'श्रीराम खैनी छ भाइ? हेर्नु न, अगिब्यानै चेपेको इँइ छ। म बरु भात खान्न कि भाइ हो तर मलाई खैनि दिनु न। के गर्नु हौ? छ भने दिनुहोस् न।'
म पसलमा थिएँ, लकडाउनको एक महिना बितिसकेको थियो र यो मैले सुनेको पहिलो यस्तो गुनासो हो।
हामीसँग आफैलाई ठिक नलाग्ने खालको नराम्रो बानी हुन सक्छ, कुलत हुन सक्छ र त्यो नराम्रो बानी पनि हुनसक्छ जसको हामीलाई वास्ता पनि लाग्दैन।
आफैलाई वास्ता नलाग्ने खालको भनेर मैले कसैको व्यक्तित्वलाई ताकेको होइन। जस्तोकि आफ्नो तथ्य दिदा स्पष्ट दिने र कसैको वास्ता नगर्ने कसैको स्वभावलाई गाइँगुइँ नराम्रो भनेको सुनिन्छ तर त्यसलाई म सुन्दर व्यक्तित्व हो भन्ने ठान्दछु।
तर यदि त्यो स्वभावले बारम्बार कसैको घाउ कोट्याइरहन्छ भने त्यो निकै नराम्रो बानी पनि हुन सक्छ। तसर्थ आफ्नो व्यक्तित्वबाट नराम्रा बानीहरूलाई चिन्न सिक्नुपर्छ र आफैलाई विश्लेषण गर्न लकडाउन धेरै राम्रो अवसर हुनसक्छ। आफैलाई ठिक नलाग्ने बानी त सधैँ हाम्रो बोझ बनेकै हुन्छ।
हामी फुर्सद छ भनेर धेरै मोबाइल हेर्छौँ होला। ओल्लो घर पल्लो घरमा त संक्रमण फैलेको छैन भनेर भेला भएर तासै पो खेल्छौँ कि? कतिको सुर्ती खाने बानी होला र कतिको मैले सोच्न पनि नसक्नेसम्मका विभिन्न कुलतहरू होलान्।
अहिले तातिएको कुरा धुम्रपान र सुर्ती सेवनको हो किनभने यतिबेला लकडाउन भएसँगै चुरोट, बिँडी, सुर्ती आदि बजारबाट गाएबै भएका छन्। मानिसहरू 'के गर्ने, के गर्ने' को अवस्थामा पुगेका छन्। जाँड, रक्सी घरतिरै पार्ने भएकाले बरु यस्तो समस्या छैन।
धुम्रपान ट्याक्कै यसरी सुरु भयो त भन्न सकिन्न तर धुप, होम आदिको रूपमा धुम्रपान गरिएको (धुवाँ पिइएको) आदि कालमै हो जसलाई हाम्रा धर्मशास्त्रहरूले महत्त्वपूर्ण ठान्दछन्। यसरी नै विभिन्न सभ्यता र संस्कृतिहरूसँग जोडिएको धुम्रपान पछि गएर कुलत बन्यो किनभने मानिसहरूले गाँजा, सुर्ती, अफिम आदिको पनि धुम्रपानमा प्रयोग गरे।
यी चिजहरूले मानिसलाई एउटा छुट्टै भ्रमको संसारमा पुर्याएर रमाइलो महशुस गराउँछन् साथै यी चिजहरूमा निर्भर पनि बनाउँछन् र नभई नहुने हुन्छ। यसरी नै सुर्तीको खेती विश्वका कतिपय शक्तिशाली मुलुकहरूको एउटा प्रमुख नगदे बाली बनेको हो।
पाकेटमा खैनी र चुरोट आउन थालेको धेरै भएकै छैन। पहिले, बारीका पाटाहरूमा सुर्तीका पातहरू त्यसै पाइन्थे। कतै बजारबाट एकैपटकमा छ महिनालाई पुग्ने सुर्तीको पात किनिन्थ्यो। रङ आउने गरि माडेर सुकाएपछि त्यसको प्रयोग गर्न गाह्रो पनि थिएन।
अलि धेरै माडेर त्यसै चेप्दा खैनी र कागजमा बेरेर धुँवा तानेपछि बिँडी। कुलतमै भएपनि निकै आत्मनिर्भरता थियो। कसरी बानी बस्यो भन्ने कुरा कसैलाई थाहै हुँदैन। सुर्तीले फुर्ति ल्याउँछ र धुँवाले चिसो काट्छ भन्ने बाहेकका कुनै कारण पनि हुँदैनन्।
नराम्रो हो भन्ने कुरा पनि कारखानाले प्रशोधन गरेकै कागजमा सावधानी छापिन थालेपछि मात्रै थाहा भएको हो। मेलापात र अर्मपर्ममा देखासिकी गरेको यो बानीले कहिल्यै दुःख दिएको जस्तो पनि कसैलाई लाग्दैन। छाड्न पनि सक्दैनन्, अम्मल चाहिरहन्छ।
यो सम्बन्धमा मस्तिष्कमा उत्पन हुने उत्तेजनाका कुरा यस्ता छन्।
कुनै पनि चिजको विशेष छनोट गर्न, त्यो चिजतिर आकर्षित हुन र त्यसको प्रयोग गर्न प्रेरित गर्ने उत्तेजनाले मानिसलाई कुनै पनि गन्तव्यमा लान सक्छ, कुनै काम गराउन सक्छ, खुशी दिन सक्छ र केही सिकाउन पनि सक्छ। यस्तो उत्तेजनामा एउटा हुन्छ 'चाहना गर्ने' र अर्को हुन्छ 'मन पराउने' उत्तेजना।
