जेठ २ गते संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपतिले लिम्पियाधुरा सहितको भूभाग समेटेर नक्सा प्रकाशित गर्न भनेपछि धेरैले राहतको साहस लिएका थिए भने अर्को तप्काले भने यो तत्कालीन जनताको आक्रोश मत्थर पार्ने उद्देश्यतर्फ सङ्केत गरेका थिए।
यसरी नेपाल आक्रामक तरिकाले अघि बढ्छ भन्ने सायदै भारतले पनि सोचेको थियो। कार्तिक १६ गते भारतले नेपाली भूभाग समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि नेपालले तत्काल आपत्ति जनाउनुका साथै वार्ताका लागि आह्वान पनि गरेको थियो तर त्यस यता ६ महिनाको अवधिमा भारत वार्ताका लागि सकारात्मक हुनु त परको कुरा हेपाह प्रवृतिलाई नै निरन्तरता दिँदै उसले वैशाख २६ गते लिपुलेकको बाटो उद्घाटन गर्यो।
त्यसपछिको जनस्तरबाट, संसदहरुबाट जुन दबाब सृजना भयो, त्यसले मन्त्रिपरिषदबाट लिम्पियाधुरा सहितको नक्सा पास गर्न सरकार बाध्य भयो। आफ्नो भूमि छुट्टाएर नक्सा छाप्ने २०३२ साल यताका सब सरकारले गल्ती गरेका हुन्। त्योभन्दा ठूलो गल्ती त १९६२ मा भएको भारत- चीन युद्धपछि बसेको भारतीय सेनालाई आँखा चिम्लिएर बस्न अनुमति दिनु।
आँखा चिम्लिएर अनुमति दिनुमा राजा महेन्द्रको ठूलो गल्ती छ तर त्यस यताका सरकारले पनि राज महेन्द्रकै आँखालाई निरन्तरता दिनुलाई सामान्य रुपले लिन सकिदैन। ढिलै भएपनि वर्तमान ओली सरकारले लिम्पियाधुरा सहितको नयाँ नक्सा सार्वजनिक गर्ने आँट गरेको छ। यो चानचुन विषय होइन, यो सम्पूर्ण नेपालीहरुको स्वाभिमानको विषय हो। जसलाई ओली सरकारले मजबुत बनाएको छ।
नेपालले नयाँ नक्सा सार्वजनिक गरेपछि भारतीय मिडियाहरु नेपाल र नेपालीमाथि खनिएका छन्। अरु त त्यस्तै हो बलिउडकी प्रभावशाली हस्ती मनिषा कोइरालामाथि पनि खनिए, कारण त्यस्तो ठूलो पनि होइन।
उनले परराष्ट्रमन्त्रीको ट्विटलाई रि-ट्विट गर्दै नयाँ नक्साको समर्थन गरिन्। समर्थन गर्नु या नगर्नु उनले कहाँको खान्छिन्सँग सम्बन्धि थिएन तर आशयसको विपरीत अभिव्यक्ति मात्रै निस्किए देशद्रोहीको बिला भिराउने भारतीय मिडियाबाट वस्तु रक तथ्य विश्लेषणको अपेक्षा पनि कसैलाई थिएन।
भारतले नेपालको नक्सालाई जवाफ दिँदै 'हाम्रो अखण्डता र सार्वभौमिकताको सम्मान् होस्' भनेको छ। यहीँ वाक्यांश नेपाल विगत लामो समयदेखि दोहोर्याउँदै आएको भारतले कति विचार गरेको छ थाह छैन। तर अहिले भारत र नेपाल एउटै धरातलमा आइपुगेका छन्। जहाँ भारत र नेपाल दुवै एक अर्काको अखण्डता र सार्वभौमिकताको सम्मान चाहन्छन्।
यता सरकारले नेपालको ऐतिहासीक तथ्य र प्रमाणका आधारमा नक्सा प्रकाशित गरेको हो भनेर आफ्ना प्रमाण अघि सारेको छ। तर सो दावीलाई भारतीय विश्लेषक तथा प्रोफेसर मान्न तयार छैनन्।
हिजो न्यूज २४ मा रवि लामिछाने गरेको अन्तर्वातामा प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराईले हामीसँग लिम्पियाधुराका बासिन्दाले तिरो तिरेको र २०१५ सालको चुनावमा भोट हालेको प्रमाण छ भन्दा भारतका विश्लेषक एसडि मुनिले भारतसँग पनि सो प्रमाण रहेको जवाफ फर्काएका थिए। यदि भारतसँग पनि त्यहाँका बासिन्दाको जनगणना, चुनावमा भोट हालेको र भारतलाई कर बुझाएको रसिद छ भने नि?
