वातावरण नियन्त्रित बिरुवा हुर्काउन रोमन समयमा नै सुरु गरिएको विश्वास गरिन्छ। रोमन सम्राट एक प्रकारको काक्रो दिनहुँ खाने गर्थे।
त्यसै बेलादेखि रोमन किसानहरुले एक विशेष प्रकारले कृतिम विधिबाट वर्षको हरेक दिन सम्राटको खुराकमा काक्रो उपलब्ध गराउन थालेको बुझिन्छ। कालान्तरमा यहि विधि परिमार्जन र परिस्कृत हुँदै हरितगृह भनेर जनमानसमा चिनिन र बुझिन थाल्यो।
हरितगृह प्रकृति र बिरुवाबीचको ढाल हो, जसले अत्याधिक चिसो वा तातोबाट बिरुवालाई आश्रय प्रदान गर्छ। यसका फाइदाहरु निम्न लिखित छन्:
आयामिक मौसम
१. सबै काल कृषि, खराब मौसमबाट सुरक्षा
२. बोटबिरुवाको विविधता
३. किरा फट्यांग्राबाट सुरक्षा साथै लाभकारी किराको समंरक्षण
४. अनुकूलित उब्जनी वातावरण
५. उर्जा बचत, आदि।
विश्वको सबैभन्दा ठूलो हरितगृह 'द इडेन प्रोजेक्ट' बेलायतमा अवस्थित छ। यो सन् १९९८ मा निर्माण सुरु गरि सन २००० मा सम्पन्न गरिएको हो। तर बीचमा मौसमले गर्दा केही महिना रोकिएको थियो अनि यो सामान्य समयमा बनेको थियो।
आम जनताका लागि भने मार्च २००१ देखि संचालनमा आएको हो। यसमा करिब १० लाख बिरुवा र त्यसका प्रजातिहरू छन्। अनि यो १५ हेक्टर क्षेत्रफलमा फैलिएको छ। यो कृषि र पर्यटन, उत्पादन र आम्दानी दुवैको लागि उपयोगी रह्यो।
यी त पृष्ठभूमिका कुरा भए। वर्तमान समय सारा विश्व कोरोना महाव्याधिबाट गुज्रिरहेको सर्वविधितै छ। पर्यटन व्यवसाय चौपट छ। आगामी दिनको आशा भनेको पनि आन्तरिक पर्यटन अनि यसै बीचमा पर्यटन पूर्वाधारको विकास नै हो।
तुलनात्मक रुपमा कृषि अरुभन्दा थोरै प्रभावित छ। सरकारको दृष्टिकोण पनि टुटेको कृषि र आपूर्ति प्रणाली जोड्नेमा रहेको बुझ्न सकिन्छ। सरकारी प्रक्षेपणअनुसार वैदेशिक रोजगारीबाट करिब ५ देखि ६ लाख नेपाली स्वदेश फर्किने आकलन छ। उनीहरुलाई कृषि कार्यक्रममा जोड्नु नै अहिलेको माग हो र सरकारको ध्यान पनि त्यतै छ।
तथापी मुख्य चुनौती फर्किएका नेपालीहरुको संसर्ग निषेधावधि (क्वारेन्टाइन) व्यवस्थापन नै हुने पक्का छ। अहिले भएका उपाय त अनेक छन्। संसर्ग निषेधावधि बारे हामीले एउटा नयाँ प्रयोग किन नगर्ने, हरितगृहलाई क्वारेन्टाइन स्थल बनाएर?
अहिले फर्किएकाहरुलाई त्यहाँ राख्ने अनि पछि कोरोना महाब्याधीपछि यसैलाई हरितगृहको रुपमा उपयोग गर्ने?