विशेषगरी चाहनु, यो यस्तो उत्तेजना हो जुन हाम्रो मस्तिष्कमा डोपामिन हर्मोनको प्रवाह हुँदा हुन्छ।
कक्षामा गुरुले पढाउँदै हुनुहुन्छ र मलाई भोक लागेको छ। मलाई बाहिर खाना छ भन्ने कुरा पनि थाहा छ। यस्तो बेलामा मेरो मस्तिष्कले कुन कुरा धेरै महत्त्वपूर्ण हो भनेर विश्लेषण गर्छ र डोपामिन हर्मोनको प्रवाह त्यही कामको लागि धेरै प्रभावी हुन्छ।
पहिले गुरुको कुराको लागि हर्मोनको प्रभाव धेरै पर्ला र हर्मोन सन्तुलनमा आउला। तर कक्षा एकदमै लामो गएपछि र खप्नै नसक्ने भएपछि खाना नै महत्त्वपूर्ण ठानेर खानाको लागि हर्मोनको प्रभाव धेरै हुन्छ र कक्षा कोठाबाट निस्किने बन्दोबस्त मस्तिष्कले मिलाउँछ। खाना पाएपछि फेरि हर्मोनको मात्रा सन्तुलनमा आइपुग्छ।
यहाँ सुरुमा गुरुको कुरा सुन्न खोज्नु 'चाहनाको उत्तेजना' बन्यो जसको लागि डोपामिनले प्रभाव जमायो र त्यो बेला खाना खोज्नु 'मन पराउने उत्तेजना' मात्र बन्यो जसलाई सम्झेर मन प्रफुल्ल बनिरह्यो। पछि भने खाना खोज्नु 'चाहनाको उत्तेजना' बन्यो जसको लागि बाहिर जानै पर्यो र त्यो बेला गुरुको कुरा सुन्नु 'मन पराउने उत्तेजना' मात्र बन्यो जुन छाड्न मन लागेको थिएन।
सबैभन्दा पहिले कुनै पनि चिज पाउनुभन्दा अगाडि हाम्रो मस्तिष्कले कति रमाइलो होला भनेर अन्दाज गरेको हुन्छ। यो अन्दाज ठोस रूपमा कति डोपामिन हर्मोनको प्रवाह भयो भन्ने कुराले देखाउँछ। जति धेरै प्रवाह भयो उति नै तीव्र चाहना हुन जान्छ। त्यो चिज पाएपछि भने डोपामिन हर्मोन फेरि सन्तुलनमा आउने गर्दछ।
तर लागूपदार्थहरूले भने मस्तिष्कलाई अन्दाज गरेभन्दा धेरै रमाइलो महशुस गराउँछन्। तसर्थ ती चिजहरूनै सबैभन्दा धेरै महत्त्वपूर्ण बन्न पुग्दछन् र अर्को पटक तिनीहरूकै लागि डोपामिन हर्मोनको प्रवाह धेरै हुन जान्छ। फेरि तिनले डोपामिन हर्मोनलाई सन्तुलनमा फर्किन पनि दिदैँनन्। अन्ततः दीर्घ रूपमा डोपामिनको प्रवाह धेरै रहिरहन्छ र यसलाई लत लाग्नु भनिन्छ।
यसरी लागूपदार्थ दुर्व्यसनीमा फसेका मानिसहरूमा 'चाहनाको उत्तेजना' र 'मन पराउने उत्तेजना'का बीचमा सम्बन्ध विच्छेदझैँ भएको हुन्छ किनभने लागूपदार्थ प्रयोग गरेवापतको डोपामिन हर्मोनको प्रवाह सन्तुलनमा नआएपछि तीव्र चाहना मात्र रहिरहन्छ।
विभिन्न लागूपदार्थअनुसार विभिन्न मात्रामा डोपामिनको प्रवाह हुन्छ। जस्तो कि एमफेटामाइनले सबैभन्दा धेरै प्रवाह गर्छ र उत्सुकता सबैभन्दा धेरै हुन्छ। त्यस्तै हिरोइन, कोकिन, निकोटिन, अल्कोहल आदिले पनि सन्तुलन बिगार्छन्।
अब तीव्र चाहनाको उत्तेजना मात्र रह्यो भने डोपामिनको प्रभावमा हाम्रो मस्तिष्कले यस्तो बन्दोबस्त मिलाउँछ। औषधी कहाँ पाइन्छ? कसरी जानु पर्छ? पैसा कहाँ हुन्छ? कसले रोक्न सक्छ र के गर्न पर्छ? आदि
यसरी औषधीले गर्ने असरलाई हाम्रो मस्तिष्कमा भएको रासायनिक असन्तुलन भन्न मिल्छ तर यसलाई नैतिकतासँग जोड्न मिल्दैन।
यो साँच्चै नै खतरनाक हो। चाहनाको उत्तेजना यति शक्तिशाली हुन्छ कि जनावरहरूमा यो प्रक्रियालाई निष्क्रिय गरिदिने हो भने उनीहरूले खाना खोज्ने छैनन्, भोकै बस्नेछन् र मर्नेछन्। अर्कातिर यो पनि सोच्न सक्छौँ कि भोकमरीमा, डोपामिनले मानिसलाई केसम्म गराउन सक्छ?
