विश्वभरी मानव जाति माथि कोभिड-१९ को कहरले ठूलो शैक्षिक चुनौती थपिएको छ। अन्य देशमा झैँ हामी पनि कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि लकडाउनको चरणमा छौं। त्यसैले देशभरका शैक्षिक संस्थाहरु बन्द छन्।
उच्च शिक्षामा अध्ययनरत लाखौँ विद्यार्थी तथा विद्यालयमा अध्यायनरत कक्षा १ देखी ९ सम्मका करिब ८० लाख विद्यार्थी घरमै बसेका छन्। विद्यालयका सम्पूर्ण शैक्षिक कार्यक्रमहरु प्रभावित भएका छन्।
शिक्षक-विद्यार्थी, विद्यार्थी-विद्यार्थी र शिक्षक-विद्यार्थी-अभिभावक बीचको सम्बन्ध टाढीएको छ। वर्तमान विषम् परिस्थितिले विद्यार्थीमा पर्ने सम्भावित सिकाईप्रतिको नकारात्मक असरलाई कम गर्दै सिकाईलाई निरन्तरता दिदै गुणस्तरीय शिक्षाको बाटो लाग्न सम्बद्ध पक्षले ढिलाई गर्न नहुने देखिन्छ।
के विद्यालयमा नगई विद्यार्थीले सिक्न नसक्ने हो त?
अवश्य पनि विद्यालय बाहिर पनि सिकाई हुन्छ नै। उसोत विद्यालय उमेर समूहका विद्यार्थी दैनिक १८ घण्टा घरमा रहेको पाइन्छ। हाम्रो जस्तो बहुभाषिक बहुसांस्कृतिक, बहुधार्मिक परिवेशमा त तत्अनुसारको भाषा संस्कृति र धर्मको सिकाई घरमा नै हुन्छ।
समान्य कृषि कर्मको सिकाईको स्थान पनि घर नै हो। तर पनि विद्यालय जानु भनेको गणित अंग्रेजीको सिकाई मात्र पनि होइन। यो त सामाजिक सम्बन्ध र समकक्षी बीचको अन्तर्क्रियाको अवसर पनि हो।
यो सिकाई असल नागरिक बन्ने र सामाजिक सीपहरुको विकास गर्ने थलो पनि हो। त्यसैले विद्यालय र विद्यार्थी बीचको अन्तर्सम्बन्ध कुनै पनि हालतमा आवश्यक छ।
हाल विद्यालय र विद्यार्थी जोड्न गरिएका प्रयासहरु
उच्च शिक्षातर्फ केही विश्वविद्यालय तथा विद्यालयतर्फ सम्पन्न निजी विद्यालयले अनलाइन कक्षाहरु सुरु गरेका छन्। ती शैक्षीक संस्थाले विश्वमा धेरै रुचाइएका टिचिङ टुल्स जुम तथा माइक्रोसप्ट टीम प्रयोग गरी शिक्षण गरीरहेको छन्।
फेसबुक लाइभ र मेसेन्जर कल आदिबाट सर्पोटिभ कक्षाहरु संचालन भएको पनि पाइन्छ। विद्यालय तहमा अनलाइन कक्षा सञ्चालनका लागि सरकारले कुनै नीति नबनाइसकेको परिपेक्षमा विद्यालय तथा शिक्षकको वैयत्तिक ज्ञान सीपका आधारमा अनलाइन कक्षाहरु सञ्चालनमा छन्।
साथै देशका विभिन्न ठाउँमा स्थानीय तह तथा विद्यालयको पहलमा रेडियोमार्फत विद्यालय स्तरको कक्षाहरु चलेका समाचार प्रशस्त आएका छन्। उक्त कक्षाहरु ६, ७, ८, ९ र एसइई तहलाइ लक्षित गरी सञ्चालित छन्।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सूचना जारी गरेर विद्यालय बन्द रहेको अवस्थामा बालबालिकाको सिकाईलाई निरन्तरता दिन बालबालिकाको निम्ति विभिन्न किसिमका शैक्षिक सामाग्री अनलाइनमार्फत हेर्न, पढ्न, सुन्न र जान्नका लागि वेबसाइटहरु सिफारिस गरीएको छ।
त्यहाँ कक्षा छदेखि आठका अंग्रेजी, गणित र विज्ञान विषयका सामग्री राखिएका छन्। त्यस्तै बालबालिकाका लागि बाल कथा, कविता, निबन्ध अध्ययनको लागि खुल्ला पुस्तकालय, र खेल खेल्नका लागि गेम वेबसाइट सुझाइएको छ। कक्षा ९ र १० का लागि युट्यूबमा समेत सामग्री राखिएको छ।
त्यस्तै लकडाउन अवधिमा विद्यार्थीको पढाई निरन्तरता होस् भन्ने उद्देश्यका साथ टेलिभिजनमार्फत कक्षाहरु समेत सञ्चालित छन्। टेलिभिजन प्रदायक संस्था डिसहोमले घरमै कक्षा नामक कार्यक्रम प्रशारण गरिरहेको छ। उक्त प्रसारणमार्फत कक्षा ४ देखि कक्षा १० सम्मका चार विषयका पढाई संचालनमा रहेका छन्।
अनलाइन कक्षा सञ्चालनका कठिनाइ के छन्?
