अहिले विश्वभर नै कोरोना भाइरस विरुद्ध मानवको महामारी युद्ध चलिरहेको छ। नेपालमा पनि कोरोनाले विस्तार विस्तारै नयाँ-नयाँ ठाउँमा किल्लाहरु बनाउदै गएको छ। नेपालमा कोरोना विरुद्ध विजय प्राप्त गर्दै गर्न भएभरको शक्ति प्रयोग गरिरहेको छ। यसको लागि थुप्रै स्थानीय तहमा क्वारेटाइन तयार गरीरहेका छौँ।
आइसोलेसन वार्डहरु बनाएका छौँ। चेकजाँचका लागि अग्र भागमा स्वास्थ्यकर्मी खटाएका छौँ। नमुना संकलन तथा जाँच गरिरहेका छौँ। यी लगायत अन्य कार्यहरु विगत ५८ भन्दा बढी दिनदेखि गरिरहेका छौँ। तर कोरोना मरीकाट्य घटेको छैन। कोरोना घट्लाभन्दा झन्-झन् बढिरहेको छ।
यसै बीचमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र अन्यलाई संक्रमण भएको र संक्रमण अझै बढी रहेको समाचार आइरहेका छन्। थुप्रै हस्पिटलहरु सिल गरेको, वस्तीहरु सिल गरेको समाचारमा आएका छन्। काठमाडौँ उपत्यकालाई सिल गर्ने, अझ नेपालनै सिल गर्ने कुरा समेत आएको छन्।
क्वारेन्टाइनबाट मानिस भागेको कुरा आएका छन्। क्वारेन्टाइनबाट नै सरेको अनुमान गर्दै स्थानीय निकायमा क्वारेन्टाइनको गुणस्तरको कुरा आएका छन्। यति मात्र होइन, ड्युटिकालीन स्वास्थ्यकर्मीको यातायात समस्याका कुरा आएका छन्।
संक्रमण पुष्टि भएको १३ घन्टा बित्दा पनि दैलेखका युवा अरूसँगै क्वारेन्टाइनमा भन्ने समेतका समाचार आएका छन्। यस्तै कुराले हामीलाई अझैँ अनिश्चित बनाएको छ। आम-नागरिकमा त्रासको स्थिति पैदा भएको छ साथै प्रश्नहरु सिर्जना भएका छन्।
हामी अन्य देशको अनुभवबाट कुरा गरौँ। २०२० जनवरीको २३ मा लकडाउन सुरु हुँदा चीनमा ७७१ संक्रमित रहेका थिए। २०२० फेब्रुअरीको १८ तारिकबाट नयाँ केसभन्दा घेरै निको भएको केस आएका थिए, जसले कोरोना नियन्त्रणमा रहेको भन्न सकिन्थ्यो।
लकडाउनको ५६औ दिन मार्च १९ मा चीनमा देशभित्रको नयाँ केस शून्य भएको थियो। नेपालमा ५७ दिनदेखि लकडाउन छ। यो लकडाउन कोरोना नियन्त्रण गर्न खर्चिएको मनग्य समय हो। हामीले सही योजना र रणनीति बनाउन नसक्दा जनताहरुले गरेको यत्रो दुःख बालुवामा पानी राखेको जस्तो भएको पो हो कि?
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनको इन्कुबेसन अवधि २ देखि १४ दिन हुने जनाएको छ। विभिन्न अध्ययनअनुसार एकलकाटे केसहरु (आउट लायर) शून्यदेखि २८ दिनसम्ममा देखिने उल्लेख छ, जुन नगन्य मात्रामा हुन्छन्। यसरी एकलकाटे केसहरुलाई मध्यनजर गर्दै लकडाउन ५७ दिनसम्म गर्दा नेपालमा कोरोना शून्य हुने पर्ने हो, पचेर जानु पर्ने हो। त्यसैले कोरोना नियन्त्रणको लागि नेपालले गरेका प्रयास वैज्ञानिक भएनन कि?
