सरकार! कोरोनाको वेग क्षेप्यास्त्रभन्दा तीव्र गतिले दौडिरहेछ। चौबिसै घन्टा झलमल्ल रहने युरोप र अमेरिकाका ती सहरहरुमा आज घनघोर अन्धकार छ। बाहिरी देश महामारीले औधि गलिरहँदा नेपालमा यसको आतंक भर्खर डढेलोझैँ फैलिदैछ।
यहाँ कोरोनाको नयाँ शृंखलाले हलचल मच्चाउदै छ। जुन कुरा जीवनमा भोग्न नपरोस् भन्दै थियौं, त्यही कुरा आज भोग्न बाध्य हुँदैछौं। प्रलयकारी भाइरसको बढ्दो इन्ट्रीले पीडाको गाँठो झन्-झन् कस्सिदै छ। कतै भारत, चीन, युरोप अनि अमेरिकाको जस्तो भयावह स्थिति हुनेत हैन नेपालमा पनि?
यदि त्यस्तै भैहाले, लौन कसो गर्ने होला? ती दुखद् घटनाहरुको दृष्य मानसपटलमा झल्झलि आइरहे छन्। मस्तिष्कमा अनेकन तर्कनाहरु चलिरहे छन्। अस्तव्यस्त जीवनमा चिन्ता झनै बढेको छ। हिजोको त्यो सुन्दर सपना आज एकाएक तुहिएको छ। विगतको त्यो आनन्दित मन आज एकाएक भत्किएको छ।
सारा जीवन जोखिमको भुमरीमा फसेको भान हुँदैछ। उत्साह र रौनक हराएर गएका छन्। मनमा छट्पटाहट् चलिरहेछ। बाहिर कतै जाने ठाँउ छैन। पूरा संसार ठप्प छ। कता के हुने जग्जगी छ। निराशा व्याप्त छ। गुम्सिएको पीडा पोख्ने ठाँउ छैन।
हो, आज हरेक मानवका आफ्नै कहानीहरु छन्। कोही व्यक्त गर्छन त कोही लुकाउछन्। कसैले लेख्छन त कसैले सुनाउछन्। म कहिल्यै नसोचेको संसार आज देख्दैछु। धर्तीका सारा मानव तातो तावाका जिउँदा माछा सरह छट्पट्टाइ रहेका छन्।
मान्छेदेखि मान्छे डराइरहेका छन्। सबैको एउटै पिर कसरी बाच्ने भन्ने छ। मर्नेलाई भन्दा बाच्नेलाई झनै कठिन हुँदैछ। आखिर यो के भैरहेछ? परिस्थिति अकल्पनिय छ। कस्तो निर्मम महामारी। कस्तो कठोर समय। रफ्तारमा दौडेको कोरोनाले विश्राम लिने छाँट छैन। चौतर्फी समस्या ठूलो छ।
दलदलमा फसेको यो महामारी युद्ध लड्न हाम्रो सरकारको पर्याप्त तयारी नहुँदा मन ढुक्क बन्न सकेको छैन। जनताको अभिभावक ठानेको सरकारले जोखिम किनारा लाउन चालेका कदम हेर्दा झारा टार्ने बाहेक अरु केही देखिदैन। जुनसुकै दर्शनले पनि संकटमा दयाभाव देखाउन भन्छ।
आज देश महामारीको बढ्दो रापले जलिरहँदा अनि जनताको मन हजारौ पीडाले भारी भैरहँदा किन आफ्नो बन्न सक्दैन यो सरकार? बिहानको छाक टारेर साँझको अन्न जोहो गर्न भौतारिदै हिडेको जीवन जीउन विवश मजदूरको बेचैनी मनलाई किन थमथमाउन सक्दैन यो सरकार?
