यो ‘कोरोना-समय’ हो। विश्व 'कोभिड-१९' नामक भाइरसबाट आक्रान्त छ। पृथ्वीमा आफूलाई सर्वेसर्वा घोषणा गरेर एकछत्र राज गरेको मानिस नै यसबाट बढी प्रभावित छ। कोही रोगसँग डराएका छन्, कोही भोकसँग।
सृष्टिको सुरूआतदेखि नै दैवी विपत्ति, महामारी र प्राकृतिक प्रकोपको सिलसिला चलिआएको छ। यसलाई स्वाभाविक मान्न सकिन्थ्यो। मानिसले यसलाई स्वीकार्न सकेन। पुराना घटना बिर्सिने र वर्तमानको चुनौतीलाई ठूलो ठान्ने मानवीय स्वभाव नै हो। यही स्वभावले सम्पूर्ण जनमानस अस्तव्यस्त र त्रस्त छ।
बेलाबखत आइपर्ने प्राकृतिक विपदबाट मानिसले आफ्नो क्षमताको सीमितता नबुझेको होइन। आफूले आफैंलाई प्रश्न नगरेको पनि होइन। तर, मानिसको अहम् यति ठूलो छ, ऊ आफूलाई सृष्टिको सानो अंश मात्र हुँ भन्ने नै हेक्का राख्दैन। आफ्नो हठ र स्वार्थमा टेकेर ऊ फेरि अपराजयको साहस बटुल्दै जान्छ। र, यही साहसले सृष्टिको विकासक्रममा मानिसको अस्तित्वलाई यहाँसम्म ल्याइपुर्याएको छ।
मानिसको यो चरित्रलाई एकातर्फ सकारात्मक मान्न सकिन्छ भने अर्कातर्फ यसले विनाश पनि निम्त्याउँछ।
मानिसले प्रकृतिमा रहेका स्रोतहरूको सही प्रयोग गर्न जानेन। अन्य प्राणीहरूलाई बेवास्ता गर्यो। पहाड खुइल्यायो, जंगल मास्यो। कार्बन उत्सर्जनले हावा दूषित बनाएर विकास र समृद्धिको सपना देखिरह्यो। यो विकास लहरमा न पन्छीहरूले खुला आकाशमा उड्न पाए, न खोलानाला कलकल बग्न पाए। सम्पूर्ण जलचर र थलचर प्रकृति दोहनको चेपुवामा परे। कोरोना संक्रमण यसैको एउटा प्रतिफल हो।
कोरोना महामारीले कसलाई कति बेला च्याप्ने हो अत्तोपत्तो छैन। जो कोही, जति स्वस्थ मानिस पनि यसको आक्रमणमा पर्न सक्छन्। यसले न जात हेर्छ, न धर्म। न वर्ग, न देश।
हामीले पनि कोरोनालाई जित्ने हो भने जात, धर्म, वर्ग र देशभन्दा माथि उठेर मानवताको हिसाबले सोच्नुपर्नेछ। तर, अहंकारले भरिएका मानिस यस्तो बेला पनि आफ्नै स्वार्थसिद्ध गर्न लागेका छन्। उही खिचातानी छ, उही लुछाचुँडी।
यो संक्रमण सम्पूर्ण मानव जातिकै लागि खतराको सूचक हो भन्ने किन बोध गर्न नसकेको होला?
मानिसले कहिले बुझ्ने होला, प्रकृतिको गर्भमा सिर्जना भएका सम्पूर्ण चिजको अस्तित्व एउटै हो भनेर! मानिसले कहिले चिन्ने होला, प्रकृतिका लागि ठूलोमा ब्ल्यू ह्वेल र सानोमा कमिलाको अस्तित्व एउटै हो भनेर! मानिसले कहिले जान्ने होला, प्रकृतिमा आफ्नो र कोरोना भाइरसको अस्तित्व एउटै हो भनेर!
एउटा कमिला मर्दा मानिसलाई कुनै फरक नपरेजस्तै मानव जाति लोप हुँदा पनि प्रकृतिलाई केही फरक पर्दैन। समुद्रमा भएका माछाले आन्दोलन गर्दैमा समुद्र विषाक्त नभएजस्तै मानिसका क्रियाकलापले प्रकृतिलाई कुनै चुनौती थपिँदैन। बरू उसका क्रियाकलापले उसकै अस्तित्व धरापमा पर्छ।
के यी कुरा बुझ्न सक्ने चेतना मानिसमा विकास भइसकेको छैन त?
