सन २०१९ को डिसेम्बर अन्तिमबाट आजका दिनसम्म विश्व समाज एउटा समस्याबाट प्रभावित भएको मात्र छैन, तहसनहसनै हुन पुगेको छ। त्यो हो- कोरोना भाइरस (कोभिड-१९) का कारण। चीनको वुहान राज्यबाट सुरु भएको यो भाइरस अहिले विश्वमा करिब ५० लाख मनिसको शरीरमा प्रवेश गरीसकेको छ।
तिनै मध्ये लगभग तीन लाख मानिसमा जीत र करिब १८ लाख मानिसमा हारेर पनि सालाखाला ३१ लाख मानिसमा रमाईरहेको छ। मानिसलाई आच्छु-आच्छु मात्र पारिरहेको छैन, वर्षौदेखिको सामाजिक अवस्था तथा समस्यासँग जुध्न बनाइएका प्रणालीलाई काम नलाग्ने बनाईदिएको छ।
भाइरस यतिमा मात्र सिमित भएको छैन, आफ्नो क्षमता वृद्धि गर्दै संसार परिक्रमा गर्न व्यस्त छ। यसले मानिसको जनजीवनलाई सामान्य प्रभाव मात्र पारेको छैन, ज्यान लिनेदेखि राज्यहरुको अर्थतन्त्र र शाषनसत्ता नै पल्टाई दिएको छ।
उदाहरणको लागि- कोरोना महामारीको पहिलो सप्ताहन्तमा घरबाट २० किलोमिटरको दुरीमा रहेको समून्द्री तटमा परिवार सहित घुम्न गएका न्यूजिल्यान्डका स्वास्थ्य मन्त्री डेबिट क्लार्कलाई कोरोना भाइरस फैलाउन मदत गरेको, लकडाउनको आचारसंहिता उल्लंघन गरेको आरोपमा पतन हुन परेके घटना सेलाउन नपाउँदै यही लकडाउनकै अवधिमा ब्राजिलका स्वस्थ्य मन्त्री नेल्सन टेंचले खाईपाई आएको मन्त्री पदबाट हात धुनु परेको छ। नेपालमा भने यस विषयले मूर्त रुप धारण नगरे पनि प्रयास जारी नै छ।
नेपाल अहिले कोरोनाको संक्रमित दर बढेसँगै एउटा जटिल परिस्थितिसँग सामना गरिरहेको छ। भएका सिमित स्रोत, साधन तथा जनशक्तिले यसबाट पार लगाउने कुरा चुनौतीले घेरिएको छ भन्न र अनुमान लगाउन विकसित मुलुकलाई कोरोनाले पारको प्रभाव र त्याहाँको मृत्यु दर मात्र हेरे पुग्छ।
संसारको सबैभन्दा विकसित मुलुक अमेरिका नै आज कोरोनाको सबैभन्दा उच्च जोखिममा रहेको छ। अमेरिका सबैभन्दा धेरै संक्रमित र मृत्य हुने रेकर्ड उच्च विन्दुमा कायम रहेबाट पनि यो कुरा अझै प्रमाणित हुन्छ।
सबै स्वास्थ्य व्यावस्था ठिकठाक हुँदाहुँदै पनि अमेरिका तथा विकसित मुलुकको त्यो हविगत बनाइदिएको छ। कोरोना भाइरसको प्रभावलाई कमजोर ठान्नु हाम्रो जस्तो देशका लागि अभिशाप बन्न सक्छ।
आगामी दिनमा के हुन्छ? भाइरसले जित्छ कि हार्छ? भन्ने कुराको भबिष्यवाणी न हालसम्म सबैभन्दा धेरै संक्रमित भएको अमेरिकाले नै गरेके छ, न त यसको सुरूआत भएर हाल स्थिर अवस्थामा रहेको चीनले भन्न सकेको छ। अहिलेसम्मको यसको समाधानका निमित्त भएको समाधान भनौँ वा गाइडलाईन डब्लुएचओदेखि सबै मुलुकको एउटै स्वर हो- साबुन पानीले हात धौउँ, सुरक्षित घरमा बसौँ, सामाजिक दुरी कायम गरौँ।
