पत्र-पत्रिकामा छापिएको विवाहको विज्ञापन बडो चाख लाग्दो हुन्छ। विज्ञापनमा खुलाइएको हुन्छ :
क) डिभि/पिआर भएको, विदेशमा राम्रो कमाइ गर्ने युवा/युवतीलाई फलाना जातकी केटी/केटा चाहियो।
ख) सरकारी जागिर भएको वा डाक्टर युवक/युवतीलाई ढिस्कानो जातको केटा/केटी चाहियो।
कुनै कुनै विज्ञापन त यस्तो हुन्छ कि जीवनसाथी खोजेको हो कि कर्मचारी माग गरेको हो, छुट्याउनै मुश्किल हुन्छ। विज्ञापन गरेर विवाह गर्न चाहनेहरूको पढाइ र आर्थिक हैसियत राम्रै देखिन्छ प्राय:। शिक्षितहरूमा पनि जातको मोह कस्तो हुन्छ भनेर देखाउन यहाँ विज्ञापनको कुरा उठइएको हो। त्यो शिक्षित युवा चाहे विदेशमै बसोस्, जात पनि सँगै लिएरै जान चाहन्छ। सरकारी जागिरे वा समाजले प्रतिष्ठित ठानेको पेशा गर्ने नै किन नहोस्, आफ्नै जातकै वरवधु चाहिन्छ। जात यति जब्बर छ!
हाम्रो देश कृषिप्रधान भएजस्तै हाम्रो समाज जातप्रधान छ। जो जति ‘ठूलो जात’ को छ सामाजिक हैसियत उति नै उचो र जो जति ‘सानो जात’ छ सामाजिक हैसियत त्यति नै कमजोर हुन्छ। एउटै समाजमा बस्ने डोमको हैसियत र कथित माथिल्लो जातको हैसियत कस्तो हुन्छ भन्ने कुरा त्यही गएर बुझ्दा थाहा भइहाल्छ।
जात प्रधान समाजका शिक्षितहरूको मनोविज्ञान पनि जात प्रधान नै देखिन्छ किनभने हाम्रो शिक्षाले जातीय विभेदलाई सम्बोधन गर्नै सकेन।
त्यसैले हाम्रा विद्यालय र विश्वविद्यालयबाट शैक्षिक प्रमाणपत्र लिएका चाहे पत्रकार होऊन् वा शिक्षक, कर्मचारी, प्रहरी, नेता, समाजसेवी जो सुकै होऊन्, जातीय विभेदको मानसिकताबाट मुक्त छैनन्।
मौका मिले जातीय विभेद जहाँ पनि गर्न उनीहरू तम्सिहाल्छन्।
तर यही शिक्षित समूहभित्र पनि थोरै मान्छेहरू अत्यन्तै अग्रगामी सोच भएका पनि छन् जो जातीय विभेदको मुद्दामा निकै संवेदनशील छन्। उनीहरू जहाँ पनि विभेदविरूद्ध आवाज उठाउँछन्। तर उनीहरूलाई त्यो चेतना हाम्रो शिक्षा प्रणालीले दिएको चाहिँ होइन।
हाम्रो शिक्षा प्रणालीले सधैं ढाकछोप गर्न खोजेको विभेदका काला कर्तुतहरूलाई आफैं खोज गरेर, वर्णवादी समाजको चरित्र र जात व्यवस्थाको व्यर्थता आफैंले बोध गरेर उनीहरूले आवाज उठाइरहेका हुन्।
जात व्यवस्थाको व्यर्थताको बोध अरुलाई पनि गराउन उनीहरू जातको कुरा गरिरहेका हुन्छन्। वास्तवमा उनीहरू हाँडीबाट उछिट्टिएका मकैजस्तै अलि भिन्न छन्। उनीहरू सम्मान गर्न लायक छन्।
तर म यहाँ हाँडीभित्रकै मकैहरूको मात्रै कुरा गर्न खोजी रहेको छु। उनीहरू आफूलाई पढेलेखेकै ठान्छन्। छन् पनि। सामाजिक सञ्जालमा उपदेशहरू पनि बाँड्छन्।