हो, अमेरिका, जापान, इटली, भारतले झैँ खर्बौँको बजेट बाड्न त हामी नसकौला, तर सेउलाको गारो भित्रका भोका ति अवोध बालक र निमेकले जीवन निर्वाहा गरेका गरिब दुखीहरुलाई दुई छाक गाँसको व्यवस्था मिलाउन सरकारले सक्थ्यो नि।
वारि घाटमा ममतामयी आमा मृत्युपछि चितामा जलिरहेको हृदयविदारक घटनामा सिमापारिको किरियापुत्री छोरोलाई तिमी घर जाउ भन्न सरकारले सक्थ्यो नि। प्रधानमन्त्रीको जन्मदिनमा हेलिकप्टर चार्टर गरेर केक ओसार्ने सरकारले संकटमा पूर्व-पश्चिमको लामो पैदल यात्रामा लखतरान हानिएका ती खाली खुट्टा र खाली पेटका बालक, बृद्ध, रोगी अनि सुत्केरीलाई गाडीको व्यवस्था गरेर थाकथलोमा पुर्याइदिन सरकारले सक्थ्यो नि।
हो, हाम्रो मुलुक धनी छैन तर त्यो जनताको भित्री पीडामा थोरै मानवीय संमवेदना मात्र देखाएकै भए पनि सरकार अलिकति नाक देखाउन लायक बन्न सक्थ्यो नि। प्रधानमन्त्री तार्किक र वजनदार वाणीहरु सुनाउछन्। देशवासीलाई रसिला र मिठा कुराले सुखी अनि सुन्दर सपना त बाड्छन् तर, अफसोच् व्यवहारमा उतार्न सक्दैनन्।
अ
दिन बिते, महिना बिते तर सत्ता लाभहानीको हिसावकिताब गरिरहने अन्य दलका नेता तथा चेलाहरुमा पनि संकट गलाउन दलको रंगले रंगीएको विचारमा कुनै नयाँ बुद्धि पलाउन सकेन।
प्रतिपक्षको काम सत्तापक्षलाई आँखा देखाउने, सचेत गराउने, र कसरी हुन्छ कान सुन्ने बनाउने हो। तर आफ्नो कर्मको भेउ नपाएर उपलब्धिको रुपमा देखाउन कुनै माखो नमारे पनि चरम पीडामा राजनीतिक स्वार्थका घातक कुकर्महरु निम्त्याएर रमिते नमच्याउँदा प्रतिपक्षको भलो नै हुन्थ्यो।
जीवनमा स्वास्थ्यभन्दा ठूलो कुरो अरु छैन। महामारीले पालै-पालो प्रत्येक देशमा बाध फुटेर उर्लिएको भेलझैँ उर्लिएर हट स्पट बनाउँदै गइरहेको छ। कसैगरी नेपालमा महामारी अचाक्लि सल्किएमा नियन्त्रण गर्ने ठूलो तागत हामीसँग छैन। विगतका सानातिना बाढी पहिरोका विपत्तिहरु टार्न हम्मेहम्मे परेको सरकारलाई यो महामारीको दबदबा झेल्न सजिलो पक्कै छैन।
अत्याधुनिक सुविधा सम्पन्न अस्पताल र ठूलो स्वास्थ्य जनशक्ति हामीसँग छैन। चीनले झैँ रातारात हजारौ शैँयाको अस्पताल तयार पार्न हाम्रो बलबुताले भ्याउदैन। चिकित्सा आविष्कारमा संसारमै अब्बल कहलिएको अमेरिका आज धुरुधुरु रोइरहेको छ।
यहाँ प्लाष्टिकका सामान्य सुरक्षाकवच भिरेर जीउ-ज्यानको बाजी मारेर स्वास्थ्यकर्मीहरु मानव सेवाको कर्तव्यमा रातदिन भोकभोकै खटेका छन्। लाग्छ कि सबै समस्या, दुःख, कष्ट निवारण गर्ने जिम्मा यिनैको हो।
नेपालमा छिट्टै भयावह आउने स्थिति छ है भन्दै विज्ञहरुले हिजो चर्को स्वरमा चेतावनी र सुझाव दिईरहँदा सरकारले पटक्कै सुनेन, उल्टै राजनीतिक चस्माबाट हेर्न थाल्यो। विकसित र सक्षम देशका मानिसको त्यो अवस्था हुँदा आम नागरिकले छिट्टै उपकरणको जोहो गरि परीक्षणको दायरा बढाउ भने।
