प्रसिद्ध वैज्ञानिक अल्र्बट आइन्सटाइनले भनेका छन कि 'यदि मसँग समस्या समाधान गर्न एक घन्टाको समय छ भने म समस्याको बारेमा सोच्न ५५ मिनेट र समाधानको बारेमा सोच्न पाँच मिनेट लगाउँछु'।
समस्या समाधानको कुरा गर्दा अहिले समस्याको रुपमा रहेको कोभिड-१९ को बारेमा त सबै जानकार नहुने कुरै भएन। यो महामारी कहाँबाट, कसरी र के कारणले फैलिएको भन्ने यकिनका साथ आजको मितिसम्म पनि पत्ता नलागेको अवस्था हो।
साथै यो महामारी कुन मोडमा गएर टुङ्गिने हो भन्ने बारेमा विश्व जगत हालसम्म अनविज्ञ नै छ। विश्व जगत सँगसँगै हाम्रो मुलुकमा पनि यो महामारीबाट नअलग्गिएको आभाश विस्तारै-विबिस्तारै हामीले अहिले बल्ल महशुस गर्न थालिसकेको छौँ।
विसं २०७६ चैत्र महिनाको १० गतेको सन्ध्यामा भालिपल्टदेखि मुलुक बन्दाबन्दीमा जाने निर्णय भएसँगै हामी अहिलेको जस्तो चौतर्फी दबाबमा पक्कै पनि थिएनौँ। सगै छिमेकी मुलुकले हामीपछि गरेको बन्दाबन्दीले झन् हामी सुरक्षित हुने अवस्थामा थियौँ।
त्यो बेलासम्म एउटा संक्रमितले पनि स्वास्थ्य लाभ गरिसकेको अवस्था थियो। बोर्डरका साथै देशको एउटै अन्तर्राष्ट्रिय विमानस्थल नि बन्द गरिएको अवस्था थियो। सायदै हामीसँग महामारीसग लड्ने सुवर्ण अवसर थियो। विज्ञको प्रक्षेपण मान्ने हो भने यो महामारीको सुरुआती लक्षण ५ देखि १४ दिनमा देखा पर्न थाल्छ।
हो, हामी यही चुकेको जस्तो लाग्छ। हामीले बन्दाबन्दी त गयौँ तर सरकारको महामारीको विपक्षमा केन्द्रित हुनुपर्ने ध्यान अन्यत्र गयो भन्ने आम जनताले महशुस गरे। जस्तै स्थानीय स्तरमा बन्दाबन्दीको हप्ता दिन बित्न नपाउँदै राहत वितरण, केन्द्रिय स्तरमा विवादित स्वास्थ्य सामाग्री खरिद प्रकरण तथा राजनीतिक स्तरमा अध्यादेश र अपहरण प्रकरण।
ती मुद्धामा पूरा मुलुक यसरी लटपटियो कि हामीले स्वर्णिम भनिरहेको ठिक समयमा गरिएको बन्दाबन्दी यसरी ओझेलमा पर्यो कि आज आएर महामारीको संख्यात्मक बृद्धिले आम जनता व्यक्तिगत रुपमै स्वयम् जिम्मेवारी लिएर सजक रहने अवस्था सृजना भएको अनुभूति गर्न थालेको अवस्था छ।
यो घटनाक्रम सँगसँगै हामीले हतोत्साहित नभएर फेरि अरु ती त्यस्ता घटनाक्रमलाई निरुत्साहित गर्दै भविष्यमा झनै भयावह स्थिति ननिम्त्याउन केही हाम्रो मुलुक सापेक्ष कदम उठाउनुको विकल्प हामीसँग छैन।
सम्भव छ अझैँ
यस विषम परिस्थितिको सामना गर्दै आंशिक रुपमा आर्थिक गतिविधि फुकुवा गर्दै लग्नु पर्ने नि बाध्यता छ। त्यसको लागि अबको अवस्थामा हामी के गर्न सक्छौँ त? अवश्य पनि हामीसँग महामारीसँग लड्ने प्रशस्तै क्षमता छ जस्तो लाग्दछ। तर यसको लागि सरकार र प्रत्येक जनताले मात्र दृढ संकल्प गरेर मात्र पुग्ने अवस्था छैन।
