सन्दर्भ : विश्व महिनावारी दिवस मे २८
छोरी, तिमीलाई थाहा छ? आज त विश्व महिनावारी दिवस हो नि, हेर त अब त महिनावारी दिवस पनि मनाउन लागियो जुन महिनावारी भन्ने शब्द पहिले नाम लिँदा पनि लाज हुन्थ्यो अनि डर हुन्थ्यो।
हो छोरी, महिनावारीलाई लाज र डरको रूपले लिइन्थ्यो, ठूलै भूल भएसरह हुन्थ्यो। त्यसको केही अंश अझै पनि हाम्रो समाजमा बाँकी छ, जुन म तिमीलाई भन्न चाहन्छु।
तिमी अब ९ पुगी १० वर्षकी हुन लाग्यौ। हरेक छोरी मान्छे यो उमेरदेखि महिनावारीको लागि मानसिक रूपमा तयार हुनुपर्छ। त्यसैले त म तिमीलाई सिकाउँदै छु मानसिक रूपमा तयार पार्दैछु। महिनावारी हुँदा मैले के भोग्नु पर्यो सुनाउन चाहन्छु र तिमीलाइ मैले भोगेको जस्तो समस्या भोग्न दिने छैन र तिम्रो समस्यामा सधैं साथ रहने छु भनि वाचा गर्न चाहन्छु।
छोरी जसरी म पहिलो पटक महिनावारी हुँदा डराएकी थिएँ अनि लजाएकी थिएँ, कसैलाई भन्ने हिम्मत गर्न सकेकी थिइनँ। त्यो डर र लाज तिमीमा म आउन दिने छैन। त्यसैले त अहिलेदेखि नै तिमीलाई यसको बारेमा जानकारी दिँदैछु।
जसरी मेरो लुगामा लागेको रातो देखेर मभन्दा ठूला दिदीहरू एक अर्कामा कानेखुसी गर्दै थिए तर मलाई भन्न हिच्किचाए। म त तिमीलाई आजैबाट यसबारे बुझाएर यो प्राकृतिक नियम जसले तिमीलाई कुनै संकोच नै नहोस् भन्ने कुरामा ढुक्क बनाउन खोज्दैछु।
छोरी मलाई त रातारात गुन्टा कसि ४ किलोमिटर हिँडाएर अनकन्टार ठाउँमा लगियो र राखियो, जतिबेला मलाई हिँड्न गाह्रो भयो, दुखेको पेट अनि त्यो गुन्टा। ओहो! छोरी ती गुन्टा त मैले उहिले नै मिल्काइ दिइसकें त्यही पर फालिदिइसकें । म त तिमीलाई मेरो काखमा सुताउने छु, स्वच्छ अनि कोमल सिरानीमा भर्खर जन्मेको बच्चालाई दिइने आराम सरह सजाउने छु।
परिवर्तित शरीर, पीडा, दुखाइ त्यो १० दिनसम्म कसरी भोगें मलाई नै थाहा छ छोरी। म त तिम्रो पीडा भएको शरीरमा, दुखेको भावनामा मल्हम पट्टी बन्ने छु।
सधैं बुवाको प्यारी छोरी म, बुवासँगै बसेर खाना खानुपर्ने मलाई तर बुवा सँगसँगै बसेर खाना खानु त परै जाओस्, बुवाको मुख नदेखेको धेरै दिन भएको थियो।
छोरी तिमी पनि त बाबाकी प्यारी छोरी हौ नि त है?, म त तिमीलाई तिम्रो बाबासँगै राख्ने छु,अनि बाबाले तिमीलाई खाना खुवाउनु हुनेछ।तिम्रो चाहनाको हरेक ख्याल राख्ने छु।
समय परिवर्तन भयो, युग परिवर्तन भयो तर महिनावारीमा हुनुपर्ने सुरक्षा अनि खानपानमा गरिनु पर्ने ख्याल अझै परिवर्तन भएको छैन।
म त तिम्रो लागि सुरक्षित वातावरण मिलाउने छु र तिम्रो पोष्टिक आहारको ख्याल गर्नेछु।
महिनावारीपश्चात जसरी म चुलबुलेलाई त अब ठूली भइस् भनि तर्साइयो, झस्काइयो। छोरी म त तिमीलाई यो त केटीहरूको स्वभाविक प्रक्रिया हो भनि बुझाउने छु। तिमीलाई आफू महिनावारी भएकोमा खुसी हुन तयार पार्ने छु। अनि तिम्रो वरिपरि आएर कसैले त्यो झस्काउने कुरा गर्छ भने पनि म खबरदारी गर्नेछु।
