अझै सम्झना छ मलाई पहिलो पटक महिनावारी भएको क्षण। आठ कक्षामा पढ्थें म।
महिनावारी भएपछि घरका कोही पुरूष सदस्यले हेर्न हुन्न भन्ने मान्यता अनुरूप मलाई फुपूको घरमा लगेर राखियो। फुपूको घरमा सिरान्को तल्लामा एक्लो कोठा थियो जुन उहाँको स्टोरको रूपमा प्रयोग भैआएको थियो,मलाई त्यही बस्ने बन्दोबस्त मिलाइयो। भुइँमा एउटा गुन्द्री त्यसमाथि पुरानो तन्ना। झ्यालढोका ढ्याम्म लगाएर अँध्यारो पारिएको।
म त्यसरी पहिलोपटक एक्लै सुत्दै थिएँ। स्यानिटरी प्याड त परको कुरा फुपूले आफूले पुरानो फाल्न राखेको धोती च्यातेर 'ल यही लगा' भनेर दिनुभयो।
अनी कोठाभित्र अलग्गै बस्नु र कतै नछुनु भन्नुभएको थियो।
खाना-खाजा कोठा मै ल्याइदिनुहुन्थ्यो। ५ दिनसम्म स्कुल जान पाइएन। स्कुलमा त्यसरी लामो समयसम्म गयल भएको शायद त्यही पहिलोपटक थियो।
स्कुलमा साथीहरूले किन नआएको भनेर सोद्धा लाजले भुतुक्क भएको आजैजस्तो लाग्छ।
तर त्यो के लाज मान्नुपर्ने कुरा थियो?प्रकृतिले किशोरअवस्था सुरू भएको जनाउ दिएको थियो। मलाई त्यतिबेला महिनावारी के हो भन्दा पनि के गर्नुहुन्छ?, के गर्नुहुन्न? भन्ने कुरा धेरै सिकाइयो। महिनावारीलाई 'नछुने' को संज्ञा दिइने कुरा सिकाइयो।
बुवा,दाजुभाइलाई छुन नहुने सिकाइयो, भान्सामा छिर्न नहुने सिकाइयो ,मठ मन्दिर जान नहुने सिकाइयो, कुनै चाड पर्वमा सहभागी नहुन सिकाइयो। तर महिनावारी भएपछि आउने शारीरिक र मानसिक परिवर्तनको बारेमा सिकाइएन।
महिनावारी हुँदा बेला गर्नुपर्ने सरसफाइको कुरा सिकाइएन, महिनावारी हुँदाखेरी हुने पीडालाई कम गर्ने तरिका सिकाइएन। स्कुल जाँदा कसरी आफ्नो सरसफाइ गर्ने कुरा सिकाइएन। भन्नको लागि एक्कासौं सताब्दीमा जन्मिएको, सहरमा हुर्किएको तर मेरो लागि मासिक धर्म कुनै छाउगोठभन्दा कम थिएन। स्कुलमा पनि वातावरण जनसंख्या र स्वास्थ्य पढाउने शिक्षक पुरूष हुनुहुन्थ्यो,शायद यस विषयमा उहाँले पनि त्यति खुलेर बुझाउन सक्नुभएको रहेनछ भनेर अहिले बुझ्दैछु।
महिनावारीलाई अझै पनि लाजको विषयमा सीमित राख्नुले अहिले पनि मेरा बहिनीहरू महिनावारी हुँदा आफ्नो दाजुभाइसामु बस्न अप्ठ्यारो मान्छन्।
के कुनै पुरूषलाई अनुहारनै ढाकिने गरी दाह्रीजुंगा आउँदा लाज भएको छ? वा कसैले दाह्रीजुंगा आयो भनेर उहाँहरूलाई छुट्टै कोठामा राखिएको छ? किनकी त्यो दाह्रीजुंगा आउनु पनि केटाहरू किशोरअवस्थामा प्रवेश गरेको जानकारी हो। हैन भने एउटै परिवारभित्र यस्तो भेदभाव किन? हामी निकै फूर्ति लगाउँछौं, आफूलाई प्रगतिशील भन्नमा गर्व गर्छौं।
छोरा- छोरी समान हो भनेर छोरीहरूको शिक्षालाई प्राथमिकता दिएका छौं उनीहरूलाई पनि आत्मनिर्भर बनाउन प्रयासरत छौं। तर पनि उनीहरूको सम्मानमा ठेस पुर्याइरहेका छौं।
शारीरिक पीडा त छँदैछ मानसिक रूपले पनि मासिक धर्मका बेला हामी आफ्नै परिवारका सदस्यबाट अपहेलित महशुस गरिरहेका हुन्छौं। भान्सा कोठामा छिर्न नहुने,धर्मको नाममा अनेकौ त्रास र तनाव पनि सिर्जना गराइन्छ। यहाँसम्म कि कुनै फलको बोट छोएमा त्यसमा फल नलाग्ने जस्ता अन्धविश्वास पनि हाम्रै घरभित्र विद्यमान छन्।
आफूलाई प्रगतिशील भन्न मन पराउने मेरो काका वर्षौंदेखि आइएनजिओमा सुदूरपश्चिममा छाउप्रथा उन्मूलनमा संलग्न हुनुहुन्छ।
यद्यपी उहाँले आफ्नो घरभित्रको छाउ उन्मूलन गर्न सक्नुभएको छैन। हामी अझै पनि चाहेर या नचाहेर महिलामाथि दुर्व्यवहार गरिरहेका छौं। चाहे त्यो पुरूषबाट गरिएको होस् या महिलाले महिलामाथि नै गरिएको किन नहोस्। महिनावारी जसलाई 'नछुने' को नामले चिनिन्छ यसको ज्वलन्त उदाहरण हो।
सरसफाइ र प्रजनन स्वास्थ्य शिक्षामा जोड दिनुपर्नेमा हामी त्यसलाई लाज, चलिआएको चलन र धर्मको नाममा प्रोत्साहन गरिरहेका छौं। के यो सोच परिवर्तन गर्ने बेला भएन र ?