भनिन्छ, विज्ञान आत्मसाथ गर्नु भनेको विज्ञानलाई बुझ्नु हो। मैले बुझ्न नसकेको, अब कुन वैज्ञानिक तथ्यको आधारमा लकडाउन बढाउने हो। विश्वभर लकडाउन गरिनुको कारण सरकारलाई आफ्नो स्वास्थ्य संस्थाको क्षमता बढाएर संक्रमितको उपचारमा सहज होस् भन्नेनै हो।
हालसम्म संक्रमण नबढेको, लकडाउन लगाएर, सामाजिक दुरी कायम राखेर, साबुनपानीले २० सेकेण्डसम्म मिचिमिची हात धुनाले, स्यानिटाइजरको उचित प्रयोग, र भाइरस लामो समयसम्म सक्रिय रुपमा रहन सक्ने स्थानहरुलाई विसंक्रमण गर्नाले हो भन्दा अत्युक्ति नहोला। तर अब प्रश्न गर्ने बेला भएको छ कि कहिलेसम्म लकडाउन निरन्तर जारी राख्ने हो?
जारी राखे, के कारणले राख्ने? दुई महिनामा गर्न नसकेको स्वास्थ्य संस्थाको सुधार र क्षमता वृद्धि अब कहिलेसम्ममा सक्ने? आदि यावत प्रश्नहरुको जवाफ दिनुपर्छ यदी लकडाउन जारी राख्ने हो भने।
२०१९ को अन्त्यतिर कोरोना भाइरस चीनको वुहानमा सुरु हुँदा, हामीलाई यो भाइरसको बारेमा धेरै कम जानकारी थियो र विश्वका धेरै देशले रोकथामका उपायहरुका साथै लकडाउनलाई, संक्रमण तीव्र गतिमा बढ्न नदिने एउटा विकल्पको रुपमा लिए र लागू गरे। लकडाउन लगाए पनि संक्रमण नियमित रुपमा वृद्धि भैरह्यो र धेरै व्यक्तिहरुको मृत्युको कारण पनि बन्यो।
हालसम्म यो भाइरसले २१३ राष्ट्र तथा दुई वटा पानीजहाजमा संक्रमण फैलाईसक्यो भने कुनै देशमा संक्रमण बढदो क्रममा छ त कतै घट्दो। अब एकछिन तथ्यांक तिर जाऔँ। आज जेठ ४ गतेसम्ममा यसले ४३ लाखभन्दा बढीलाई संक्रमित तुल्याइसक्यो भने ३ लाख १३ हजारभन्दा बढीको अकालमा मृत्यु भैसक्यो।
तथ्यांकलाई नजिकबाट नियाल्दा, यसले भएको संक्रमणबाट हुने मृत्युदरमा ८० वर्ष माथिकामा १४.८%, ७०-७९ सम्मकामा ८.०%, ६०-६९ सम्मकामा ३.०%, ५०-५९ सम्मकामा १.३%, ४०-४९ सम्मकामा ०.४%, १०-३९ सम्मकामा ०.२% छ र १० वर्ष मुनिकामा हालसम्म कुनै मृत्यु भएको छैन।
विश्व स्वास्थ्य संगठनको अनुसार, यसको संक्रमण गर्ने दर अर्थात रिप्रोडक्टिभ नम्बर १.४ देखि २.५ छ भने केही अनुसन्धानले ३.६ देखि ४.० सम्म हुने देखाएको छ। कोरोना भाइरसको संक्रमणबाट हुने मृत्यु दर, मुटुका रोगीहरुमा १३.२%, मधुमेह भएकाहरुमा ९.२%, श्वास प्रश्वासका बिरामीहरुमा ८.०%, उच्च रक्तचाप भएकामा ८.४%, तथा क्यान्सर भएकामा ७.६% पाइएको छ।
यी तथ्यांकबाट के देखिन्छ भने, कोभिड-१९ को संक्रमणबाट ६० वर्षभन्दा माथिका व्यक्तिहरुमा मृत्यु दर बढी छ तथा नसर्ने खालका दीर्घ रोगका बिरामीहरुको यसको कहरबाट बढी मृत्यु हुन्छ। समग्रमा, यो भाइरसबाट ३.०% जति संक्रमित व्यक्तिहरुको मृत्यु हुन्छ।
सबभन्दा चिन्ता गर्नुपर्ने कुरा, यसको उच्च संक्रमण दरनै हो, जुन औसतमा, एक जना संक्रमितले ४ जनासम्मलाई सार्न सक्छ। यो भाइरसको उच्च संक्रमण दरको कारणले यो एकबाट अरु व्यक्तिहरुमा रफ्तारका साथ सर्नसक्छ र समुदायमा फैलिसकेपछी यसले महामारीको रुप लिनसक्छ।
यो भाइरस खोक्दा, हाछ्यु गर्दा अथवा कुरा गर्दा एक मानिसबाट अर्कोमा सर्छ र मानिसबाट घरपालुवा जनावरमा पनि सर्छ। श्वासप्रश्वासका ठूला कण (५ माइक्रो मिटरभन्दा ठूलो) १ मिटरसम्म जान सक्छ भने साना कणहरु (५ माइक्रो मिटरभन्दा साना) १ मिटरभन्दा टाढासम्म पुग्न सक्छन् र कडा सतहहरुमा ७२ घन्टासम्म सक्रिय रहने तथ्यहरु प्रकाशित भएका छन्। त्यसैले अब ६ फिटको सामाजिक दुरी राख्ने तथ्यलाई व्यापक प्रचार गरिनु पर्छ।
कोरोनाको कारणले अन्य रोगका बिरामीहरुको उपचारमा धेरै असर परिसक्यो। पछि गर्न मिल्ने शल्यक्रिया बन्द भएको तथा बाहिरंग विभागको कामहरु बन्द भएको करिब दुई महिना भईसक्यो। अब प्रश्न उठछ, के एक प्रकारको रोगको कारणले अरु रोगका बिरामीहरुले पीडित बन्नुपर्ने कुरा जायज हो?
