मेरी एउटी साथी विगत चार पाँच वर्षदेखि नै ‘रिलेसनसिप’मा छे।
साथी र उसको ब्वाइफ्रेन्डबीच राम्रो समझदारी छ।
दुबैका घरपरिवारले एकअर्कालाई स्वीकारिसकेका छन्। दुबैको बिहे गर्ने उमेर पनि भइसक्यो र बिहे गर्ने समझदारी पनि। तर पनि विगत तीन वर्षदेखि दुबै जना आफ्नो बिहेको मिति कुरेर बसेका छन्।
यही अवस्थाको समझदारी हुन्थ्यो भने अरू जोडीको बिहे हुन सायद केही हप्ताको तयारीले पुग्थ्यो होला। तर तीन वर्ष कुर्दा पनि मेरी साथी र उनका ब्वाइफ्रेन्डले कहिले लगनगाँठो कस्छन् तय भइसकेको छैन।
कारण : मेरी साथीको दाइको बिहे भएको छैन। तीन वर्षको मिहिनेतपछि यसै वर्ष वैशाखलाई तय भएको दाजुको बिहे लकडाउनले अनिश्चित बनाइदिएको छ।
अर्थात्, मेरी साथीको प्रतीक्षा थप लम्बिने भएको छ, यससँगै उसका त्यसपछिका योजना पनि अनिश्चित भएका छन्।
झट्ट हेर्दा मेरी साथी लकडाउनका कारण समस्यामा परेको जस्तो देखिए पनि उसको समस्याको खास कारण हाम्रो सामाजिक मान्यता र चालचलन हो। हाम्रो समाजले एकातिर बिहेलाई चाहिनेभन्दा बढी महत्व दिएको छ भने अर्कातिर दाजुदिदीको असफलता वा अनिच्छाको सजाय उनीहरूका ‘निर्दोष’ भाइबहिनीलाई दिइरहेको छ।
हुन त आधुनिकतासँगै नेपाली समाजमा बिहेको महत्व हिजोअस्तिको जत्ति नभएकोजस्तो देखिए पनि आज पनि यसले मान्छेको जीवनमा केही न केही अर्थ त पक्कै राख्ला।
आज पनि धेरै अभिभावक छोराछोरीको बिहे भइसकेपछि बल्ल आफ्नो जिम्मेवारी पूरा भएको ठान्छन्।
मेरै साथीको भनाइ अनुसार पनि बिहे हुनासाथ उनको व्यक्तिगत जीवनमा त्यतिविधि फरक हुने त केही पनि होइन, तर उसको सामाजिक जीवन भने पक्कै बदलिनेछ।
यसले उसलाई आफूलाई माया गरेको मान्छेसँग सामाजिक रूपमा अझ नजिक बनाउनेछ ताकी उनीहरू एकअर्काका महत्वाकाङ्क्षा पूरा गर्न एक भएर लाग्नेछन्।
तर अहिलेको अवस्थामा, परिवारले उसको रिलेसनसिप स्वीकार गरिसक्दा पनि उसका आफन्तहरू यसबारे जानकार छैनन् र फलानोको बिहे कहिले होला भनेर अनावश्यक चर्चा गरेर बस्छन्।
फेरि उनको ब्वाइफ्रेन्डलाई पनि ‘भोज कहिले ख्वाउने ?’ भनेर सोध्नेहरूले हैरान पारिसके। आकाशको फल कुर्न त्यति गाह्रो नहोला, आफ्नै आँखा अगाडि आइसकेको एउटा सुन्दर भविष्यले झुलाइराख्दा उसलाई अर्कै किसिमको पीडा भएको छ रे।
मेरी साथी एउटा कानले आफन्तको गनगन र अर्को कानले ब्वाइफ्रेन्डको रिस सुनिरहेकी छे। त्यसको समाधानका लागि ऊसँग एउटा मात्र उपाय छ : परिवारलाई मेरो बिहे छिटो गरिदेऊ भन्ने। तर आमाबा त्यसका लागि तयार छैनन्। उनीहरूको भनाइ छ- दाजुभन्दा अगाडि बहिनीको बिहे गरिदिँदा समाजले उसलाई उत्ताउली भन्छ, कुरा काट्नेहरूले मौका पाउँछन्।
तर म सोच्छु उसका दाजुले समयमा बिहे गर्न सकेनन् वा चाहेनन् त त्यसको दोष बहिनीले किन बोक्ने ? उमेर पुगेपछि र सबै कुरा मिलेपछि पनि उसलाई बिहे गर्न कसैले किन रोक्ने ?