प्रकृति सर्वेसर्वा हो। प्रकृतिभन्दा टाढा र पृथक मानव जाति रहन सक्दैन। मानव जातिको विनाशलाई प्रकृतिको पराजय मान्न सकिँदैन। मानव जातिको अस्तित्व नहुँदा पनि प्रकृति आफ्नो स्वाभाविक गतिमा चलेकै थियो। मानव जातिको अस्तित्व अब नरहँदा पनि प्रकृति आफ्नो स्वाभाविक गतिमा चलिरहनेछ।
प्रकृतिमा अन्तरनिहीत स्रोत-साधन व्यवस्थित ढंगले प्रयोग गर्न सक्ने हो भने मानव जातिको विकासक्रम अझै खारिँदै, माझिँदै र परिस्कृत हुँदै जानेछ। मानिसले दीर्घकालसम्म आफ्नो अस्तित्व जोगाइराख्न सक्ला। होइन भने, स्टेफेन हकिङ्गले भनेजस्तै अबको ६०० वर्षसम्ममा मानव जाति पनि डाइनोसरजस्तै इतिहासको पानामा सीमित नहोला भन्न सकिन्न।
अब कुरा गरौं प्रविधिको।
विज्ञान मानव क्षमताले निर्मित प्रविधि हो। राजनीति, कविता, साहित्य पनि मानव क्षमताकै उपज हुन्। यी सबैका आ-आफ्नै विशेषता र सीमा छन्। आ-आफ्नै परिधि छ। यिनीहरू इतिहासमा रहेका तथ्यमा टेकेर भविष्यका लागि मार्ग बनाउने अस्त्र मात्र हुन्।
कोरोनाले सिर्जना गरेको सत्य भने वर्तमानमा छ। यसको कुनै इतिहास छैन। त्यही भएर इतिहास बुझेर भविष्य कोर्नेहरू यस्तो विषम परिस्थितिमा पनि बिनाविकल्प मौन छन्।
पहिले नै कोरोना भाइरसको तथ्यमा खेल्न पाएको भए, साहित्यिक सिर्जनामार्फत् उपन्यास लेखिन्थ्यो होला। बेलैमा आकार पहिल्याउन सकेको भए, शब्द उनेर कविता सिर्जना गरिन्थ्यो होला। राजनीतिको बाटो कोर्नेहरू त्यसै किसिमको राजनीतिक मार्गदर्शन बनाउँथे होलान्।
एक्काइसौं शताब्दिको विज्ञानले यत्रो विधि आविष्कारको छलाङ मारिसकेको छ। यसको आधार बेलैमा पक्रन सकेको भए, कोरोना परास्त गर्न सक्ने प्रविधि आविष्कार गरेर मानव जगतलाई आश्वस्त पार्थ्यो होला। एलोप्याथी वा आयुर्वेदमार्फत् औषधि आविष्कार गरेर मर्ने मान्छेको संख्या घटाउन सहयोग पुग्थ्यो होला।
अहिलेसम्म विकास भएको कुनै पनि प्रविधिले कोरोना जित्न सकेन। यसको अस्तित्व पहिल्याउन सकेन। मानिसलाई आत्मबल थप्न सक्ने उपाय निकाल्न सकेन। यसबाट पनि मानिसको क्षमताभित्रको सीमितता कति छ भन्ने प्रस्ट रूपमा बाहिर आएको छ।
'कोरोना-समय' ले मानिसलाई चाहेर वा नचाहेर एकान्तवासमा पुर्याएको छ। दौडधूपको जिन्दगी त्यागेर एकाएक टक्क रोकिन बाध्य बनाएको छ। बाँच्न अनेक विकल्प प्रयोग गर्दै संघर्ष गरिरहेको छ।
व्यस्तताको जिन्दगीबाट एकाएक एक्लो जीवन व्यतीत गर्नुपर्दा मान्छेलाई छटपट र उकुसमुकुस नभएको होइन। तै पनि आफ्नो जीवन रक्षाका लागि ऊ घरभित्र कैद हुन विवश छ। एकपटक आफूले आफैंलाई अन्तरमनको यात्रामा लान समय पाएको छ। चेतना स्तर अझ फराकिलो बनाउन मौका पाएको छ। यो विभीषिका सामना गर्दागर्दै मानिसले आफू कति निरीह प्राणी रहेछु र जीवन कति क्षणभंगुर रहेछ भन्ने थोरबहुत अनूभूत गरेको छ।
समग्रमा यसबाट के प्रमाणित गर्न सकिन्छ भने, मानिस ज्ञानको प्रारम्भमा मात्र आइपुगेको छ। उसको सीमित बुद्धिले उसको अगाडि खोजी नगरिएका ज्ञानको विशाल क्षेत्र झन् बढी चुनौती बनेर तेर्सिएको छ।
आशा गरौं, कोरोना सन्त्रासबाट तंग्रिएर फेरि एकपटक सामान्य तवरले समय व्यतीत गर्न लाग्दा मानवीय चेतमा नयाँ चिन्तनको सुरूआत होस्! नयाँ सभ्यताको बीजारोपण होस्!