एउटै घर र उस्तै सेरोफेरोको दैनिकीमा एक दिन, दुई दिन गर्दागर्दै पचासौँ दिन पनि काटि सकिएछ। मनभित्र उकुसमुकुसका डङ्गुर नै थुप्रि बसेको छ। तर हाम्रा यी तमाम उकुसमुकुस केही क्षणलाई पन्छाइदिने हो भने केही मिठा सम्झनाका पत्रहरु पनि उघ्रिएर आउने रहेछन्।
चन्द्रागिरीतिरबाट गाउँदै उडेको सुरमा क-कसको छानोसम्मै पुगिदिने कोइली चरी। एकछिन थकाइ नमारी किम्बु र आल्चाको बोटमा फुत्रुकफुत्रुक मात्रै गरिबस्ने गौँथलीहरु अनि रात छिप्पिँदै गएपछि एकआपसमा रौसिन थाल्ने जुनकिरीहरु। के छैनन् र तपाई हाम्रा सम्झनाहरु यी कोइली, गौँथली र जुनकिरीहरुसँग गाँसिएका?
काठमाडौँ छिरे यता मैले न कहिल्यै कोइली गाएको सुनेँ न जुनकिरीहरुको धिपिक्-धिपिक देखेँ। आक्कल-झुक्कल देखेँ केही गौँथलीहरु। केटाकेटी हुँदा निधारमा टाँसेर हिँड्ने सुनटिकी त गाउँ छोडेदेखि कतै कहिल्यै देखेको छैन। बगरतिर हुने एउटा लहरामा छपक्कै बसेका हुन्थे सुनटिकीहरु।
स्कूल जाँदा एकफेर र स्कूलबाट फर्किदाँ अर्कोफेर हामी सुनटिकी निधारमा टाँस्थ्यौँ। ठिक्कको पहेलो रङका सुनटिकीहरु साह्रै राम्रा। आनन्दले बसिराखेको उनीहरुलाई बिना कसुर हामीले टपक्कै टिपेर टिका बनाइ लगाउँदा पनि हानीघोची केही नगर्ने। मलाई सुनटिकीले टोकेको सम्झना छैन। बरु सुनटिकी लगाएर आमाहरुको बजारिया टिकीलाई टक्कर दिएको मात्रै सम्झन्छु।
त्यो सानो, चिटिक्कको, हल्का पहेलो रङको जीवको नाम सुनटिकी नै होला त? कि हामी केटाकेटीले सुनझैँ पहेलो देखिने र टलक्क टल्किने भएकोले मात्रै सुनटिकी नाम राखिदिएका थियौँ? मलाई थाहा छैन। यसको वैज्ञानिक नाम के होला त्यो पनि मलाई थाहा भएन। तर त्यस्तो सोझोसिधा जीव यत्तिका वर्षसम्म पनि कहीँ कतै नदेख्दा म घरीघरी सोच्छु, कता हरायो सुनटिकी?
किन हरायो सुनटिकी? के पर्यावरणीय सन्तुलन र स्वच्छता कायम राख्नमा त्यो सानो जीवको रत्तिभर भूमिका थिएन त? बाघ हरायो, हात्ती हरायो भने कमसेकम कुरा त चल्छ। मेरो सुनटिकी हरायो। कसले खोजीनीति गरिदिने?
बिहान दिउँसो पाउन्जेल सुनटिकीसँग खेल्ने। रातपरेपछि जुनकिरीहरुसँग जिस्किने। तर अचेल मेरो भेट न सुनटिकीसँग हुन्छ न जुनकिरीहरुसँग।
म अस्ति बारी खन्न निस्किएको थिएँ। त्यो दिनचाहिँ अचम्मै भयो। दिनभरी घरी मोबाइल घरी किताबमै मात्र गाढेको आँखा मकै गोड्दा केही शीतल भइजाला कि? भनेर त्यस साँझ छिमेकीको कोदालो मागीवरि बारीमा निस्केको थिएँ। सहर पसेर बिग्रेको ज्यान।
घरीको घरी थकाइ मार्दै खन्दैथिएँ झमक्कै साँझ परिगएछ। बल्लतल्ल एक चोक्टा बारी खनेर यस्सो एकछिन सुस्ताउँछु भन्छु त वरिपरि झिलीमिली छ। सहरीया बत्तीको आँखा खाने झिलीमली होइन नि, आँखा हुँदै मनसम्मै शितल तुल्याउने जुनकिरीको झिलिमली।
म अहिले बसिरहेको घर पछिल्तिर चार रोपनी अलि नपुग खाली जग्गा छ। दिउँसोभरी छिमेकीहरु गाईभैँसीलाई घाँस काट्न आउँछन्। पोहोरसालसम्म त यो जग्गा कहाँ यसरी खाली थियो र?
