कोभिड-१९ महामारीले निम्त्याएको महासंकटको कहालीलाग्दो सन्नटाले अहिले विश्व नै आक्रान्त बनेको छ। हामी धेरैको चिन्ता र चासो यो महामारीको अन्त्य कहिले र कसरी होला भन्ने छ।
यो महामारीसँग बच्नको लागि घरभित्रै बन्दी बनेका हाम्रो आँखाहरु आशावादी भएर यो अनिश्चितताको अन्त्य कहिले होला भनेर अनलाईन अखबार नियमित नियालिरहेका छन्। कोरोनाको डर र कोरोना कहरले हाम्रो अर्थतन्त्र त धरासायी बनाएको नै छ, साथ-साथै हाम्रो मानसिक समस्याहरुलाई पनि थप जटिल बनाएको छ।
हाम्रो नाङ्गो आँखाले नदेखिने कोरोना भाइरसले, नदेखिने माध्यमबाट नदेखिने हाम्रो मनलाई त्रसित र तहसनहस बनाइदिएको छ। साथसाथै बढ्दो लकडाउनले एक्लोपनलाई बढाएको छ।
शाक्यमुनी भगवान गौतम बुद्धले भने जस्तै, कुनै पनि कुरा स्थायी छैन, समय परिवर्तित छ। यो कहालीलाग्दो समयको परिवर्तन पनि निश्चित छ। तथापी कहिले र कसरी यो अनिश्चित छ? अनिश्चितताले जहिले पनि चिन्ता र निराशा दिन्छ।
चिन्ता, निराशा र एक्लोपनले दिएको पीडाले हाम्रो मन भाचिदिन्छ र मानसिक समस्याको सुरुआत हुन्छ। अन्ततः आत्महत्याको कारक बनिदिन्छ।
मानिस सामाजिक प्राणी हो। समाजमा बस्ने, घुलमिल हुने, आपसी समझदारी र सद्भावको आधारमा सहज जीवनयापन गर्ने मानवीय गुण हो। इभोलुसनरी साइकोलोजीका अनुसार ढुंगे युगदेखि आर्टिफिसियल इन्टेलिजेन्ससम्म आउनुको मुख्य कारण मानिसमा भएको जिज्ञासु र उत्सुक स्वभाव हो जसले समस्या समाधान गर्ने सरल र सहज उपाय खोज्ने उत्साह र हौसला दियो।
अमेरिकी मनोविद अब्राहम मास्लो (१९०८-१९७०) का अनुसार मानिसको जीवन आवश्यकतामा आधारित पदानुक्रममा चल्दछ। उनले आफ्नो सिद्धान्तमा- १) भौतिक आवश्यकता २) सुरक्षाको आवश्यकता ३) सामुदायिक र पारिवारिक सम्बन्ध ४) आत्मसम्मान/आत्मबल र ५) आत्मानुभूति छन्।
उनको सिद्धान्तअनुसार मानिसको जीवनमा एक आवश्यकताको प्राप्ति सँगै क्रमश अर्को आवश्यकताको सुरुआत हुन्छ र यो आत्मानुभूति नहुँदासम्म निरन्तर चल्दछ। उनी तर्क गर्दछन्- 'यदि आफ्नो एकपछि अर्को आवश्यकता प्राप्ति गर्न संघर्षरत व्यक्तिले उपलब्धि हासिल गर्न सकेन भने उसलाई निराशा र मानसिक समस्याको सिकायत बन्न पुग्छ र आत्महत्यासम्म पुग्न सक्छ।'
विभिन्न अध्ययन तथा अनुसन्धानको आधारमा आत्महत्या गर्ने ९०% मानसिक रोगी हुन्छ्न र बाँकी १०% आवेग वा उत्तेजनामा आएर आत्महत्या गर्न सक्छन्। यद्यपी अनावश्यक आवेग वा उत्तेजनालाई पनि मानसिक समस्या अन्तर्गत नै लिइन्छ।
विभिन्न समाचार तथा तथ्यका आधारमा कोभिड-१९ महाव्याधिको समयमा नेपाल लगायत विश्वव्यापी रूपमा मानसिक रोग र आत्महत्याको दर बढेको छ। विश्व स्वास्थ सँगठनले यो महामारीको समयमा भौतिक स्वस्थ्यको साथमा मानसिक स्वास्थ्यलाई पनि विशेष ध्यान दिन विशेष आग्रह गरेको छ।
