मिति २०७७ साल वैशाख ३१ गते, लकडाउनको ५१ औं दिन। नेपालमा चैत्र ११ गतेबाट सुरु भएको लकडाउन चौथो पटक थपिएसँगै जेठ ५ गते सम्मलाई कायम छ।
मैले यो लेख तयार गर्दासम्म देशभर २१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ जसमा ३१ जना निको भएका छन्। दोस्रो व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएकै दिन नेपालमा पहिलो पटक चैत्र १० गते एक हप्ताका लागि लकडाउन घोषणा भयो।
चीन, अमेरिका, बेलायत, इटाली, स्पेन जस्ता विकसित देशहरुमा कोरोना भाइरसले जनजीवनमा पारेको प्रभावलाई नियालिरहेका हामी (म र श्रीमान)लाई नेपालमा पनि लकडाउनको अवधि लम्बिन सक्ने अड्कल गर्न समय लागेन। अन्योलपूर्ण परिस्थिति र महामारीको त्रास, जो कोहीलाई पनि सबैभन्दा पहिले अभाव खट्किने र चिन्ता लाग्ने आफ्नो परिवारकै रहेछ।
पूर्वी नेपालमा रहेको परिवारसँगै रहने र परिआउने काम घरबाटै गर्ने कुरामा हामी पनि सहमत भयौं र त्यही साँझ काठमाडौं छाड्यौँ। हामीसँग भएका बोक्न मिल्ने खानेकुरा हाल्यौं र बाटोमा कतै अलमल नगरी बिहान १ बजे हामी घरको आँगनमा ओर्लियौँ।
त्यसयता, एक सचेत नागरिकका रुपमा लकडाउनको यो समयमा आफ्नै घरभित्र बसे मात्र आफू र अरुमा कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न सकिने भएकाले यसलाई अक्षरसः पालना गरिरहेको छु।
यसरी बसीरहँदा सञ्चारका विभिन्न माध्यम र सामाजिक सञ्जालहरुमा हरेक दिन सुनिने विश्वभरका समाचार र देखिने दृश्यहरु संसारका अधिकांश देश कोभिड-१९ महामारीको शिकार भएको, संक्रमित र संक्रमणबाट मृत्यु हुनेको संख्या बढीरहेको र विश्वभर आर्थिक संकट पैदा हुने, गरिबी बढ्ने र निकट भविष्यमा मानिसले भोकमरीको समेत समना गर्नु पर्ने विश्लेषणले भरिएका हुन्छन्।
यसै बीच मेरो मस्तिष्कमा भने केही फरक पात्र, फरक परिस्थिति र फरक कथा घुमिरहेका छन्।
विगत एक दशक विभिन्न सरकारी तथा गैरसरकारी विकास आयोजना एवम् परियोजनाहरुमा फरकफरक जिम्मेवारी र भूमिका निर्वाह गर्ने क्रममा नेपालका दुर्गम भेगमा मैले भेटेका, म बास बसेका र दुःखसुखका गन्थन गरेका कयौं मानिसका अनुहार र तिनले भोगेको जिवन मेरो मानसपटलमा घुम्ने गर्छन्।
वर्षका १२ महिनामा ३ महिना दुई छाक खाएर बाँकी ९ महिना के खाने भन्ने पीरले पेट खाली नभएका ती ३ महिनाका ९० रात पनि छटपटिँदै निदाउन नसक्ने ती जीवनकथा सुनेको हिजो झैं लाग्छ। आज, ती कथाका प्रमुख पात्र परिवर्तन भए होलान् तर पटकथाका अवयवमा खासै भिन्नता आएको पक्कै छैन।