लागूपदार्थहरूले बनाउने रासायनिक असन्तुलन जस्तो अन्य कुनै पनि चिजले बनाउन सक्दैन। तसर्थ मोबाइल फोनको लत, तास खेल्ने लत आदि नितान्त कमजोर लत हुन्।
यी चिजहरूका लागि पनि डोपामिन हर्मोनको प्रवाह हुन्छ तर अन्य महत्त्वपूर्ण कुराहरू जस्तै सरसफाई गर्ने, रमाइला पुस्तक पढ्ने, घाँस काट्ने, गोडमेल गर्ने आदिलाई प्राथमिकतामा राखेर उम्किन सकिन्छ। यो फुर्सदको समयमा जति धेरै यस्ता चिजहरूको प्रयोग गर्यो उति नै डोपामिनको प्रवाह बढ्दै जान्छ र यसले झन् धेरै लतसँग पकड बनाइराख्छ र पछि अलि लामो समयसम्म अल्मल्याइरहन्छ।
तसर्थ, भोलि एकैचोटि साधु हुन तपाईको नैतिकता कति छ भन्ने कुरा मात्रै सबैथोक होइन। आजको कार्यले तपाईँको डोपामिनको प्रवाह कहाँ पुर्याएको छ भन्ने कुरामा तपाई निर्भर हुनुहुने छ र यो बुझ्न आवश्यक छ।
मानसिक रूपमा कुनै कार्यको लागि आफूलाई तयार पार्नु भन्ने कुरा यहाँ आएर जोडिन्छः आफ्ना मसिना तलतललाई परास्त गर्नु र त्यो भनेको ती चिजहरूमा प्रभाव जमाउने डोपामिन हर्मोनको प्रवाहलाई कम गर्नु हो। यो यथार्थमै ठोस कुरा हो, चारित्रिक होइन।
लागूपदार्थ आदि औषधीको कुरा छुट्टै छ। तास खेल्ने, मोबाइल चलाउने आदि लतबाट म त उम्किनै सक्दिनँ भन्नेलाई भन्नै पर्छ कि यहाँ तपाईको खुट्टा मात्रै बाँधिएको हुन्छ, हात खुल्लै हुन्छ। अब खुल्ला हात लिएर बन्धक भएर बस्नु कतिसम्मको बुद्धिमानी हो र?