हो छोरी, परापूर्वकालदेखि महिनावारीमा अनेक किसिमका व्यवहार गरिँदै आएको पाइएको छ।
हरेक ठाँउ, समाज अनि घर घरमा यसको आफ्नै मान्यता अनि चलन रहिआएको छ। सरसफाइको दृष्टिकोणले र शरीरमा आउने परिवर्तन र पीडाले महिलालाई छुट्टै राख्ने वा अरूबाट भिन्न राख्ने उनलाई उचित स्याहारसुसार गर्ने चलन राम्रो हो। तर छुट्टै राख्ने चलनलाई बिगारेर कुनै समाजमा महिलाहरू घरदेखि टाढा, असुरक्षित र अस्वस्थ्य ठाउँमा बस्न बाध्य छन् जहाँ उनीहरू विभिन्न घटनाको शिकार समेत हुन्छन्।
यी र यस्ता समाजमा विद्यमान मान्यतालाई त्रास र बाध्यता अनि जबरजस्तीले होइन जनचेतनाका माध्यमबाट परिवर्तन गर्नुछ।
छोरी हरेक समाज र स्थानमा आफ्नै परम्परा भएझैं हरेक समाज र स्थानमा महिनावारीलाई छुट्टाछुट्टै नामले पनि चिनिन्छ। कतै महिनावारी, कतै पर सरेको, कतै छुई भएको, कतै नछुने भएको, कतै मासिक भएको, त कतै छाउ भएको भन्ने गरिन्छ।
छाउको आफ्नै नियम छ। ठूला- ठूला पण्डित महाजन, धर्म गुरुहरूले पनि यो छाउ यति कठिन हुनु हुँदैन भनि रहेता पनि समाजमा विद्यमान मान्यताले यसलाई छोड्न सकेको छैन।
किशोरी, युवती, महिला घर बस्न नपाउँदा घरदेखि टाढा छाउगोठमा बस्न बाध्य छन्, जसबाट उनीहरूको पढाइमा समस्या त छँदै छ उनीहरूको स्वास्थ्यदेखि जीवन नै खतरामा पर्दै आएको छ। जुन मान्यता एक पुस्ताबाट एकै पटक जादुसरह हट्ने छैन छोरी।
तिमीहरूजस्तो नयाँ आउने पुस्तामा हाम्रो पुस्ताका आमाहरूले परिवर्तन र चेतनाको बीउ छर्नु जरुरी छ।
हेर न यो दिवस मनाउन थालिएको पनि धेरै कहाँ भएको छ र सन् २०१४ बाट त विश्वभरि यसको महत्त्व र यसलाई लाज होइन, यसबारे सबैलाई जनचेतना फैलाउन पर्छ भनेर मनाउन थालियो। अनि सबैले अलिक खुलेर कुरा गर्न थाले। यो दिवस किन आजकै दिन अर्थात् २८ मे मै मनाइन्छ त तिमीलाई थाहा छ? हो, महिलाको सामान्यतया महिनावारी चक्र २८ देखि ३५ दिन हुन्छ र हरेक महिनावारीमा सामान्यतया ५ दिनसम्म रक्तश्राव हुन्छ। त्यसैले यसको सांकेतिक अनुसार पाँचौं महिना र २८ गतेलाई विश्व महिनावारी दिवस भनेर मनाउन थालियो।
धर्मको नाममा फैलाइएको यो अधर्म जहाँ हरेक महिना महिलाले जोखिम मोल्नुपर्छ हरेक महिना त्रास, भय अनि पीडामा रहनुपर्छ, बलात्कार र मृत्युको शिकार हुनुपर्छ।
यसको समाधानको उपाय आफू र आफ्नो घरबाटै खोज्ने हो छोरी अनि बल्ल समाजमा यसको प्रभाव पार्ने हो, जुन परिवर्तन हुन अझै समय लाग्ने छ।
तिमी पनि यो प्राकृतिक क्रिया∕नियमको एक पात्र बन्न यो संजालमा प्रवेश गर्दैछौ। म तिमीलाई विद्रोही तरिकाले परिवर्तनको पक्षमा उभ्याउने छैन तर असल र सरल तरिकाले यसको वकालत गर्दै तिमी पछिका तिम्रा बहिनीहरूका महिनावारीमा ऊर्जावान बन्न अवश्य सिकाउने छु। र तिमीजस्ता हरेक छोरीहरू अबका दिनमा महिनावारीमा निसंकोच रहुन् र समाजमा परिवर्तनको वाहक बनुन् भन्ने शुभकामना दिन चाहन्छु।