कोरोनाको कहरका बारेमा सुने होलान् तर लकडाउनका नियम भने उनीहरुका लागि नौलो छैन। काम गर्ने थाँतथलो घरवरिपरि मात्रै छ, कतै टाढा जानु पर्दैन, उनीहरुलाई कुनै सवारी चढ्नु वा चलाउनु पर्दैन। हुन्जेल खान र सकिएपछि खाली पेट सुत्न बानी परेका छन्। भोक र शोकलाई जितेर बाँचेका उनीहरु कोरोना भाइरससँग पक्कै पनि डराएका छैनन्।
सबेरै उठी एक घन्टा ओरालो झरेर दुई भुल्टुङ पानी ल्याई आँगनमा कुनै ‘वाश’ परियोजना अन्तर्गत ढलान गरिएको जुठेल्नोमा राखिएको परियोजनाको नाम टाँसेको ड्रममा पानी खन्याई खाली भएको भुल्टुङसँगै किताब च्यापेर दुई कान्ला बुर्कुसी मार्दै स्कूल हिँडेका दृश्यले आँखा बिझाएको अझैँ विसेक भएको छैन।
ती कलिला हातले पानी ओसार्ने ती भुल्टुङ त उहिल्यै फुटिसके तर ठेला उठेका औंलाले कलम समाएर कोरेका कखरा सायद भूकम्पले चर्किएको तिनको स्कूलको भित्तातिर कतै हुनुपर्छ। लकडाउनमा विद्यालय बन्द भएपनि आफ्ना आमाबाबुले गरेको संघर्ष र जिवनलाई अझै नजिकबाट बुझीरहेका होलान्।
सहरतिर सुरु भएको ‘इ–शिक्षा’को नाम पनि नसुनेका उनीहरु आजकल पानी बोक्न बिहान छिट्टै उठ्नु नपर्दा, दिनभरी पढाइको बोझले थिचिएको मस्तिष्क र भोकले गलेको शरीरले भुल्टुङभरी पानीको भारी खेप्नु नपर्दा फुर्किएका होलान्। अहिले उनीहरुको पानी ओसार्ने नै मात्र काम होला अनि समय नै समय। दिनभरी ओसारेको पानीले साबुन भिजाई समयसमयमा मिचिमिचि हात त पक्कै धोएका होलान्।
मलाई सम्झना छ, २७ घरधुरी भएको सानो वस्तीमा एउटा शनिबारको दिन म पुग्दा हजुरबा र हजुरआमा सिकुवामा आँखाका चेपमा कचेरा सुकाउँदै ढल्किरहेका, साना केटाकेटी कोही घरधन्दा गर्दै त कोही आँगनमा खोपी बनाई गुच्चा ताक्दै गरेका। दलित समुदाय मात्र बस्ने त्यो वस्तीमा प्रायः पुग्ने भनेको परियोजना अनुगमन र भोट माग्ने टोली हुन्थ्यो।
बुढा बा-आमाका छोराबुहारी या त विदेशमा या सहरमा, विरलै गाउँ आउने गर्थे। नातिनातिनाको रेखदेख गर्ने जिम्मा पाएका बा-आमा छोराले पठाउने रेमिट्यान्सको पैसा लिन पहिले सदरमुकाम र पछि पालिकाछेउ पुग्थे। केही वृद्ध आमा-बा त त्यसबेलै निकै रोगी थिए।
उनीहरु नरहेको खबर पाएपछि आए होलान् छोराछोरी अनि त्यही सिकुवाबाट ओरालेर राखे होलान् तुलसी मोठको आडमा।