इन्टरनेटको सहायतामा चलाइने कक्षानै अनलाइन कक्षा हुन्। अनलाइन शिक्षाको प्रत्यक्ष शिक्षणको विकल्प होइन तर परिपूरक हो। यसका लागि दक्ष शिक्षक, सक्षम विद्यार्थी र उपयुक्त पूर्वाधारको आवश्यकता पर्दछ। प्रत्यक्ष शिक्षणमा शिक्षकले केही नगरी पढाउन सक्छन् तर अनलाइन शिक्षणको लागि शिक्षकले धेरै तयारी गर्नुपर्ने हुन्छ।
नयाँ सामग्रीको खोजी, टाइप, रेकर्ड गर्नका साथै क्वीज निर्माणका लागि थुप्रै प्राविधिक ज्ञानको आवश्यकता पर्दछ। यसका लागि शिक्षकसँग प्रविधि सम्बन्धि ज्ञान हुन आवश्यक छ। विद्यार्थिलाई रुचि जगाउने काम निकै चुनौतीपूर्ण छ र उक्त सामग्री विद्यार्थिको पहुँच सम्म पुर्याउन र उनीहरुले ती सामग्रीबाट सिकिरहेका छन् कि छैनन् भन्ने अनुगमन र मूल्यांकन गर्न धेरै कठिन छ।
भौतिक पूर्वाधारका हिसाबले पनि हामीकहाँ अनलाइन कक्षाहरु संञ्चालन असम्भव प्राय छ। शिक्षा मन्त्रालयको तथ्यांक मान्ने हो भने करिब १३ प्रतिशत विद्यालयमा इन्टरनेटको पहुँच रहेको छ। अन्तर्राष्ट्रिय संस्था शेयर कास्टको अध्ययनमा नेपालको कुल जनसंख्याको ४५ प्रतिशत जनसंख्या मात्र इन्टरनेटको पहुँचमा रहेको छ।
त्यसैले प्रविधिमार्फत गरिने पठनपाठन निकै कठिन छ। अहिलेको परिस्थितिमा न्यूनतम पूर्वाधार र आवश्यक तयारी बिना नै अनलाइन कक्षाहरु संञ्चालन गर्नु उपयुक्त देखिदैन।
अब के गर्ने?
वर्तमान परिस्थितिमा विद्यार्थीलाई सक्रिय सिकाईका लागि उत्प्रेरित बनाउनु पर्ने आजको आवश्यकता हो। त्यसका लागि अन्तर्राष्ट्रिय अनुभव र अहिले हामीले प्रयोग गरेको विधि र माध्यम भित्रै समाधान खोजिनु पर्दछ। यसका लागि हाम्रा सम्पूर्ण विद्यार्थीलाई तीन वटा समूहमा विभाजन गर्न सकिन्छ।
हामीसँग उपलब्ध प्रशारण माध्यमका आधारमा इन्टरनेट सिकाई समूह, टिभि सिकाई समूह र रेडियो सिकाई समूहमा विभाजन गर्नुपर्दछ। अब ती सबै समूहका लागि पाठयक्रमसँग जोडेर उपयुक्त शैक्षिक गतिविधि र मूल्यांकनका साधन पहिल्याउनु आवश्यक छ। त्यसका लागि सरकारले अबिलम्व कोरोना अवधि लक्षित शैक्षिक नीति जारी गर्नु पर्दछ।
उक्त नीतिले निर्दिष्ट गरेका लक्ष्यहरु प्राप्त हुनेगरी रेडियो, टिभि र इन्टरनेटका कार्यक्रममा एकरुपता हुनेगरी छुट्टाछुट्टै रेडियो शिक्षा, टेलिभिजन शिक्षा र इन्टरनेट शिक्षाका कक्षागत तथा विषयगत शैक्षिक क्रियाकलापका नमुना निमार्ण गरी संविधानले सुझाएअनुसार विद्यालय शिक्षाको सम्पूर्ण जिम्मा स्थानीय तहलाई दिनुपर्छ।
