बिहान म पसलमा बसिराखेको थिएँ।
करिब ६० वर्ष जतिको उमेरको एक जना दाई आउनु भयो र थोरै कागजको टुक्रा माग्नु भयो।
म केही नबोली एउटा पत्रिका च्यातेर दिएँ।
त्यो कागजको टुक्रा लिएर उहाँ हिँड्नु भयो।
उहाँलाई म हेरिराखेँ।
उहाँका आँखा सडकको भुइँतिर डुलिराखेका थिए।
अलि पर पुगेपछि उहाँ भुइँतिर निहुरिनु भयो र भुइँबाट केही टिप्नु भयो।
यसो नियालेर हेर्दा उहाँको हातमा दुइटा चुरोटका ठुटा थिए।
उहाँले ती दुई चुरोटको ठुटाबाट सुर्ती झराल्नु भयो अनि त्यही आफूसँग भएको पत्रिकाको कागजको टुक्रामा बेर्नु भयो।
गोजीमा छाम्नु भयो, सलाई रैन रैछ फेरि फर्केर आउनुभयो, सलाइ माग्नु भयो। मैले टुलुटुलु हेरिरहें र दुइटा पाइलट चुरोट उहाँलाई दिएँ।
मैले उहाँलाई सोध्न जरूरी थिएन किनकी उहाँ एक दैनिक ज्याला गरी खाने मजदूर हो।
अहिले कोरोनाको कारण प्राय: सबै क्षेत्र बन्द छन्।
उहाँले काम गर्न पाउनुभएको छैन। त्यसैले उहाँसँग पैसा छैन।
बिहान,साँझ छाक टार्न पनि धौधौ परिराखेको छ। चुरोट,सुर्तीको त कुरै छोडौं।
हो हामीले आज भोलि यस्तै देखिराखेका छौं,यस्तै भोगिराखेका छौं। एउटा देख्न पनि नसकिने भाइरसले हामीमाथि रजाइँ गरिराखेको छ।
हामीलाई भित्रै थुनेको छ, आफू संसार घुमिराखेको छ। हामी मानव सबभन्दा ठूलो जनावर हात्तीलाई आफ्नो काबुमा राखेर त्यसैमाथि चढ्न सक्यौं। बाघलाई पनि नियन्त्रण गरेर चिडियाखानामा थुन्न सक्यौं।
हवाइजहाज बनायौं,पानी जहाज बनायौं,रकेट बनायौं र तिनिलाई पनि नियन्त्रण गरी उडाउन र गुडाउन सक्यौं। एक अर्कालाई मार्न हतियार बनायौं, संसार ध्वस्त पार्न सक्ने बम बनायौं। हो देखिने वस्तु सबैलाई जित्यौं तर आज एउटा देख्नै नसकिने वस्तुले हामीमाथि विजय प्राप्त गरिराखेको छ।
सम्पूर्ण संसार ठप्प छ। कतिका रोजगारी गुमेका छन्। कतिका व्यवसाय डुबेका छन्। कतिलाई बिहान,साँझ छाक टार्न धौधौ परेको छ। शिक्षा क्षेत्र लथालिंग छ। ऋण खोजेर व्यवसाय गरेकालाई ऋणको भारीले च्यापेको छ।
हो हामी सबैलाई थाहा भएकै कुरा हो हामी जीवनको कठिन अवस्थामा आइपुगेका छौं। रूख रह्यो भने पात फेरि पलाउँछन्।
पहिलो कुरा तत्कालको लागि रोगबाट बच्ने कसरी र दोस्रो कुरा भोक मेटाउने कसरी?