तर लागूपदार्थको लतमा फस्नु भएको छ भने अब तपाईको हात पनि बाँधिएको छ र खुट्टा पनि। त्यो चाहे गाउँघरले चासै नगर्ने सुर्ती होस् या खतरनाक अफिम होस्, छाड्न गाह्रो हुन्छ।
मैले प्रत्यक्ष अफिक, एमफेटामाइन, ब्राउन सुगर आदिको प्रयोग गर्ने मान्छेसँग भेटेको त छैन तर चुरोट खाने, सुर्ती खाने आदिको गन्ती कति छ कति। यी चिजमा पाइने निकोटिनले मस्तिष्कलाई जति रमाइलो महशुस गराउँछ, त्यती नै यी चिजहरूप्रति मानिस निर्भर हुन्छन्।
तसर्थ निकोटिन नपाउँदा विभिन्न असहज लक्षणहरू देखिन्छ र मस्तिष्कले निकोटिनको याचना गरिरहन्छ। विश्व स्वास्थ्य संगठनका आधारमा धुम्रपान नै निकोटिनको सबैभन्दा चर्चित तरिका भएपनि निकोटिनको प्रमुख स्रोत धुम्रपानभन्दा पनि सुर्ती चेप्ने गर्नु नै हो। तसर्थ सुर्ती छाड्न, धुम्रपान छाड्नभन्दा पनि गाह्रो हुन्छ।
अहिले सुर्ती, चुरोट आदि लकडाउनसँगै अलप भएकाले धुम्रपान गर्ने, सुर्ती चेप्ने मान्छेको मस्तिष्क अल्मलिएको छ। पसलमा गयो सुर्ती छैन। डोपामिनले हदसम्मको व्यवस्था गर्न खोजेको छ। जस्तो, मान्छेले सुर्ती मागेर हिड्न थालेका छन्, एक जनाले बनाएको सुर्तीले धेरैलाई भाग लाग्ने गरेको छ र चुरोटलाई वरपरका सबैले अलिअलि पिउन सघाएका छन्।
किनभने अहिले त थोरैले धेरैलाई पुर्याउनु परेको छ। अझ बाटामा फालिएका चुरोटका ठुटाहरू पुनः अधरसम्म पुगेका छन्, सुर्तीका फालिएका खोलहरू छामिएका छन्। तलतललाई खै त कोरोनाको त्रासले छेकेको?
सन् १८९० तिरै डा. रोबर्ट कोचले सुर्ती थुकेर मात्रै सबैभन्दा धेरै क्षयरोग सरेको हो भन्ने कुरा जनाएका थिए। त्यो बेला क्षयरोगको कारणले मात्रै धेरै मान्छेले संसारभरी ज्यानै गुमाएका थिए। यसरी क्षयरोग सर्न सक्छ र महामारी निम्त्याउन सक्छ भने कोरोनाले बाँकी राख्छ र?
त्यसैले धुम्रपान वा सुर्ती सेवन गर्नुहुन्छ भने पनि आफ्नो बानी परिवर्तन गर्न जरुरी छ किनभने यो पनि महामारी सार्ने धेरै खरता बाटो बन्न सक्छ।
अब पाउँदै नपाएपछि आफूलाई भर्सक धेरै व्यस्त राख्नुपर्यो। पुस्तकहरू पढ्ने गर्नु पर्यो, लेख्नु पर्यो, बारम्बार चिसो पानीले नुहाउनु पर्यो, उफ्रिनु पर्यो, गल्नु पर्यो, तर ती कामहरू भने गर्न भएन जसले तपाईको तलतल अझ बढाउँछ। सुर्ती खाने प्राय मान्छेलाई हेर्नु भयो भने प्रत्येक फुर्सदमा एक-एक चिउँटी नचेपी हुँदैन। अब विकल्प आफैले खोज्नु पर्यो र यो फाइदाजनक हुनेछ।
तास खेल्ने आफैमा एउटा नराम्रो बानी हो। फुर्सदमा बसेर घरैमा खेलेपनि घरकै सदस्यहरूका बीचमा पनि यति बेला दुरी कायम गरेर अभ्यस्त हुने बेला आएको छ। अरूसँग खेल्नु त अहिले आत्मघाती हो। मोबाइल फोनले पनि हामीलाई धेरै प्रकारले हानी गर्छ नै।
समग्रमा मैले के भन्न चाहेको हो भने साना-ठूला जस्तोसुकै कुलतले यो फुर्सदमा झनै समस्यामा पुर्याउन सक्छन् किनभने जस्तोसुकै कुलतमा फस्नु भनेको पनि आफ्नो मस्तिष्कको सन्तुलनमा आघात पुर्याउनु हो। यसलाई पुनः ठिक ठाउँमा ल्याउन अन्य समय खर्चिनु पर्छ।
अब त समय यसरी नै बित्ने हो भनेर धेरै मात्ने चिजहरूमा बल गर्ने, अझ धेरै कुलतमा बल गर्ने गर्नाले त महामारी आउनै पर्दैन। एक दिन यो विपत् त पक्कै टर्छ तर त्यो दिन कुलतले झनै सिथिल अवस्थामा नपुर्याओस्।
आफ्ना कमजोरीहरूको आफैले विश्लेषण गर्ने गरौँ। दिन प्रतिदिन आफैलाई अझ दह्रो बनाउन खोजौँ। हामीले शारीरिक, मानसिक र अध्यात्मिक रूपमा आफूलाई यसरी तयार गरौँ कि भोलि आफ्नै अगाडि महामारी आउँदा पनि बलियो भएर सक्दो सहयोग गर्न सकियोस् र महामारी पूरै टरेपछि यो समाजलाई फेरि सभ्य गति दिन सकियोस्।
यो एउटा तपश्चर्या नै हो।