अहिलेको कोभिड-१९ महामारीको अवस्थामा सरकारलाई खबरदारी गरिराख्नु पर्ने विषय धेरै छन्। तर यहाँ म हालको संकटको अवस्थामा यही समस्याभित्र रहेको समाधान र अवसरको कुरा गर्दैछु। सरकारको आर्थिक लगानी बिनै गर्न सकिने यी आधारभूत कामले अर्थतन्त्रलाई थोरै भएपनि राहत दिन सक्छ।
व्यापाररआर्थिकगतिविधि
व्यापार र आर्थिक गतिविधिका लागि सर्वप्रथम अहिलेको जस्तो लकडाउनलाई हटाउनै पर्छ। सम्पूर्ण सुरक्षाका उपायहरु अपनाएर आर्थिक गतिविधि पुनः सुचारु गर्नु पर्छ। यसका लागि अहिलेको पास लिएर हिड्न पाइने नियम खारेज गरेर बिना काम हिडेको पाइएमा चर्को जरिवाना लगाउने नियम गरेको बेस।
हैन, पास नै चाहिने हो भने अहिलेको जस्तो निःशुल्क पास नभएर व्यापारिक प्रयोजनका लागि शुल्क सहितको पासको व्यवस्था गर्नुपर्छ। दुई पांग्रेको लागि न्युनतम १० हजार, साना चार पांग्रेको लागि रु २५ हजार र सोभन्दा ठूलाका लागि सो अनुपातमा बढाउँदै जाने। अनि यसरी लिएको रकम पूर्णरुपमा कोरोना महामारी विरुद्ध लड्नका लागि खर्च गर्नुपर्छ।
निजी क्षेत्रसँग उठाएको रकम यसपछि कर बुझाउँदा त्यसको ५० प्रतिशत करमा सामयोजन गरिदिनु पर्छ। अझ सकिन्छ भने व्यापारिक प्रतिष्ठानहरु खोल्न चाहनेले सशुल्क अनिवार्य पिसिआर टेस्ट र हरेक हप्ता आरडिटी टेस्ट गराउने नियम लगाउनु पर्छ। यति गर्न सकेको अवस्थामा कमसे कम अर्थतन्त्र पूरै मर्न पाउँदैन।
विदेशमारहेकाआफ्नानागरिककोउद्धार
हो, त्यसै कमजोर रहेको अर्थतन्त्रले विदेशमा रहेका सम्पूर्ण नेपाल आउन चहानेलाई हवाई जहाज चढाएर ल्याउन सक्छ जस्तो मलाई लाग्दैन। तर सरकारले पहल गरेर आफ्नै खर्चमा आउन चहानेलाई नेपालमा आएर होटलमा क्वारेटाइनमा बस्ने सर्तमा होटल बुक गरेको प्रमाणका साथ नेपाल प्रवेश दिने गरी ल्याउन सकिन्छ।
यसका लागि नेपालसँग भएका आफ्नै विमानहरु फरक उडान समय तोकेर प्रयोग गर्न सकिन्छ।। नेपाल एयरलाइन्ससँग र हिमालयन एयरलाइन्ससँग भएका ठूला जहाजहरुलाई टाढाको गन्तव्यमा पठाएर अहिले अन्तरिक उडान गरिरहेका यति, बुद्ध र श्री एयरका जहाजहरुलाई नजिकको गन्तव्यमा पठाउन सकिन्छ।
साना जहाजलाई समेत केही टाढा जानुपर्दा टेक्निकल ल्यान्डिङ गराउँदैसमेत ल्याउन सकिन्छ। मेरो हिसाबमा नेपालमा भएका एटिआर सिरिजका जहाजहरु कमसे कम ओमानको मस्कटसम्म सजिलै जान सक्छ र श्री एयरसँग भएको बमबाडियर सिआजे सिसिजका जहाजहरु अझ केही परसम्म जान सक्छ।
यसरी साना-ठूला जहाज प्रयोग गरेर हामीले सम्पूर्ण सुरक्षाका उपायहरु आनाएर धेरैभन्दा धेरै नेपालीलाई नेपाल ल्याउन सक्छौं। जहाज र चालक दललाई समेत कम्तिमा ४८ घन्टा पुनः उडान नगर्ने गरी सुरक्षाका उपायहरु अपनाउन सकिन्छ।
अहिलेको समयमा सबैभन्दा बढी प्रभावित पारेको पर्यटन र हवाई उद्योगलाई यसले केही भने पनि राहत दिन्छ। त्यति मात्र नभई गृह जिल्लामा होटल बुक गरेकाहरु जाने हुनाले सार्वजनिक यतायतले समेत केही राहत पाउनेछन्।
यति काम भन्न सजिलो गर्न गाह्रो छैन। अध्यागमनमा कर्मचारी अभाव हुनेलाई नेपालका सबै सीमा नाकामा रहेको अध्यागमनका कर्मचारीलाई काठमाडौं ल्याएर कर्मचारीको पालो समेत व्यवस्थापन गर्न सकिन्छ। एयरपोर्ट भवन भित्र हुने ढिलाई कम गर्न आन्तरिक टर्मिनल भवनलाई समेत अध्यागमनका लागि प्रयोग गर्न सकिन्छ।
होटलमा सुरक्षा तथा आगन्तुकहरुको निगरानीका लागि विभिन्न सुरक्षा गार्ड कम्पनीहरुसँग रहेका भुपू सैनिक तथा प्रहरीलाई होटल आफैले शुल्क तिर्ने गरी राख्न सकिन्छ।
विदेशमा अलपत्र बस्नुभन्दा कम से कम पैसा नै तिरेर भए पनि आफ्नो देश फर्कन पाउनु ठूलो कुरा हो। विदेशमा पक्कै पनि सित्तैमा बस्न, खान पाइएको छैन र नेपालमा त्योभन्दा सस्तो नै पर्छ।
पहिलो चरणमा आफ्नो खर्चमा आउन चाहनेलाई ल्याएपछि पैसा नभएकाहरुलाई सरकारले उद्धार गर्न सक्नु पर्छ।
यी काम धेरै ठूला वा गर्नै नसक्ने खालका छैनन्। अब कोरोनाको प्रभाव कम होला अनि सोँचुले भन्ने हो भने नेपालमा कोरोना त्यस बखत पनि नआउला भन्न सकिन्न र विदेशबाट अहिले आउने सबैले कोरोना नै लिएर आउँछन भन्ने पनि हैन।
(लेखक व्यवसायी हुन्।)