बाँचीरहेका बा-आमा भने सहरतिर आफ्ना छोराछोरीलाई फोन गर्दा हुन् र फोनमा आजकल बज्ने सामाजिक दुरी कायम गरौं भन्ने सन्देश सुनेर सोच्दा हुन्- 'बिरानो ठाउँबाट आएको कोरोना त जो कोहीलाई लाग्न सक्ने रहेछ, आफैं बस्ने समाजले तानेको भेद्भावको धर्सोले हामीलाई पहिलेदेखि नै समाजबाट दुर राखेकै छ।'
उता छोराछारी लकडाउनले बा-आमासम्म जान नपाएपनि सहरमा बसी हातमा सेनिटाइजर र मुखमा मास्क लगाउन पाएका होलान्। लकडाउनका बेला कोठाभित्रै बसी खान पुग्ने अन्न पक्कै जुटाएका होलान्।
०७२ सालको भूकम्पपछि धेरै थलिएका थिए गाउँहरु। भूकम्पले पहाडतिर धेरैजसो पानीको मुहान सुकायो, त्यसमाथि खडेरी। जेठ महिनामा खेततिर घुम्दा मकैका पात सुर्तीजस्तो हातमै मोल्न सकिने भएका हुन्थे। फेरि पनि कुनै विकास परियोजनाले तल कुनै खोलाबाट लिफ्ट गरेर ल्याइदिएको पानी वस्तीका सबैले कमसेकम पिउनसम्म पाएका थिए।
आँगनमा धारा पनि खस्थ्यो कतैकतै र त्यहाँका केटाकेटी बतास जस्तो दौडिन्थे हातका पखेटा फिँजाएर। यो लकडाउनमा खै कति मकै भाँच्न पाउलान् किसानले, कति पैसामा कहाँ बेच्न लाने होलान्। ती केटाकेटी पढीलेखी उसैगरी कतै उडान भर्दै होलान्, तिनका पखेटामा कोरोना भाइरस लुकेर त बसेन होला।
ती परियोजना त घुमन्ते हुन्, जहाँ माग भयो उतै गए। तिनले बनाइदिएको त्यो पानी तान्ने प्रविधि बन्द त भएको छैन होला। कोरोनाको संक्रमणबाट जोगिन हात धुने साबुन पनि कोही गएर वितरण गर्यो होला अनि मिचिमिचि हात धुन पनि सिकायो होला।
वृद्धवृद्धा त्यसै पनि केही अशक्त नै हुन्छन्। शारीरिक अपांगता भएका वृद्ध श्रीमान् र उनको साहारा बनेकी वृद्ध श्रीमती। गाउँबाट लोकल कुखुराका फुल किनेर तीन घन्टा पैदल मूल सडकमा बेच्न झर्थिन् र बिहानबेलुकाको अन्न जोहो गर्थिन्।
कोही सहयोगी बिना, दुर्गम गाउँको एउटा कच्ची घरमा जसोतसो दुवैको सास धानिन्थ्यो। भूकम्पले त्यो घर भत्कियो र श्रीमान जोगिए पनि श्रीमतिलाई छानोले थिचेर सधैंका लागि अशक्त बनायो। भूकम्पलगत्तै पूरै बर्खा त्रिपालको ओतमुनि बिताएपछि अस्थायी टहरामा बसेका उनीहरु पुनर्निमाण परियोजना अन्तर्गत दुई वर्षदेखि दुई कोठे पक्की घरमा बस्न थालेछन्।
बास त पाएछन् ढिलै भएपनि। उनीहरुको अपांगता, वृद्धावस्था र अशक्तता स्थानीय सरकारको आँखाबाट ओझेल त परेको छैन होला नत्र के खाएर सास फेर्दा हुन् बाँच्न उहिल्यै बिर्सिसकेका उनीहरु?
