्यम भनेको रेडियो हो। कबिन्द्र दाजु रेडियो सुनेर बारी जोत्दै हुनुहुन्थ्यो। अहिले पटक-पटक अनलाइन, भिडियो हेरेर र च्याट गरेर दिन बिताईरहेका छन्। तर कबिन्द्र दाई जस्तै किसानहरूले सूचना पनि पाएको छन्। खेती गरेर सजिलै दिन पनि बिताएका छन्।
अहिले सहरभन्दा गाउँ चहलपहल छ। दशैँ/तिहारमा मात्र जमघट हुने घरका सदस्य सँगै छन्। वनमा पाकेको काफल, ऐंसेलु र तिजु खानेको लस्कर छ। पोहोर यस समय सुनसान थियो, वन पाखा।
तर, अर्कातर्फ उत्पादित वस्तु बजार पुर्याउन नपाउँदा भने किसान चिन्तित छन्। पल्लो घरकी भबिसरा भाउजूलाई अर्को चिन्ता थपिएको छ। लघुवित्तबाट ऋण निकाली पालेको एक हजार दुई सय कुखुरा बिक्री गर्ने बेला भएको छ। गाउँमा बिक्री हुँदैन। बजार लकडाउनले ठप्प छ। अब त्यो ऋण कसरी तिर्ने?
लकडाउनपछि हरेक किसानहरूले भागेको समस्या हो यो। कोरोनाको महामारी आउन नदिन सबैको आ–आफ्नो तर्फबाट भूमिका निभाउनुपर्छ। तर, भोकमरीलाई रोख्ने।
विपद्मा सहयोग गर्ने किसानको बाली लगाउने, बीउ विजनहरू उपलब्ध गराउने र उनीहरूले उत्पादन गरेको वस्तु बजारसम्म पुर्याउने वातावरण सिर्जना गर्नुपर्छ सरकार, नत्र अर्को वर्ष भोकै मरिएला!
अहिलेकै अवस्थाले मुलुक लकडाउन हुने हो भने रोगले भन्दा शोक र भोकले पनि ज्यान गुमाउन नपर्ला भन्न सकिन्न। गाउँमा भोकमरी नै सुरू भएपनि जंगलमा हुने गिठा भ्याक्कुर, सिस्नो र खोले खएर पनि केही समय बाँचिएला। तर, सहरमा यस्तो सम्भावना देखिदैन। जुन कुरा हामी सबैले सोच्ने मात्र हैन, काम गर्ने बेला आएको छ।