एक चिज विचार गरौं,हामी दुइटा अवस्थामा दौडेको।
एउटा अवस्था दौडाइको प्रतिस्पर्धामा दौडेको र अर्को अवस्था एउटा सर्पले लखेटेको अवस्था।
विचार गरौं, हामी कुन अवस्थामा बढी दौडिन्छौं होला। पक्कै पनि सर्पले लखेटेको अवस्थामा।
हो त्यति बेला हाम्रो शरीरका प्रत्येक अंगले हामीलाई दौडिन सहयोग गर्छन् र हामीभित्र एक किसिमको शक्ति पैदा हुन्छ। हो हाम्रो शरीर पनि एउटा संसार हो प्रत्येक कुरा हामीभित्र छन् र हामीभित्र अनौठो शक्ति छ।
प्रत्येक रोगसँग लड्ने क्षमता पनि हामीभित्रै छ। खाली त्यसलाई चिनौं र उजागर गरौं। रोगविरूद्धको सबभन्दा ठूलो औषधि भनेको सकारात्मक सोच हो। हामीले सोची राख्छौं, त्यो अवस्थामा पनि हाम्रो शरीरभित्र ग्रन्थी पैदा हुन्छन्।
सकारात्मक सोच्दा अमृत जस्तै ग्रन्थीहरू पैदा हुन्छन् र ती रोगविरूद्ध लड्न थाल्छन्,नकारात्मक सोच्दा विषजस्तै ग्रन्थीहरू पैदा हुन्छन् र ती रोगका साथी हुन्छन् र रोगलाई सहयोग गर्न थाल्छन्।
सकारात्मक सोचको सुरू गरौं, त्यसको लागि सम्पूर्ण वस्तुहरूलाई प्रेम गर्न थालौं। रिस र अहंकार,लोभ र तृष्णा हाम्रा शत्रु हुन्। यिनलाई सकेसम्म कम गर्दै जाऔं। सकारात्मक सोच र प्रेम हाम्रा मित्र हुन्।
यी दुईलाई बढाउन थालौं। योगा गरौं ,ध्यान गरौं ,गीत सुनौ,नाचौं ,गाउँ र अरूको भलो चिताऔं।
आफूले सकेसम्म सावधानी अपनाऔं। सकेसम्म बाहिर ननिस्कौं,मलाई रोग लाग्दै लाग्दैन भन्ने सोचौं। यदि लागिहाले पनि मैले जित्छु भन्ने हिम्मत निकालौं।
हुने कुरा हुँदै जान्छ। सबै कुरा हाम्रो हातमा छैन। यसलाई स्वीकार गरौं।
हामीले प्रकृतिलाई चलाउन सक्दैनौं। प्रकृतिले हामीलाई चलाउने हो जसरी चलाउँछ त्यसरी चलौं र भूत गैसक्यो भविष्य आउन बाँकी छ।
आजको क्षण रमाएर बिताऔं र रोगलाई जित्ने शक्ति उजागर गरौं। रोगपछि भोकको कुरा आयो। हो दूरी कायम गरेर आफ्नो खेत बारीमा काम गर्न मिल्छ।
अब आफ्नो लागि आफैं उत्पादन भन्ने नारा अगाडि बढाऔं र ती बाँझा खेत र बारीमा खन्न थालौं। अहिले भर्खरै कोरोना सकिएला र सबै कामहरू गरौंला भन्ने कुनै निधो छैन। केही समयका लागि अति आवश्यकीयबाहेक अरू कुनै कार्यालय खोल्ने,जागिर गर्ने या अरु कुनै व्यवसाय गर्ने अवस्था देखिँदैन।
त्यसैले सुरक्षित तवरले आ-आफ्नो घर-घर पुग्ने गरी सरकारसँग अनुरोध गरौं।
मिल्यो भने आफ्नै गाउँ जाऔं र ती बाँझा खेतबारी खन्न थालौं।
अहिले गर्न सकिने भनेको यही हो।
पहिलो कुरा गाँस, बास र कपासको हो। अरू भए राम्रो नभए पनि जीवन मर्दैन। यो बेला कृषि क्रान्ति गर्ने बेला आएको छ। त्यसैले अबको एक वर्ष कृषि क्रान्ति गरौं। त्यति भयो भने जस्तो अवस्थामा पनि हामी नेपाली मर्ने अवस्था आउने छैन।
अब अर्को कुरा रह्यो ऋणको।
