काठमाडौं देशकै संघीय राजधानी सहर हो। यहाँ प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार छ।
काठमाडौंमा सेवा सुविधा धेरै भएर हुनुपर्छ, यहाँ घनावस्ती छ। उपत्यकाबाहेक जिल्लाका मानिसहरू सेवा सुविधा खोज्दै यहाँ बसोबासका लागि आएका छन्।
मानिस काम खोज्न र पढ्न पनि काठमाडौं आएका छन्। आफ्नो जन्मभूमि छाडेर पढाइ र कामकै लागि यहाँ कोठा भाडामा लिएर बस्नेहरूको संख्या धेरै छ।
कोही व्यापार गर्न, घुम्न पनि काठमाडौं आउँछन्। लकडाउनले करिब दुई महिनादेखि मानिसको दैनिकी बदलिएको छ। काम हुनेले काम गर्न पाएनन्, विद्यार्थीले पढ्न।
विद्यालय, क्याम्पस बन्द छ। एसईई परीक्षा स्थगित छ। कक्षा ११/१२ र विश्वविद्यालयका परीक्षा पनि स्थगित छन्।
बजार बन्द छ। उद्योग बन्द छ। अर्थतन्त्र पनि प्रभावमा परेको छ। यति हुनुमा कोरोना भाइरसकै कारण हो।
नेपालमा कोरोना संक्रमित संख्या वृद्धि भइरहेको छ। यस्तो बेला सरकारले लकडाउन झन् कडा बनाइरहेको छ। प्रत्यक्ष मारमा दैनिक ज्यालामजदुरी गरि खानेहरू परेका छन्।
साना व्यवसायी मारमा छन्। आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको खर्च सकिएको छ। घर जाउँ भने सवारी साधन चलेका छैनन्। सरकारले अनवाश्यक रूपमा हिँडडुल गर्न रोकेको छ।
काठमाडौं अरूको जस्तै मेरो पनि सपनाको सहर हो। यहाँ बस्ने मानिसका सपना ठूला होइनन् सामान्य छन्। अहिलेका लागि उनीहरूले मानिस भोकै नमरून् भन्ने कामना गरेका छन्। कोरोनाबाट कोही मर्न नपरोस् भनेका छन्।
म पनि आफ्नै देशमा गरिखान पाइयोस् भन्नेमा छु। काम गर्दागर्दै पनि यस्तै असमान्य परिस्थितिले गर्दा समस्यामा पार्छ मानिसलाई।
राज्यले जति हेर्नुपर्ने हेर्न सकेन। हाम्रो ढुकुटी कमजोर होला तर यस्तो बेला राजनीतिक दल र नेताहरू एकआपसमा राजनीतिक खेल खेल्दैछन्। सबै कोरोना नियन्त्रण तथा रोकथाममा एकजुट हुनुपर्ने बेला छ अहिले न की राजनीति गर्न!
