कोरोना संक्रमणसँग लड्ने सरकारको तयारी भनेको लकडाउन मात्र देखिएको छ। यसले संक्रमणबाट त अहिलेसम्म जोगाएको छ, तर लकडाउन लम्ब्याइरहँदा यसको भारले हामीलाई लामो समय थिचिरहनेछ।
लकडाउन कोरोना संक्रमणसँग लड्ने अस्थायी रणनीति हो भनेर विश्व स्वास्थ्य संगठनले बारम्बार भनेको छ। संगठन प्रमुख डा. टेड्रोस आढानोमले केही दिनअघि भनेका थिए, 'कोरोना भाइरस हामीले सोचेभन्दा लामो समय पृथ्वीमा रहने छ। यो लडाइँमा लकडाउन एउटा अस्थायी उपाय मात्र हो। हामीलाई उच्च मनोबल, राष्ट्रिय एकता र नयाँ सामाजिक, सांस्कृतिक मान्यतासहितको रणनीति चाहिन्छ।'
नेपालजस्तो महामारीको स्वरुप नलिएको देशमा सरकारले शंकास्पद व्यक्त्तिलाई तत्काल परीक्षण र सम्भावित संक्रमण क्षेत्र 'ट्रेस' गर्न सकेको भए पूर्ण लकडाउन थोपर्न पर्दैनथ्यो। पछिल्लोपटक थपिएको अवधि त नेतृत्वको निकम्मापनका कारण सर्वसाधारणमाथि थोपरिएको भार हो।
विश्व स्वास्थ्य संगठनले कोरोनाविरूद्ध लड्न राष्ट्रिय एकतामा जोड दिइरहेको छ, तर नेताहरूको चासो अन्तै छ। सरकार, फरक-फरक समयमा देशको नेतृत्व गरेका नेताहरू र राजनीतिक दलहरूको प्राथमिकता हेर्ने हो भने 'काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर' भनेजस्तो छ।
आजका दिनसम्म हामीलाई भाग्यले साथ दियो, तर सधैंभरि न हामी लकडाउन थाम्न सक्छौं न हामीलाई भाग्यले साथ दिनेछ। लकडाउनको भारी भने हाम्रा लागि हरेक दिन बोझिलो बन्दै जानेछ।
अहिलेको संवेदनशील घडीमा नेतृत्वको स्वार्थपूर्ण प्राथमिकता देख्दा एउटा पुरानो लोककथा म यहाँ सुनाउन चाहन्छु।
एक व्यापारीले हरेक दिन गधालाई नुन बोकाएर बजार पठाउँदो रहेछ। बाटोमा एउटा सानो खोला पर्थ्यो। एकदिन खोला तर्दा गधा झुक्किएर पानीमा डुबेछ। पानीबाट निस्कँदा आधाजसो नुन पग्लिसकेकाले गधालाई निकै हल्का महशुस भएछ।
त्यसपछि गधाले हरेक दिन त्यही उपाय लगाउन थालेछ।
केही दिनमा व्यापारीले गधाको जुक्ति बुझेपछि उसले नुन राख्ने बोरामा कपास भरेर गधालाई बजारतिर पठाएछ।
नुनभन्दा कपास धेरै हल्का हुन्छ। तर, पानीमा डुबेपछि अझ हल्का हुने लोभले सधैंझैं गधाले खोलामा खसेको नाटक गरेछ। सुख्खा कपासले पानी सोस्नेबित्तिकै कपासको भारी गधालाई आफ्नो कालको भारीजत्तिकै भएछ।
गधा त्यही कपासको भारले थिचिएर मरेछ।
हरेक समस्यालाई आफ्नो स्वार्थ समूहको फाइदानिम्ति प्रयोग गर्दै आएको राजनीतिकर्मीहरूले यसपटक कोरोना भाइरसलाई पनि सुख्खा कपासजस्तो ख्यालख्याल गर्दा देश त्यसकै बोझमा नथिचियोस्।
(लेखक जगरनट माइन्डसेटका संस्थापक तथा मानसिक स्वास्थ्य विज्ञ हुन्।)