कुनै काम वैज्ञानिक तरिकाबाट गर्न सर्वप्रथम राम्रो योजना हुनुपर्छ र त्यसपछि त्यो योजना संचालनको लागि राम्रो कार्यविधि हुनुपदर्छ। कार्यविधिअनुसार सम्पन्न गरिएको कामको वैज्ञानिक तरिकाबाट सम्पन्न भएको छ भनि स्वतन्त्र रुपमा प्रमाणित हुनुपर्छ।
सम्पन्न कामको दस्तावेज तयार गरेपछिका दिनहरुमा अध्ययन, पुनरावलोकन र निरन्तर सुधारको लागि प्रयोग गरिन्छ। यो विज्ञानको क्षेत्रमा मात्र नभई सामाजिक विज्ञान, राजनीतिक विज्ञान, युद्ध विज्ञान र अन्य क्षेत्रमा पनि यो पद्दति लागू हुन्छ।
स-सानो काम र स-सानो समयले पनि महत्वपूर्ण भूमिका खेल्ने भएको हुँदा एक रुपताको लागि, बहकिनबाट जोगिन, आपतकालिन स्थितिमा काम गर्न र नेतृत्व दिन यो आवश्यक हुन्छ।
सर्वप्रथम नियन्त्रणको लागि योजना वैज्ञानिक भयो कि नाइ त्यसैबाट सुरु गरौँ। मिति २०७६।१२।१० गते दोश्रो जनामा संक्रमित देखियो। योसँगै १ हप्ते लकडाउनबाट लकडाउन सुरु गर्यौ। समय थप्दै आजको दिनमा पुगेका छौँ। त्यति बेला महामारी भईसकेको थिएन।
नागरिकलाई केही समय दिएर सजिलो हुने ठाउँमा बस्न भन्नु पर्थ्यो होला। कति दीर्घ रोगी डाक्टरकोमा जानु पर्ने थिए होलान्, २-३ महिनालाई औषधि लिनु पर्ने थियो होला। सर-सापट र बैँकबाट रकम निकालेर खाद्यान्न किन्नु पर्ने थियो होला। कति अस्थाई ठाउँमा बसेका थिए होलान् र घर फर्कनु पर्ने थियो होला।
यी लकडाउनको योजनामा हेरिए कि नाइ? सतर्क र साबधानी अपनाएर १ हप्ता समय दिई लामो लकडाउनको पूर्ण योजना बनाउन सकिन्थ्यो होला जुन प्रभावकारी हुने थियो कि?
हामीसँग चीनको अनुभव थियो। १ हप्तामा कोरोना सकिन्न भन्ने थाहा थियो र लकडाउन लामो समयसम्म चल्ने थाहा हुँदाहुँदै पनि हप्ता-हप्ता गर्दै बढाउदै गयौँ। लकडाउन हप्तैपिच्छे कडा-कडा भन्यौँ। कति अनौपचारिक श्रमजिवीलाई त कोरोना र लकडाउन राम्रोसँग थाहा नभई ताप्लेजुङबाट पैदल यात्रामा कैलाली पुगे।
पास बनाई काठमाडौँ बाहिर र भित्र गरे, उद्धारको नाममा राजनीतिक मानिसको ओसार-पसार गरियो। समयमानै अनौपचारिक श्रमजिवीका समस्याहरु सम्वोधन नगरिनु, प्रभावकारी रुपमा परीक्षण नगरिनु जस्ता कार्यले थुप्रै समस्या थपिएका छन्। यी कुरा पक्कै लकडाउनका योजनाको अंग थिएनन् होला र? यहाँ ठूलो प्रश्न उठ्छ।
नेपालमा कोरोना कसरी फैलिरहेको छ? महामारीको स्थिति आएमा कति जनासम्मलाई यो रोग लाग्न सक्छ? कति जनाको मृत्यु हुन सक्छ? यसको कन्ट्रोलका माध्यम ठिक छन् कि छैनन्? भविष्यमा हाम्रो लागि सबैभन्दा खराब स्थिति के हुन सक्छ? अहिलेसम्म अपनाएको तौर तरिका ठिक छन् कि छैनन्? हामीलाई कति स्वास्थ्य सामग्री चाहिने हो?
