विक्रम् सम्वत् १९९० सालको भूकम्पबारे हजुरबुवा, हजुरआमाबाट कथा सुनियो। २०४५ सालको भूकम्प बच्चैमा त्रास र उत्सुकतासहित अनुभव गरियो। २०७२ सालको भूकम्पको कोलाहल र राहत एवम् पुनर्निर्माणमा सहयोगीका रूपमा गरिएको काम ताजै छन्। त्यसमा कयौं आफन्तले ज्यान गुमाए, घर तहसनहस भए। भत्केको घर बनाउन लिएको ऋण तिरिनसक्दै अर्को महामारी- नोबेल कोरोना भाइरस।
यतिबेला विश्व बन्दाबन्दीमा छ। नेपाल पनि ठप्प छ। मान्छेदेखि मान्छे नै डराउनुपर्ने अवस्था छ। सबभन्दा नजिकका, एकाघरका सदस्यबीच पनि भौतिक दूरी कायम गर्नुपर्ने बाध्यता आइपरेको छ। यो आलेख तयार गर्दासम्म विश्वमा ४० लाख १५ हजार बढी सङ्क्रमित भइसकेका छन् भने २ लाख ७६ हजार बढीको मृत्युसमेत भइसकेको छ।
यसले स्वास्थ्य र अन्य क्षेत्रमा भएका विकास र आविष्कारलाई चुनौती दिँदैछ। विकासमा छलाङ मारेका शक्तिशाली राष्ट्रहरू अमेरिका, चीन र युरोपेली देशहरूले समेत यसबाट निको हुने औषधि बनाउन सकेका छैनन्।
घरभित्र बन्दाबन्दी
कोरोना अघिको जीवन र दैनिकी सामान्य थियो भन्ने ठानिन्छ। तर मलाई त्यस्तो लाग्दैन। बरू ती दिन झनै अस्तव्यस्त थिए। बिहान उठ, घरको सबै काम सक। हत्तारिँदै कार्यालय पुग। दिनभरि इमेल, फोन, बैठक, काम इत्यादिमा व्यस्त। बेलुकी अबेर घर फर्क। खानपिन व्यवस्थापन गर। कार्यालयकै डेडलाइन पूरा गर्नुपर्ने काम, राति अबेरसम्म पनि कम्प्युटरमा व्यस्त। हरेक दिन यस्तै।
तर २०७६ चैत ११ गतेबाट कोरोनाका कारण देश पूर्णरूपमा बन्दाबन्दीमा गयो। त्यसपछि फेरियो दैनिकी। हरदिन घरभित्रै बित्न थालेको छ।
बन्दाबन्दीको पहिलो हप्ता घरभरि कामैकाम देखिए। जहिल्यैको हतारोका कारण गर्न नभ्याएका काम एक–एक गर्दै गर्न थालियो। आधा मन ‘वर्क फ्रम होम’ र आधा मन ‘घरको काम’। पहिलो हप्ता कौशीका गमला गोड्न भ्याइयो। पुग्दो स्याहार पाएर अहिले गमलाका फूल ढकमक्क फुल्न थालेका छन्। दोस्रो हप्तादेखि घरको वातावरण अझै रमाइलो बन्यो। केही अघिदेखि बनाएको मल हालेर माछाको क्रेट र बोरामा रोपिएको फर्सी र सिमी उम्रिन थाले।
परिवारका सबै सदस्यसँग बसेर खाना र खाजा खाने अवसर पाइयो। रसवरी, आलुचप, जेरी पकाउन सिकियो। यसै क्रममा अर्को कुरा पनि मनमा आइरह्यो, घरको काममा लाग्नु नपर्ने वा लाग्ने नगरेका पुरूषका हकमा सायद यो दोहोरो जिम्मेवारीको अनुभव, बोझ र महशुस कमै होला।
लकडाउनले स्वः हेरचाहमा पनि मद्दत पुगेको छ। नियमित रूपमा पुग्दो पानी पिउने र समयमा सुत्ने पहिलो महत्वपूर्ण काम रहेछ। बिहान समयमा उठ्ने, १५ मिनेट योग र १५ मिनेट ध्यान गर्न थालें। कुनै कुरा थाल्नुभन्दा त्यसको नियमितता बढी महत्वपूर्ण रहेको बोध गर्दै योग ध्यानलाई निरन्तरता दिँदैआएकी छु।
जीवनमा सामान्य, मसिना लाग्ने अभ्यासहरू बढी शक्तिशाली र महत्वपूर्ण हुँदा रहेछन्। नियमित स्वःहेरचाहले मलाई भित्रैबाट ऊर्जा र आत्मविश्वास थपिरहेको हुन्छ। यसले आफूसँग जोडिएका व्यक्तिसँगको सम्बन्धलाई पनि सुमधुर बनाउन सहयोग पुग्छ। तनावमुक्त जीवन जिउने कुरा स्वभाव बन्दै जान्छ। दैनिक जीवनमा आइपर्ने समस्याहरूको विकल्प खोज्ने र स्पष्ट सोच्ने शक्ति विकसित हुन्छ।
