अंग्रेजी भाषामा मेन्स˗ट्रु˗एसन भनिने महिनावारीको नेपाली अनुवाद भने मासिक धर्म अथवा क्षेत्रमिति हुन्छ। जर्मनी आधारित ‘वास युनाइटेड’ नामक गैरसरकारी संस्थाद्वारा सन् २०१४ बाट हरेक वर्षको मे२८ तारिखका दिनमा विश्व महिनावारी स्वच्छता दिवस मनाउने पहल भएको थियो। महिनावारीको मासिक चक्र २८ दिनको हुने भएकाले सो दिवसलाई २८ तारिखको दिनमा मनाउने गरिएको हो।
हरेक वर्ष महिनावारी स्वच्छता दिवस नयाँ नारा/विषयवस्तुलाई अनुसरण गरी मनाइन्छ।
यो वर्षको नारा भने, ‘महिनावारी स्वच्छता दिवस २०२० : यो समय हो व्यवहारमा लागू गर्ने।
महिनावारीको आधारभूत परिभाषा रजोवस्था (यौवन अवस्था) देखि रजोनिवृत्तिसम्म; गर्भावस्थाबाहेक, हरेक २८ दिन/१ महिनाको अन्तरालमा गर्भाशयको अस्तरबाट योनीमार्फत् आंशिक रगत आंशिक तन्तु निर्वहन गर्ने महिलाहरूमा हुने प्रक्रिया भन्ने बुझिन्छ।
त्यस्तै, स्वच्छता भन्नाले विभिन्न अभ्यास विशेषत सरसफाइमार्फत् रोगलाई रोकथाम गर्नु र स्वास्थ्य कायम राख्नु बुझिन्छ।
महिनावारी स्वच्छता भनेको के हो ?
किशोरी र महिलाले आफ्ना महिनावारीको समयमा गर्भाशयको अस्तरबाट निर्वहन हुने रगत तथा तन्तु संकलन गर्न सफा सामग्री प्रयोग गर्नु, महिनावारीको अवधिभरि आवश्यकता अनुसार गोपनीयतामा सो सामग्री परिवर्तन गर्न पाउनु महिनावारी स्वच्छता हो। महिनावारी स्वच्छतामा निम्न कुरा पर्दछन्:
१) महिनावारीको समयमा हुने रगत तथा तन्तु संकलन गर्न सफा सामग्री जस्तै: स्यानिटरी प्याड, ट्याम्पन, मेन्स्ट्रुअल कप, आदिको उपलब्धता।
२) महिनावारीको समयमा हुने स्वास्थ्य समस्या जस्तै : पीडा, ऐंठन, बान्ता तथा अन्य जटिलताका लागि स्वास्थ्य सेवाको उपलब्धता।
३) महिनावारीको समयमा आवश्यकता अनुसार रगत तथा तन्तु संकलन गर्ने सामग्री गोपनीयताका साथ परिवर्तन गर्न पाउने सफा पानी र स्वच्छ वातावरण सहितको संरचना (शौचालय) को उपलब्धता।
४) महिनावारीको समयमा रगत तथा तन्तु संकलन गर्न प्रयोग भएका सामग्रीको सुरक्षित व्यवस्थापनको उपलब्धता।
महिनावारी स्वच्छता किन आवश्यक छ ?
महिनावारी स्वच्छता महिलाका प्रजनन् स्वास्थ्यको निर्धारक हो। महिनावारीको समयमा सरसफाइ कायम गर्दा हाम्रो स्वास्थ्यमा निम्न अनुकूल फाइदा हुन्छन्:
१) पिसाब मार्ग संक्रमणको जोखिम कम हुनु ˗ महिनावारीको समयमा फोहोर र ओसिलो कपडाको प्रयोग अथवा ४ घण्टाभन्दा बढी समयसम्म स्यानिटरी प्याडको प्रयोगले हानिकारक जीवाणुको वृद्धि र गुणनका लागि सहयोगी वातावरण प्रदान गर्छ।
यी जीवाणुले पिसाब नली र पिसाब थैलीसहित पिसाब मार्ग संक्रमण गरी पीडादायिक पिसाब निष्कासन, तल्लो पेट दुखाइ, बान्ता, ज्वरो, आदिजस्ता जटिलता निम्त्याउँछन्।
घाममा राम्ररी सुकाएको कपडाको प्रयोग, बढीमा हरेक ४ घण्टामा सो कपडा वा स्यानिटरी प्याड परिवर्तन गर्दा यी जटिलताबाट टाढा रहन सकिन्छ।
२) यौनांगमा खटिरा/ डाबरहरूको विकास नहुनु ˗ महिनावारीको समयमा हुने घर्षण, एलर्जी र लामो समयसम्म हुने ओसले बाह्य यौनांगमा खटिरा/ डाबर आउने गर्दछ। हरेक ४ घण्टामा प्रयोग गरिएको कपडा वा स्यानिटरी प्याड परिवर्तन नगरेमा योनी र योनी वरिपरिको छालामा जीवाणु वा खमिर/ ढुसी संक्रमण हुनसक्छ। त्यसकारण सुख्खा कपडा वा स्यानिटरी प्याडको प्रयोग र आवश्यकता अनुसार अथवा हरेक ४ घण्टामा सो कपडा वा स्यानिटरी प्याड परिवर्तन गर्नाले यस्ता खटिरा/डाबरहरूको विकास हुनबाट बच्न सकिन्छ।
