कोरोना भाइरस (कोभिड-१९) एकादेशको कथा कहिले हुने हो? विश्व स्वास्थ्य संगठनले पनि एकिन गर्न सकेन। यसमाथि गरिएका सबै परीक्षण र आविष्कार एक-पछि अर्को गर्दै असफल भैरहँदा अनुसन्धानकर्तालाई समेत थकित बनाएको छ।
विश्व समुदायले आफ्नो सम्पूर्ण क्षमता कोरोना भाइरसलाई पराजित गर्न लगाए पनि यसले मूर्त रुप पाउन सकेको छैन। सम्पूर्ण मानव समुदायको टाउको दुखाईको विषय बनेको यो महामारीको अन्त्य कहिले र कसरी हुने हो यसको कुनै भविष्यवाणी गर्न सक्ने अवस्थामा आज सिँगो विश्व समुदाय नै छैन।
पछिल्ला समयमा प्रकाशनमा आएका समाचारअनुसार यसको अणुवंश परिवर्तन अनुसन्धानकर्ताहरुको लागि यसलाई पराजित गर्नको लागि सबैभन्दा ठूलो बाधक बनेको समेत सुनिएको छ। तसर्थ अहिले विषम् परिस्थितिको कोरोनालाई पराजित गर्ने एउटै मात्र विकल्प घरभित्रै रहने र भीडभाड गर्दै नगर्ने नै हो। जुन बन्दाबन्दी नेपालले पनि गत चैत्र ११ गतेबाट गर्दै आएको छ।
आलोचकहरुले जति नै आलोचना गरे पनि सरकारको तर्फबाट बन्दाबन्दीको घोषणा समयमै भएको थियो। सञ्चार माध्यम, दुरसञ्चार सेवाप्रदायकहरुले यसको बारेमा गरेको प्रचार प्रसार र सचेतना अतुलनीय नै रह्यो जसको कारण यो भाइरसको लक्षण तथा यो कसरी सर्छ भन्ने विषयमा प्रायः सबै नेपाली जानकार छन्।
तथापि आजको दिनमा यसको प्रकोप घट्नुको सट्टा बढिरहेको छ जसले गर्दा भविष्यमा यसले ठूलो क्षति पुर्याउने अनुमान गर्न जो कोहीलाई पनि सहज छ। नेपालले कोरोना भाइरसका विरुद्ध अपनाएको प्रशंसनीय कदमका समेत त्यतिबेला निरर्थक भयो जतिबेला हामी नेपालीहरु अन्य समयमा बिहान ८ बजेसम्म सुते पनि बन्दाबन्दीको घोषणा भएसँगै बिहान ५ बजे उठेर मर्निङ वाक सुरु गर्यौँ।
अन्य समयमा छिमेकीको मृत्यु हुँदा मलामी जान ढाड र खुट्टा दुख्नेहरु आज बजारतिर के भएको? कसले बन्द गर्यो? कसले गरेन? हेर्न पर्यो भन्दै बजार निस्कन थाले। कतिपय अवस्थामा घरमा कति बस्नु दिक्क लाग्यो भन्दै अस्पतालको पुरानो बहिरंग विभागको पूर्जा लिएर औषधी किन्न जाने हो भन्नेको भीड पनि राम्रै देखियो।
यी र यस्ता घटनाले कोरोना विरुद्धको लडाई थप कमजोर बन्दै गयो। यस्ता परिघटनाका पात्रहरुमा आफूलाई पढे लेखेको र बुद्धिजिवीको उपमा थमाउने सख्यात्मक हिसाबले दुई तिहाईभन्दा बढी हुनुले हामी भित्रको नैतिकता र बौद्धिकता माथि नै जबरजस्ती करणीको झल्को दिन थालेको छ।
यसै पनि कुनै पनि राज्यका लागि कोरोना रहर होइन कहर भएको छ, त्यहीमाथि जनताको विद्रोही प्रतिपक्षिय भूमिकाले राज्यका सम्पूर्ण प्रयासलाई बालुवामा पानी जस्तै बनाएको छ।
महा-विपदका बेलामा कानुनका दफा हेरेर राज्यसँग सिगौंरी खेल्ने, आफ्नो गैरजिम्मेवारीपूर्ण भूमिकालाई अत्यावश्यक सेवाभित्र राख्ने हाम्रो बौद्धिकतामा परिवर्तन नआउँदासम्म कोरोना विरुद्धको लडाई पूरा हुन नसक्ने, सपनामा परिणत नहोला भन्न सकिदैन।
संविधानले प्रदान गरेका मौलिक हक तथा अन्तर्राष्ट्रिय कानुनका मान्यताहरु समेत अघोषित रुपमा निलम्बन प्रायःको अवस्थामा विगतमा गरिएका सशक्त आन्दोलन जस्तै गरि सबैले घरमै बस्ने आन्दोलन गर्न सके यो महामारीलाई निस्तेज पार्न सिँगो विश्व समुदाय सफल हुने देखिन्छ।
आजको दिनमा परिस्थितिसँगै राज्यका चुनौतीहरु पनि थपिएका छन्। एकातिर प्रवासमा रहेर आफ्नो देशमा फर्कन चाहनेहरुको लामो लर्को, अर्कोतर्फ देशमा भएका विदेशी नागरिकको व्यवस्थापनसँगै देशमै रहेका नागरिकको सुरक्षासँगै उनीहरुलाई खाद्यान्न व्यवस्थापन र सुरक्षित राख्ने चुनौती, यी सबै जादुमयी समाधान पक्कै पनि होइनन्।
