यो आलेखलाई छ वटा अनिश्चित परिदृश्यहरूको साथ सुरू गरौं।
पहिलो, खोप एक वा दुई वर्षभित्र विकसित हुनेछ।
दोस्रो, खोपको चाँडै नै विकास हुन्छ तर नेपाली ‘जीन’ को विरूद्ध काम गर्ने छैन। तेस्रो, खोप चाँडै नै उपलब्ध हुनेछ तर भाइरसको ‘जीन’ मा उत्परिवर्तनका (म्युटेसन) कारण लामो समयसम्म काम गर्ने छैन
र चौथो, खोप चाँडै नै विकास हुनेछ तर स्रोतका कमी भएका देशका मानिसहरू खोप खरिद गर्न सक्षम हुने छैनन्।
पाँचौं स्थितिमा, विकसित खोपको सीमित प्रभावकारिता हुनेछ र अन्तमा, कोरोनाभाइरस विरूद्धको खोप कहिले पनि आविष्कार हुने छैन।
सबै छ वटै परिस्थितिमा, हामी ‘नयाँ तर सामान्य’ अवस्थामा बाँच्न सिक्नु पर्नेछ। हामीलाई कोरोनाभाइरसले पराजित गरोस् भन्ने चाहँदैनौं।
यहाँ आवश्यक के छ भने, नागरिकहरूले प्रभावकारी रोकथामका अभ्यास अवलम्बन गर्नुपर्दछ र गम्भीर कोरोना भाइरसका बिरामीको लागि राम्रो तयारी र अधिकतम स्वास्थ्य सेवा सुविधाको व्यवस्था गर्नुपर्दछ।
कोभिड-१९ महामारीको बीचमा ‘नयाँ तर सामान्य’ अवस्था आउनुभन्दा पहिले योजना विकास गर्ने मुख्य कार्य भनेको अपेक्षाकृत पूर्वानुमान योग्य के हो? र आधारभूत रूपमा अनिश्चित भविष्यमा के होइन? भनेर पहिचान गर्नु र मनन गर्नु हो। त्यसो गर्न, हामीले अनिश्चितता मनन गर्दै भविष्यवाणी गर्न सकिने स्थायी योजना तर्जुमा गर्न ढिलो गर्ने छुट अब हामीलाई छैन।
तर सबभन्दा नराम्रो परिदृश्यमा, जब हामीसँग कुनै पूर्वानुमान योग्य अवस्था रहँदैन, योजना बनाउँदा अवश्य अप्ठ्यारो हुनसक्छ।
यसबाहेक, हामीसँग भविष्यको लागि अहिले नै रणनीति बनाउनुबाहेक अरू विकल्प छैनन् किनकी कोरोनाले भविष्यमा कस्तो रूप लिन्छ हामीलाई थाहा छैन।
त्यसकारण, सरकारका तीन वटै तहले आपतकाल पछिको परिस्थितिलाई सम्बोधन गर्न योजना र रणनीति बनाउन अझै ढिलो भएको छैन।
सरकारले योजना तथा नीति बनाउने क्रममा जनतालाई अधिकतम सहभागी गराउनु पर्दछ ताकी ती कार्यक्रम लागू गर्न सहज होस्।
कोभिड-१९ को कारणले मानसिक स्वास्थ्य अवस्थालाई कसरी सम्बोधन गर्न सकिन्छ मनन गर्नु यस अर्थमा जरुरी छ कि यसले अनेक दीर्घकालीन मानसिक रोग तिम्त्याउने कुरा निश्चित छ।
कोरोना भाइरसको प्रकोपको कारणले गर्दा हाम्रो जीवनमा आएको दुर्भाग्यपूर्ण परिवर्तनले हामीलाई धेरै अवसर पनि प्रदान गरेको छ।
हामी पक्कै पनि भविष्यमा त्यस्तो महामारीको लागि राम्ररी तयार हुनेछौं।
हाम्रो दैनिक तालिका परिवर्तन भएको छ र हामी स्वस्थ रहन सरसफाइ र व्यवहारकाबारे बढी सचेत भयौं।
अर्थ व्यवस्थालाई फेरि गतिशील र जीवन्त बनाउनको लागि पूर्ण लकडाउन र क्लष्टर लकडाउनमा विभिन्न सरोकारवालाबीच बहस चल्यो, चल्छ र चलिरहन्छ।