र ती कार्यक्रमहरुको संचालन प्रशारण र अनुगमन समेतको व्यवस्था गर्न जिम्मा स्थानीय तहलाई दिँदा उपयूक्त हुन्छ। हाल उचित शैक्षिक पूर्वाधार भएका विद्यालयहरुले अनलाइन कक्षाहरु संचालन गरिरहेको परिस्थितिमा इन्टरनेटको पहुँचमा रहेका विद्यार्थीलाई इन्टरनेटबाटै सिकाउन उपयुक्त देखिन्छ।
दोस्रो विद्यार्थी सिकाई समूहको माध्यमको रुपमा टेलिभिजनलाई लिन सकिन्छ। नेपालमा टेलिभिजनको प्रशारण हेर्न सकिने र विद्यार्थीका लागि उपलब्धताका आधारमा टेलिभिजन कक्षाहरु संचालन गर्न सकिन्छ। सरकारी टेलिभिजनका तीन वटा च्यानल र निजी टेलिभिजनका थुप्रै च्यानलहरु हाल संचालित छन्।
साथै टेलिभिजन च्यानल प्रशारण संस्थाहरुले समेत स्थानीय कार्यक्रमको उत्पादन तथा संचालन गरिरहेका छन्। ती माध्यमबाट विद्यार्थी र शिक्षक जोडेर उक्त शैक्षिक गतिविधि संचलन गर्न सकिन्छ।
टेलिभिजन र इन्टरनेटका पहुँचभन्दा बाहिर रहेका विद्यार्थीका लागि रेडियो शिक्षा प्रशारण गर्न सकिन्छ। यस समूहमा पर्ने विद्यार्थीहरु दुर्गम तथा पिछडिएको क्षेत्रमा सबैभन्दा बढी रहेका छन्। यो समूहमा पर्ने विद्यार्थीहरुलाई विशेष ध्यान दिनु जरुरी देखिन्छ। किनकी उनीहरु कमजोर तथा विपन्न वर्गबाट आएकाले उनिहरुको शैक्षिक चेतनाको स्तर पनि कमजोर रहेको हुन्छ।
रेडियोबाट संचालन हुने कक्षामा विद्यार्थी शिक्षक बीच पनि अन्तर्क्रिया गर्न सकिने मोडका कक्षा संचालनमा जोड दिनुपर्दछ। हाल नेपालमा सूचना तथा संचार मन्त्रालयको इजाजत प्राप्त रेडियोको संख्या ७४० रहेको छ। स्थानीय सरकारले र स्थानिय रेडियोसँग समन्वय गरी उत्कृष्ट शिक्षकमार्फत कक्षा संचालन गरिनुपर्दछ।
शिक्षामा सबैको समान पहुँच स्थापित हुनुपर्ने मान्यता अनुरुप अपांगता भएका विद्यार्थीका लागि अपांगतामैत्री शैक्षिक सामग्री संकलन गरी उपयुक्त माध्यममा प्रशारण र प्रकाशन गरिनु पर्दछ।
उल्लेखित सुझाबलाई कार्यान्वयन गरी सिकाई समूहमा अपेक्षित लाभ प्राप्त गर्न अभिभावकको भूमिक निकै ठूलो हुन्छ। तसर्थ आफ्ना बालबालिकाले सिकाईमा भाग लिए/नलिएको रेखदेख र सहजीकरण सम्बन्धित विद्यालयले आफ्ना अभिभावकलाई परिचालन गर्नुपर्ने देखिन्छ।
माथि सुझाइएका शिक्षण विधिका मूल उद्देश्य तत्काल विद्यार्थीलाई सिकाईमा सहभागी बनाउने र सिकाउने अल्पकालिन उपाय मात्र हुन्। अझै लकडाउन कहिलेसम्म जारी हुने र लकडाउन पछि पनि सामाजिक दुरी कायम गरी कक्षा संचालन गर्नुपर्ने देखिन्छ। त्यसैले कोभिड-१९ को प्रकोप पछि पनि विद्यालय कसरी नियमित गर्ने भन्ने बारे छलफल हुन जरुरी छ।
(लेखक शिक्षण पेशामा आवद्ध छन्।)