नेपालमा हिजोआज विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड १९ को भयावह स्थितिसँगै सरकारको आगामी नीति तथा कार्यक्रम र बजेट बहसको सन्दर्भ छ।
'समृद्ध नेपाल सुखी नेपाली' नाराको सार्थकता र यसले हामी नेपालीमा थपेको ऊर्जाका बारेमा बहसको पाटो छँदैछ।
नेपालको समृद्धिका लागि मूलधार मानिएका जति पनि क्षेत्र, साधन श्रोत र बाहक छन् तीमध्ये सबैले चर्चा गर्ने र जुनकुनै रूपमा महत्त्वपूर्ण हिस्सा ओगटिरहने विषय हो- कृषि।
अझ अहिले कोरोनासँग जोडिएको खाद्यान संकटको त्रास र गाँसको आसका बीचमा निकै बहसमा आएको विषय पनि हो कृषि।
यही कृषिको विकासका लागि महत्त्वपूर्ण तीन खम्बा कृषि शिक्षा, कृषि अनुसन्धान र कृषि प्रसारमध्ये यो लेख कृषि अनुसन्धानको पाटोमा केन्द्रित छ।
नेपालको कृषि अनुसन्धानमा संलग्न विभिन्न सरकारी तथा गैरसरकारी निकायमध्ये समग्र देशको कृषि अनुसन्धान प्रणालीको नेतृत्त्व नेपाल कृषि अनुसन्धान परिषद नार्कले गर्दछ।
कृषि शिक्षामा संलग्न निकायले केही मात्रामा कृषि अनुसन्धान गर्ने गरेता पनि राज्यले दिएको मुख्य जिम्मेवारीका हिसाबले नेपालको कृषि अनुसन्धान भन्ने बित्तिकै नार्क बुझिन्छ।
यसर्थ राज्यको कृषि विकासको झिलमिल स्वप्न शहरमा बत्ती मुनिको अँध्यारोको रूपमा रहेको कृषि अनुसन्धान यानकी नार्कको अस्तित्व र महत्त्वमा यो लेख केन्द्रित छ।
सेतोपाटीमै प्रकाशित मेरो अघिल्लो लेखले नार्कको हालसम्मका उपलब्धिबारे धेरै प्रकाश पारेको छ।
यो पनि पढ्नुहोस्:
कृषि अनुसन्धानका उपलब्धि, चुनौती र अबको कार्यदिशा
संरचनागत एवं प्राविधिक र अन्य धेरै कारणका बाबजुद नार्कले जसोतसो नेपालको आधारभूत कृषि अनुसन्धान आजसम्म धानेकै छ। यद्यपी यो पर्याप्त होइन।
तर पनि नार्कले केही गरेन भनेर सधैं गुनासो गर्न चलाउने जिब्रोहरुले नार्कले नै विकास गरेका विविध थरीका खाद्यान्न चाख्ने अवसर पाइरहेका छन्।
हाम्रो खेती एवं पशुपन्छी पालनको तरिका र त्यसबाट प्राप्त प्राप्त उत्पादनले हाम्रो गाँसमा र जीवनशैलीमा पक्कै व्यापकता ल्याएको छ।
जलवायु परिवर्तनसँगै अन्य मौसम प्रतिकुलतासँग जुध्ने प्रविधि विकास भएका छन्। सुख्खा, खडेरी, उच्च तापक्रम, डुबान आदि सहने धान, गहुँ र मकैका जातहरु विकास भएका छन्। उत्पादकत्त्व बढी हुने वर्ण शंकर जातहरु समेत विकास भएका र कतिपय छिट्टै हुने क्रममा छन्।
तरकारी तथा फलफूलका विविध जातहरु खेतबारी हुँदै हाम्रा भान्सासम्म पुगेका छन्। प्लास्टिक घर र यस्तै अन्य संरचनाले तरकारी खेतीमा आम किसानलाई सहज बनाइदिएको छ।
कृषि यान्त्रिकीकरणमा नार्कले गरेको प्रविधि विकासले खेतबारी जोत्न देखि बाली थन्क्याउँदासम्म सहज बनाइदिएको छ। पशुपन्छी र बालीमा लाग्ने रोगकीरा र माटो व्यवस्थापनको समस्या समाधानका तत्काल र दीर्घकालका उपायहरु नार्कले दिएको छ।