यो निश्चित रूपमा सही हो कि दुबै अवस्थामा, हामी अप्रत्याशित व्यवहार गर्दैछौं र गर्नेछौं।
आफैंलाई ‘कम’ वा ‘बढी’आशावादी बनाउँदैछौं। कम आशावादीहरू लकडाउन जारी राख्नको पक्षमा छन् र अधिक आशावादीहरू भने क्लष्टर लकडाउनको पैरवी गर्दैछन्।
क्लष्टर गरिएको लकडाउन बारेमा भ्रम निवारण गर्न, यो धेरैजसो जोखिमयुक्त ठाउँहरूको क्लष्टरहरू पहिचान गर्ने र तिनीहरूलाई मात्र ‘सिल’ गर्ने सरल प्रक्रिया हो ताकी संक्रमणको फैलाइलाई सीमित गर्न सकियोस् र अन्य ठाउँ सामान्य रूपमा सुचारु हुन सकुन्।
यो महामारीले हाम्रो जीवनमा ठूलो संकट ल्याएको छ।
आफ्नो जीविकोपार्जनका लागि सेवा वा व्यवसायमा निर्भर व्यक्तिहरू लकडाउन यथाशिघ्र खुला भएको हेर्न चाहन्छन्। यो होइन कि, उनीहरू संक्रमण, स्वास्थ्य सेवा क्षमताको नियन्त्रण बाहिर फैलिएको हेर्न।
वर्तमान महामारीको कारणले आर्थिक रूपमा असर नपर्नेहरू बरु चुनौती चाहँदैनन् र पूर्ण लकडाउन केही समय रहोस् भन्ने चाहन्छन् किनकी यसलाई खुला गरिएमा यो रोग महामारीको रूपमा फैलिएला भनेर डराइरहेका छन्।
आजको अवस्थामा हामीलाई कोरोनाभाइरस रोगको बारेमा धेरै वैज्ञानिक तथ्यहरू थाहा भैसकेको छ र यसलाई सामना गर्न लगभग तयार नै छौं।
तसर्थ, हामी कोरोनाभाइरससँग आवश्यकताभन्दा बढी डराउनु पर्दैन तर संक्रमण रोकथामका उपायप्रति लापरवाह भने हुनु हुँदैन।
जबसम्म चिकित्सा विज्ञानले कोभिडको कारणले उत्पन्न समस्याको समाधान फेला पार्दैन, हामी मानसिक रूपमा तयार रहौं कि हामीले पूर्ण, आंशिक र क्लस्टरर्ड लकडाउन, संक्रमितको संख्यामा वृद्धि र पुन: लकडाउनको चक्रको सामना गर्नुपर्नेछ। यो चक्रसँग हामी परिचित हुनै पर्दछ।
यदि यही स्थिति एक वर्षसम्म जारी रह्यो भने के हुन्छ? यदि हामी ‘नयाँ तर सामान्य’ अवस्थाको लागि अहिले नै योजना बनाएनौं भने के हुन्छ? मनन योग्य छ।
यस्तो गाह्रो अवस्था किन आयो? भनेर धेरै सोच्न चाहन्नौं तर हामीसँग यसको सामना गर्नु बाहेक अन्य विकल्प भने छैनन्।
सरकारले कर घटाउने, व्यवसायीलाई ऋण उपलब्ध गराउने जस्ता राहतका विभिन्न प्याकेजहरू बनाइरहेको छ भन्ने सुनिन आएको छ।
बैंकिक क्षेत्रले ग्राहकलाई ब्याज घटाएर केही राहत प्रदान गर्दै छन् र किस्ता भुक्तानको अवधि बढाउँदै छन्। तर सीमित संशाधन भएको हाम्रो जस्तो देशको लागि यस्ता कार्यक्रमहरू कहिलेसम्म जारी राख्न सकिन्छ? त्यसकारण, विद्यमानको भन्दा पनि खराब अवस्थाको लागि तयारी गर्नु अझ महत्त्वपूर्ण हुन्छ।
आगामी कार्यदिशा
