केटाकेटीहरू खाजा खाइवरी मंसिरको न्यानो घाममा यत्रतत्र छरिएका थिए। कोही खेलमा व्यस्त थिए, कोही गफमा मस्त।
म क्यान्टिनमा उसिनेको चाउमिन खाइवरी घाममा बसेर उनीहरू उफ्रेको हेर्दै थिएँ।
मलाई केटाकेटीको चञ्चलता खुब मन पर्छ। कहिलेकाहीँ उनीहरूको खेलमा सरिक भएर बाल्यकालको तृष्णा मेटाउँछु।
टिनिनिनी घन्टी बज्यो। चउरमा छरिएका आधाउधि केटाकेटी कक्षाकोठा पसे। बाँकीलाई अझै शौचालय अनि धारासम्म पुग्न भ्याउनु थियो। म घन्टी बज्नेबित्तिकै कक्षाकोठा छिरिहालेँ।
मेरो पिरियडमा सबै विद्यार्थी घन्टी बज्नासाथ कक्षाकोठा प्रवेश गरिसक्छन्। ब्रेकमा दौडेर थाकेको शरीर अनि मस्तिष्क शान्त पार्न म उनीहरूलाई दुई मिनेट ध्यान गराउँछु। त्यसैबीच मेरो नजर बेन्चमा आड लाएर सुतेकी एक विद्यार्थीमा पुग्यो।
उसको हातले जोडसँग पेट समाइरहेको थियो। मैले सबैलाई ध्यानबाट जगाएँ अनि कक्षाकार्य दिएँ।
त्यसपछि मेरा पाइला ऊतर्फ लम्के। विस्तारै बोलाएँ अनि सोधेँ, 'के भयो? सन्चो छैन?'
'पेट दुखिराछ मिस,' मलिनो आवाजमा ऊ बोली।
'खाजा खाएनौ?' विद्यार्थीको बानी बुझिसकेकी मैले समस्या पहिल्याइहालेँ।
'अहँ मिस, आज घरमा केही खाजै थिएन। ममीले पैसा पनि दिनुभएन।'
भोकले गलेको शरीर अनि उसको मलिन आवाजले म विचलित भएँ।
'घरमा केही खानेकुरा थिएन? मकै-भटमास त होला नि?' छ महिनाको बसाइले गाउँको परिवेश बुझिसकेकी म बोलेँ।
उसले भनी, 'मिस मकै-भट्ट खाजा ल्यायो भने त सबैले गिज्याउँछन्, खानै गाह्रो हुन्छ।'
मलाई उपायसहितको जवाफ आइहाल्यो, 'एक जनाले खायो भने पो गिज्याउँछ, सबैले खायो भने कसले कसलाई गिज्याउने?'
मैले फेरि थपेँ, 'भोलि हामी सबै जनाले मकै-भटमास खाजा ल्याउने अनि मकै-भटमास डे मनाउने, हुन्छ?'
स्थानीय बोलीचालीको भाषामा भनिने भट्टलाई मैले भटमास भनेको उनीहरूलाई खुब मन पर्छ।
मेरो प्रस्ताव सुनेर उनीहरू चकित भए। अनि प्रफुल्ल पनि।
त्यसपछि सबैले आ-आफ्ना तर्क राख्न थाले। कोही ममीलाई मकै भुट्न लगाउने भन्दै थिए। कोही बिहानै उठेर आफैं भुट्ने सल्लाह गर्दै थिए।
त्यसैबीच आवाज आयो, 'मिस म त गुन्द्रुक पनि साँधेर ल्याउँछु।'
म झन् खुसी भएँ, 'मकै-भटमास अनि गुन्द्रुक मेरो फेब्रेट खाजा हो नि। यसमा हाम्रो शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व पनि प्रशस्त मात्रामा पाइन्छ।'
एउटा छुकछुके भाइले थप्यो, 'मिस भट्ट चैं धेरै नल्याउन भन्नू है फेरि, कक्षा नै उडाउँछ।'
एकछिन कक्षाभरि हाँसो गुञ्जियो।
मैले घरमा बनाइने खाजाले स्वास्थ्यमा पुर्याउने फाइदा र त्यसको पौष्टिक महत्वबारे बुझाएँ। सँगसँगै, जंक फुड (पत्रु खाना) र यसका बेफाइदा प्रस्ट्याए। घरमा बन्ने ताजा खानाका फाइदा, मौलिकता र आफ्नोपनको महत्व पनि सम्झाएँ।
भोलिपल्ट सबैले मकै-भटमास खाजा ल्याउने बाचाका साथ हामी छुट्टियौं।
त्यो रात अबेरसम्म मलाई यो घटनाले गिँजोलिरह्यो। यसले मलाई नेपाली समाजको अवस्था छर्लंग पारिदिएको थियो। यहाँ कति जना खानेकुरा नभएर भोकै बस्छन् भने कतिलाई भएको खान पनि लाज र हिनताबोध हुन्छ। कुन दिशामा जाँदैछ हाम्रो समाज? के सिकाउँदै छौं हामी हाम्रा बच्चाबच्चीलाई?
मेरा दिमागभरि बिनाउत्तरका यी प्रश्न घुमिरहे।
मनमा कुरा खेलाउँदा खेलाउँदै म आफ्नै बाल्यकाल पुगेछु। सानो हुँदा आमाले बनाएर दिएको खाजा चाउचाउको प्याकेटभित्र हालेर गाउँ डुल्दै खाएको सम्झेँ। अनि सोचेँ, मलाई चाउचाउ खाँदैछु भनेर सबैलाई देखाउनु थियो या आफूले के खाइरहेको छु त्यो लुकाउनु थियो!