उदयपुरतिरका एक जना दाइले भाडामा लिएर नर्सरी चलाएका थिए। पछि बसाई सरेर जाँदा उनले दुई बोट किम्बु, एउटा बोट आल्चा र केही निँगालोका बिरुवाहरु लैजान छुटाएछन्। अहिले हलक्कै बढेर चराचुरुङ्गीलाई घर भएको छ। सायद उनले कमल पनि फुलाएका थिए क्यार। दुई चारवटा स-साना पोखरी पनि पानी कम र घाँस ज्यादा भरिएर बसेको छ।
मैले मकै गोडेको यही जग्गाको एक कुनामा हो है। अँ म जुनकिरीको झिल्-मिलको कुरा गर्दै थिएँ।
मैले कति सालपछि देखेँ जुनकिरी? म त एकछिन अक्न न बक्क भएँ। अनि तत्कालै सम्हालिएर जुनकिरीहरुसँगसँगै यताउती गर्न थालेँ। फटाफट उनीहरुको फोटो खिच्न थालेँ। मानौँ त्यो एउटा सपना थियो र मैले देखिराखेको जुनकिरीहरु एकैछिनमा गायब भइजाने छन्।
त्यसदिन जुनकिरीहरु देखेर मेरा आँखाहरु साँच्चै शीतल भए। म त्यो चउरमा जुनकिरीहरुसँग यताउती गर्दागर्दै जिर्गाहा पुगेँ। मेरो गाउँ पुगेँ जहाँ म सानो छँदा खुब खेल्थेँ तिनीहरुसित। निष्पट्ट अँध्यारोमा आँगनछेउ निस्केर हेर्दा जिर्गाहा खोलाले गाएको गीतमा जुनकिरीहरुले नाचिदिएजस्तै लाग्थ्यो मलाई।
कतिले कति गीत लेखे होलान् हगि? त्यही जुनकिरीको धीपधीपमा हराएर। कतिले कति कविता कथा रचे होलान्, त्यही जुनकिरीको धीपधीपमा हराएर। हुन पनि जुनकिरी एउटा जीवमात्रै कहाँ हो र? मलाई त लाग्छ जुनकिरी एउटा प्रेरणा पनि हो।
यत्तिका वर्षसम्म जुनकिरी देख्नै नपाए पनि म घरीघरी यो एक जादुयी र अत्यन्त्यै सुन्दर जीव बारे गुगल गरी हेर्थेँ।
'ह्वाइ फायरफ्लाइज आर डिसअपियरिङ?'
अनुसन्धानहरुले ठहर गरेका हुन्थे:
१. उनीहरुको बासस्थान नाश भएको छ।
२. बढ्दो कृतिम प्रकाशले उनीहरुलाई आफ्नो पुस्ता अगाडि बढाउन गाह्रो पारेको छ। यो कृतिम प्रकाशमा उनीहरुलाई समागमका लागि जोडी खोज्न गाह्रो परिरहेको छ। आहारा कसरी खोज्ने त्यसका लागि पनि आपतै छ।
३. किटनाशक विषादीको बढ्दो प्रयोगले उनीहरुलाई फुल पार्न र बच्चा हुर्काउनै हम्मेहम्मे छ।
हामीले कसरी देख्ने जुनकिरी जब हामीले नै ठूलाठूला भवन र उद्योग कलकारखानाहरु बनाएर उनीहरुको घरसंसार भत्काइरहेका छौँ भने अनेकथरि झिलिमिली बत्ती बालिदिएर उनीहरुलाई न एकअर्कासँग भेट्न दिएका छौँ न बात मार्न न मायापिरेम लगाउन।
अनि कहाँ जन्मिन्छन् त जुनकिरीका बच्चाहरु? लार्भा छँदै विषादी छर्केर थिलथिलो पारिदिएपछि कसरी हुर्कन्छन् त जुनकिरीका केटाकेटीहरु?