पहिलाको अस्त व्यस्ततामा विस्याहारमा परेका किताबहरू समेटियो, मिलाएर राखियो। चाखलाग्दा र चाँडै पढ्नुपर्ने किताबहरू अगाडि, सजिलै भेटिने गरी राखियो। कोठा थप सुन्दर र सफा देखियो। काम गर्ने मन र वातावरण बढ्यो। कार्यालयको काम पनि घरमा बसेर गर्ने अभ्यास र अनुभव भयो। घरको काम र कार्यालयको काममा कसरी सन्तुलन मिलाउने त्यो पनि सिकियो।
घरमा जति नै वातावरण बनाउन खोज्दा पनि कार्यालयको दुई चिज भने धेरै मिस गरियो।
पहिलो– काम गर्ने टेबल र दोस्रो– सहकर्मी टिम।
हामी कार्यालय टिमबीच बेलाबेलामा भर्चुअल बैठकहरू भइरहेका छन्। तर भौतिक उपस्थितिको महत्व पनि उत्तिकै खड्कियो। समय मिल्दा निलम कार्की ‘निहारीका’ द्वारा लिखित ‘योगमाया’ पढेर सकियो।
समस्या र चुनौतीले हामीलाई नयाँ विकल्प खोज्ने बाध्यता र सिर्जनात्मकताको मौका पनि दिँदा रहेछन्। घण्टौं धाएर बैठकका लागि जानुपर्ने बाध्यतालाई अहिले भर्चुअल बैठकबाट काम चलाइरहेका छौं।
मेरो विचारमा यस किसिमको परिपाटीलाई बढाएर लैजानु उपयुक्त हुन्छ। प्रायः घरबाट काम नगर्ने हामी निश्चित कामको योजना बनाएर घरबाटै काम गर्ने अभ्यास बढाए बाटोमा र लम्बेतान बैठकमा खेर जाने समय काममा लगाउन सकिने रहेछ।
धेरै समयपछि छोरा अंकितसँग लामो समयसँगै बस्ने अवसर मिलेको छ। उसले यस वर्ष एसइईको परीक्षा दिनुपर्ने हो। तर बन्दाबन्दीको कारण उत्पन्न परिस्थितिले गर्दा परीक्षा स्थगित भएको छ। लकडाउनको पहिलो र दोस्रो हप्तासम्म त पढ्नका लागि राम्रो अवसर हो भन्ने कोणबाट उत्प्रेरित गरें र ऊ पनि विश्वस्त थियो।
तालिका बमोजिम अभ्यासको निरन्तरता चलिरहेकै थियो। तर लकडाउन थपिँदै जाँदा सायद ऊभित्र निराशा, छटपटी बढ्दै गयो। उसले पनि भनेको त छैन, तर उसलाई लाग्दो हो– परीक्षा दिन पाएको भए अहिले नतिजाको पर्खाइमा हुन्थें, नयाँ कुराको खोजीमा र सिकाइमा लाग्न पाइन्थ्यो!
वैशाख १० गते आमा भेट्न बालकोट गएँ। छोराले पनि अरू धेरै जनासँग कुराकानी गर्न, खेल्न, घुलमिल हुन पायो। सायद उसको निराशा र छटपटी धेरै मेटियो। बालकोटको खुला वातावरण, आमा र भाइबहिनीको साथले त्यहाँको बसाइँ रमाइलो, सुमधुर भयो।
वरिपरि गहुँ पाकेका फाँट छन्, किसानहरू धमाधम गहुँ भित्र्याउने तरखरमा छन्। मेरा लागि प्रकृति, माटो, कृषि र कृषकसँगको सानिध्य सधैं प्रेरक र सुखदायी हुने गर्छ।
वैशाख ११ गते मातातीर्थ औंसीको दिन, आमालाई गुलाबको फूल दिएर माया साटासाट गर्यौं। आमासँग लगातार दुई हप्ता बसेको माध्यमिक तहको पढाइपछि शायद यो पहिलो पटक थियो!
खेतीपाती र जीवन
लकडाउनपछि तरकारीलगायत दैनिक उपभोग्य सामग्री किनमेलका लागि बाहिर निस्कन गाह्रो भयो। आफ्नै छतमा फलेको धनियाँको पात टिपेर तरकारीमा राख्न पाउँदाको सजिलो र खुसी नै बेग्लै!