कोरोना महामारीसँग बच्नको फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि र स्वयंसेवक लगायत बाहेक हामीहरु प्रायः घरमा बसिरहेका छौँ र पट्यार लाग्दो दैनिकीसँग समय गुजारिराखेका छौँ। समाजिक प्राणी मानिसको समाज अहिले मोबाइल तथा ग्याजेट्मा सिमित भएको छ।
हाम्रो जीवनलाई सरल र सहज बनाउनको लागि आविष्कार गरिएका प्रविधिले हामीलाई नजानिदो लतको दलदलमा फसाइदिएका छन्। कहिलेकाही त लाग्छ हामीले प्रविधिलाई नभएर प्रविधिले हामीलाई उपयोग गरिराखेको छ। यसले एक्लोपनलाई थप बढाएको छ।
म्यासेन्जर र भाइबरमा घण्टौँ कुरा गर्ने साथीहरूसँग भेटेर कुरा गर्ने हामीसँग धेरै शब्द नै हुँदैनन्। कतिपय भेटघाट यस्ता हुन्छन जहाँ भौतिक रुपमा भेटिएका सबै आफ्नो मोबाइलमा यति व्यस्त हुन्छन कि लाग्छ उनीहरु कुराकानी गर्नै बिर्सिरहेका छन्।
लकडाउनको समयमा मोबाइल ग्याजेट र प्रविधिको अनावश्यक र अनुचित प्रयोग अत्याधिक बढेको छ। अहिले धेरै व्यक्ति मोबाइल फोन नहुँदा वा मोबाइल फोनसँग केही समय छुटिनु पर्दा छट्पटी हुने आत्तिने र चिन्तित हुने गर्दछन् जसलाई मनोविद तथा मनोचिकिसकहरुले नोमोफोबिया नामाकरन गरेका छन्।
अतः लकडाउनको समयमा मोबाइल र प्रविधिको अनावश्यक र अनुचित अत्याधिक प्रयोग सँगसँगै एक्लोपनलाई पनि बढाएको छ।
हावर्ड विश्व बिधालय मनोविज्ञान विभागका प्राध्यापक म्याथु नकका अनुसार कोरोना महामारीले चिन्ता, मानसिक स्वास्थ्यसँगै एक्लोपनालाई पनि बढाएको छ। जुन आत्महत्या बढाउने कारक बनेको छ। यो आपतको समयमा हामीले नजिकका आफन्त, इस्टमित्र र साथीहरूसँग भेटेर आत्मियता र प्रेम प्रकट गर्न पाएका छैनौँ, निश्चय नै यसले एक्लोपनलाई थप बढवा दिएको छ।
त्यसैले त हामीले यो समयमा शारीरिक सँगसँगै मानसिक स्वास्थ्यलाई ख्याल गर्नु आवश्यक परेको हो। अमेरिकी मनोचिकित्सक मारियाना गुड्म्यानका अनुसार वास्तविक संकटको समयमा मानसिक समस्या सुरुआत हुन्छ र यसको दीर्घकालीन आर्थिक प्रभाव र भविष्यको अनिश्चितताले मानसिक समस्या र आत्महत्या थप बढाउने छ।
विश्व स्वास्थ्य संगठनका अनुसार गएको एक वर्षमा विश्वमा झन्डै आठ लाख व्यक्तिले आत्महत्याका कारण ज्यान गुमाएका थिए। र सन् २०३० सम्ममा १५ देखि २९ वर्ष उमेर समूहका व्यक्तिको प्रमुख कारण आत्महत्या हुनेछ।
नेपाल प्रहरीका अनुसार गएको आर्थिक वर्षमा नेपालमा ५ हजार ७१४ जनाले आत्महत्याका कारण ज्यान गुमाएका थिए। तथ्यांकमा आधारित हुँदा यो लकडाउनको समयमा नेपालमा २०% ले आत्महत्या बढेको छ। लकडाउन सुरु भएको पहिलो एक महिनामा ४८७ जनाले आत्महत्याका कारण ज्यान गुमाएका छन्।
फेरि अब्राहम मास्लोको सिद्धान्तलाई फर्केर हेर्दा र वर्तमान, विद्यमान संकटको विश्लेषण गर्दा, यो महाव्याधिको संकटको घडीमा निम्न वर्गीय परिवारमा त मास्लोले भनेको पहिलो आवश्यकताको नै परिपूर्ति भएको छैन।