बालीनालीका 'प्याकेज अफ प्र्याक्टिस' हामीसँग छन्।
ट्राउट माछापालन किसानमाझ लोकप्रिय छ पशुपन्छीका उन्नत नश्ल हाम्रा गोठ खोरमा पालिएका छन्। दूध एवं दूधजन्य र मासुजन्य पदार्थको उपलब्धतामा सहज भएको छ।
त्यस्तै स्रोतबीउबिजन र नश्लको आधार केन्द्र हाम्रै पहुँचमा छन्। स्थानीय परम्परागत र लोपोन्मुख बालीनाली एवं पशुपन्छी र तिनका जातरनश्लहरु संरक्षित भई थप सुधारोन्मुख छन्।
तरपनि यी सबै पर्याप्त होइनन्। किनकी समृद्ध नेपालको आधारशिला निर्माणमा कृषि अनुसन्धानका आजसम्मका उपलब्धिले मात्रै सुखी नेपालीको सपना पूरा गर्न कठिन छ।
यसर्थ समृद्धिको मूल धारमा कृषि अनुसन्धान समाहित भई आफ्नो अस्तित्त्व कायम राख्ननार्कले यो समयको माग बमोजिमको अनुसन्धान यात्रा थाल्नु पर्छ।
कुनै पनि देश कृषि अनुसन्धानलाई लत्याएर विकासको पथ हिँड्न खोज्छ भने त्यो दुर्घटनामा अवश्य पर्छ।
अझ नेपाल जस्तो कृषि अर्थतन्त्रमा आधारित देशमा कृषि अनुसन्धान राज्यको मूल प्रवाहमा आउनुपर्छ त्यसका लागि राज्य स्तरबाट यथाशक्य पहलकदमी अत्यावश्यक छ।
राज्यले नार्कबाट यो देश र जनताले मागेको कृषि अनुसन्धानका उपलब्धि लिनलाई सर्वप्रथम केही दिनै पर्छ।
आजसम्मको लेनदेनमा पक्कै त्रुटि छ बुझाईमा समस्या छ। तसर्थ राज्यले कृषि अनुसन्धानको सर्वोच्च निकाय नार्कलाई यथ्येष्ट स्रोत साधन र पहुँच दिएर सोही अनुसारको प्रतिफल माग्नु पर्छ।
त्यसको लागि सर्वप्रथम नार्क थप बलियो र परिष्कृत हुनुपर्छ। यही आवाज विगतदेखि उठिरहेको र पटकपटक छलफल भएकोमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा नार्क र कृषि अनुसन्धानका विषयमा स्पष्ट केही बुँदाहरु समेटिएका छन्। त्योमध्येको एक महत्वपूर्ण विषय नार्कको पुनर्संरचना नै हो।
सोही बमोजिम नार्कले आगामी आर्थिक वर्षमा आफ्नो संरचनागत परिवर्तन हासिल गर्नेछ भन्ने विश्वास छ। यसरी देशको बदलिदो संरचना अनुसार तिनै तहको सरकारसंग नार्क जोडिनेछ। यसर्थमा कृषि अनुसन्धानको पहुँच आम किसान माझ व्यापक हुनेछ।
त्योसँगै जोडिएर आउने प्राविधिक र वैज्ञानिक एवं अन्य कर्मचारीको आवश्यक परिपूर्ति पनि छिट्टै हुनेछ नै। सँगसँगै जोडिने वैज्ञानिक वातावरणको सिर्जना, प्रयोगशालाको शुद्धीकरण, सेवा सुविधा थप आदिले महत्त्व अवश्य पाउनेछन्।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पनि पुन:संरचना हुने उदघोष आगामी नीति तथा कार्यक्रममा गरिएको छ।
यो परियोजना र नार्कका बीचमा पनि कुनै न कुनै रुपमा सहकार्यको आधार तय होस्।
