कोरोना भाइरस हाल विश्वमा महामारीको रुपमा फैलिएको छ। चीनको वुहान प्रान्तबाट सुरु भएको यो भाइरस विश्वका सबै देशहरुमा देखा परिरहेको छ। यो भाइरसले विश्व अर्थतन्त्रमा नकरात्मक प्रभाव सिर्जना गरेको छ।
नेपाल पनि यसबाट अछुतो रहन सकेको छैन। हाल नेपाल पनि लकडाउनको स्थितिमा रहेको छ र कोरोना भाइरस संक्रमितहरु पनि बढ्ने क्रममा रहेका छन्। नेपालको अर्थतन्त्रमा पनि यस भाइरसको कारणले नकरात्मक असर पर्ने देखिन्छ।
नेपालको अर्थतन्त्रको केही हिस्सा वैदेशिक रोजगारीले ओगटेको छ। नेपालका हाल वैदेशिक रोजगारीका लागि दैनिक एक हजार युवा रोजगारीको खोजीमा विदेशिने गरेको तथ्याङ्क छ। ५० लाखभन्दा बढी युवाहरु रोजगारीको सिलसिलामा विदेशिएका छन्।
वैदेशिक रोजगारीमा गएका मध्ये १.५ प्रतिशत दक्ष, २४ प्रतिशत अर्धदक्ष र ७४.५ प्रतिशत अदक्ष रहेका छन्। वैदेशिक रोजगारी खुल्ला भएका मुलुकहरुमा ११० संस्थागत र १६७ व्यक्तिगत रुपमा खुला गरिएको छ। नेपालमा प्रत्येक वर्ष ५ लाखभन्दा बढी मानिसहरु श्रमको खोजीमा रहेका हुन्छन्।
नेपालको आर्थिक विकासको गति न्यून भएको र निजी क्षेत्रले उल्लेख्य प्रगती गर्न नसकिरहेको कारण यति ठूलो श्रम शक्तिलाई स्वदेशमा रोजगरी दिन सम्भव नभएको अवस्थामा हाल वैदेशिक रोजगारी आर्थिक विकासका लागि भरपर्दो माध्यम बनेको छ।
हाल विश्व कोरोना भाइरसको कारणले आक्रान्त रहेको अवस्थामा धेरैजसो देशहरुले आ-आफ्नो नागरिक फिर्ता गर्न आग्रह गरिरहेका छन्। यसै परिपेक्षमा आफ्ना नागरिकहरुलाई स्वदेशमा फिर्ता गर्ने पनि नेपाल सरकारको दायित्व हुन आउँछ।
हाल ३६ लाखभन्दा बढी मानिस भारत बाहेका राष्ट्रमा रोजगार गरिरहेको तथ्याङ्क छ। यी मध्ये अर्धदक्ष, अदक्ष कामदारहरुलाई रोजगारी दिने गरेको मलेसिया, दक्षिण कोरिया लगायतका खाडी मुलुकहरु उच्चतम् विकास हुँदै गएको अवस्था छ। विकासका गतिविधी घट्न थालेपछि अवसर न्यून हुन्छन्।
यस अवस्थामा यत्रो श्रम शक्तिले विदेशमा रोजगारी नपाउने अवस्था सिर्जना हुन्छ। वैदेशिक रोजगारबाट प्राप्त आय रेमिट्यान्सले अर्थतन्त्रमा जति ठूलो योगदान गरेतापनि यो दिगो श्रोत भने होइन। यसरी हाल वैदेशिक रोजगारीमा रहेका युवा जनशक्ति जो-जो आफ्नो देश फर्कन चाहन्छन्, तिनलाई फिर्ता ल्याउनु राज्यको जिम्मेवारी भित्र पर्दछ।
ती विदेशमा रहेका जनशक्तिलाई देशमा फिर्ता गरी गाउँमा बाँझिएर रहेका जमिनमा तिनीहरुले विदेशमा रहँदा सिकेका श्रम सीपलाई लागू गरी वैज्ञानिक ढंगले कृषि व्यवसाय गर्ने अवस्थाको सृजना गर्न सकेमा विकासको लागि अर्काको मुख ताक्ने प्रवृतिको अन्त्य र देश आफै स्वाबलम्बन हुन सक्ने देखिन्छ।
कुनै पनि राष्ट्रले कोरोना भाइरस लागेको व्यक्तिलाई अर्को देशमा जान दिँदैन उनीहरुको सबै जाँच गरेर मात्र पठाउने हो। त्यसैले विदेशबाट आएकाहरुले मात्र भाइरस ल्याउँछन् भनेर आफ्ना नागरिकलाई बेवास्ता गर्न त मिल्दन नि।
हाल कोरोना भाइरसले ल्याएको चुनौतीलाई शक्तिमा रुपान्तरण गरी विप्रेषण माथिको अति निर्भरताको कारण डच डिजिजको खतराबाट उत्पन्न हुन सक्ने अवस्थाको आँकलन गरी विदेशिएका युवाहरुलाई स्वदेशमा फिर्ता ल्याई स्वदेशमा नै रोजगारी सृजना गरी उनीहरुको श्रम सीपलाई उपयोग गर्न सकेमा सबल अर्थतन्त्र निर्माण हुने देखिन्छ। यसमा सम्बन्धित पक्षले ध्यान दिने कि?