विश्व स्वास्थ संगठनको आधारभूत निर्देशनअनुसार क्वारेन्टिनका लागि भेन्टिलेटेड कोठा चाहिने रहेछ। र, साथसाथै व्यक्तिगत सरसफाई (जस्तै हात धुने) र चर्पीको बन्दोबस्त हुनुपर्ने रहेछ।
यसबाहेक कम्तिमा १ मिटरको दुरी कायम गर्नु पर्ने रहेछ। अनि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको उपलब्धता त जहाँ राखे पनि हुने भैनै हाल्यो।
अब विदेशबाट फर्किने नेपालीहरुको सरदार हिसाब गरौँ। कम्तिमा पनि ४/५ वटा दैनिक उडानहरु मार्फत लगभग एक हजार जना आउन सक्ने भए। भारत हुँदै स्थलमार्गबाट आउने हिसाब गर्दा अझै बढी संख्या होला।
उनीहरुको पिसिआर जाँच गरेर न्यूनतम १४ दिनको क्वारेन्टिनमा अनिवार्य राख्नु पर्ने हुन्छ। यथार्थ, हामीसँग यत्तिका ठाउँ उपलब्ध छैन, नयाँ ठाउँको व्यवस्था अकाट्य छ।
जसरी पनि ठाउँ निर्माण गर्नु पर्ने हुँदा किन पुनः प्रयोग अनि कृषि तथा पर्यटनमैत्री पूर्वाधारको विकास नगर्ने?
कसरी?
यदि सकिन्छ भने ठूल्ठूला हरितगृह बनाए पनि भयो अथवा धार्मिक क्षेत्रका थुप्रै स-साना मठमन्दिरको परिकल्पनामा बनाउँदा हुन्छ। क्वारेन्टिन वा हरितगृह दुवे पूर्वाधार बनाउन पानी र बत्तिको व्यवस्था त साझा नै हुने भयो।
छानो एक तिहाइ पोलिकार्बोनेटेड शीटको प्रयोग गर्दा हुन्छ जुन पछि हरितगृहमा पुनः प्रयोग गर्न भैहाल्छ। सुत्ने ओछ्यान बाहेक हिड्ने बाटो र खाली ठाउँमा यो पोलिकार्बोनेटेड शीटको प्रयोग उत्तम हुन्छ। र, बाँकी दुई-तिहाईमा जस्ता पाताले छाउँदा हुन्छ।
क्वारेन्टाइन सक्किएपछि जस्तापाता हटाएर त्यसको ठाउँमा पनि पोलिकार्बोनेटेड शीटले छाउदा हुन्छ। त्यो जस्ता पाता चाहि सरकारले फुसको छानो हटाउन अनुदानमा दिने कार्यक्रममा पुनः प्रयोग गर्न सकिन्छ।
भित्ता पारदर्शी हुने हुँदा त्यसमा पर्दा प्रयोग गर्ने वा हरितगृहमै प्रकाश छेक्न, नियन्त्रण गर्न प्रयोग हुने खालका पर्दा (ब्लाइन्ड्स) उपयोगी हुन्छ।
हरितगृहको आकार, प्रकार र प्रयोगको परिकल्पना गर्दै विज्ञको सर-सल्लाहअनुसार परिमाण, सामाग्री र उपयुक्त ठाउँको मूल्यांकन, खोज र प्राप्ति गर्न सकिन्छ।
अब तिन वटा हरितगृहको परिकल्पना गरौँ। सबै खाले परिकल्पनामा एक व्यक्ति बराबर १६ मिटर स्क्वायर छुट्टयाको छ। बेडलाई दुई मिटर अनि चारैतिर एक-एक मिटरको दुरी कायम गरिएको छ।
पहिलो राष्ट्रिय हरितगृह
सुरुमै भनिदिउँ यो अलि महत्वकांक्षी परिकल्पना हो, तर असम्भव भने छैन। असाधारण समयमा उपलब्ध साधन श्रोतको प्रयोग गर्दै युद्ध स्तरमा निर्माण गर्नुको विकल्प छैन।
चिनले १० दिनमा एक हजार र १३ सय बेडको अस्पताल बनाउँछ भने हामी २/३ महिनामा बनाउन सक्दैनौँ र? प्रयास त गरौँ, सुरुआत त गरौँ।
एक हजारका दरले १४ दिनसम्म राख्दा १४ हजार शैयाको बनाउनु पर्यो। यसका लागि कम्तिमा २४ हेक्टरको हरितगृह आवश्यक पर्छ। यो बनाउन सकियो भने संसारकै ठूलो हरितगृह हुनेछ।
यो रत्नपार्कभन्दा करिब ११ गुणा ठूलो वा मुलपानी क्रिकेट एकेडेमीभन्दा डेढ गुणा ठूलो हुनेछ। निर्माण गर्दै आंशिक प्रयोग गर्न पनि सकिन्छ। २४ हेक्टरको ज्यादै ठूलो भयो भने १६ हेक्टर कै बनाउँ, त्यसमा पनि १० हजार व्यक्ति अट्न सक्छन्।
यो पनि संसारको ठूलो नै हुनेछ। पछि स्वदेशी र विदेशीहरु गुगलमा खोजेर यस हरितगृहको विचरण गर्न आउनेछन्। यसमा प्रयोग हुने हस्पिटल बेड पछि स्थानीय स्वस्थचौकी अथवा कुनै निर्मणधिन अस्पताललाई दिन सकिन्छ। आगामी दिनहरुमा स्वास्थका पूर्वाधारहरु त बनाउछन् होला नि?