विगतमा नार्कले जिम्मा पाएको कृषि खाद्य सुरक्षा परियोजना १ को प्रतिफल उपलब्धिमूलक रह्यो। उक्त परियोजना २ मा भने नार्कको जिम्मेवारीले महत्त्व पाएन।
तर यी र यस्तै अन्य कृषि तथा पशुपन्छीका गौरवका परियोजना र कार्यक्रममा कृषि अनुसन्धानको भूमिका र महत्त्वलाई नजरअन्दाज गरिनु हुँदैन।
कृषि र पशुपन्छी प्रविधि विकासको सन्दर्भमा नेपाली माटो सुहाउँदो होस्। किसानका समस्यामा आधारित अनुसन्धानको दायरा र गति बढ्दो होस्। किसानसँग कृषि अनुसन्धान हरतवरले जोडिनु आवश्यक छ।
विगतमा भएका उपलब्धिको लेखाजोखा गरी तत्काल र दीर्घकालमा गरिनु पर्ने प्राथमिकतामा आधारित कामको स्पष्ट खाका बन्नुपर्छ।
नार्क अनुसन्धानमूलक वैज्ञानिक निकाय भएकोले सोहि अनुसारको वातावरण र चिन्तन आवश्यक छ। कार्य सम्पादनको निष्पक्ष आधारमा 'सम्मान तथा कारबाही' का अनेक तरिका अपनाइनु पर्छ।
यसका अतिरिक्त शीतयुद्धले नार्क नपिल्सियोस्। कुनै पनि वैज्ञानिक निकायमा उक्त प्रकारको युद्ध आन्तरिक र बाह्य उत्तिकै घातक छ।
आन्तरिकको सवालमा नार्क भित्रको चरम राजनीति र कतिपयको अनावश्यक व्यक्तिगत स्वार्थ र अप्ठ्यारा चिन्तनको गन्जागोल स्थिति छिट्टैसाम्य होस्। वाह्य युद्धको सवाल कृषि विकास मन्त्रालयसंगको हो।
नार्क कृषि मन्त्रालय अगाडि यतिसम्म निरिह भइदिन्छ अथवा बनाइन्छ जुन अत्यन्त अपसोच छ। नेपाल सरकारको स्वायत्त निकाय भनेर अस्तित्व बोकेको नार्क न आफ्नो स्वायत्तताको पूर्ण उपयोग गर्न पाउँछ न सम्बन्धित मन्त्रालयभित्र आफ्नो अस्तित्वको पूर्ण अनुभूत गर्न पाउँछ।
कृषि प्रसार र कृषि अनुसन्धान निकायबीच मन्त्रालयगत मात्र होइन जतिसम्म फैलिएका हाँगाबिगाहरु छन् धेरै जसोको बिचमा कहीँ न कहीँ समन्वय, अन्तरसंवाद र सहकार्यको ठूलो खाडल अझै व्याप्त छ। दुई निकायबीच कतिपय नीतिगत एवं संरचनागत कुराले दुरी टाढा छ भने कतिपय केवल प्रतिसोधको कारण।
नार्कको मानित विश्वविद्यालयको काम कारबाही छिट्टै अगाडि बढोस्। यस सन्दर्भमा कृषि शिक्षाका विश्वविद्यालयसँग आपसी समझदारी आवश्यक छ न कि एकले अर्काको अस्तित्त्व स्वीकार नगरोस्।
तसर्थ उल्लेखित सबै तितो सत्यको अन्त्य गरी मीठो सम्बन्ध कायम राख्न कृषि प्रसार र अनुसन्धान दुबै निकायसँगै उत्तिकै रुपमा कृषि शिक्षा पनि समाहित भई सकारात्मक सोचका साथ ठोस कदमले अघि बढून्। किनकि त्यो मीठो त्रिकोणात्मक सम्बन्ध नै देशको समग्र कृषि विकासको आधारशिला हो। नेपालको कृषि अनुसन्धान देश विकासको वाहक भएर मूल धारको हिस्सा बन्नु पर्छ।
यसरी अन्य निकायसँगै हुने कृषि अनुसन्धान मार्फतको समग्र कृषि विकास नै समृद्ध नेपाल सुखी नेपालीको सपनाको एक आधार पनि हो।
(लेखक क्षेत्रीय कृषि अनुसन्धान केन्द्र डोटीमा कार्यरत प्राविधिक अधिकृत हुन्)