जनताले के खोजिरहेका छन्, चाहेका छन् र जनताका दु:ख के छ भन्ने नेतालाई थाहा छैन। टाढाका कुरा थाहा पाउनुपर्छ भन्न खोजेकी होइन मैले।
तर नेताहरू जहाँ बस्छन् त्यही घर आसपास दुई चार घरका कोठा पुगेर समस्या बुझ्ने हो भने थाहा हुन्छ कि मानिसहरू कोठाभाडा तिर्न पनि सकिरहेका छैनन्।
यतिमात्र होइन उनीहरूको भान्सामा परिकार पाक्न छाडेको छ। हातमुख जोर्न समस्या भइरहेको छ।
मध्यम वर्गका मानिसलाई अहिलेसम्म असर परेको छैन। यो अवस्था अझ रहे उनीहरूमा पनि असर पर्ला। अहिले उनीहरू इन्टरनेटर र मोबाइलमा रमाइरहेका छन्।
गरिवका लागि भने हातमुख जोर्न समस्या भएको पहिलेदेखि नै हो। चैत ११ देखि लकडाउन भएपछि झन् उनीहरू पीडामा छन्। गरिवलाई बाहिर गए मरिएला भन्ने डर छ किनकी मास्क छैन। सेनिटाइजर छैन। कोरोना सर्ला भन्ने डर छ। पूर्वसावधानी अपनाउन सकेका छैनन्।
रोगलेभन्दा पनि भोकले मानिस मर्छन् कि जस्तो भइसक्यो। व्यवसायीहरू यस्तो बेला कालोबजारी गर्छन् सरकारले अनुगमन गर्दैन।
अहिले नै कति मानिस बेरोजगार हुन्छन् एकिन भइसकेको छैन। विज्ञहरूले दश लाखबढी रोजगारीविहीन हुने बताएका छन्। कोरोना रहिरहे यो संख्या थपिनेछ।
अन्तर्राष्ट्रिय परिवेशमा हेर्दा पनि कोरोनाले नराम्रोसँग प्रभाव पारेको छ। मानिसहरूको मृत्यु भइरहेको छ। संक्रमित संख्या बढेको छ। आर्थिक अवस्था घट्दो छ।
कोरोनाले कुल ग्राहस्थ उत्पादन ९ खर्व डलरको घाटा हुने देखाएको छ।
विश्व बैंकको प्रतिवेदनअनुसार यस क्षेत्रको कुल ग्राहस्थ उत्पादनको आँकलन ६.३५ बाट घटेर १.८ -२.८५ मा पुग्ने देखिन्छ। यो पछिल्लो ४० वर्ष को सबभन्दा नराम्रो स्थिति हो।
नेपाल पनि यसको प्रभावबाट अछुतो छैन।
राजश्वमा मात्र नेपालले अर्बौ घाटा सहनु पर्ने अवस्था छ। नेपालको आर्थिक वृद्धिदरमा पनि यसको प्रतिकूल असर छ। नेपालको कुल ग्राहस्त उत्पादन ७.१ बाट झरेर ५.३५ मा झर्ने देखिन्छ।
आर्थिक क्षेत्रका विज्ञका अनुसार १९१८ को फ्लु प्यानडेमिक (जसमा प्रथम् विश्व युद्धले पनि योगदान गरेको थियो) र २००९ को मन्दि भन्दापनि ठूलो असर कोरोनाले निम्त्याउने निश्चित छ।
काठमाडौंलाई फर्केर हेर्दा
काठमाडौंमा अहिले झन्डै ५०/६० लाख मानिसहरू बसोबास गर्छन्। अहिले लकडाउनको बेला झन् महँगी बढेको छ।
जलस्रोतको धनी हाम्रो देशमा किनेर पिउने पानी खानुपर्छ। अहिले काठमाडौंमा तरकारीदेखि खाद्यान्न किनिसाध्य छैन।
यसले विद्यार्थी र दैनिक ज्याला गरि खाने मजदुरलाई समस्यामा पारेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ८० करोडको राहत बाँडेको केही समयअघि बताएका थिए।
जुन पीडित छ त्यसले भने कतिपय ठाउँमा राहत पाएका छैनन्, यो कुरा प्रधानमन्त्रीलाई कसले भनिदिने?
मजदुरी गरेर बस्नेका लागि कोठा भाडामा छुटमा दिने भनेर सरकारले भनेको थियो तर कसले मान्ने? यसको अनुगमन कसले गर्ने?
घरबेटीले सरकारका कुरा नसुनेझैं गरिरहेका छन्। लकडाउनका बेला कमाइ छैन अब कसरी तिर्ने घरभाडा? आमाबुवाले दु:ख गरी कमाएर पठाउने पैसा पनि पठाउन पाएका छैनन्।
मलाई चिन्ता थपिएको छ- काठमाडौंमा बस्ने गरिव र विद्यार्थीले कसरी कोठाबहाल तिर्लान्? यस्तो बेला सरकार एउटा असल अभिभावक बन्नुपर्ने हो।