कोरोनाबाट बच्न सेनिटाइजर प्रयोग गर्ने, साबुन पानीले हात धुने, मास्क लगाउने र सामाजिक दुरी कायम राख्ने सन्देश सुने होलान् नयाँ घरको भित्तामा झुण्डिएको थोत्रो रेडियोमा र सोचे होलान्- 'आजीवन एकान्तबासमा रहेका हामी दुईलाई त कोरोनाले छुँदैन, हामी यसपालि पनि मर्दैनौं।'
एउटा बच्चा पिठ्यूँमा पछ्यौराले बाँधरे, एउटालाई काखी च्यापेर समूहको मासिक बैठकमा आउने एउटी दिदी थिइन्, जसको उपस्थितिले मात्र पनि प्रेरणा मिल्थ्यो। त्यो समूहमा केही नबोले पनि आफ्नो परिचय दिन सक्ने आत्मविश्वास भएका थोरै मध्ये उनी एक थिइन्। बचत तथा ऋणबारे कुनै पनि निर्णय लिनुअघि उनी श्रीमानलाई फोन गर्थिन्।
रोजगारीका लागि भारत गएका श्रीमान घर आएका बेला उनी कहिले सुन्निएका आँखा, कहिले धस्रिएका हात त कहिले पिठ्यूँ कुप्रो पार्दै आउँथिन् र हाँस्थिन सबैसँग। नेपाल र भारत दुवै देशमा लकडाउन भएपछि उनका श्रीमान धेरै दिन उतै अड्किएर भर्खरै नेपाल आइपुगेका छन् रे।
केही दिन क्वारेन्टिनमा राखेर संक्रमण नदेखिए उनलाई घर पठाइनेछ। पहिलेदेखि नै दुर्व्यवहार गर्ने श्रीमान, अहिले त झन् रोजगारी समेत गुमाएर आएका। एकातर्फ आफ्नो श्रीमानलाई सकुशल घरमा देख्न पाउने आशा, र अर्कातर्फ तिनै श्रीमानबाट हुने दुर्व्यवहारको त्रास। थप कष्टकर र कठिन समय संहारमा हुँदा पनि उनी उसैगरी मुस्कुराउँदै होलिन्।
स्थानीय निकायका न्यायिक समिति र राष्ट्रिय महिला आयोगका हेल्पलाइनबारे उनले थाहा पाएकी छन् कि छैनन्। घरेलु हिंसाविरुद्ध र महिला अधिकारसम्बन्धी वकालत गर्नेहरुले यो लकडाउनमा सामाजिक सञ्जालका भित्ताबाट निस्केर ति दिदीसम्म पुग्ने बाटो पहिल्याउन भ्याए कि भ्याएनन् होला?
विगतका यस्तै स्मृति र तर्कनाले दिन बित्दैछन्। लकडाउनले शरीर कैद भएपनि मन-मस्तिष्क भने अरु बेलाभन्दा धेरै स्वतन्त्र हुँदो रहेछ। नेपालमा लकडाउनको ५१ औं दिनसम्म विश्वका २१२ देश कोभिड-१९ को प्रभावसँग जुध्दैछन्। ४० लाख ८८ हजार बढी संक्रमित भएकामा २ लाख ८३ हजार बढीको संक्रमण्बाट मृत्यु भएको छ र झण्डै १४ लाख मानिस निको भएका छन्।
कोरोना भाइरससँगको अनिश्चित लडाइँमा होमिएकै बेला संसारभर पात्रो फेरिएको छ। सन् २०१९ बाट सन् २०२० मा प्रवेश गर्दा समेत यो पटक विश्वले मेसो पाएन। नेपाली पात्रो पनि नयाँ सुरु भइसक्यो। सरकारी काम र कार्यालयतिर पात्रोले ठूलो महत्व राख्छ।
तर म पुगेका माथिका धेरैजसो गाउँ र सबैजसो मानिसको जीवनमा पात्रोमा भएका बार, गते र तिथिले भन्दा आकाशमा टल्किने घाम, लाग्ने बादल, पर्ने पानी, चट्याङ, बढ्ने खोला, उडाउने हुरी, ढल्ने रुख, कहिल्यै नसुक्ने पानीको मुहान र पाक्ने बालीले बढी महत्व राख्थ्यो।
कोभिड-१९ को प्रकोप र लकडाउनको समयमा पनि उनीहरुलाई पात्रोसँग केही सरोकार छैन होला। उनीहरु अझै पनि हिजो, आज र भोलिमा बाँचिरहेकै होलान्।