यसै बीचमा औषधि उत्पादन कम्पनि मोर्डनाले कोरोना विरूद्ध पहिलो पटक मानिसमा परीक्षण गरिएको खोपले रोग प्रतिरोधक क्षमता वृद्धि गरेको देखाएको छ। अन्य देशमा पनि यसको व्यापक अध्यन अनुसन्धान जारी नै छ। अब अगाडिको बाटो र यसको समाधान गर्ने कुरा विज्ञानको चमत्कारमा नै भर पर्नेछ।
वैज्ञानिकहरू यस पहलमा सफल भएर नतिजा सकारात्मक आयो भने विज्ञान बरदान साबित भएर निस्कने छ। भाइरस विरूद्धको मानव सभ्यताको विकासमा मानिसको जित हुनेछ भने भाइरसको हार हुनेछ।
मानिसको व्यापार व्यावसाय चौपट भएको छ, रोजगारी गुमेको छ। यही अवस्था कायम रहिरहे आर्थिक गतिविधि ठप्प भए विश्वनै आर्थिक संकटमा जाने निश्चित छ। अहिले विश्वको ध्यान कोरोनाको रोकथाम र कसरी नियन्त्रण भन्ने उपाय खोज्न केन्द्रित भएको बेलामा नेपाललाई भने थप एउटा चुनौतीको सामाना गरिरहेको छ।
त्यो हो, नेपालको गुमेको भूभाग फिर्ता ल्याउने। कोरोनासँग जुधिरहेको नेपला एउटा विषम् परिस्थितिमा छ। त्योभन्दा पनि अझ गुमेको भूभाग फिर्ता ल्याऊने कुरामा केन्द्रित छ जुन अहिलेको विश्व महामारीको जटिल अवस्थामा अस्वभाविक भएपनि स्वभाविक छ। आवश्यक छ।
नेपलको गुमेको भूभाग सहित नयाँ नक्सा जारी गर्नु भनि अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पटक-पटक दिएको निर्देशन कार्यान्वयन गर्ने उदेश्यले नेपाल सरकारले उक्त २०७७।०७८ को नीति तथा कार्यक्रममा राख्दै जेठ ५ गतेको मन्त्रिपरिषदले लिम्पियाधुरा,लिपुलेक र कालापानी क्षेत्र समेटेर नयाँ नक्सा जारी गर्ने निर्णय गर्यो।
नेपाल र तत्कालिन ईस्ट इन्डिया कम्पनीबीच भएको सम्झौता बमोजिम भएको उक्त सरकारी निर्णय ढिलो भएता पनि सहारणीय छ, स्वागतयोग्य छ। तर पूर्ण भने छैन। उक्त निर्णय पछि नेपाल भारतमा विभिन्न खाले टिकाटिप्पणी सुरू भइसकेका छन्, अझ भारतमा यसको असर नकारात्मक रूपमा परेको देखिन्छ।
उदाहरण- उक्त निर्णयलाई समर्थन गरेको आधारमा सन १९९० दशककी बलिउड चर्चित नायिका तथा नेपाली चेली मनिषा कोइरालालाई पुर्व-विदेशमन्त्री स्व. सुष्मा स्वराजका पति स्वराज कौशलले रोष पाख्न नपाउँदै भारतीय सामाजिक सञ्जालमा व्यापक विरोध मात्र भएको छैन, बोइकट मनिषा जस्ता ह्यासट्यागनै सुरू गरेका छन्।