अहिलेसम्म स्वास्थ्य सामग्री केको आधारमा किनेका छौँ? रोकथामको लागि आउने दिनमा कस्तो-कस्तो जनशक्ति आवश्यक पर्ने हो? यी कोरोना नियन्त्रणको योजनाका प्रमुख मुद्दा हुन् र योजनामा छन् कि नाई?
सीमाबाट नागरिक लुकिछिपी आएर समस्या भयो भन्ने कुरा आएका छन्। क्वारेन्टाइनबाट नै सरेको अनुमान हुँदै छ। हामी दिमागबाट हैन मुटुबाट सोचौँ, आपतमा आफ्नो घर नआएर कँहा जाने? सीमामा नागरिकलाई ४५-५० दिनसम्म राख्यौँ, जब हामी संक्रमित छ कि छैन भनेर टेस्ट गर्न सक्छौँ भने टेस्ट गर्दै उनीहरुलाई घर पठाई दिन सकिन्छ।
यदी नागरिकलाई पहिले नै सहजपूर्वक नेपाल आउन दिएर क्वारेन्टाइनमा राखेको भए कोरोना नियन्त्रणको लागि वैज्ञानिक प्रणाली स्थापना सहयोग पुग्ने थियो कि? कोरोना नियन्त्रणको योजनामा यो विषय समेटिनु पर्ने।
हामीसँग यो काम गर्ने स्रोत नभएको होइन। हरेक समस्या अवसर र सिक्ने मौका हुन। हामीसँग जनशक्ति नभएका पनि होइनन्। मलाई लाग्छ, हामी अहिले कोरोना फैलनुको कारण खुल्ला सिमाना नभएर कोरोना रोकथामको लागि हाम्रो योजना वैज्ञानिक नभएर पो हो कि? योजनामा सम्भावित जोखिमको अध्ययन गरेनौँ कि? त्यसैले कोरोना नियन्त्रण भएन कि?
कुनै पनि युद्ध जित्नको लागि वैज्ञानिक योजना चाहिनुका साथै यसको कार्यन्वयनको लागि कार्यविधि चाहिने र कार्यन्वयन पनि बुद्धिमत्ता तरिकाले गरिनु पर्ने अतिनै आवश्यक हुन्छ। नेपालका विभिन्न स्थानीय तहमा कोरोना नियन्त्रणको लागि क्वारेन्टाइनहरु निर्माण गरिएका छन्। के तिनीहरु स्वास्थ्य मापदण्डअनुसार छन्? के स्वास्थ्य विज्ञबाट ठिक छन् भनि प्रमाणित भएका छन्?
स्कुललाई परिमार्जन गरि बनेको क्वारेन्टाइनमा भित्र रहेका सबै एकै ठाउँमा बस्नु पर्ने, चर्पी लगायत अँन्य सुविधा साझेदारीमा चलाउनु पर्ने हुँदा कोरोना फैलने सम्भावना हुन्छ। क्वारेन्टाइनको मोक्षत यो होइन होला।
केही स्थानीय जन-प्रतिनिधिहरुले नै क्वारेन्टाइनहरु भेडा-बाख्रा राख्ने जस्तो भयो भन्नुले स्थापना भएका क्वारेन्टाइनहरु वैज्ञानिक भएका छैनन् कि भन्ने हुन्छ। तिनीहरु निश्चित मापदण्डअनुसार परिमार्जित हुनुपर्ने र स्वास्थ्य विज्ञबाट प्रमाणित हुनुपर्ने छन् कि?