हो कतिले ऋण लिएर व्यवसाय गर्नुभएको थियो होला। अहिले व्यवसाय डुबेका छन्। रोग,भोक सँगसँगै ऋणको भारले थिचेको छ। धेरै नआत्तिनुस् यो हजुरले जुवा खेलेर,मोज मस्ती गरेर लगाएको ऋण होइन परिस्थितिले पारेको हो।
प्रकृतिले निम्त्याएको हो सके तिरौंला नसके कमाउँदै गरौंला र तिर्दै गरौंला। अति नै भयो भने परिवार,साथीभाइ,इस्टमित्र र सरकारसँग पनि जीवन रक्षाको अनुरोध गरौंला। रात रहे अग्राख पलाउँछ। शरीर रहे कमाउँला, तिरौंला।
अहिले यसैलाई लिएर झन् तनाव नथपौं। प्रकृतिले ल्याएको समस्या हो हामीले ल्याएको होइन।
अब कुरा रह्यो शिक्षाको।
वास्तवमा स्कुल नै नगएकाहरू वैज्ञानिक,व्यवसायी,लेखक,मन्त्री,प्रधानमन्त्री र राष्ट्रपतिसम्म बनेका कुरा हामीले देखेका छौं, पढेका छौं।
एक वर्ष स्कुल नगएर त्यति सारो बिग्रिनेवाला केही छैन। अलि ठूलो कक्षामा पढ्नेहरू मन लाग्यो भने आफैं पढ्न सक्छ्न्। साना-सानाको लागि सक्नेले घरमै सिकाऔं नसक्नेले छिमेकीका भएको कोही पढा लेखासँग सहयोग मागौं ताकी बच्चालाई अर्को वर्ष अर्को कक्षामा लग्न सकियोस्। नभए यो बेला व्यवहारिक र जीवनसम्बन्धी ज्ञान दिऔं।
घरको काम सिकाऔं,खेतीको काम सिकाऔं, केही बनाउन सिकाऔं र नैतिकता सिकाऔं। पढ्ने भनेको सिक्ने हो सिक्नका लागि छेकिएको छैन। स्कुल जान पाइएन या पठाउन पाइएन भनेर चिन्ता नगरौं।
अब कुरा आयो रोजगारको।
हो, अहिले धेरैको रोजगार गुमेको छ त्यसैले आफूलाई परिवर्तन गरौं र केही समय अरू बिर्सेर सबै ध्यान खेतीपातीमा लगाऔं। आफ्नो खानको लागि पुर्याऔं। कपडा एक वर्ष नकिने पनि फरक पर्दैन। जब परिस्थिति सहज बन्छ फेरि रोजगारी सुरू हुनेछ। हुन त भन्न सजिलो छ गर्न गाह्रो छ तर हामीसँग विकल्प छैन। कोरोना कहिले सकिन्छ कुनै निधो छैन। कोरोना सकियो भने पनि अर्को यस्तै सुरू हुन सक्छ। त्यसैले हामीले सोच्नुपर्ने बेला भएको छ।
कतै हाम्रो जीवन शैलीमा खोट त छैन। दिनहुँ हत्या,हिंसा ,बलात्कार ,चोरी ,ठगीका घटना बढ्दै थिए। मान्छे मै खाऊँ,मै लाऊँ, सुख सयलवा मोज म गरूँ भन्दै थियो। सोचौं हामीले अरूको लागि के गर्यौं? राम्रो या नराम्रो।
कतै हामीले बाटो बिराएका त थिएनौं।
हो कोरोनाको कारणले विश्वको अर्थ व्यवस्था थला पर्दैछ तर पनि चाहनालाई अलिकति कटौती गर्न सक्यौं भने र सादा जीवन बिताउन सक्यौं भने त्यति ठूलो असर गर्ने छैन।
होइन भने कोरोनाको नाममा अरू रोगहरूले पनि समाउन थाल्नेछन्। त्यसैले एक अर्कामा सहयोग गरौं,प्रेम गरौं,मानवीयता देखाएर जति दिन सकिन्छ रमाएर बाचौं।
जीवन र मृत्यु हाम्रो हातमा छैन यो सत्यलाई स्वीकार गरौं।
अब हाम्रो पुरानो जीवनशैलीको दिन सकिएजस्तो छ त्यसैले नयाँ जीवनशैली निर्माण गर्नुपर्ने हुन सक्छ तयारी सुरू गरौं।
केही गर्न सकिएन भन्ने पनि चिन्ता नगरौं यो जीवन बिताउने हो। बिताऔं सकियो।
सानो ठूलो भन्ने यहाँ कहीँ लेख्या छैन।
सम्पत्ति नै लिइ जाने लास देख्या छैन।
सत्यम,शुभम सुन्दरम!