विश्व आज कोरोनाको महामारीले आक्रान्त छ। चीनबाट सुरूआत भएर विश्वव्यापी महामारीको रूप लिएको कोरोनाले मानव सभ्यता माथि नै धावा बोलेको अवस्था छ। प्राकृतिक सत्ताभन्दा ठूलो कोही छैन अनि मानव जीवनका लागि उपयोगी परापूर्वकालदेखि अनुभव तथा खोजको उपज हाम्रा लागि विभिन्न जीवन जिउने सिद्दान्त तथा कला निर्देश गरिएको छ।
कति बजे उठने, के खाने, के नखाने , कस्तो कस्तो कर्म गर्ने अनि व्यवहार गर्ने सबै परापूर्वकालदेखि पूर्वीय दर्शनमा निर्देशित छ। त्यसको सही अनुशरण हामीबाट भएन। त्यस कारण हामी विभिन्न समस्याले समय-समयमा आक्रान्त हुन्छौं।
जीवन जिउने अनुशासन तथा नियम, कानून सबैको जीवन रक्षा तथा सुखका लागि निर्देशित भएका हुन्छन्। तर हामी त्यसलाई गम्भीरताका साथ लिइरहेका हुँदैनौं।
सरकारले हाल गरेको लकडाउन पनि यही जनताको स्वास्थ्यलाई मध्यनजर गरेर गरिएको एक निर्देशन हो। बाली लगाएको छ अनि छेकबार लगाएन भने त्यो बालीलाई कुनै न कुनै बखतमा चौपायले खान्छ नै भनेजस्तो लापरबाही गरियो भने एक न एक दिन हामी रोगले आक्रान्त हुन्छौं, त्यसमा दुईमत रहँदैन। जनताका हितमा जारी भएका नीति निर्देशिकालाई अवमूल्यन गर्दा रोगबाट मरि नहाले पनि दुःख पाउने त निश्चित रहन्छ।
सरकारले लकडाउनको समयमा देशमा अस्पतालको शय्या थप्ने, भेन्टिलेटर तथा मोनिटर थप्ने कार्यलाई अविलम्ब सुरूआत गर्नुपर्छ। सामान्य अवस्थामा समेत भेन्टिलेटर अभावमा बिरामीलाई यता र उता रिफर गरिन्थ्यो भने यो संकटको घडीमा यही गतिमा कोरोना बढ्दै जाँदा देशमा रहेका सीमित भेन्टिलेटरले नपुग्ने निश्चित छ।
स्वास्थ्य समस्या तथा रोगको प्रकृति दिनानुदिन फेरिँदै तथा बढ्दै गएको छ। हाल गरिएको तयारीले भविष्यलाई समेत टेवा पुग्नेछ। सीमित संख्यामा रहेका अस्पतालका सघन शय्या , भेन्टिलेटर तथा मोनिटर खरिद गर्न सरकार तातेन भने वा कानमा तेल हालेर जनतालाई दिगभ्रमित गर्ने कार्य मात्र गर्दै जाने हो भने कोरोनाको दिनानुदिन बढोत्तरीले देश भयावह स्थितिमा नजाला भन्न सकिन्न। त्यस कारण नीति निर्माताको आत्मबल दह्रो भएर योजना तर्जुमा हुनु अतिआवश्यक छ।
नियत सफा राखेर प्रत्येक स्थानीय तहमा कम्तीमा पाँच शय्याको सघन उपचार कक्ष, कम्तीमा दुइटा भेन्टिलेटर तथा शय्याकै अनुपातका मोनिटर खरिद गरी यथाशिघ्र कार्यान्वयनमा ल्याउनु आवश्यक छ।
संविधानमा उल्लेख गरिएको नागरिकको स्वास्थ्य सेवा पाउने नैसर्गिक अधिकारलाई कागजमा लेखेर तथा भाषण गरेर पूर्ति हुन सक्दैन।
यसको लागि सरकारमा रहेका व्यक्ति, नीति निर्माता तथा योजनाकर्ता सबैले आत्मबल उच्च राखेर, भूमरीमा हराएजस्तो व्यवहार त्यागेर, आफैं रनभुल्लमा परेजस्तो नगरेर गफभन्दा बढी वस्तुस्थितिको मनन गरी काम तथा निर्णय फटाफट गर्नु आवश्यक छ।
एम्बुलेन्सको संख्या थप्दै जाने कार्य अविलम्ब सुरू गर्न आवश्यक छ। देशमा स्वास्थ्य जनशक्तिको अभाव छैन। ती जनशक्तिलाई अभिमुखीकरण प्रदान गरेर सघन उपचार सेवाका शय्या तुरून्त थप्नुपर्छ।
