अहिले विश्व जगत नै कोरोना भाइरसको संक्रमणले आक्रान्त बनिरहेको छ। यसको प्रभावबाट नेपाल पनि अछुतो छैन। यही भाइरसलाई फैलन नदिन सरकारले लकडाउन गरेको छ।
यो अवस्थामा धेरैलाई बिहान बेलुकाको छाक टार्न धौँ-धौँ परेको छ। कतिले सामान्य स्वास्थ्य उपचार समेत नपाएर कठिनाई भोग्नु परिहेको छ त कतिले ज्यानै समेत गुमाउनु परेको छ। कैयौँ मानिसहरु आफ्नो स्थायी थातथलो पुग्न सयौँ किलोमिटरको यात्रा पैदल हिडेँरै भए पनि तय गर्दै छन्।
भन्छन्, संकट कष्टकर मात्र हुँदैन, यसले कैयौँ अवसरहरुको सृजना पनि गर्दछ। आशा गरौँ ती सबै कष्टलाई हामी शक्तिमा बदल्न सक्नेछौँ। आशा गरौँ हामी नेपालीले ती सृजित अवसरहरुको सही सदुपयोग गर्न सक्नेछौँ र दिगो विकासको पथमा सचेत भएर अगाडि बढ्नेछौँ।
आज मैले यहि लकडाउनकै अवस्थामा अनुभव गर्न पाएको फरक पक्षका बारेमा कुरा गर्न मन लाग्यो। शान्त र स्वच्छ वातावरण कसलाई मन नपर्ला र? अझ काठमाडौँमा बस्नेलाई त झनै प्यारो।
म पनि काठमाडौँमै हुर्केँ। काठमाडौँमा बस्नेलाई शान्त र स्वच्छ वातावरण अनुभूति गर्न दशैँ नै आउनुपर्छ, तब मात्र यो कोलाहलमय सहरले केही दिनको राहत पाउँछ। कहिलेकाहीँ पढाई वा काम विशेषले त्यस्तै शान्त र स्वच्छ वातावरण भएको ठाउँमा जाने अवसर मिल्छ। त्यसरी जाँदा काम सिध्याउने नै ध्याउन्न हुन्छ। काम सक अनि फर्क बस् त्यत्ति।
तर अहिले यो लकडाउनले जुन अवसर दिएको छ प्रकृतिसँग साक्षात्कार गर्ने, अद्भूत आनन्द उठाउने, सायद अब बिरलै यस्तो अवसर पाइएला काठमाडौँभित्रै बसेर।
अलि पहिले गर्मीयाम सुरु हुन लाग्दा कोइलीको कुहुँ कुहुँ सुनिन्थ्यो, अत्यन्तै रमाइलो लाग्दथ्यो। पछि पछि त्यो आवाज सुन्न पाइन छोडेको थियो। अहिले पनि ठ्याक्कै गर्मी सुरु हुने क्रममा रहेको छ र कोइलीको कुहुँ कुहुँ सुनिन थालेको छ। आहाँ! साच्चै रमणीय महशुस भइरहेको छ।
सायद मैले बिर्सिसकेकी रहेछु, बच्चा बेलामा सुनेको मन्त्रमुग्ध पार्ने त्यो मधुर आवाज। लकडाउन भएपश्चात विभिन्न चराहरुको चिरबिर चिरबिर पनि सुनिन थालेको छ। त्यो आवाज पनि भुलिसकेकी रहेछु। अहिले यो समयमा ती चिरबिर चिरबिर सुन्दा बाल्यकालमा कता कता सुनेकी थिएँ जस्तो लाग्छ।
चाहे कोठामा बसेर काम गर्दा होस् या भान्छामा केही गरिरहँदा, त्यो चिरबिर आवाजले म कता कुनै नौलो ठाउँमा पुगेँ कि जस्तो भान हुन्छ। छतबाट घरवरपरको डाँडा देख्दा मनै फुरुंग हुन्छ। हुन त पानी पनि परिरहेकै छ बेलाबखतमा, धुलोमैलो पखालिएर पनि होला निक्कै हरियो देख्दैछु ती डाँडाकाँडा।
अनि साँझ बिहान तिर बरण्डा बाहिर हेर्दा सफा आकाशमा चराहरु भुर्रभुर्र गर्दै उडेका देख्छु, आफ्नै मनपनि ती चरासँगै उडेको महशुस गर्छु।
बच्चा बेलामा सँगालेका ती अनुभूतीहरु मेरो मानसपटलबाट उडीसकेका रहेछन्। सायद यो सहरको कोलाहलमा ती आवाजहरु दबिएछन् क्यार। वा मेरो ध्यान ती आवाजहरु भएतिर पुग्नै पो नपाएका हुन् कि हरेक दिनको भागादौडीमा अल्झेर।
यहि सोच्दा सोच्दै झल्याँस्स् हुन्छु अनि सम्झन्छु ती दिनहरु फेरी फर्किन्छन्, जब मलाई बिहान उठेर काममा जानै हतार हुन्छ र साँझमा घर फर्केर अरु काम सिध्याउन्। कहाँ डाँडाकाँडा हेर्न भ्याउनु, कता चिरबिर सुन्ने फुर्सद पाउनु। अनि पहिले कै जस्तै सडकमा बेजोड दौडिने गाडीहरुको ट्याँट्याँ टुँटुँमा कोइलीको कुहुँ कुहुँ फेरि पनि दबिने छ। चराहरुको चिरबिर हराउने छन्।
सफा आकाश र हरिया डाँडाकाँडा तुँवालोले छेकिने छन्। फेरि त्यही चिच्याहट लाग्दो वातावरण फर्किनेछ। मैले धेरैपछि देख्न र सुन्न पाएको काठमाडौँ फेरि त्यही कोलाहलमा हराउने छ।
हुन त सधैँ बन्द गरेर संसार चल्दैन, घर चल्दैन। मेरै पनि चल्दैन। पहिलेकै अवस्थामा फर्कन म आतुर छु। मनबाटै चाहन्छु कि यो कष्टकर अवस्थाबाट देशले मात्र नभई पूरै विश्वले नै छिटोभन्दा छिटो मुक्ति पाओस्। यसैमा सबैको भलो हुनेछ। तर मेरो मनले यो पनि चाहन्छ कि कठिन अवस्थामै भएपनि प्रकृतिसँग नजिक हुने जुन मौका पाइयो काठमाडौँमै बसेर, त्यो पनि निमेट नहोस्।
सबैले हाँसी-खुशी काम गर्दै बाँच्न पाइयोस्। काठमाडौँ पनि सधैँ शान्त र स्वच्छ नै भइरहोस्। सधैँ यसैगरी यस्तै वातावरणमा रमाउन पाइयोस्। काठमाडौँ भित्रै स्वच्छ हावामा सास फेर्न पाइयोस्। कोइलीको कुहु कुहुमा झुम्न पाइयोस्।
चराको चिरबिरमा रम्न पनि पाइयोस्। पर परसम्म हरियो डाँडा देखिरहन पाइयोस्। सफा आकाशमा उडेको महशुस गर्न पाइयोस्। एक दिन होइन, दुई दिन होइन, जिन्दगीभर पाइयोस्।
हाम्रो पुस्ताले मात्र होइन, भविष्यमा आउने पुस्तौँ पुस्तासम्मले पनि यस्तै अनुभूति सँगाल्न पाओस्। काठमाडौँ फेरी कोलाहलमै हराउने अवस्था अब कहिल्यै पनि नआओस्।