अस्पतालमा आइसियू, भेन्टिलेटर लगायत गतिलो पूर्वाधार क्षमता निर्माण गर भने, सरकारले सुनेन। देशवासीले संकटमा आहालविहाल भएर कैयन समस्या र सवालहरुमा सरकारलाई खबरदारी गरे, कराए, अनि घच्घच्याए, तर सरकारले कसैलाई नसुनि खेलाएर बस्यो।
हेर्दाहेर्दै कोरोनाले कसरी विश्वव्यापी हुँदै नजिकैको भारतमा हताहती माहोल बनायो, हामीले त्यो आँखै अगाडि देखेका छौँ। आजको यो जटिलतामा हरेक मानवको व्यवहारिक जीवन तहसनहस भैरहेको छ। कहाली लाग्दो संसारको यो अवस्थाबाट हामी सामान्य जीवनमा फर्किन त्यति सजिलो पक्कै छैन। प्रशवकालको प्रशव वेदना सहन गाह्रो त हुन्छ, तर सहनुको विकल्प पनि छैन।
आशा छ, स्थिति थप बिग्रिने छैन। संसारको अन्त्य हुने छैन। यो महामारीको दुःखले सधैभरी झेल्ने छैन। समय बलवान मात्र हैन बुझिनसक्नु पनि छ। निश्चित छ, छिट्टै एकदिन महामारीको अन्त्य हुनेछ। थोरै हार्ने छन्। भाग्यले धेरै बाच्नेछन्।
अनि यो अनकन्टार हट्नेछ। नेताजी गरिव र मजदुरका कथा सुनाएर फेरि चुनाव जित्नेछन्। लेखकले महामारीका कथा अझै गहिरो गरि लेख्नेछन्। मिठा-मिठा कहानीमा फिल्म बन्नेछन्। आकाशमा प्लेन निर्वाधरुपमा उड्नेछन्। राजमार्गमा गाडीको लस्कर फेरि लाग्नेछ।
सृष्टिकर्ताले रचेको यो सुन्दर संसारमा जीवन फेरि चल्नेछ। संघर्ष फेरि जारी रहनेछ। समुदाय फेरि अगाडी दौडिनेछ। चक्र घुमिरहनेछ। इतिहास कोरिदै जानेछ।
आशा छ, सरकारले जति पटक लामो सम्बोधन पढेपनि नेपाली जनताको दृढता र प्रयासले हिजोआज युरोप अनि अमेरिकामा देखिए जस्ता दुःखद परिदृष्यहरु नेपालमा देखिने छैनन्। महामारी युद्धको दशाले देश भड्खाल्लोमा फस्ने छैन। आम नागरिकको सपना बनेको त्यो गाउँ अनि पाखो भोलिका दिनमा चम्किनेछ।
पीडाले गिजोलेर गरिबका आँसु जति बग्ने बगिसके, अब बग्ने छैन। यो निश्चित नै छ, महामारीमा घटित यावत समस्याहरुको समाधान हुँदै जानेछ। श्रमिकहरुले गुमेको रोजगारी फेरि कुनै दिन पाउने नै छन्। व्यपारीहरुले व्यवसायमा भोगेको घाटा फेरि पूर्ति गर्ने नै छन्। विद्यार्थीहरुले छुटेको कोर्स फेरि पूरा गर्ने नै छन्।
विश्वकै थला परेको पुँजीवाद फेरि तंग्रिने नै छ। तर गुमेको अमूल्य मानव-जीवनको पुनःप्राप्ति कहिल्यै हुने छैन। त्यसैले जीवनरक्षाको लागि सरकार तिमी थप संवेदनशील र जिम्मेवार भएर सच्चा अभिभावकको भूमिका निभाउनु पर्ने आवश्यकता अहिले छ। नागरिकको मनभित्र उम्लिएको निराशाको बादल कसरी हुन्छ हटाउनु पर्ने अवस्था आज छ।
जनताको शीरमा थपिएको पीडाको बोझलाई घटाउँदै जानुपर्ने समय वर्तमानमा छ। यो संवेदनशील आत्मिक चोटको पीडाको घडीमा हामी सबै नागरिक स्तरले पनि सहयोग, सदभाव र धैर्यताका साथ सही संस्कार अनि असल भूमिका निभाएमा परिस्थिति छिट्टै सजिलै काबुमा आउने छ।