लकडाउनका कारण देशभरीका विद्यालय तथा क्याम्पसहरू बन्द भएपछि ठप्प भएको शैक्षिक क्षेत्रले पछिल्लो समय नयाँ बाटो पाएको छ। विभिन्न विद्यालय तथा क्याम्पसले अनलाइन कक्षा सुरु गरेका छन्।
पहिलापहिला आक्कलझुक्कल ‘अनलाइन कक्षा’बारे सुनेका नेपालीले वास्तविक जीवनमै यसको प्रयोग गर्न सुरु गरेका छन्। पत्रपत्रिका र समाचार पोर्टलहरूमा अनलाइन कक्षाको चर्चा बाक्लिँदै जाँदा गत हप्ता एउटा अनपेक्षित समाचार आयो कि पोखरा महानगरले नगरभित्रका सबै शैक्षिक संस्थालाई अनलाइन कक्षा बन्द गर्न निर्देशन दियो।
समाचारमा भनिएअनुसार महानगरको तर्क थियो- पूर्वाधार तयार नगरी यस्ता कक्षा सञ्चालन गर्दा ‘आर्थिक विकृति’ (सम्भवतः ‘देखासिकी’ भन्न खोजेको होला) बढ्यो। सामाजिक सञ्जालमा धेरैले महानगर नेतृत्वलाई देखिएका समस्या समाधान गर्नुको साटो जिम्मेवारीबाट भागेको भनेर गाली गरे। को सही, को गलत, सम्भवतः बहस अझै जारी छ।
पोखराबाट केही किलोमिटर टाढा बाग्लुङ जिल्लाको एउटा गाउँमा पुगेकी छिन् मेरी एउटी मिल्ने साथी अचेल। हामी काठमाडौँको पद्मकन्या क्याम्पसमा सँगै पढ्छौँ। लकडाउन सुरु हुनुभन्दा केही दिन अगाडि नै क्याम्पस बिदा भएपछि उनी घर गइन्। आजसम्म फर्किएकी छैनन्।
तर गत हप्तादेखि हाम्रो कलेजले पनि अनलाइन कक्षा सुरु गर्यो। शिक्षक-शिक्षिकाले हाजिरी गनिन्छ र आन्तरिक मूल्याङ्कनमा ‘काउन्ट’ हुन्छ भन्दै सबैलाई कक्षामा सहभागी हुन दबाब दिइरहेका छन्। तर मेरी साथीको गाउँमा इन्टरनेट छैन। मोबाइल डाटा कनेक्ट गर्न सकिन्छ, तर भरपर्दो सेवा दिँदैन। फेरि सेवा भरपर्दो नै भए पनि हाल बेरोजगार उनका लागि किसानी गरेर जीविका चलाउने आमाबाबुले कति पैसा खर्च गरिदिने?