समाजमा आफ्नो उपस्थिति राम्रै देखियोस् भन्ने पनि चाहन्छन्। न्यायको पक्षमा छु जस्तो पनि देखाउन खोज्छन् तर जातीय विभेद छ भन्ने कुरा स्वीकार्नै चाहँदैनन्। आफू जातीय उच्चताबोधले दृष्टि गुमाएका छन् तर कसैले दलित र उत्पीडितको कुरा गर्यो कि जातिवादी भएको आरोप लगाउँछन्। यिनीहरू जात प्रधान समाजका प्रतिनिधि पात्रहरू हुन्।
यो समूहले सामाजिक न्याय कुन चराको नाम हो जान्दैन। उसले इतिहासमा भएका उत्पीडनबारे बुझ्दैन। अलि अध्ययन गरेर बहस गरौं न भन्दा पढ्न अल्छी मान्छ। वरिपरि जे देखिन्छ त्यसको आधारमा धारणा बनाउँछ। जरोसम्म पुग्दैन। गरिब दलितलाई नपढेको र आफ्नै बुद्धिले पछि परेको आरोप लगाउँछ। दलितलाई शिक्षा, सम्पत्ति, राजनीति, समाज सबै क्षेत्रबाट पाखा पारिएको इतिहास कसैले नखोतलोस् भन्ने चाहन्छ।
दलितलाई पनि न्याय गरौं भन्यो भने आफ्नो केही गुम्ने हो कि भन्ने डरले पहिले नै जोगिने बाटो खोज्छ र सधैं भन्छ, ‘भो, जातको कुरा चाहिँ नगरौं’।
यो झुण्डले अब्राहम लिंकनलाई स्कुल वा क्याम्पसको किताबमा पढेको आधारमा हिरो मान्छ। तर आफ्नै देशभित्र दास दासी बेचिन्थे भन्ने थाहा पाउँदैन र ती दासदासीका सन्तति अहिले कुन गरिबीमा बाँचिरहेका छन्, त्यसको भेउ पाउँदैन।
नेल्सन मण्डेलालाई पनि मुक्तिको नायक मान्छ तर देशभित्रै मुक्तिका लागि लड्नेहरूलाई देखि सहँदैन। सुकरातलाई सत्य बोल्दा विष पिलाइएको थियो भन्ने कुरा पढ्दा चित्त दुखाउँछ। तर आफ्नै देशमा सत्य बोल्नेहरूको जीब्रो थुतुँलाझैं गर्छ।
माइकल ज्याक्सनको गीत संगीतको प्रशंसा गर्छ तर आफ्नै देशका गन्धर्व र वादीलाई घृणा गर्छ। यो झुण्ड एकदमै दोहोरो चरित्रको छ।
यसले तिलस्मी कथाहरू पढेको र सुनेको छ। एकलब्यलाई शूद्र भएकै कारण ज्ञान दिन इन्कार गर्ने द्रोणाचार्यले पछि एकलब्यलाई औंला काट्न लगाएको कथालाई गुरुभक्तिको अद्धितीय उदाहरण भनेर बुझेको छ। जात विभाजन गर्ने वर्ण व्यवस्थालाई श्रम विभाजनको उच्चतम् प्रयोग भनेर सुनेको छ।
‘बुद्ध वाज बर्न इन नेपाल’ भनेर कुर्लिन्छ तर बुद्ध जात व्यवस्था विरूद्धका नायक थिए भन्ने थाहा पाउँदैन। पृथ्वी नारायण शाहलाई सम्झन्छ, बिसे नगर्चीलाई बिर्सन्छ।
यसले कानुन/व्यवस्था बुझेको छु भन्ने धक्कु लाउन खोज्छ। तर मनुस्मृतिको कानून यसलाई थाहा छैन। जयस्थिति मल्लको न्यायले समाजलाई कहाँ पुर्यायो भन्ने देख्दैन। मुलुकी ऐन १९१० ले मान्छेहरू कसरी कोही अगाडि र कोही पछाडि परे बुझ्दैन।