लकडाउन जनतालाई दूरी कायम गराउन मात्र होइन, यो पूर्वाधार विकासको लागि समय पनि हो। मानौं विश्व स्वास्थ्य संगठनले भनेजस्तै कोरोनाको एचआइभीजस्तै उपचारको कुनै उपाय नसुल्झिएमा सधैं लकडाउनमात्र गरिरहने कि वैकल्पिक तयारीमा लाग्ने? त्यसतर्फ लाग्न जरूरी छ।
अस्पतालको संख्या तथा सघन उपचार शय्याको व्यापक वृद्धि गरिनुपर्छ। यसको रोकथामका लागि कुनै भ्याक्सिन आएन भने सावधानीका साथ मानव जीवनलाई पुरानै अवस्थामा चलायमान त गराउनु नै पर्छ।
त्यस अवस्थामा संक्रमित भएर सिकिस्त अवस्थामा नभएकाले घरमै सावधानी लिएर बस्ने तथा उपचार चाहिएमा मात्र अस्पताल जाने, अति सिकिस्त अवस्थाका लागि तुरून्त उपचार दिने प्रणाली विकास गर्नु पर्ने सम्भावना समेत नआउला भन्न सकिन्न।
रूघाखोकी लाग्दा घरमै बस्ने, थप समस्या तथा स्वास्थ्य जटिलता आउँदा अस्पताल तुरून्त जाने, हालको मानव व्यवहार भोलि यस कोरोनामा समेत लागू नहोला भन्न सकिन्न। त्यस कारण अहिलेदेखि नै पूर्वाधार विकासका लागि आत्मबल बढाउन आवश्यक छ।
कैयनले अकालमा ज्यान गुमाएका छन्, कतिले आफन्त गुमाएका छन् अनि सबैलाई मानसिक त्रास छ यो कोरोनाले कतै मलाई निल्ने त होइन। जन्मेपछि मृत्यु निश्चित छ।
कोही कालगतिले मृत्युवरण गर्छन् भने कोही विभिन्न रोगले अकाल मै मृत्युलाई प्राप्त गर्छन्। जो जसरी मरे पनि यो नाश्वर चोला त सकिने नै हो।
आज कोरोनाको नाम लिएर जसको आयु सकिएको छ उसलाई कालले आफ्नो गाँस बनाएको छ। आफूलाई पनि कोरोनाले निल्ने हो भन्ने डर हटाऔं। पृथ्वीले जनसंख्याको अनुपात मिलाउनका लागि प्राकृतिक रूपमा विभिन्न महामारी, बाढी, पहिरोको नाममा प्राकृतिक तवरले कार्य गर्ने सिद्धान्त हामीले पढेको विषय नै हो।
धर्मशास्त्रले भन्छ- जसको आयु सकिएको हुन्छ त्यो जे गरे पनि बाँच्दैन भने जसको आयु बाँकी रहेको हुन्छ उसलाई जतिनै घातक समस्या किन नहोस् चमत्कार भएर उसले पुनःजीवन पाउँछ।
हरेक अस्पतालमा भगवानको मन्दिर राखिएको हुन्छ। यो एउटा आस्थाको केन्द्र हो भने सांकेतिक रूपमा के उद्घोष गरिएको हो भने जीवन मृत्युको निधारणकर्ता त्यो अदृष्य शक्तिमात्र हो।
बचाउनु छ भने विभिन्न चमत्कारी बहानासहित कहिले ऊ चिकित्सकको रूप लिएर बचाउँछ भने कहिले कसको रूप लिएर बचाउने गर्छ तर आयु सकिएकै हो भने सबै स्रोतसाधन हुँदाहुँदै पनि केही गर्न सकिन्न। यसको मतलब यो होइन कि लपरबाही गर्ने, जे हुन्छ त्यो परमसत्ताले गर्छ भनेर हिँड्नु मनपर्दी गर्नु भन्न खोजिएको होइन, आत्मबल चाहिँ उच्च राख्नुपर्छ भन्न खोजिएको हो।
आज देशमा यो लेख तयार पर्दाको अवस्थामा ५४८ जना कोरोनाबाट संक्रमित भएका छन्। तीन जनाले मृत्युवरण गरेका छन्।
कोरोना पोजेटिभ भएका बिरामीको अवस्था जटिल भएमा तुरून्त भेन्टिलेटर सेवा उपलब्ध हुनुपर्छ त्यसकारण बिरामी भएको अस्पतालमा सो सेवा उपलब्ध छैन भने भएको ठाउँमा बिरामीलाई राखिनु जरूरी छ।
सामान्य स्वास्थ्य अवस्था भएका कोरोना पोजेटिभले आफ्नो आत्मबल उच्च राख्नु जरूरी छ। मलाई केही हुँदैन मैले कोरोनालाई परास्त गराएरै छोड्ने छु भन्ने भाव तथा आत्मबल राख्नु आवश्यक छ।