एउटा कक्षा एक घन्टा भयो भने त्यसका लागि ‘जुम मिटिङ’ चलाउँदा मोबाइलको ब्यालेन्स कति जान्छ कुन्नि, उनले हिसाब गर्ने पनि आँट गरिनन्। उनको समस्या देखेपछि मैले उनलाई कक्षाका कुरा रेकर्ड गरेर राखिदिने आश्वासन दिएकी छु।
पोखराको समाचार, अनि बाग्लुङे साथीको दुःखले मलाई कर्णाली सम्झायो। श्रीमानको कामका सिलसिलामा जाडो बिदाको छेको पारेर गत पुसको मध्यतिर कालीकोटका केही गाउँ पुगेकी थिएँ म। सदरमुकाम मान्मबाट करिब पाँच/छ घन्टा हिँडेर शुभकालिका गाउँपालिकाको हाउडी गाउँमा बास बसेका थियौँ हामी एक दिन।
हामी हिँड्दाहिँड्दै दिउँसो तीन/चार बजे सिमसिम पानी पर्न सुरु भएको थियो। भोलिपल्ट बिहान उठ्दा हिउँ परेछ। आफ्नै आँखाले पहिलो पटक हिउँ देखेकी मलाई फोटो खिचेर फेसबुकमा हाल्न रहर लाग्यो।
अघिल्लो दिन केही मिनेट मोबाइल डाटा चलाएकी थिएँ। तर भोलिपल्ट त डाटाको के कुरा, फोनको पनि नेटवर्क हरायो। पछि हामीलाई बास दिने आमैले भनेपछि पो थाहा भयो, त्यहाँको फोन नेटवर्क त सौर्य उर्जाले चल्ने रहेछ, दिउँसोभरी घाम लागेन भने टिप्न छाड्छ।
हाउडी डाँडाको माध्यमिक विद्यालयमा पनि इन्टरनेट रहेको कुरा त्यहाँका एक शिक्षकले बताएका थिए। तर यी वैशाखका दिनमा पनि दिउँसोभरी घाम लागेन भने त्यहाँ इन्टरनेट टिप्दैन।
त्यसैले, आज काठमाडौँको घरमा ओछ्यानमै बसेर अनलाइन कक्षा पढिरहँदा पनि मैले हाउडीको इन्टरनेट कनेक्सन सम्झिरहेकी छु। म आज सोच्दै छु, हाउडीबाट काठमाडौँ आएर कलेज पढ्ने मजस्तै कोही विद्यार्थी, मेरी बाग्लुङे साथीजस्तै बिदा हुनेबित्तिकै घर फर्किएका भए उनीहरूले कसरी अनलाइन कक्षा पढ्दा हुन्?
इन्टरनेट चलिहाल्यो भने पनि गरिबीको पर्याय बनेको कर्णालीको विकट गाउँमा इन्टरनेट चलाउन पैसा खर्च गर्न उनीहरूले कत्तिको आँट गर्दा हुन्? अनलाइन कक्षाका फाइदा आफ्ना ठाउँमा हुँदाहुँदै यस्ता प्रश्नहरू मेरा मनमा खेलिरहेका छन्।
काठमाडौँमा पढ्न बसेकाहरू गाउँमा जाँदाको समस्या एउटा भयो, हाउडीकै बालबालिकाको शिक्षाको अधिकारको सवाल झन् जटिल छ। हुन त कर्णाली प्रदेशभरी नै आजसम्म पनि एक जना कोरोनाभाइरस संक्रमित भेटिएका छैनन्, तर पनि त्यहाँ लकडाउन त जारी नै छ।
आजसम्म संक्रमित भेटिएनन् भनेर त्यहाँ कुनै जोखिम नरहेको त होइन। भनेपछि त्यहाँका बालबालिकामा इन्टरनेटको पहुँच कसले सुनिश्चित गर्ने? कामविशेषले कहिलेकाँही मान्म आउँदा एउटा जिप देख्दा एक मिनेटसम्म जिज्ञासु नजरले हेर्ने भाइबहिनीलाई स्मार्टफोन कसले किनिदिने? चलाउन कसले सिकाउने? कि संक्रमणको जोखिम रहुन्जेल पठनपाठन साँच्चै नै पूर्णतः बन्द गर्ने?
हो, अनलाइन कक्षा उपयुक्त छैन र यसलाई तत्कालै बन्द गरिनुपर्छ भन्ने तर्क सरासर गलत छ। तर हाम्रो देशका सन्दर्भमा भने यस्ता प्रश्नहरूलाई पनि ध्यान दिनु आवश्यक छ। सवाल पोखराको मात्र रहेन, बाग्लुङमा रहेकी मेरी साथीको मात्र रहेन।
कर्णालीका हाउडीजस्ता सयौँ गाउँका हजारौँ बालबालिका र युवाहरूको शिक्षाको अधिकारलाई पनि सरकारले सुनिश्चित गरिदिनुपर्छ।