पाँच वर्ष पुगेको छोराले लकडाउनको ६० औं दिन केही प्रश्नहरु गर्यो- 'मामु कोरोना कहिले सकिन्छ?’ बाल जिज्ञासालाई मेटाउँदै मैले सहजै उत्तर दिएँ- 'अब सकिन्छ बाबु।'
उसले फेरि अर्को प्रश्न सोध्यो- 'लकडाउन नि'। यो प्रश्नको उत्तर पनि मैले धेरै नसोचि दिएँ- 'अब लकलाडन विस्तारै खुल्छ।'
लकडाउनका कारण प्रि स्कूलपछिको अर्को स्कूल जाने उसको कार्यक्रम पर सरेको छ। निकै उत्साहित थियो उ, नयाँ स्कुल जान। प्रत्येक शनिबार बिहान उठ्ने बित्तिकै ‘सेक्रेट’ कुरा गर्नुछ भन्दै कानमा खुसुक्क केही भन्थ्यो। खुसुक्क भन्ने त्यो कुरा मामाघर जाने नै हुन्थ्यो।
सायद उसलाई लाग्थ्यो, खुसुक्क भनेपछि आमाले त्यसलाई सहजै स्वीकार गर्छे। त्यसरी मामाघर जाने केटोलाई अहिले कोरोना सकिएपछि मामाघर जान्छु भन्नुपर्ने अवस्था छ। त्यति मात्रै होइन, उ मलाई नयाँ-नयाँ ठाउँका बारेमा सुनाउँछ र भन्छ- 'मामु कोरोना सकिएपछि जाने है।'
अनायास नै सोधेका यी प्रश्नले उसलाई अब घर बस्न दिक्क लागेको महसुश गरेँ मैले। अचेल उ साथीहरुसँग फोनमा गफिन खोज्छ। युट्यूबमा फुटबल र अरु गेम धेरै हेर्दा सायद उसलाई वाक्क लागेको हुनुपर्छ। साथीहरुको नाम लिदैं सबैलाई फोन गर्छु भन्छ।
धेरै सोच विचार नगरी फ्याट्टै जवाफ दिएकी म, त्यो प्रश्नका कारण धेरै घन्टासम्म घोत्लिएँ। प्रश्नका कारण जति घोत्लिएकी थिएँ, आफूले दिएको उत्तरले पनि म बिथोलिएँ। दुई महिनादेखि प्रायजसो एउटै दिनचर्यामा दिनहरु बितिरहेका थिए। सूचनाका लागि दिनहुँ धेरै मान्छेसँग भेट्नु पर्ने पेशाकी मैले घरबाटै काम गरेको ६० दिन भएको थियो।
फिल्डमा गएर रिपोर्टिङ गर्दा, सूचनाका स्रोतहरुलाई भेट्दा जति रमाइलो र आनन्द आउँछ, मोबाइलमा कुराकानी गर्दा धित मर्दो रहेनछ, तर त्यसको विकल्प थिएन। ‘पत्रकार हुँ’ भन्दै आवश्यकताभन्दा धेरै पेशागत चुरुफुरी गर्न मलाई मेरो मन र मस्तिष्क दुवैले दिएन।
फेरि अर्को कुरा, कामको प्रकृति र आफ्नो उपस्थितिको आवश्यकता। अत्यावश्यक पर्दा कार्यालय जाने, त्योभन्दा अन्य अवस्थामा घरबाटै काम गर्न सकिन्छ भन्नेमा म निश्चित थिएँ।
छोराको प्रश्न र आफूले दिएको उत्तरले भित्रभित्रै वेचैन भएकी थिएँ। उसले गरेको प्रश्न आफैँतिर तेर्साएँ- कोरोना कहिले सकिन्छ अनि लकडाउन नि। आफूले आफैलाई दिने जवाफले मेरो मन बुझ्नेवाला थिएन। छोरोको प्रश्नलाई मैले जति सहजै उत्तर दिएकी थिएँ र उ मेरो उत्तरबाट ढुक्क थियो।
लाग्यो, सबैभन्दा ठूलो र महत्वपूर्ण कुरा आफैलाई बुझाउनु रहेछ। अरुलाई बुझाउनु जति सजिलो त आफूलाई बुझाउनु रहेनछ।
कोरोनो भाइरसको बारेमा मैले सबैभन्दा पहिला ६ महिना अघि टेकु अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनबाट सुनेकी थिएँ। आफन्तको उपचारको क्रममा अस्पताल पुगेकी मसँग डा. पुनले भन्नुभएको थियो, ‘चीनमा एउटा भाइरस देखिएको छ, त्यो भाइरसले विश्वलाई नै दुख देला जस्तो छ।’
