वैशाख २२ गते बिहान
मैले श्रीमानलाई भनें ‘बुडो नानीको डाइपर सकिनै लाग्यो अफिसबाट आउँदा किनेर ल्याइदिनू है।
‘पख न ३ दिन त बाँकी छ २६ गतेदेखि लकडाउन केही खुलुको हुन्छ, चेकमा साइन गर्ने सर म्याडम अफिस आउनुहुन्छ, पैसा आइहाल्छ नि,पुरानो कति छ ?त्यति दिनका लागि पुग्दैन र? नपुगे सफा टालाटुली प्रयोग गर न ल, आज त सकिँदैन यार, पैसा पुग्दैन सरी बाबा।’ जवाफ दिए
फेरि सोधें ‘हजार रुपैयाँ पनि छैन ?,२६ गते लकडाउन खुलेन भने के गर्ने ? बाटो कुर्नुभन्दा आफैं चेकमा साइन गर्नेको घरमा गएर साइन गराए हुन्न?’
‘हाहाहा (हाँस्दै) ....बाबा, बाई, म अफिस गए है, राम्ररी बस्नू,।
’श्रीमान हिँडे।
तर म भने केहीछिन रन्थनिएँ, दुई वर्षभन्दा कम उमेरकी छोरीसँगै।
हेर नानी जान्दैनन् तिम्रा बाले, साँझ हेरम्ला के गर्छन्। रिस एकैछिनमा शान्त भैहाल्यो।
अफिस टाइम सकेर श्रीमान रित्तै घर आइपुगे। बाहिरबाट आएपछिका सरसफाईका नित्यकर्म सकेर छोरी र मेरो नजिक हुँदै भने,‘छोरीसँग म खेल्छु, तिम्रा हातले पकाको धेरै मीठो हुन्छ, किचेनतिर लाग्छ्यौं की?’
बिहान सेलाएको रिस फेरि उम्लिन थाल्यो।
‘लकडाउनमा फेसबुक हेरेका छैनौं ?, घरमा धेरैका श्रीमानले पका छन्, विभिन्न परिकार, तिम्ले खानमात्र जान्छौं?’ फ्याट्ट बोली फुट्यो।
लकडाउनमा धेरै समय घरमा हुने भएकाले छोरीले बुवालाई चिन्न थालेकी थिई।त्यसैले खुसी थिएँ म। अन्य समयमा बासँग रूने, नजिक नपर्ने छोरीले बाको हातै समात्दै दर्गुन थालेपछि, बा छोरीलाई छाडिदिएँ।
किचनबाटै फेरि कराएँ, तेल पनि सकियो, भोलि बिहानलाई तरकारी पनि छैन, नानीलाई दूध पुग्दैन, मसला, नुन, चामल, दाल सबै सकियो त, भोलि कसरी किन्ने ?
मेरा श्रीमानले मेरो रिस बुझेछन्, क्यारे, केही बोलेनन्, मैले फेरि,‘किन सुनेको पनि नसुनेको झैं गर्या, तिम्रो २६ गते कहिले आउँछ ?’२६ गते लकडाउन थप्यो भने के गर्ने ?
बुढा मस्तसँग नानीसँगै खेल्दैछन्।
वैशाख २३ गते बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले ७ देखि १४ दिनका लागि लकडाउन लम्ब्याउन गरेको सिफारिस २४ गते बुधबारको मन्त्रिपरिषद्को बैठकले स्वीकार गर्दै १० दिन लकडाउन थप गर्यो। २५ गते राति १२ बजे सम्मको लकडाउन जेठ ५ गतेसम्मलाई पुग्यो। ५ गतेपछि फेरि लकडाउन थपेर जेठ २० गतेलाई पुग्यो।
यो सुनेर झनक्क भएँ, चिटचिहाट भयो। लकडाउनको बेला विभिन्न देशमा घरभित्रै बसी राख्नेलाई मानसिक तनावले समस्या ल्याएपछि उपचारका लागि अस्पताल लानुपरेको समाचार पढ्ने, सुन्ने, हेर्नेले, आफैं समस्यामा पर्छु कि! भन्ने डरले सतायो।
यो त मेरो घरको एउटा उदाहरण मात्र हो।
यो उदाहरण नेपालभरका शिक्षित, कार्यकारी, चिरपरिचित सबैमा लागू भएकै छ।
लकडाउनले कोरोनाबाट बच्न सकिन्छ भन्ने सरकारले, घरमा के खाने? कसरी खाने भन्नेको योजना ल्याउन सक्दैन? श्रम व्यवस्थापनको बेवास्ता गर्ने सरकारले, श्रमिकसँग पैसा पुग्ने व्यवस्था गर्न किन सकेको छैन? नेपालमा किट अभावले कोरोना परीक्षणको गति कम हुँदै गएको छ। सरकार धिमा गतिमा चलिरहेको छ। लकडाउन थपेर, जनता तर्साएर कोरोना भाग्छ भन्ने मानसिकताबाट टाढा हुनुपर्छ सरकार। ट्राफिक प्रहरीका अनुसार करिब १५ लाख सर्वसाधारणले काठमाडौं उपत्यका छाडेर मोफसल गएका छन्।
दुई वर्षपछि अर्थात् सन् २०२२ मा अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा जाने घोषणा गरेको नेपाल सरकारले कोरोनाभाइरसको महामारीका कारण सामाजिक तथा आर्थिक असरले तत्काल पूरा नहुने जनाइसक्यो, यही नै हो लकडाउनमा सर्वसाधारणलाई थुनेर, विकासको बाटो रोकेको?
शिक्षा, स्वास्थ्य, आवास र खाद्य राज्यले पूरा गर्ने भनिए पनि नेपालमा अहिलेसम्म आकाशको फल आँखा तरी मर भन्ने उखानसँग मेल खान्छ।
कोरोना स्वास्थ्यसँग मेल खाए पनि, सरकारी रकम खर्च गर्ने र त्राहीमामसँगै लकडाउनले सर्वसाधारणमा हाऊगुजी मात्र ल्याएको प्रष्ट छ, होइन भने गरी खाने मान्छेलाई काम गर्ने बाटोको ढोका कहीले खुल्छ ?
इ.एन. ग्याडेनको भनाइ अनुसार प्रशासन भनेको जनताप्रति ध्यान दिनु वा तिनीहरूको हेर विचार गर्नु तथा तिनका मामिलाको व्यवस्थापन गर्नु हो जुन सरकारद्वारा सञ्चालित हुन्छ। तर यो लकडाउनको बेला सरकार त्यस व्यवस्थापनमा चुकेको छ।
कर तिर्ने मान्छेले सरकारसँग राहत माग्नु पर्दैनथ्यो। पथ्र्यो भने बिरामीको निहुँ पारी मोफसलबाट काठमाडौं एम्बुलेन्समा हुइँकिनेको भीड लाग्दैनथ्यो । लकडाउनबारे एकाद जानकार भए पनि धेरै जनताले यी विषयमा जानकारी पाउन सकेका छैनन्। यसमा कमीकमजोरी कसको हो ?
सरकारले सर्तसहित अत्यावश्यक क्षेत्रका लागि लकडाउन केही खुकुलो बनाएको छ, यो सर्त प्रष्ट नहुँदा नहुने र सोझालाई पर्नुसम्मको मार पर्छ भन्नुको विकल्प छैन। र श्रीमानलाई भन्न बाध्य हुनुपर्छ पैसा खोई बुडु?