यद्यपि स्वराज कौशलको उक्त रोषमा नेपालका पुर्व स्वास्थ्य मन्त्री तथा नेपाली कांग्रेसका युवा नेता गगन थापाले तपाईको मनसाय र नेपाल प्रतिको धारणा गलत भएको मात्र भनेनन् नेपाल र भारत समान हैसियतको राज्य भएको तथा उक्त निर्णयमा सबै नेपालीहरू एकजुट रहि सरकारको साथमा रहेको भनि प्रतिकृया दिएका छन्। यसै सन्दर्भमा भारतीय विदेश मन्त्रालयले नेपालले जारी गरेको नयाँ नक्साको सम्बन्धमा आफूलाई मान्य नहुने प्रतिकृया जनाइसकेको छ।
यो विषय यतिमा मात्रै सिमित छैन। दुई देशबीच भएको ऐतिहासिक सुगौली सन्धि, सम्झौतालाई तिलाञ्जली दिएर भारतले आफ्नो भएको अफवाह फैलाउँदै विवाद निम्त्याउने पक्का छ। सीमाका विषयमा दुवै देशमा चर्काचर्कि हुनेछ, नेपाल सरकारले भारत सरकारसँग शान्तिपूर्ण वार्ता गरि पहल नगरे अवस्था झन् जटिल पनि हुनसक्छ।
अब नेपाल सरकार के गर्छ? सुझबुझका साथ अगाडि बढ्छ कि भारतको उक्त प्रतिकृया विरूद्ध वक्तव्य मात्र जारी गर्छ वा प्रधानमन्त्रीले सरकारको नीति तथा कार्यक्रममा संसदमा सांसदहरू प्रश्नको उत्तर जस्तो ओठे जवाफ फर्काएर नक्सा आइसक्यो, त्यो हाम्रै हो भन्नेमा सिमित गर्छन्। यदि त्यसो भएमा समस्याको समाधान सम्भव हुने छैन बरू यसले दुई देशको सम्बन्ध झन् चिसो बनाउनमा मलजल गर्ने छ। थप तिक्तता बढाउने छ।
धेरै भारतीय मिडिया तथा नेताहरूले भारतको भूमिलाई नेपालले जबरजस्ति आफ्नो नक्सामा राखेको भन्ने आरोपलाई कसरी चिर्ने? भन्ने प्रश्नको उत्तर अब सरकार कसरी अगाडि बढ्छ, त्यसैमा भर पर्नेछ। नेपालको गुमेको भूभाग फिर्ता ल्याउनै पर्छ।
राष्ट्रिय एकता कायम गरि सबै दल, नागरिक समाज एक ठाउँमा उभिएर सरकारलाई मद्धत गर्नै पर्छ। हामी अहिलेको अवस्थामा अरू कुनै माध्यमबाट भूमि फिर्ता ल्याउन सक्दैनौँ, जुन सम्भव पनि छैन। सेना, प्रहरी सीमामा पठाएर न हाम्रो भूमि फिर्ता आउँछ न त सरकारले नक्सा मात्रै छापेर हाम्रो कार्यभार सम्पन्न हुन्छ।
त्यसका लागि नेपालले भारतसँग गर्ने कुटनीतिक भूमिका महत्वपूर्ण हुन्छ। अझ भनौँ भने, यस विषयमा हामो जस्तो मुलुकको लागि कुटनीतिक पहल विकल्पहीन जस्तै हो।
स्वास्थ्य सामाग्री खरिदमा भएको भनिएको भ्रष्टाचार तथा कोरोना नियन्त्रण गर्न असफल भएको विषयलाई डाइभर्ट गरि यही निर्णयबाट राहत बटुलेर नक्सा मात्रमा सिमित गरि सरकार आउने चुनावको प्रोपोगान्डा बनाएर राज्य तहसनहस बनाई द्वन्दको विजारोपण गर्छ कि?
कुटनीतिक पहलबाट समस्या समाधान गरि गुमेको ३३५ वर्ग किमि क्षेत्रफल नेपालको भूभाग फिर्ता ल्यायर राष्ट्रियताको रक्षा गर्छ? सरकारको क्षमता र अब उसले अंगिकार गर्ने रणनीतिमा भर पर्छ।