सुरूसुरूमा पढ्न र त्यसपछि करिअर बनाउन दाजु व्यस्त बनेपछि सायद उनी ‘रिलेसनसिप’ बनाउन लागेनन् होला। बहिनीको ‘हुनेवाला’ टुङ्गो लागेपछि भने परिवार नै जुटेर भाउजू खोज्न लागे। तर त्यो पनि त्यति सजिलो काम भएन। बल्लबल्ल गत माघ फागुनतिर एक जनासँग टुङ्गो लागेछ। दुई परिवारबीच सल्लाह भएर यसै वैशाखमा बिहे गर्ने तय भएछ।
त्यसैले विगत फागुनमा मेरी साथी मख्ख परेकी थिई। भन्थी, “दाजुको वैशाखमा भएपछि मेरो असारमा कसो नहोला। कथंकदाचित केही भइहाले हिउँदमा झ्याइँ पारेपछि जिन्दगीका सबै कुरा सेटल हुन्छन्।”
मलाई पनि उसको कुरामा विश्वास लागेको थियो। तर विश्वव्यापी कोरोनाभाइरस सङ्क्रमणका कारण जारी लकडाउनले दाजुको बिहे रोकिँदा मेरी साथीले पनि धोका खाएकी छ!
अचेल ऊ भन्छे, “यस पालि पनि जाला जस्तो छ। अब कोरोनाभाइरसको डर कहिले सकिने, त्यसपछि लकडाउन, अनि दाजुको बिहे, अनि बल्ल मेरो... बाफ रे बाफ, कति चाहिँ कुर्नु ?”
मलाई यस्तो लाग्छ बिनाकसूर उसले पाएको सजाय एक पटक फेरि थपिएको छ।
आखिर विवाह आफ्नै लागि गर्ने हो भने पहिला दाजुदिदीको बिहे भएपछि मात्र गर्नुपर्ने यस्तो चलन किन ? यदि आफ्नो उमेर पुग्यो, दुबै परिवारबीच सल्लाह पनि मिल्यो भने जुनसुकै बेला पनि बिहे गर्दा हुन्न र?
किन सबै मान्छेलाई यो समाजले के सोच्छ, के भन्छ भन्ने पीर लाग्छ, त्यो पनि अनावश्यक कुरामा ? आफूसँग समय बढी भएपछि गाउँसमाजमा कुरा काट्दै हिँड्ने मान्छेका आलोचनासँग डराएर हामीले आफ्नो जीवन बदल्ने निर्णयबाट पछि हट्नुपर्ने किन होला?
यो समाजमा मानिसहरू किन सोच्दैनन् कि छोराछोरीलाई जन्माएर उचित शिक्षादीक्षा दिएर हुर्काइदिइसकेपछि उनीहरूलाई आवश्यक स्वतन्त्रता दिनु पनि आमाबाबुको कर्तव्य हो भनेर? आमाबाले पनि आफ्ना छोराछोरी जेमा खुसी हुन्छन् त्यसमै आफू खुसी हुनु राम्रो होइन र? जेठाजेठीका कारण कान्छाकान्छीलाई अल्मलाइरहनु ठीक होला र ?
हुन त मेरी साथीको समस्या समाधान हुने चरणमा छ। अब लकडाउन खुलेपछि सकेसम्म छिटो उसका दाजुको बिहे होला, अनि उसको पनि बाटो खुल्ला। तर ऊजस्ता अन्य धेरै साथीहरूलाई मेरै साथीको जस्तो वर्षौं लामो पर्खाइबाट मुक्ति दिने हो भने समाज अलिकति तार्किक र खुला हुनु आवश्यक छ र दाजुदिदीका कारण भाइबहिनीलाई समस्यामा पार्नुहुँदैन।