अहिलेको लकडाउनले सेमेस्टर प्रणालीका बिध्यार्थीहरुको झन्डै एक सेमेस्टरनै क्षति हुने सम्भावना छ, के विश्वविद्यालयले उनीहरुको बारेमा सोच्न ढिला भएन र? सांसदहरुको स्वाब संकलन गरेर पिसिआर जाँच गर्दा सबैको नेगेटिभ आयो खुशीको कुरा अनि सुरक्षाका उपायहरु अपनाएर संसद सुरु भयो।
अब, कलेजले आफ्ना विद्यार्थीहरुको स्वाबको पिसिआर गरेर नेगेटिभ आउनेहरु राखेर, सुरक्षाका उपायहरु अपनाएर, कक्षा सुरु गर्न पाउने कि नपाउने? उद्योगले आफ्ना कर्मचारीको, तथा अन्य व्यापार व्यवसायीले पनि त पाउनु पर्यो होइन र? सांसदहरु मात्र कोरोनाको प्रकोपबाट मुक्त हुन्छन् भने मेरो भन्नु केही छैन?
औपचारिक क्षेत्रमा काम गर्नेले त तलब पाइराखेका होलान, तर ८०% अनौपचारिक क्षेत्रमा काम गर्नेहरु दुई महिनादेखि कसरी बाचेका होलान्? जनताको सरकारले हेर्नु पर्दैन? कि खाद्यान्नको व्यवस्था गरिदिनु पर्यो अथवा जनताको खातामा पैसा हालिदिनु पर्यो।
पूर्ण लकडाउनको पक्षधरहरुले भन्ने गरेको तर्क, लकडाउनले धेरै नागरिकहरुको जीवन बचाइयो भन्ने कुरा अब गलत साबित हुँदैछ। अब उहाँहरुले भन्न सक्नु पर्यो कि कति जनाको जीवन बच्यो त? सायद यो अनुसन्धानको विषय हुनसक्ला। तर यसबाट कति व्यक्तिलाई मानसिक समस्या उत्पन्न भयो? कति घरेलु हिंसामा बढावा भयो? व्यवसायमा भएको अपुरणीय क्षतिले कति जनाले आत्महत्या गर्ने हुन् हेर्न बाँकी छ।
यतिखेरै लकडाउन अझ कडा बनाउनुपर्छ भन्ने समाचारहरु पनि आईरहेको छ। कहिलेसम्म लकडाउनको समय बढाउने? कि यस विरुद्धको खोप नआइन्जेलसम्मलाई निरन्तर जारी राख्ने? विश्व स्वास्थ्य संगठनले भनिसक्यो कि यो भाइरसको प्रकोप लामो समयसम्म जान सक्छ।
अहिलेसम्मको स्थिति हेर्दा, यस विरुद्धको खोप तयार हुन कम्तिमा पनि १ देखि डेढ-दुई वर्ष लाग्नसक्छ अथवा एड्सको जस्तो लामो समयसम्म वा कहिल्यै पत्ता नलाग्न सक्छ। अनि पत्ता लागेपनि, खोपको प्रभावकारिता १००% हुँदैन। अहिलेसम्म पत्ता लागेका शिशुहरुको खोपहरुको प्रभावकारिता ८०- ९५% मात्र छ तर समुदायका सबैलाई खोप लगाएमा र ५ देखि २०% मा काम नगरेमा पनि 'हर्ड प्रतिरोध'को कारणले रोग नलाग्न सक्छ।
हो, केही समयसम्म धेरै संक्रमण भएका इलाकाहरु, धेरै जनघनत्व भएका सहरहरूमा प्रवेशमा कडाई गर्ने, सुरक्षाका उपायहरु जस्तै सामाजिक दुरी कायम राख्ने, साबुन-पानीले मिचिमिची हात धुने, स्यानिटाइजरको सही प्रयोग, धेरै भीडभाडबाट टाढा रहने, आदि सावधानी अपनाउनाले संक्रमणबाट बच्न सकिन्छ र देशव्यापीरुपमा जनतासम्म यी सूचनाहरुलाई बृहत स्तरमा पुर्याउनुपर्छ।
अब विस्तारै लकडाउन खोल्नुको विकल्प छैन र हामी सबैले महामारी बीच कसरी जिउने भनेर सिक्नुभन्दा अर्को उपाय छैन।
(लेखक नोबल कलेजका प्राध्यापक, संचालक तथा प्राज्ञिक निर्देशक हुन्।)