यो प्रस्ट छ कि, आउँदो दिनमा स्वास्थ्यसम्बन्धी उद्योगहरूको सम्भावना उज्वल देखिन्छ र यो निश्चित छ कि, निजी र सार्वजनिक क्षेत्र दुबैबाट बृहत्तर लगानी हुनेछ।
यो बेला औषधि उद्योग, राम्रा अस्पताल, सक्षम प्रयोगशाला, र अन्य धेरै सम्बन्धित कलकारखाना खोलिने अवस्था देखिन्छ।
भविष्यमा स्वास्थ्य सेवा क्षेत्रको गुणात्मक वृद्धि हुनेछ र यो क्षेत्र श्रम-सघन रहनुभन्दा कृत्रिम बुद्धिमतामा बढी निर्भर हुनेछ।
कृषि क्षेत्रलाई सरकारको बृहत्तर सहयोग आवश्यक छ र वितरण संजालमा बढी जोड दिइनुपर्दछ।
कृषि उत्पादनको राम्रो वितरण प्रणालीले यस क्षेत्रमा हाल विद्यमान निराशा रोक्न सक्छ।
आतिथ्य उद्योगहरूलाई पुनर्जीवित गर्न वित्तीय प्याकेजहरूको आवश्यकता छ। शैक्षिक क्षेत्रले महामारीअघि अनलाइन जान संघर्ष गरिरहेको थियो तर तत्काल त्यसको विकल्प अर्को देखिन्न।
निजी व्यवसायी तथा उद्यमी सरकारबाट राहतको लागि पैरवी गर्दैछन् तर अर्को तर्फ, उनीहरूले सकेसम्म श्रमिक कटौती भने नगर्नु पनि उनीहरूको नैतिक कर्तव्य हो। यसका साथसाथै निजी क्षेत्रको पुनरुत्थानका लागि विभिन्न राहत प्याकेज प्रदान गर्न सरकारले ढिला गर्नु हुँदैन किनकी उनीहरूले अभूतपूर्व आर्थिक क्षति भोगिसकेका छन्।
लगभग सेमेस्टर गुमाउनु पर्ने अवस्थाबाट गुज्रिरहेका विद्यार्थीमा ठूलो मानसिक दबाव देखिन्छ र लकडाउन पूर्णरूपले खुलेपछि रोजगार बजारमा पनि योग्य जनशक्तिको अभाव खट्किनेछ।
विदेश गएका कामदार फर्किने अवस्थाले गर्दा उनीहरूले आर्जन गरेको सीपको आधारमा दीगो योजना र कार्यक्रम ल्याइनुपर्दछ।
हाल सबभन्दा गाह्रो काम भनेको हाम्रो पर्यटन उद्योगलाई पुनर्जीवित गर्नु नै हो। अर्कोतर्फ यो महामारीले हाम्रा स्वास्थ्य संस्था सबल र सक्षम हुनेछन् भन्ने कुरामा आशावादी हौं।
केही समयका लागि हामीले संक्रमण बढ्ने सम्भावना भएका केही मनोरन्जनका गतिविधि निषेध गर्नुपर्दछ। अब लकडाउन खुकुलो भए पनि अझै केहि समय गाडी वा कोठा साझेदारी नगर्ने, ठूलो जमघट हुने सामूहिक कार्यक्रम केही समयको लागि स्थगित गर्ने र नयाँ ठाउँ भ्रमण गर्दा नातेदार वा साथी भएका ठाउँमा मात्र भ्रमण गरेमा फेरि अचानक लकडाउन भएमा आश्रय लिन सकियोस्।
रेस्टुरेन्टहरूमा केही समय सिट पाउन गाह्रो होला तर परिकार घर लैजान जोड गर्नुपर्ला। सामूहिक खेलकुदका प्रतियोगिता र सिनेमाघर तथा नाचघरमा गरिने मनोरञ्जन अझै लामो समय पाउन सकिन्न।
अन्तमा, अहिलेको समयको माग भनेको कोरोना कहर र यसपछिको सामना गर्ने अल्पकालीन तथा दीर्घकालीन योजना बनाउनु नै हो।
(लोहनी नोबेल कलेजका प्राध्यापक, संचालक तथा प्राज्ञिक निर्देशक हुन्।)