अनि मध्यम वर्गीय र उच्च वर्गीय परिवारमा दोस्रो र तेस्रो आवश्यकता सुरक्षित जीवनयापन गर्न पाइदैन कि भन्ने भय, गुम्दो रोजगारी, व्यापार व्यवसायमा व्यहोर्नुपरेको घाटा तथा भविष्य प्रतिको अनिश्चितता र पारिवारिक, सामाजिक जीवनयापन गर्न नपाउदाको छटपटाहटले स्वभाविक रुपमा तनाव, निराशा बढाएको छ। जसले गर्दा मानसिक समस्याहरु बढेका छन् र प्रकारन्तरमा आत्महत्याको कारक बनेका छन्।
हामीलाई के लाग्छ भने कसैले आत्महत्याको कुरा गरिराखेको छ भने उसले घुर्काउन वा धम्काउन गरेको होला। हाम्रो गल्ती नै त्यही भैदिन्छ। अरुको कुरालाई हामी आफ्नै तरिकाले बुझ्छौँ। आत्महत्या गर्ने व्यक्तिले अरुलाई घुर्काउन वा धमक्याउन नभई सहयोगको याचनाको लागि आत्महत्याको कुरा गरिरहेको हुन्छ।
भलै त्यो कुरा रिसाउँदा, दुखी हुँदा वा सामान्य अवस्थामा भनेको हुनसक्छ। उसले आफू भित्रको पीडालाई जुनसुकै समयमा नि व्यक्त गर्न सक्दछ। विभिन्न अध्ययन तथा अनुसन्धानका आधारमा आत्महत्या गर्ने व्यक्तिले आफूले आत्महत्या गर्ने सोचका बारेमा कतै न कतै, कसै न कसैलाई भनेको हुन्छ। धेरैजसो आत्महत्या आवेग वा उत्तेजनामा नभएर योजनावद्ध तरिकाले गरिएका हुन्छन्।
मानसिक रोग तथा आत्महत्या अगाडि धेरै संकेतहरु प्रस्तुत भएका हुन सक्छन्। जस्तैः
- बारम्बार निराशापन
- एक्लोपन
- छट्पटाहट र फन्दामा परेको महशुस गर्नु
- लागू औषध र मादक पदार्थको सेवन बढ्नु
- निन्द्रामा गड्बढी
- भावनात्मक उतारचढाव/चाँडो रिसाउनु/झर्किनु
- आत्महत्याको सोच व्यवहार र प्रयास गर्नु
- हेलचेक्राइपूर्ण व्यवहार देखाउनु
- आफ्ना निजी र महत्वपूर्ण समान अरुलाई बाड्नु।
मानसिक समस्याको समाधान र आत्महत्या रोकथाम सम्भव छ। यसको लागिः
- परिवार तथा नजिकका साथीहरुको सकरात्मक र रचनात्मक सहयोग र व्यवहार अपेक्षित हुन्छ।
- हरेक परिस्थितिलाई स्विकार गर्ने।
- आफूलाई मन पर्ने लेख रचना लेख्ने।
- सकारात्मक प्रेरणा दिने पुस्तकहरुको अध्यन गर्ने।
- नियमित व्यायाम, योग, प्रणायाम तथा ध्यान गर्ने।
- आफ्नो नियमित दैनिकी बनाउने र ७/८ घण्टा सुत्ने समयलाई समावेश गर्ने।
- धेरै अनावश्यक सूचना नलिने र आवश्यक सूचना तथा सम्पर्क निश्चित समयको लागि मोबाइल तथा प्रविधिको उपयोग गर्ने।
- कसैले आत्महत्याको सोच व्यवहार र प्रयास गरेको छ भने गम्भीरतापूर्वक लिने।
अन्ततः यो कहालीलाग्दो महाव्याधिले ल्याएको महासंकटको अन्त्य निश्चित छ। पक्कै पनि हाम्रो व्यक्तिगत जीवनमा योभन्दा अगाडि धेरै आरोह अवरोह आएका थिए होला जसलाई स्वीकार्दै सामना र समाधान गर्दै हाम्रो जीवन अगाडि बढेको हुन्छ।
यो विपदको घडीमा सकारात्मक सोचका साथ आफ्नो शारीरिक तथा मानसिक स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ र त्रसित नबनी सचेततापूर्वक सामना गर्न सक्नु आजको अपरिहार्य आवश्यकता हो।
(लेखक मनोपरामर्शदाता हुन्।)