लकडाउनले मलाई माटोको शक्ति र कृषि प्रणालीप्रति पहिलेभन्दा अझ बढी माया र मोह बढेर आएको छ।
शायद आफ्नो जग्गा भएको भए हामीले यो अवधिमा विस्तारै परिवारलाई पुग्दो सागसब्जी फलाउन सक्थ्यौं। तर काठमाडौंमा प्रायः सबैको अरूले फलाएको किनेर मात्रै खान पाउने अवस्था छ।
किनेर खान पनि आफूसँग पैसा भएन भने के गर्ने ? यस्तो अवस्थामा भएका थुप्रै परिवारहरूको अवस्था कस्तो होला ? श्रमका लागि घरबाट टाढा पुगेका मजदूरहरूलाई पैदलै घर फर्किने साहस पनि लम्बिँदो बन्दाबन्दीमा उनीहरूले भोग्नु परेको अभाव र तनावले दिएको हुनुपर्छ।
यतिबेला म आफू जन्मिएको गाउँ सम्झिरहेकी छु। हजुरबुवाको दुई दाजुभाइ, उहाँहरूको पाँच घरको सानो बस्ती। उत्तर र दक्षिणतर्फ दुई स–साना जंगल कटेपछि एउटा शान्त गाउँ छ– धनेश्वारा।
गाउँको वरपर खेत, बारी र बस्ती।
हजुरबुवाको जीवन खेती किसानीमा बित्यो। त्यतिबेलाको खेती किसानी किन र कति महत्वपूर्ण थियो भन्ने कुरा अहिले आएर महशुस गर्दैछु।
खेतीपाती सम्बन्धमा उहाँले देखाउनु भएको बाटो र माटोप्रतिको माया कहिल्यै भुल्न नहुने उहाँको अर्ति उपदेश हुन्थ्यो। अहिले त्यो सम्झेर खुसी र गर्व लाग्छ।
मेरो गाउँमा दाजुहरूको विवाह भएपछि हामी एकताका पाँच घरबाट बढेर ९ घर पुगेका थियौं। अर्मपर्मबाट खेतीपाती गरिन्थ्यो। खानेपानीको सुविधा बढेपछि लसुन, प्याज, आलु र काउली फलाउने होडबाजी हुन्थ्यो।
गाउँमा हरियाली बढेको थियो। अहिले गाउँमा काका र दाइ जम्मा दुई घरमात्र हुनुहुन्छ। बाँकी कोही सडकछेउ घर बनाएर सर्नु भएको छ, कोही अध्ययन र रोजगारीको सिलसिलामा चितवन र काठमाडौंमा छौं।
केही वर्ष अघि दुई तीन जना साथीहरू मिलेर गाउँमै केही गर्ने सोच र जोश राखेर खेती सुरू गरे। तर घाटा लाग्यो भनेर उनीहरूले बीचैमै काम छोडे। विकासमा हामीले केही फड्को मार्यौं । सूचना र सञ्चारका हिसाबले छोटो समयमै धेरै अगाडि बढ्न सक्यौं । तर कृषिलाई सम्मानित पेशाका रूपमा लिनका लागि नीति र लगानी दुवै पुगेको छैन।
जीविकाका लागि गरिने विभिन्न काममध्ये कृषि प्रमुख र सम्मानित पेशा हो भन्ने बनाउन संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारले ठोस कदम चाल्नु पर्दछ।
बेलाबेला देखापर्ने महामारी र प्राकृतिक प्रकोपबाट हुने नोक्सानी र क्षति राज्यले व्यहोर्नु पर्दछ। साथै किसानी गरेर सबै नागरिकलाई स्वस्थ खाना उपलब्ध गराएवापत किसानलाई पेन्सन र जीवन बीमा सुनिश्चित गरिनु पर्छ। बिनाधितो, कम व्याजदरमा र सरल तरिकाले ऋण उपलब्ध गराइनु पर्छ । यस्तो ऋणमा साना किसानलाई पहिलो प्राथामिकता दिनुपर्छ।
कृषिमा गरिने लगानीले किसानहरूको जीवन सम्मानित बनाउँछ। जमिनको उपयोग बढ्छ। कृषि उत्पादनमा वृद्धि हुन्छ। खाद्यान्नमा रहेको परनिर्भरता घट्छ। रोजगारी बढ्छ। अनि देश अग्रगामी र समृद्धिको बाटोतर्फ अघि बढ्छ। यसले अन्य सबै खाले विकासका लागि बलियो आधार तयार गर्दछ।