खुल्ला सिमाना, दुष्ट मिचाहा छिमेकी नेपालका जन्मजात लगाइएका जंगे पिल्लर बनेका छन। खर्चिलो राज्य सञ्चालन व्यवस्था, टोलैपिच्छेका निकम्मा सरकार, अनि घरको भकारीमा धान लुकाएर राज्यको राहतमा लाइन बसेर राहतलाई पाइखानामा बिसर्न गर्न नपाउँदै मिडियामा गएर मैले खान पाइन हजुर, कैयौँ दिनदेखि भोकै छु भन्ने प्रवृतिका हामीलाई व्यवस्थापन गर्न हाम्रो राज्यका लागि सयौँ महाभारत भएको छ।
सामान्यतया महाविपदको समयमा अर्थतन्त्र होइन मानिसको जीउज्यान बचाउनु पर्छ भन्ने हेक्का नभएका अर्थशास्त्री अनि विज्ञहरुको उदेक लाग्दा आर्थिक बृद्धि सकिने भयो भनेर गरिने आलोचना के साच्चिकै अहिलेको सान्दर्भिक खोजी होला र? लकडाउनमा समेत अपहरणको समाचार बन्न लाज नमान्ने उच्च पदस्त ब्यक्ति, खै हामीले हाम्रो नैतिकता र जिम्मेवारी कहाँ खोज्ने हो?
एउटा सामान्य नागरिकलाई त्यति बेला राज्यको भूमिका महशुस हुन्छ जतिबेला उ संकटले निचोरिएको हुन्छ। देशकै सिमाना बेवारिसे हुनुको नमज्जा भोग्नेलाई मात्र थाहा हुन सक्छ, उनीहरुको उचित व्यवस्थापन त्यति बेला मात्र संभव छ जति बेला हामी आफ्नो घरमा भएकाहरुले राज्यको निर्देशन पालना गर्छौ।
राज्यसँग भएको सिमित संयन्त्र हामीलाई घरभित्र बसाल्नका लागि उपयोग गर्ने कि उद्धारका लागि? अहिले को यक्षप्रश्न नै यही हो। सधैँ सरकारले आफ्नो जिम्मेवारी पूरा गरेन भनेर कुर्लने हामी खै त यो महाविपत्तिमा आफ्नो जिम्मेवारी पूरा गर्न सकेको? हामीलाई राज्यले कुनै ठूलो काम लगाएको छैन, मात्र आफ्नै घरभित्र बस्न भनेको छ।
हामीलाई आफ्नै घर भित्र बस्न त गाह्रो भएको छ भने सरकारलाई अहिले असिमित अव्यवस्थालाई समाधान गर्न अनि सिमाना र प्रवासमा बेवारिसे भएर बस्न हाम्रा नेपाली समुदायका नागरिकहरुलाई कति गाह्रो भएको होला? हामी सहजै अनुमान लगाउन सक्छौँ।
हामीले ठूला क्रान्ति गरिसकेका हौँ। रक्तपातबिना विश्व चकित हुने गरि व्यवस्था बदल्यौँ तर हामी कहिल्यै बदलिएनौं आखिर किन? विकसित देशहरु जोसँग प्रविधि छ, नीतिनियमको उच्चस्तरमा पालना समेत भएको छ। अर्को तर्फ आणविक होडमा लागेर बटन थिचेर तलाई सक्छु भन्नेहरु पनि आज कोरोनासँग हारेका छन्। उनीहरु पनि कोरोना भाइरससँग जुध्न नसकेर बन्दाबन्दीमा छन्।
हामीसँग न प्रविधि छ, न त भएको प्रविधि उपयोग गर्न सक्ने सीप। न त नीतिनियमको प्रभावकारी पालना। यस्तो अवस्थामा हामीले यो सबै महामारीलाई खेलवाड गर्यौ भने साचिकै पछुताउनु र जीवनका बिसर्जन गर्नु बाहेक हामीसँग दोस्रो विकल्प नहुन पनि सक्छ।
तसर्थ नागरिक भनेका अधिकार खोज्ने दस्ता मात्र होइनन्, कर्तव्यलाई पालना गर्ने बफादार सिपाही पनि हुन् भन्ने परिणाम देखाउने बेला भैसकेको छ। यो महामारीलाई जित्न राज्यको नियमलाई उच्चस्तरमा पालना गर्नु जरुरी छ।
यो महामारीबाट नागरिकलाई जोगाउन भएका उच्च प्रयास, अग्रपंक्तिमा रहेर कर्तव्य पालना गर्नु हुने स्वास्थ्यकर्मी, सुरक्षा निकाय, प्रेस जगत, सञ्चार माध्यम, भोको पेटलाई राहत वितरणमा सघाउने विवेकशील नागरिकहरुको उच्च सम्मान गर्दै आमनागरिकहरुलाई पनि सरकारको निर्देशन पालना गर्न अनुरोध गर्दछु।
अनिकालमा बीउ जोगाउनु, महामारीमा जीउ जोगाउनु।