विश्वमा महामारीको रूपमा फैलिरहेको कोरोना संक्रमणको असर दिनानुदिन फैलिरहेको छ। नेपालमा समेत संक्रमितको संख्या दिनँहु बढिरहेको छ।
देशमा परीक्षणको दायरा कम हुँदा संक्रमितको संख्या केही न्यून देखिएता पनि परीक्षणको दायरा बढाउँदा संक्रमितको संख्या ह्वातै बढ्ने निश्चित प्राय: छ। यसर्थ समाजमा कोरोना संक्रमण भुसको आगो सरी फैलिरहेको त छैन, समय समयमा मनमा शंका उपशंका उब्जिरहेको छ।
पछिल्लो समय प्रत्येक दिन संक्रमितको संख्या दिनानुदिन बढिरहेको देख्दा कतै मेरो देश पनि इटली, स्पेन अमेरिकाकै हालतमा पुग्ने त हैन भन्ने डर पैदा भएको छ।
नेपाल सरकारले कोरोना संक्रमण समाजमा फैलिन नदिन देश बन्दाबन्दी गरेको दुई महिना भन्दा अधिक भैसकेको छ। यसै बीचमा नेपाली जनताको नाममा प्रधानमन्त्रीको सम्बोधन तीन पटक भएको छ तर प्रत्येक पटक विभिन्न आश्वासन र सपना बाँड्ने बाहेक अरु केही उपलब्धि छैन।
दैनिक ज्याला मजदूरी गरेर बिहान बेलुकाको छाक टार्नेहरू जसलाई कोरोनाको प्रभावले हात मुख जोर्न समस्या भएको छ। उनीहरूलाई सम्बोधन गर्ने खालका कुनै पनि नीति तथा कार्यक्रम हालसम्म आउन सकेका छैनन्।
अहिलेको बन्दाबन्दीको प्रत्यक्ष असर दैनिक ज्यालादारी तथा मजदूरी गरेर जीविकोपार्जन गर्नेमा अधिक मात्रामा परिरहेको छ।
वर्तमान समयमा लामो बन्दाबन्दीले व्यवसाय तथा उद्योग कलकारखाना ठप्प छन्। धेरै जसोले कर्मचारी कटौती गरेका छन्। कर्मचारी कटौती नगर्नेले पनि कर्मचारीलाई पूर्ण रूपमा तलब तथा सेवा सुविधा भुक्तानी गर्न सकेका छैनन्।
यसबाट नागरिकलाई दैनिक गुजारा चलाउन हम्मे परिरहेको छ। यसले गर्दा मानिसमा नैराश्यताको विकास हुने, सरकारप्रति वितृष्णा जागृत भई नकारात्मक भावनाको विकास हुने र समाजमा नकारात्मक कार्य हुनेतर्फ जोखिम उच्च रहेको छ।
मानिस लामो समयदेखि बेरोजगार भैरहेका छन्। गाउँ घरमा खेतीपातीको समय छ। आफ्नो पहुँच हुनेहरू त आ-आफ्ना ठाउँमा पुगिसकेका छन्। तर आफ्नो पहुँच र चिनजान नहुनेहरू जहाँको तहीँ भएका छन्।
मानिसले आफ्ना आवश्यकता पूर्ति गर्न सकेका छैैनन्। खेतीपातीको समयमा समेत आफ्नो कार्य गर्न नसक्दा उब्जनीमा कमी आउने र आगामी दिनमा खाद्य संकट भै भोकमारीको समस्या बढ्न सक्ने देखिन्छ।
कोरोनाको प्रभाव विशेषगरी बालबच्चामा एकदमै धेरै परेको छ। परिवारका सदस्य कामविहीन हुँदा दैनिक जीवनयापनमै समस्या भैरहेको अवस्थामा बच्चाले पोषणयुक्त खाना खान नपाउने र यसले गर्दा बच्चामा कुपोषणको समस्या देखिन सक्छ।
बच्चाको शारीरिक तथा मानसिक विकासमा समस्या देखिन सक्छ। यसतर्फ समेत ध्यान दिई बाल स्वास्थ्य तथा मातृ स्वास्थ्यमा समेत सम्बन्धित निकायले सहयोग तथा राहत दिएमा लक्षित वर्ग लाभान्वित हुने थिए।
प्रधानमन्त्रीले केही समयअघि देशवासीको नाममा सम्बोधन गर्दै अशक्तलाई राहत दिने र काम गर्न सक्ने उमेरकालाई रोजगार दिने घोषणा गर्नु भएको छ। रोजगारी दिने भन्ने कुरा आजको भोलि कार्यान्वयनमा आउने कुरा हैन। तर मानिसको दैनिक जीवनयापन अहिले नै कष्टपद भैसकेको छ। यो बन्दाबन्दी कहिलेसम्म लम्बिने हो कुुनै टुंगो छैन।
घरमा छाक टार्ने समस्या भएर बिहान बेलुका के खाऔं भन्ने अवस्थामा रहेका नागरिकलाई सरकारले रोेजगारी दिने त्यसबाट सिर्जित आम्दानीले छाक टार्ने भन्ने कुरा कति सम्भव छ सम्बन्धित निकायले बुझ्न जरुरी छ।
अहिलेको समस्या समाधन गर्न रोजगारी दिने सपना देखाइनु कतै नागरिकलाई सरकारले राहत सहयोग नै नदिन कुनै बहाना बाजी गरेको त हैन भन्ने आभाष हुन्छ।
समाजमा यस्तै स्थिति अझ केही समय रहिरहने हो भने कोरोना संक्रमणबाट पीडित तथा मृत्यु हुनेको संख्या भन्दा भोकमारीले मृत्यु हुनेको संख्या बढी हुन सक्छ। कोरोना कै कारण रोजगारी गुमाएका नागरिकहरूमा सरकारले सहयोग तथा राहत नदिँदा नैराश्यता वृद्धि भई आत्महत्याको शृखंला वृद्धि हुने सम्भावना समेत उत्तिकै रहन्छ।
यस्तै, मानिसहरू विभिन्न मानसिक रोगको सिकार हुने र डिप्रेसनमा पर्न सक्ने समस्या समेत हुन्छ।
देशको लागि आफूले सक्दा पूर्ण रूपमा योगदान गरेका नागरिकको रक्षा गर्नु र नेपालको संविधानले नै प्रत्येक नागरिकको गाँस, बास र कपासको सुनिश्चितता गरिनु पर्छ भनेको अवस्थामा कुनै नागरिकले भोकमरीको कारण ज्यान गुमाउनुपर्ने अवस्था आयो भनेमा त्यो जतिको लज्जास्पद र लाजमर्दाे अवस्था के हुन सक्ला?
अहिले त दैनिक जीवनयापनको समस्या न्यून आय भएका र दैनिक मजदूरी गर्नेमा मात्र अधिक मात्रामा रहेको छ। यदि यही अवस्था रहिरहने हो भन्ने मध्यम वर्गीय मानिसहरूमा समेत भोकमारी देखिन सक्छ।
अहिलेको अवस्थामा को-कसलाई राहत तथा सहयोगको आवश्यकता छ, निष्पक्ष अध्ययन हुनु र लक्षित वर्गमा आवश्यक सहयोग तथा राहत पुर्याइनु नै उत्तम कार्य हो। सरकारले आवश्यक कदम चालेर पीडित वर्गको सम्बोधन गर्नु नै आजको आवश्यकता हो।