राज्य व्यवस्था र जात व्यवस्थाले कोही किन भूमिपति र भूमिहीन भए भन्ने जान्दैन। राजनीति पनि जानेकै छु भन्छ तर मार्क्सवाद र मनुवादको भेउ पाउँदैन।
उसले विद्यालय र विश्व विद्यालय पढ्यो तर समाज पढ्नै जानेन। उसको शैक्षिक प्रमाणपत्रले उसलाई अहंकारी मात्रै बनायो, विनयशील बनाएन।
उसलाई अहिले समाजमा के नमिले के नमिलेजस्तो लाग्छ। हिजोको सामाजिक सद्भाव एकाएक खल्बलिए जस्तो लाग्छ। उत्पीडित समुदायका पढेलेखेका पुस्ताले विभेदविरूद्ध प्रश्न गर्दा उसको कन्सिरी तात्छ। पुर्खाहरू जस्तै यो ‘डुम’ किन चुप लागेर बस्न सक्दैन भनेर मनमनै गाली गर्दै आफ्नै थाप्लोमा हात राखेर सुस्केरा हाल्छ।
कहिले ‘दलित’ शब्द खारेज गर भन्छ। संविधानले सबैलाई समान बनाइसक्यो, किन चाहियो आरक्षण भन्छ। कहिले तैले छोएको खाएकै छु त, यति गुन लाउदा पनि पुगेन भन्छ। कहिले तिमीहरूभित्रको विभेद पहिला हटा अनि मात्रै म विभेद गर्दिनँ भनेर खोचे थाप्छ। कहिले धेरै शिक्षा, धन र पद पाइस् भने म तँलाई विभेद गर्दिनँ भनेर सर्त राख्छ।
हिजोसम्म मालिक भनेर जदौ गर्नेहरूले अहिले आएर औंला उठाउँदा रिस कम्ता त उठेको छैन। कहिले प्रत्यक्ष जातिवादी गाली गर्छ। दिल फुकाएर गाली गर्नुपर्यो भने सामाजिक सञ्जालमा ‘फेक एकाउण्ट’ बनाएर निर्धक्क गाली गर्छ र सञ्चो मान्छ।
भर्चुअल संसारमा (अर्ध)बौद्धिक (कु)तर्क राखेर हुलहुज्जत गर्दा बहादुरी देखाएको ठान्छ। त्यतिले पनि पुगेन भने पश्चिम रूकुमका नवराज विकहरूलाई मारेर भेरीमा बगाई दिन्छ र आफ्नो बदला पूरा भएको ठान्छ।
खासमा मान्छेलाई मान्छे मान्नै नसक्ने भएकोले उसलाई बिसञ्चो छ। कसैले इतिहासमा गरेको भूल सम्झाई दिएर उसलाई दोषी देखाउन खोज्छन्; कसैले वर्तमानको अर्घेल्याइँ देखाएर प्रतिगामी देखाउन खोज्छन्। ग्लानीभावले ऊ फतक्कै गलेको छ र सन्तुलन गुमाएर चिच्याउँछ, ‘जातको चाहिँ कुरा नगर’।
उसले छाती अलिकति ठूलो र दिमाग खुला राख्ने हो भने यसरी सन्तप्त हुनु पर्थेन। अन्यायलाई अन्याय हो भन्न सक्ने आँट र उत्पीडितको दु:खमा सहानुभूति राख्ने हृदय भयो भने ऊ पनि सुखी हुने थियो। तर उत्पीडितको उन्नतिमा आफ्नो अवन्नति देख्ने दृष्टिदोषले उसलाई हाँस्नै मन लागेको छैन। उसले याद राख्नु पर्छ- दमन गरेरै जित्छु भन्ने हो भने उसका सन्तान र उत्पीडितका सन्तानले एकअर्काविरूद्ध अविछिन्न संघर्ष गरिरहनु पर्नेछ।