३) स्वस्थ प्रजनन् प्रणालीको सुनिश्चितता- महिनावारीको समयमा अनुचित सरसफाइ र अस्वच्छ शोषक सामग्रीको प्रयोग गर्दा प्रजनन् पथ/मार्गमा संक्रमण हुनसक्छ। यस्तो संक्रमण हुँदा योनीबाट गन्हाउने पानी बग्ने, महिनावारीको चक्र नमिल्ने, गर्भाशयको अस्तर र अण्डाशयमा क्षति पुग्ने जस्ता समस्या आउँछन्।
महिनावारीको समयमा सचेत भई उचित सरसफाइ र स्वच्छ सामग्रीको प्रयोगले प्रजनन् पथ/मार्गमा हुने संक्रमण हुनबाट बचाउँछ र प्रजनन् प्रणाली स्वस्थ राख्छ।
४) पाठेघरको मुखको क्यान्सरको जोखिम कम हुनु- हुमन प्यापिलोमा भाइरसको संक्रमणबाट गर्भाशयको मुखमा हुने क्यान्सरलाई पाठेघरको मुखको क्यान्सर भनिन्छ। अन्य थुप्रै कारण सँगसँगै सो क्यान्सर महिनावारीको समयमा निर्वहन हुने रगत र तन्तुको अस्वच्छ व्यवस्थापन र हेलचेक्र्याइँ स्वरूप फैलने संक्रमणका कारण पनि विकास हुनसक्छ। त्यसकारण महिनावारीको समयमा महिनावारी स्वच्छता कायम गर्दा पाठेघरको मुखको क्यान्सरको जोखिम पनि कम हुन्छ।
महिनावारी स्वच्छता अभ्यासका चुनौती
अहिलेको समयमा जहाँ महिनावारी स्वच्छता कायम गर्न भनी विभिन्न सामग्रीको उत्पादन र उपलब्धता छ, त्यही कति महिला महिनावारी सुरक्षा र स्वच्छताको आवश्यकताबाट वञ्चित छन्।
सामान्य लाग्ने महिनावारी सुरक्षाका साधनको असुविधा हुँदा महिलाले त्यसबाट हुने जोखिमको सामना गर्नुपरेको छ। कतिपय समुदायमा महिनावारीसम्बन्धी कुरा खुलेर गरिँदैन जसले महिनावारी स्वच्छता व्यवस्थापनमा अज्ञानता र अशिक्षाको जरा फैलाउन मद्दत गर्छ। परिणामस्वरूप महिलाका दैनिक प्रतिवद्धतामा दखल पर्न जान्छ। आवश्यकता अनुसार गोपनीयताका साथ सरसफाइका निम्ति चाहिने सफा पानी र स्वच्छ वातावरण सहितको संरचनाको उपलब्धता नहुँदा कति किशोरी विद्यालय जान पनि हिच्कियाउँछन्।
महिनावारीको समयमा महिला नुहाउन, सफा हुन, घाम ताप्न त प्रतिबन्धित हुन्छन् भने महिनावारी स्वच्छता र व्यवस्थापनमा झन् ठूलो प्रश्न चिन्ह खडा हुन्छ।
महिनावारी प्रक्रिया हुनुका कारण मातृत्वबोध सम्भव छ; जबकी गर्भावस्था उत्सवको विषय मानिन्छ, महिनावारी भने गोप्य रूपमा व्यहोर्न पर्ने चरणको रूपमा लिइन्छ। प्रतिगामी सामाजिक-साँस्कृतिक मान्यता महिनावारी व्यवस्थापन गर्न अस्वच्छ र अस्वस्थ अभ्यासका लागि जिम्मेवार छन्। महिनावारी स्वच्छताको स्वस्थ अभ्यासमा बाधक बनेर आउने हाम्रा सामाजिक-सांस्कृतिक रितिथितिहरूले महिलाका दैनिक जीवनदेखि स्वास्थ्यमा ल्याउने प्रतिकूल परिणाम यो एक्काइसौं शताब्दीमा लज्जास्पद कुरा हो।
महिनावारीको समयमा स्वास्थ्यको ख्याल राख्नु भनेको हरेक दिन आफ्नो स्वास्थ्यको ख्याल राख्नुजस्तै हो।
महिनावारी स्वच्छताको स्वस्थ अभ्यासलाई अनुसरण गर्दा यौन तथा प्रजनन् स्वास्थ्यमा संक्रमण हुने घटना ९७ प्रतिशतसम्म कम हुन्छ। महिनावारी स्वच्छता जनस्वास्थ्यको एउटा यस्तो सिद्धान्त हो जसले महिलाका यौन तथा प्रजनन् स्वास्थ्यको ख्याल राख्छ।
आउनुहोस् यो वर्षको महिनावारी स्वच्छता दिवसको नारा अनुसरण गरौं: महिनावारी स्वच्छताका अभ्यास व्यवहारमा लागू गरौं।
(लेखक नेपाल अर्बुद रोग निवारण संस्थाकी कार्यक्रम अधिकृत हुन्।)