मकै-भटमास, रोटी, भुटेको चिउराजस्ता आमाले बनाएर दिएका मिठा, पोषिला परिकारको महत्व चाउचाउको रंगीन खोलभन्दा कति माथि छ भन्ने म बल्ल बुझ्दैछु। म जुन अवस्थाबाट गुज्रिएर आएँ, समाज त्योभन्दा विकराल स्थितितर्फ दौडिँदै गरेको देख्दा मन कुँडिएर आयो।
फेरि सम्झेँ, सिनेमा हल र सपिङ मलहरूमा बेचिने पपकर्न भनेको पनि त्यही मकै त हो, जुन खाजाका रूपमा खान एउटा गाउँले बालकलाई हिनताबोध हुन्छ।
आफूभित्रैको प्रश्नोत्तर अनि विश्लेषणबीच भोलिको मकै-भटमास डे को प्रतीक्षामा कतिबेला निदाएछु पत्तै पाइनँ।
भोलिपल्ट सबैले मकै-भटमास ल्याउनेमा म विश्वस्त थिएँ। नभन्दै केटाकेटीहरू तेस्रो पिरियडपछिको छोटो ब्रेकमै गोजीभरि मकै हालेर खाँदै दौडिरहेका थिए। उनीहरूले पालैपालो मलाई आफ्नो कक्षामा आउन निमन्त्रणा दिए। अरू बेला खाजा खान नपरे हुन्थ्यो जस्तो लाग्ने मलाई कति बेला टिफिन ब्रेक होलाजस्तो भयो।
त्यस दिन घन्टीको टिनिनिनि आवाजमा पनि अर्कै मिठास पाएँ मैले। घन्टी बज्नासाथ केटाकेटीहरू तान्न आइहाले। कक्षामा पुग्दा धेरैजसोसँग मकै-भटमास थियो। कसैले त गुन्द्रुक पनि ल्याएका थिए।
बेन्चमा लस्करै राखेर सबैले बाँडेर खायौं।
'मिस यो भट्ट चैं मैले छुट्टै तपाईंलाई ल्याइदिएको,' एउटा भाइले मेरो हातमा पोको थमायो।
उसको सिको गरेर धेरैले 'तपाईंका लागि छुट्टै' भनेर मेरो गोजी भरिदिए।
त्यस दिन मलाई ठूलै पार्टीमा सहभागी भएभन्दा विशेष लाग्यो। यहाँ रंगीन खोलभित्रको बजारे खानेकुराका अगाडि आफ्नोपनको जित भएको थियो। पैसा नभएर कोही भोको थिएनन्।
मकै खाँदै गर्दा हिजो भोकले पेट निमोठेर बसेकी बहिनी बोली, 'मिस भोलि चैं बासी भात डे मनाउने है!'
बिहानकै भात भए पनि दोस्रोपटक खाँदा उनीहरू बासी भात भन्थे। मैले उसको प्रस्ताव स्वीकार गरेँ, 'अबदेखि घरमा जे खानेकुरा छ, त्यसलाई नै खाजाका रूपमा ल्याऊ है।'
मिठा गफसँगै मिठो खाजा खाएर म गोजीभरी मकैको पोको बोकेर निस्केँ।
कक्षा ६ मा मकै-भटमास डे मनाएको कुरा स्कुलभरि फैलिसकेको थियो। अरू कक्षाहरूले पनि यसको माग गर्न थाले। कुनैले मनाए पनि। त्यसपछि मैले धेरैपटक मकै-भटमास कोसेली पाएँ। बिहानको कक्षामा पनि हामी मकै खाँदै पढ्न थाल्यौं।
मकै-भटमास डे मनाएको करिब एक महिनापछि म घरायसी कामले काठमाडौं जाँदै थिएँ। अघिल्लो दिन ७ कक्षाकी बहिनी मछेउ आएर मेरो हातमा पोको राखिदिएर भनी, 'तपाईंलाई खाजा ल्याइदिएको।'
मैले निस्कनुअघि झोलामा भुटेको मकैको पोको राखेँ। माइक्रो बेसीसहर नकट्दै मलाई भोक लाग्न लग्यो। झोलाबाट मकैको पोको झिकेँ अनि खान थालेँ। मकैको बासना गाडीभरि फैलिएकाले हो या अरू कुनै कारणले हो, सबैले मतिर नजर लगाए।
मैले गाडीमा 'लेज' र 'कुरकुरे' खाँदा कसैले मलाई त्यसरी हेरेको याद छैन।
मलाई कसैको हेराइले फरक परेन। झ्यालबाट आएको शितल हावा अनि छेउमा आफ्नै गतिमा बगेकी मर्स्याङ्दी नदीको सुस्केराबीच मैले निर्धक्कसँग मकैको पोको सकाएँ।
त्यस दिन लाग्यो, सानोमा चाउचाउको खोलभित्र लुकेर हारेको मकैले जित्यो।
हिमालको लहर अझै खुलेर हाँसेको महशुस गरेँ। मनमनै संकल्प गरेँ, अबदेखि मकै कहिल्यै हार्दैन।
(दिक्षा टिच फर नेपालमा प्रज्ञार्थीका रूपमा कार्यरत छन्।)