पेशाजन्य स्वास्थ्य र सुरक्षा विज्ञानअनुसार व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) को प्रयोग अन्तिम विकल्प रुपमा प्रयोग गरिन्छ। यसभन्दा अगाडि पहिलो विकल्प जोखिमको उन्मुलन, दोश्रो विकल्प जोखिमलाई प्रतिस्थापन, तेस्रो विकल्प इन्जिनियरिङ विधिबाट जोखिमको रोकथाम, चौथो विकल्प प्रशासनिक विधि अपनाएर जोखिमको रोकथाम र पाँचौँ अथवा अन्तिम विकल्प जोखिमको व्यवस्थापनको लागि व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) को प्रयोग हो।
पिपिईको प्रयोग गर्नु परे सर्वप्रथम उद्देश्यअनुसार ठिक छन् कि छैनन्, गुणस्तरीय छन् कि छैनन् भनि प्रमाणित गर्नु पर्दछ। तत्पश्चात गुणस्तरीय कार्यविधिअनुसार पहिरनु पर्दछ।
पहिरिसकेको पिपिई ठिक छ भनि सुपरभिजन हुनु पर्दछ। त्यस्तै उतार्दा पनि कार्यविधिअनुसार उतार्ने र उक्त कार्य ठिकसँग गरेको प्रमणित गर्नु पर्दछ। पेशाजन्य स्वास्थ्य र सुरक्षा विज्ञानअनुसार नभएर सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र अन्यलाई संक्रमण भएको छ कि?
थुप्रै हस्पिटलहरु सिल गरेको, वस्तीहरु सिल गरेको समाचारमा आएको छ। काठमाडौँ उपत्यका तथा नेपालनै सिल गर्ने कुरामा प्रश्न आउँछ कि के यी तर्क संगत कुरा हुन? के यी कोरोना रोकथामको योजनाका अंग हुन्?
हस्पिटलहरु सिल गर्नेभन्दा पनि तिनीहरु निर्मलिकरण गर्ने, विज्ञबाट निर्मलिकरण भएको प्रमाणित गरेसँगै पुनः प्रयोग गर्ने पो हो कि? कुनै ठाउँलाई सिल गर्न वैज्ञानिक र तर्क संगत हुनु र योजनाको अंग हुनु जरुरी हुन्छ्। ड्युटिकालीन स्वास्थयकर्मीको यातायातको लागि वैज्ञानिक संचार हुनु जरुरी छ।
संक्रमण पुष्टि भएको १३ घन्टा बित्दा पनि दैलेखका युवा अरूसँगै क्वारेन्टाइनमा राखेको र सोही ठाउँको वडाध्यक्षअनुसार पुष्टि त हिजै भएको हो तर कसलाई भएको भन्ने अहिलेसम्म खुलाइएको छैन भन्ने समाचार आएको छ।
यसमा नमुना संकलनको बेला नमुनाको पहिचानको नामाकरण, परीक्षणको बेलामा प्रयोग गरिने कोडिङ-डिकोडिङ आदि वैज्ञानिक नभएर कुन व्यक्ति हो भनि चिन्न मुस्किल भई संक्रमण पुष्टि भएको १३ घन्टा बित्दा पनि दैलेखका युवा अरूसँगै क्वारेन्टाइनमा बस्न परेको?
अहिलेको कोरोना विरुद्ध मानवको महामारी युद्धमा जिवन र मृत्युको सवाल छ। यस समयमा स-सानो काम र स-सानो समयले पनि महत्वपूर्ण भूमिका खेल्दछ।
झन् महामारी र विपद र युध्दको समयमा त झन् वैज्ञानिक प्रणाली अति नै आवश्यक हुन्छ किनकि त्यो बेला आत्तिने, सबै बिर्सने, इमोसनल हुने आदि सम्भावना हुँदा लक्ष्यमा पुग्न नसकिने हुन्छ र वैज्ञानिक प्रणाली स्थापना नहुँदा धन जन, मान इज्जत, समय आदिको क्षति हुने सम्भावना रहिरहन्छ।
जब यस समयमा कोरोना नियन्त्रणको लागि स-सानो काम र स-सानो समयको लागि समेत छिटोभन्दा छिटो वैज्ञानिक प्रणाली स्थापना हुन्छ, तब कोरोना नियन्त्रणको सुनिश्चित देखिन्छ।