रोग प्रतियोगी आहार खाने तथा मनोबल उच्च राखेर बिरामी बस्नुपर्दछ। सामान्य अवस्थामा रहेका कोरोना संक्रमित बिरामी उपचार हुने अस्पतालले बिरामीको आहार तथा सरसफाइको उचित प्रबन्ध मिलाएको हुनुपर्नेछ। दिनचर्या गुजार्न सजिलो हुने गरी टिभीको व्यवस्था तथा किताबको व्यवस्था गरिदिनुपर्दछ। जसले गर्दा बिरामीमा नेगेटिभ सोचाइ कमी आउने छ। तातो तथा चिसोको समुचित व्यवस्था भएको हुनुपर्नेछ।
बिरामीको धार्मिक आस्था अनुरूप आफ्नै बेडमा धर्मकार्य गर्न छुट दिइने प्रबन्ध मिलाएको हुनु आवश्यक छ। यसले बिरामीको आत्मबल तथा मनोबल उच्च बनाउन टेवा पुग्नेछ।
अन्य बिरामीलाई आफन्तले सबै व्यवस्था गरेका हुन्छन् तर कोरोना पोजेटिभलाई आफन्तसँग भेट्न दिइँदैन। दिमागमा नकारात्मक सोच आउने सम्भावना प्रबल रहन्छ। यस बेलामा स्वास्थ्यकर्मीले बिरामीलाई हौसला दिने कार्य गर्नुपर्छ।
कोरोना भएर अस्पताल भर्ना भएकाले मृत्यु आफ्नो समिपमा आएको कल्पना गरेका हुन सक्छन्। यो समयलाई टिभीको कार्यक्रमतर्फ मोड्न सकियो भने तथा स्वास्थ्यकर्मीबाट हौसला प्रदान भयो भनि नकारात्मक सोच हटेर जानेछ। मलाई केही हुँदैन म पुनः पुरानै जीवनमा चाँडै फर्कने छु भन्ने आत्मबल बढाउनुपर्छ।
क्वारेन्टिनको निश्चित मापदण्डलाई पूर्ण पालना हुन जरूरी छ। हालै स्वास्थ्यमाथि ठूलो खेलवाड भएको विज्ञको भनाइ संचारमा आएका छन्। संक्रमित वा पोजेटिभ आएकालाई तथा अन्य आइसोलेसनमा रहेकासँगै राखिने कार्य वास्तवमै निन्दनीय छ।
यस खाल्का हर्कतले नेपाल दोस्रो इटली हुने बाटोमा लम्कने यथार्थलाई टार्न सकिन्न। केटाकेटी खेलेजस्तो कार्य कहीँ कतैबाट हुनु हुन्न। गम्भीर भएर व्यवहार तथा कार्य गरिनु, व्यवस्थापन हेर्नु आवश्यक छ।
विश्व स्वास्थ्य संगठनको नेपाल स्थिति कार्यालयले यसको अनुगमन हुनु आवश्यक छ। मानव अधिकार आयोग यस अवस्थामा अझ क्रियाशील हुनु आवश्यक छ। कोरोनासँग आत्मबल उच्च बनाएर एकजुट भएर मात्र लड्न सकिने यर्थाथ बुझ्नुपर्छ।
कोरोनाबाट मृत्यु हुँदा शव उठाउने कार्यमा सबै हिच्किचाएको तथा स्वयंसेवकले त्यसको व्यवस्थापन गरेको समाचार प्रकाशित भए।
यसमा राज्यका संयन्त्र अल्मलिएको भान हुन्छ। समन्वयको अभाव भएको सहजै अनुमान गर्न सकिन्छ। विदेशमा समेत कोरोना पोजेटिभको मृत्यु हुँदा सेना तथा प्रहरीको अगुवाइमा अन्तिम संस्कार गरिएको देखिन्छ। समाजका स्वयंसेवकको यस कार्य प्रशंसायोग्य छ।
तर महामारीको यस बखतमा राज्यका संयन्त्रको आत्मबल गिर्दा नागरिकमा के संचार हुन जान्छ बुझ्न जरूरी छ। यस्ता घटना हुँदा सम्बन्धित अस्पतालले के गर्ने , राज्यका संयन्त्रले के गर्ने विवेकपूर्ण तवरले निर्णय गरी कार्य हुनु आवश्यक छ।
अस्पताल व्यवस्थापनले यस्तै संकटको समयमा आफ्नो चुस्त प्रशासनिक क्षमता प्रस्तुत गर्नुपर्छ। राज्यका संयन्त्रसँग समन्वय गरी आत्मबल उच्च बनाएर सक्रिय साथ कार्य गर्नु सम्बन्धित अस्पताल प्रशासनको कर्तव्य रहन्छ।