सरुवा रोगलाई पढाईको मुख्य विषय बनाएका डा. पुनसँग त्यत्तिखेर सरुवा रोग, अन्य फ्लका बारेमा धेरै बेर कुराकानी भएको थियो। डाक्टर पुनसँग कुरा भए लगत्तै एउटा अंग्रेजी दैनिकले कोरोना भाइरसको बारेमा समाचार समेत प्रकाशित गरेको थियो। अर्थात, संचार माध्यममा ६ महिना अघि नै कोरोना भाइरसको बारेमा समाचार आइसकेको थियो।
सरकारले गरेको काम हेर्दा कोरोना भर्खरै नेपाल भित्रिए जस्तो लाग्छ। सिमाना जोडिएको मुलुकमा देखिएको संक्रमणबाट जोगिन र जोगाउन गर्नुपर्ने काम र सतर्कता सुरुदेखि नै हुनु पर्थ्यो। सरकारले देखाएको निष्क्रियताले मन दुखेको थियो।
त्यो निष्क्रियताले लोकतन्त्रमा विश्वास गर्ने नागरिकको धज्जी उडाएको महसुश गरेँ। संक्रमण नियन्त्रण र रोकथामका लागि दुई तिहाईको सरकारले गरेका अपरिपक्क निर्णयहरु सम्झँदै गएँ। नेपालमा कोराना कहिले सकिन्छ? र लकडाउन कहिले खुल्छ भनेर आँकलन गर्ने आधार अत्यन्तै झिना थिए।
जनतालाई संचार माध्यममार्फत कोरोनाबारे बताउने चिकित्सक किमार्थ कारबाहीको भागिदार हुनु हुँदैन थियो। कारबाही गर्दै अस्पतालमा कार्यरत चिकित्सक मन्त्रालयमा बोलाइए। चौतर्फी विरोध भएपछि विषयलाई ‘सेफ ल्यान्डिङ’ गरिएको र ‘फेस सेभिङ’ गरिएको घटना मानसपटलमा ताजै थियो।
कोरोना उपचारका लागि सामान खरिद प्रक्रियामा भएको भ्रष्टाचारलाई केन्द्रमा राखेर छोरालाई दिएको उत्तर सम्झि राखेँ। नागरिकलाई लकडाउन भनेर घरभित्रै बस्न आह्वान गर्ने तर तयारी केही नगर्ने हचुवा प्रवृत्तिका कारण म कसरी मन बुझाउन सक्थेँ र? एकपछि अर्को गर्दै सरकारले गरेको कर्मकाण्डी निर्णयले मन शान्त हुन सकेन, मन भक्कानिएको थियो।
लकडाउन र कोरोनाकै बारेमा रिपोर्टिङ गर्ने क्रममा चाइना नेपाल फ्रेन्डसीप मेडिकल रिसर्च सेन्टरका निर्देशक राजिव झाले भन्नु भएको थियो- ‘चीनले जनताको जीवनभन्दा अरु महत्वपूर्ण केही ठानेन, लकडाउनका नियमहरु कडाईका साथ लागू गर्यो। ती नियमको चिनियाँ जनताले अक्षरश पालना गरेँ। चीन सरकारले संक्रमण फैलन नदिन घर घरमा स्वास्थ्यकर्मी पठाएर ज्वरो परीक्षण गरेको थियो।’
नागरिकको स्वास्थ्यप्रति जिम्मेवार राज्य देखेर लोभ लागेर आयो। कोरोना फैलन नदिन लकडाउनको पूर्ण पालना गर्ने चिनियाँलाई सम्झेँ। नेपाली जनता जो लकडाउनको खिल्ली उडाउँदै ‘लखरलखर’ हिड्छ, सरकारको निर्णयप्रति उ जिम्मेवार नभएको भाव व्यक्त गर्छ। त्यो सम्झेर मन मडारियो।
केही दिन अघिको कुराकानीमा धौलागिरी अस्पतालका चिकित्सकले प्लाष्टिकको पिपिई लगाएर कोरोनाका बिरामीको उपचारमा खटिएका बताउनु भएको थियो। ती ‘बहादुर योद्धा’लाई सुरक्षित हुन आवश्यक पर्ने सामग्री समेत जुटाइदिन नसक्ने लाचार संयन्त्रलाई म कहाँ त्यत्ति सजिलै बिर्सन सक्थेँ र?