माटोको गमला डस्टबिनको रुपमा प्रयोग गरि पछि हरितगृहमा पुनः प्रयोग गर्न सकिन्छ। अनि मोबाइल चर्पी प्रयोगमा ल्याएर पछि सहरहरुमा सार्वजनिक सौचालयको विकास गर्दा हुन्छ।
यसको अनुमानित प्रारम्भिक लागत करिब डेढदेखि दुई अर्बमा गर्न सकिन्छ। मूल्य विवरण कसरी भन्ने तल चर्चा गरिएको छ।
दोश्रो प्रदेश हरितगृह
सात प्रदेशमा दुई हजार व्यक्ति अट्नेका दरले ७ वटा हरितगृह निर्माण गर्न सकिन्छ। एउटा करिब ६३ रोपनी क्षेत्रफलमा फैलिने छ। माथिको असम्भव देखिए, यो त प्रत्यक प्रदेशले २/३ महिनामा निर्माण गर्न सक्लान्। हरेक प्रदेशमा लगभग २२/२५ करोडको लागतमा बनाउन सकिन्छ।
जिल्लास्तरीय हरितगृह
सबै ७७ जिल्लामा २०० का दरले निर्माण गर्दा ६ रोपनी (३२ सय मिटर स्क्वायर) क्षेत्रफलमा देशभर १५ हजार ४०० व्यक्ति राख्न सकिन्छ। अब यो त २/३ महिनामा सम्भव होला नि?
सुरुमा हामीसँग एउटा पनि पिसिआर ल्याब थिएन। तर अहिले १५/१६ वटा स्थापना गरिएको छ। हरेक चुनौतीसांग अवसर आउदो रहेछ। इच्छाशक्ति साथै उच्चतम जनशक्ति परिचालन गरि यो परियोजना निर्माण गर्न सम्भव छ।
एक जिल्लामा लागत करिब डेढदेखि दुई करोडको आसपास बनाउन सकिन्छ। अनुमानित लागत निर्धारण २०१२ मा हुम्लामा गरिएको एक खोजअनुसार ३४ मिटर स्क्वायर हरितगृहको लागत करिब ८७ हजार २८९ भएको आधारमा ३२ सय मिटर स्क्वायरको अहिलेको मूल्यमा एकदेखि डेढ करोड अनुमान गरिएको छ।
दुई सय जनालाई दुई सय वटा गमला डस्टबिनको सरदर ४०/५० हजार अनि २०० वटा बेडलाई १५/१८ हजारका दरले ३०/३६ लाख र २५ वटा मोबाइल चर्पीको २६ लाख रुपैयाँ जति (पशुपति विकाश कोषले चीनबाट खरिद गरेको एक युनिट चर्पीको मूल्य एक लाख सात हजार ५०० रुपैयाँअनुसार व्याख्या गरिएको हो।)
उपयुक्त ठाउँ र कसरी अभियान चलाउने? यसको लागि त विज्ञहरुको सुझाव र सल्लाह अपरिहार्य हुन्छ। अन्त्यमा, यस हरितगृह परियोजनाको कृषि र पर्यटनमा हुने केही दीर्घकालीन फाइदाहरु बुदाँगतरुपमा प्रस्तुत गरेको छु।
जस्तै,
१. बगैँचा विचरण
२. हरितगृह भित्र जैविक कृषि बजार
३. हरितगृहमा योग तथा ध्यान
४. जंगल (हरितगृह ) रेस्टुरेन्ट
५. हरितगृह रिसोर्ट
६. हरितगृह पदयात्रा
७. साहसिक तथा मनोरन्जनात्मक क्रियाकलाप
८. जैविक उधान