कोरोना कहरले गर्दा उद्योग व्यवसाय प्राय: बन्द छ। कर्मचारीलाई केही मात्रामा तलब दिनुपरेको छ। कर्मचारी तथा श्रमिकलाई रिटेन गर्न समस्या छ। बैंकले ऋणका विषयमा कुनै निर्णय गरेको छैन । बैंकले संकटको मौका छोपी ब्याजदर बढाउने कार्य गरेको सुन्नमा आएको छ। यो बेला कसले कति नाफा कमाउनेभन्दा पनि सबै संस्था बाचून् भन्ने सोच्नु जरूरी छ।
उद्योग, व्यवसाय बन्द भएमा , कम्पनीको ऋणको भार सहन नगरेर कम्पनी वा संचालकलाई केही भएमा यसले समग्र बैंकिङ तथा अर्थतन्त्रलाई पनि असर पर्छ। यो संकटमा नाफा नभए पनि सबै संस्था बाँचेमा अगामी वर्षमा नाफा कमाउन सकिने कुरालाई बैंकिङ क्षेत्रले बुझ्न जरूरी छ।
संस्थाका कर्मचारीले ऋण लिएका हुनसक्छन्। संकटको यस घडीमा आम्दानी छैन त्यस कारण हालको व्याजलाई पछाडि धकेल्ने तथा व्याजदरमा केही राहत दिइनु पर्छ। बैंकको व्याजमा कुनै नीति नआउँदा मानिसको मानसिक स्वास्थ्यमा असर पर्दै गएको छ। खाने कुराको जोहो गर्नलाई गाह्रो भएकोबेला ऋणको व्याजको विषयमा निश्चित कुरा नआउँदा मानिसमा तनाव थपिएको छ। नियामक निकायले जनताका सबै पक्षलाई हेर्न आवश्यक छ।
कर्मचारीले समेत आफ्नो क्षमतामा विश्वास गरेर आत्मबल उच्च राख्न जरूरी छ। आफू क्षमतावान भएमा भविष्यमा जे गरेर पनि कमाउन सकिन्छ। कोरोनाको समयमा संस्थाले तलव दिएन वा जागिरबाट निकाले पनि मनोबल उच्च राख्नु पर्छ।
कोरोनाबाट बाँचियोस् कोरोना कहर समाप्त होस् आफ्नो क्षमतामाथि विश्वास राखौं कमाउने दिन आउनेछ। अहिले घरबाट ननिस्कौं। आफू सुरक्षित रहने कार्य गरौं। कम्पनीले बिदा दियो, तलब दिएन भनेर हतोत्साहित नहोऔं, मानसिक स्वास्थ्यलाई असर नपारौं। फुर्सदको समयलाई रचनात्मक कार्यमा सदुपयोग गरौं।
अन्तमाः फोहोर व्यवस्थापनको कार्य गर्नेलाई तथा स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ आएकाले सरकारले सुरक्षा पहिरन पर्याप्त मात्रामा दिइनु जरुरी छ।
अहिलेसम्म पनि सुरक्षा पहिरन पर्याप्त छैन। कोरोना व्यवस्थापन कोषको पैसालाई उचित तवरले सदुपयोग गर्न जरूरी छ। जनता भोकै हुने अवस्था आएको छ।
ड्युटीमा आउने अस्पतालमा कार्यरत प्रशासनका कर्मचारी, फोहोर व्यवस्थापनका कर्मचारी , सेक्युरिटी कर्मचारी, चिकित्सक तथा सम्पूर्ण स्वास्थ्यकर्मीको सुरक्षाप्रति गम्भीर हुन आवश्यक छ। अस्पतालमा कोरोना पोजेटिभ आउँदै जाने अनि अस्पताल सिल गर्दै जाने र ती अस्पतालका कर्मचारीले बिरामी रिफर गरिएको अस्पताल सिल गर्ने यसरी बिरामीको व्यवस्थापन गर्ने अस्पताल धराशायी बन्ने छ।
देश तथा जनता अझ संकटमा पर्ने कुरा निश्चित छ। अस्पतालका कर्मचारीको सुरक्षामा विशेष ध्यान दिन आवश्यक छ।
फोहोर व्यवस्थापन वैज्ञानिक तवरले गरिनु आवश्यक छ। अटोक्लेभ प्रयोगलाई व्यापकता ल्याएर संक्रमित बिरामीबाट निस्केको फोहोरलाई निःसंक्रमण गरेर मात्र अन्तिम विर्सजन गरौं।
हाम्रो स्वास्थ्य संस्थामा इन्फेक्सन कन्ट्रोल, सुईजन्य फोहोरको व्यवस्थापन, अस्पतालजन्य व्यवस्थापन , औजार तथा उपकरणको अभाव, चुस्त व्यवस्थापनजस्ता कुरामा धेरै कमीकमजोरी छन्। आजको यो संकटमा यसतर्फ सबै गम्भीर हुन आवश्यक छ।