उनीहरु स्वछन्द घुमफिर गर्न पाउने वनजंगल खै? खै आहारा खोज्ने खोलाखोल्सा र चउरहरु?
सुनटिकीलेझैँ जुनकिरीले पनि हामीलाई न टोक्छ न खिल्छ। न हाम्रो बालीनाली खाइदिएर दुख नै दिन्छ। बरु पर्यावरणीय सन्तुलन कायम राख्न यसको भूमिका महत्वपूर्ण छ।
मेरो कस्तो राम्रो भाग्य। घर आडैको बारीमा आजकल जुनकीरीहरुको जात्रा दिनहुँ हेर्न पाउँछु। प्रत्येक रात म एकैछिन भएपनि उनीहरुको धीपधीप हेर्न बारीमा पुगेकै हुन्छु। मेरो सोझो हिसाबले भन्छ तीन सय जति त होलान् जुनकिरीहरु यो बारीमा।
जुनकिरीको यो धीपधीप संसारबाट सँधैका लागी निभ्नुअघि नै हामी केही गर्न सक्दैनौं?
लौ न केही गरौँ।
यो जीव देख्नमा जति आकर्षक, रहस्यमी र जादूयी छ, यसको त्यति नै पुरानो इतिहास पनि रहेछ। जुनकिरी त यो संसारमा डायनोसोरको युगदेखि नै रहेछ। यसप्रकार यो जीवसँग दशौँ करोड वर्षको इतिहास छ।
सम्झनाहरुको बाटो हुँदै जब म बाल्यकालतिर पुग्छु, मलाई सुनटिकी र जुनकिरीहरुमात्रै सम्झेर पुग्दैन। कोइलीचरीसँग झन् विशेष सम्झना गाँसिएको छ मेरो।
गाउन त उसले सँधै एउटै सुर, एउटै तालमा एउटै गीत गाएको जस्तो लाग्छ।
को हो? को हो?...
तर किन होला हगि, उसलाई सुन्दा कहिल्यै पट्यार नलाग्ने?
चन्द्रागिरी जंगलतिरबाट गाउँदा गाउँदै मै बसेको घरको छानोसम्मै आइपुग्ने कोइलीहरुले यसपाली मलाई मेरो साइँला बाजे सम्झाइदिएका छन्। साइँला बाजेले एक रात मनै हिरिक्क पारिदिने कथा सुनाउनु भएको थियो। एउटा सत्य कथा।
मेरो हजुरबुबा भूतपूर्व सैनिक हुनुहुन्छ तर उहाँको भाइ- साइँला बाजे सशस्त्र क्रान्तिमा होमिनु भएको थियो। म सानै थिएँ। सायद एक या दुई कक्षातिर पढ्थेँ कि? सशस्त्र क्रान्तिले कति वर्ष टेकेको थियो मलाई हेक्का छैन।
अँगेना वरिपरि बसेर हामी केटाकेटीहरु पढ्दै थियौँ। उहाँ आउनुभयो हर्चा बालेर, एकदम राति। क्रान्तिमा हिँडेकाहरुले कुन रात कसको घरमा बास माग्ने? के खाएर छाक टार्ने? के टुङ्गो हुन्छ? उहाँ यसैगरी आइदिनुहुन्थ्यो हाम्रो घर बिना कुनै खबर, धेरै चोटी। बचेकुचेको खाएर हिँडी पनि हाल्नु हुन्थ्यो। त्यस रात भने उहाँ हामीकहाँ नै बास बस्नुभयो र कोइलीको कथा सुनाउनु भयो।
'निष्पट्ट अँध्यारो रात थियो। म जंगलको बाटो एक्लै हिँड्दै थिएँ। मनमा कताकता डर पनि लागिरहेको थियो। जंगलतिरबाट कसैले एकोहोरो सोध्न थाल्यो को हो? को हो? कहिल्यै नहिँडेको बाटो। मेरा खुट्टाहरु हिँड्नै मानिरहेका थिएनन्।'
बाजेले जसै कथा सुरु गर्नुभयो, हामी केटाकेटीका कान झन्झन् ठाडा हुँदै गए।
'मलाई त्यो जंगल जतिसक्दो छिटो छिचोल्नु थियो। मलाई कतै अडिएर सुस्ताउने फुर्सद थिएन न उसलाई फर्काउने जवाफै थियो मसँग। भर्खरै लडाइँ हारेर ज्यान जोगाउन भागिहिँडेको लडाकु आखिर को हो? तर जंगलतिरबाट प्रश्न आउन अहँ छाडेन।
को हो? को हो?...'