यसको लागि व्यक्तिगत, परिवारिक, सामाजिक, नैतिक, संस्थागत सहयोग पनि चाहिन्छ। हालको अवस्थामा स्वास्थ्य र गाँस बाहेक अरुको विकल्प खोज्ने समय हो जस्तो लाग्दैन। केही समयको लागि शिक्षा पनि पर धकेल्नु बाहेक अरु उपाय छैन।
'टीम गोल' नाराका साथ अघि बड्नु पर्दछ। हामीले अब ठूलो-ठूलो काम गर्ने होइन, सा-सानो काम गरेर महामारीको विपक्षमा ठूलो उपलब्धि हासिल गर्नु पर्दछ।
अब समाधानका कुरा
१. मुलुकको सम्पूर्ण सीमानाका कडाइका साथ पूर्णरुपमा बन्द रहने सुनिश्चित गर्नु पर्दछ।
२. मुलुकको प्रत्येक वडामा कम्तिमा ५० जना स्वयमसेवक परिचालन गरि प्रत्येक जनताको हालको स्वास्थ्य तथा जनसंख्याको लगत संकलन गरि प्रत्येक ७–७ दिनमा सोही बमोजिम लगत अध्यावधिक गर्नुपर्ने हुन्छ।
३. प्रत्येक स्थानीय तहमा अनाश्वश्यक प्रवेश बन्द गरिनु पर्दछ।
४. स्थानीय तहमा पूर्णरुपमा अनावश्यक रुपमा हिड्न डुल्न कडाइका साथ प्रतिबन्ध लगाउनु पर्दछ।
५. अत्यावश्यक कामले घर बाहिर निक्लिनु परेको खण्डमा सरकारी परिचयपत्र साथमा बोकि हिड्नु पर्ने व्यवस्था अनिवार्य लागू गर्नु पर्दछ।
६. सम्भव भएसम्म प्रत्येक स्थानीय तहले आफू भित्रकै सम्पूर्ण उपभोग्य सामग्री उपभोग गर्ने गरि स्थानीय सरकारले सहजिकरण गर्नु पर्दछ।
७. अत्यावश्यक मालसामानको दुवाढी गर्ने प्रत्येक सवारी साधनको चालक तथा सहचालकको स्थानीय तह, जिल्ला, प्रदेश र मुलुकका नाकामा प्रत्येक पटक स्वास्थ्य जाँच गरि सोही बमोजिम अध्यावधिक गरेर मात्र प्रवेश गर्ने व्यवस्था गरिनु पर्दछ।
८. परिवारभित्र जो-जो आर्थिक क्रियाकलापमा संग्लग्न छन, उहाँहरुको लागि सोही कलकारखाना, उद्योग, कार्यालयको आसपासको क्षेत्रमा सामूहिक खाने, बस्ने गरि व्यवस्था गरिनु पर्दछ।
९. जो असंगठित स्तरमा जीविकोपार्जन गर्नेमा पर्नुहुन्छ, उहाँहरुको लागि सरकारी स्तरबाटै लगत संकलन गरि जोसँग जे विज्ञता छ, सोही अनुरुप सरकारले व्यवस्थापन गर्नुपर्ने हुन्छ।
१०. विदेशबाट फर्किने नेपालीहरुको लागि मुलुक प्रवेश लगत्तै कम्तिमा १५ दिनसम्म सरकारी निगरानीमा राखी सामान्य रहेका जनताको त्यहीबाट लगत संकलन गरि विज्ञता हेरेर मुलुक सापेक्ष रोजगारीको व्यवस्था गर्न जरुरी छ।
११. र अन्त्यमा प्रत्येक वडामा क्वारेन्टिनको व्यवस्था गरि प्रत्येक जिल्लामा कम्तिमा एउटा परीक्षण केन्द्र बनाइ परीक्षणको दायरा बढाउनु पर्दछ।
अबको ४-५ महिना बच्नको लागि मात्र बच्ने हो। यो विषयमा आमस्तर तथा सरकारी स्तरबाटै प्रतिवद्ध हुन जरुरी छ। सायद हाम्रो जस्तो सबै हिसाबले सानो मुलुकमा यी यस्तै स-सानो काम गर्ने हो भने पक्कै पनि यो महामारीको लडाइमा हामी विजय हुने सम्भावना देखिन्छ।