नेपालले राजनीतिक, कुटनैतिक तथा विज्ञ टोली सहित वृहत् गृहकार्य गर्नुपर्छ। यसअघिका वार्तामा पनि नेपाल तर्फबाट गहन गृहकार्य नहुने गरेको पुर्वराजदुतहरुको गुनासो छ। त्यसैले पहिलो विकल्प वार्तालाई बनाएर वृहत् गृहकार्य सहित तथ्य र प्रमाणका आधारमा नेपालले कुटनीतिक पहल गर्नुपर्छ।
दोस्रो विकल्पका रुपमा युद्ध नै गर्नुपर्छ जसरी कुरा उठेको छ। तर दोस्रो विकल्प नेपालका लागि युद्ध हुन सक्दैन। देशको मायाले छताछुल्ल भएर तीन करोड जनता सेना बन्न तयार हुनेछन् भन्नुमा कुनै दुई मत छैन। तर हामी कहाँ छौं पनि ख्याल राख्नुपर्छ। भूकम्पले थला परेपछि हामीलाई उठ्न कति समय लाग्यो?
अझै कति पुर्नर्निर्माणका काम बाँकी नै छन्। हाम्रा सीमाहरु सिल हुने थालेपछि हाम्रो आफ्नै उत्पादनले कति छाक थेग्छ? त्यसैले दोस्रो विकल्प लिम्पियाधुरा मुद्दा अन्तर्राष्ट्रियकरण हुनुपर्छ। नेपालले अन्तर्राष्ट्रिय समुदायलाई भारतीय हेपाह प्रवृत्तिको पर्दाफास गर्नुपर्छ।
जसका लागि सम्पूर्ण नेपालीहरुले स्वाधीनता र स्वतन्त्रताका पक्षमा उभिएर भारतसँग आफ्नो भूभाग फिर्ता गर्ने अग्रसर वर्तमान सरकारलाई साथ समर्थन दिनुपर्छ।
एक भारतीय टेलिभिजनमा अन्तर्वार्ता दिदै विपक्षी नेता मिनेन्द्र रिजालले 'मेरो देशको संसदमा म प्रतिपक्षको कुर्सीमा हुँला तर सीमाको विषयमा म प्रधानमन्त्रीसँगै छु' भनेझैँ वर्तमान प्रधानमन्त्री केपी ओलीको लिम्पियाधुरा सहितको भूभाग फिर्ता लिने अडानमा सबैले यसरी नै राष्ट्रिय एकता बनाउनु पर्छ।
तर यदि सानो र कमजोर राष्ट्र भनेर अन्तर्राष्ट्रिय समुदायबाट पनि अपहेलित हुन्छ भने कवि भूपी शेरचनले भनेझैँ नेपाल लेते खोला बन्छ भन्नुमा दुई मत छैन। भूमि भन्छन्-
'र मलाई अनायास याद आइरहेछ आफ्नो गाउँको
जहाँ एउटा सानो खोला छ- 'लेते खोला'
तिमीजस्तै शान्त र दुब्लो
तर जब त्यो सानो खोलामा बाढी आउँछ
वरिपरिका ठूल्ठूला चट्टानहरुको पनि पाइला डग्मगाउँछ
र बाढी थामिएपछि
त्यसलाई छेक्न खोजेका घमण्डी पहराहरुले
आफूलाई भत्केको, भास्सिएको र चोइटिएको पाउँछन्
मेरो 'लेते खोला'!
म ढुक्क छु
तिम्रो बाढीले पनि मिल्क्याउनेछ
ती डालरका कत्रो बोकेर
तिम्रो देशमाथि आइलाग्ने बर्बरहरुलाई।।'
जब शान्त गोर्खाका सन्तानहरुलाई दबाइन्छ तब गोर्खालीहरुले ल्याएको बाढीले ठूला शक्तिशाली भनिएका राष्ट्रहरुलाई भत्काएर छाड्छ। अनि मलाई विश्वास छ, लड्दै उठ्ने बानी परेका नेपालीहरु फेरि उठ्ने छां, कसैको बैशाखीमा होइन। आफ्नै खुट्टामा।
हामी बाच्ने छौं, कसैको दाल चामलमा होइन। आफ्नै अन्न-बालीमा। विश्वलाई देखाउने छौँ समृद्धि, कसैको अनुदानमा होइन। आफ्नै पाखुरामा।
हामी लड्दै उठ्ने बानी परेका वीर गोर्खालीका सन्तान, फेरि लडेर उठ्न तयार छौं।