भेरी अस्पतालका अर्का चिकित्सकले चिकित्सक र स्वास्थ्यकर्मीको हौसला बढाउन सरकारले शब्दरुपी सम्मान खर्च नगरेको गुनासो गरेका थिए। राम्रो कामको प्रसंशा गर्ने संस्कार विकास हुन नसकेकामा नरमाइलो अनुभव भइरहेको थियो।
भेरी अस्पतालका डाक्टरले भन्नु भएको थियो, ‘कोरोना भाइरसको संक्रमण तेस्रो विश्व युद्ध जस्तै हो, पहिलो र दोस्रा विश्व युद्धमा योद्धा सिपाही थिए, अहिलेका सिपाही हामी हौं तर त्यस्तो व्यवहार भएन।’
लकडाउन सुरु भएपछि समाचार र फिचरका लागि कुरा गरेका झन्डै ५० जना नयाँ अनुहार एक पछि अर्को गर्दै आँखा अगाडि आए। उनीहरुले भोगेको समस्या, गुनासो, अप्ठ्यारो र चित्त दुखाईका कुराले मेरो मन अमिलो भएको थियो।
कोरोना संक्रमणको जोखिम मोल्दै जनतालाई सुसूचित गराउने पत्रकारको रुप त के छायाँ समेत मन नपराउनेहरुको कटुवचन कानमा ठोकियो। विज्ञहरुले कोरोना उपचारका लागि उपत्यकाकामा छुट्टै अस्पताल निर्माण गर्न दिएको सुझाव लत्याउनेहरुको अनुहार आँखा वरिपरि घुमिरहेका थिएँ। हो, मैले धेरै कुरा एकै पटक सम्झेँ, जुन कारणले म त्यो उत्तरसँग मन बुझाउन सक्ने अवस्थामा थिइन।
पाँच वर्ष अघि भूकम्प जाँदा घरलाई साक्षी राखेर अघिल्तिरको चौरमा पालमुनि रात बिताएको सम्झेँ। अहिले कोरोनाको बारेमा प्रश्न सोध्ने उ(छोरा) त्यत्तिबेला मात्रै नौ महिनाको थियो। पालमा सुत्दा उसको अनुहारमा लामखुट्टेले टोकेर फोकै फोका उठेको थियो। उज्यालोमा उसको अनुहार हेर्दा म डराएकी थिएँ। हो, उसको त्यो डरलाग्दो अनुहार पनि सम्झेँ।
मैले धेरै कुरा एकपटक सम्झिदाँ उ मेसेन्जर कलमा साथीसँग गफिदैं थियो। साथीसँग ‘होम वर्क सकेँ, फुटबल खेलेँ, कोरोना सकिएपछि मामुसँग घुम्न जान्छु, मामाघर पनि जान्छु’ भन्दै थियो। मैले उसलाई आफूतिर तानेँ र छाँतीमा टाँस्दै अंगालोमा बरेर भनेँ- 'बाबु कोरोना सकिन धेरै समय पनि लाग्न सक्छ, सकिएपछि हामी धेरै ठाउँमा घुम्न जाउँला, मामाघर पनि जाउँला।'
आशावादी उत्तर दिएँ। धैर्य गर्न सिकाएँ। निराशाभित्र पनि आशाको किरण हुन्छन् भन्ने कुरा उसले बुझ्ने गरी बुझाएँ। किनकि उसको साथमा प्रश्न सोध्न आमा हुन्न भन्ने मलाई थाहा छ।
(लेखक ललितपुर महानगरपालिकाकी प्रेस संयोजक हुन्।)