बाजेलाई रातबिरात बोलाउने को होला त भनेर हामी केटाकेटी एकछिन जिल्लियौँ पनि। धन्न बाजेले कुरा तन्काउनु भएन।
'मलाई त्यो रात कोइली पटक्कै कोइलीजस्तै मात्र लागेन। मान्छेजस्तै लाग्यो। भलै मैले उतिर फर्किएर कुनै जवाफ फर्काइनँ तर उसले त्यति सोधिदिँदा मैले त्यो जंगल एक्लै काट्नुपरेजस्तो लागेन। मलाई लाग्यो मानौँ म मेरै सहयोद्धाहरु सँगैसँगै हिँडिरहेको छु, एकदम ठाँटसँग।'
मेरो मनमा त्यसैदिनदेखि यो कुरा गडेर बसेको छ कि, कोइलीहरु चरा मात्रै कहाँ हुन् र। प्रकृतिको अनुपम उपहार कोइलीहरु मानिसको साथी पनि हुन्।
म केटाकेटी हुँदा, खरबारीतिर रातदिन कोइलीहरु गाउँदै उडेका हुन्थे। जति-जति गाउँहरु सहरउन्मुख बन्दै गए, रुखजंगलहरु फाँडिन थाले, कोइलीहरु उतिउति हराउन थाले। वनफडाँनी तीव्र भएकोताका त झन् कोइलीको चाइँचुइँ सुनिन्नथ्यो।
हाम्रा वरिपरि त्यस्ता कैयन जीवजन्तु, पंक्षीहरु छन् जो हाम्रै गतिविधिले वर्षेनी लोप हुँदै गइरहेका छन्। कति जीवलाई त हामीले आँखाले पनि देख्दैनौँ। त्यस्ता जीव कति हराए? कहिलेदेखि हराए? कसले हिसाब राखेको छ?
संरक्षणविदहरुको आँखा पनि अक्सर ठूल्ठूला जीवजन्तुमा मात्र नै त पर्छ। ठूला होस् या साना वर्षौँवर्षदेखि प्रकृतिमा हाम्रो साथी बनेर बसेका जीवहरु हाम्रै जीवनकालमा हराउँदै जानु चिन्ताको विषय हो।
मैले त कमसेकम जुनकिरी देख्न पाएँ। अहिलेसम्म कोइलीको गीत सुन्न पाइरहेकै छु। आँगनै डिलको असारे फूलको बोटमा गुँड लगाउन आउने जुरेलीहरुसँग खुब खेलेँ।
बार्दलीमै गुँड लगाउने गौँथलीहरु त झन् साथी नै भइगए। सुनटिकीको टीका कति लाएँ, लाएँ। घामकिरीको हेलीकप्टर कति उडाएँ कति। ती पलहरु अहिले नामी सम्झना बनेर बसेका छन्।
मेरा छोराछोरी पुस्ताले के देख्लान् जुनकिरी? के देख्लान् घामकिरी र सुनटिकीहरु? के सुन्लान् कोइलीका मिठा गीतहरु? के देख्लान् गौँथलीका उपद्रोहरु?