गत वर्ष नेपालमा ८० जना गर्भवती महिलाले सुत्केरी अवस्थामा आएका जटिलताका कारण ज्यान गुमाउनु परेको थियो भने हाल चलिरहेको लकडाउन अवधिभरमा मात्रै उक्त कारणले मृत्यु हुने महिलाको संख्या २४ पुगेको छ।
हालसम्मको तथ्यांकअनुसार कोबिड-१९ बाट विश्वभर ५६ लाख ९५ हजार २९० संक्रमित भएका छन् भने करिब ३ लाख ५५ हजार ६९२ को मृत्यु भैसकेको छ। नेपालमा १ हजार ४२ जना संक्रमित भएकोमा १८७ निको भएका छन् भने ५ जनाले ज्यान गुमाउनु परेको छ। (यो लेख तयार गर्दासम्ममा।)
यस भाइरसबाट मृत्यु भएकी पहिलो संक्रमित महिला नव सुत्केरी आमा भएकाले पनि गर्भवती र सुत्केरी महिलालाई थप डर र चिन्ता थपिएको छ। हुन त विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड-१९ को संक्रमण वा तत्पश्चात असर गर्भवती महिलामा अन्यमा भन्दा बढी नरहेको तथ्य सार्वजनिक भए तापनि गर्भावस्था आफैंमा एक परिवर्तनशील र संवेदनशील अवस्था भएको हुनाले यस भाइरसको प्रत्यक्ष वा अप्रत्यक्ष असर नपर्ला भन्न सकिने अवस्था छैन।
अर्कोतर्फबाट हेर्दा यस भाइरसको महामारी सुरु हुनुभन्दा पहिलेदेखि नै कमजोर स्वास्थ्य प्रणाली रहेको हाम्रो देशमा भाइरसका कारण स्वास्थ्य क्षेत्र झनै चापमा परेको छ। स्वास्थ्यकर्मी, स्वास्थ्य सामग्री र सरकारको ध्यान भाइरसको रोकथाम र व्यवस्थापनमै लागेको छ भने अर्कोतिर लकडाउनका कारण उचित गर्भवती जाँच र सुत्केरी सेवाका लागि यातायात र स्वास्थ्य सुविधामा प्रत्यक्ष असर परेको छ।
हाल बढिरहेको मातृ मृत्युदरको मुख्य तीन कारणहरुमा रक्तश्राव, उच्च रक्तचाप र संक्रमण पाइएको छ। यस्ता कारणहरुबाट बच्नका लागि गर्भवती महिलाले आफ्नो स्वास्थ्यमा आएको कुनै पनि परिवर्तन वा खतराका लक्षणहरुलाई पहिचान गरि समयमै स्वास्थ्य सुविधा लिन अत्यावश्यक हुन्छ। गर्भवती अवस्थामा देखिन सक्ने मुख्य खतराका लक्षणहरु यस प्रकारका छन्:
-योनीबाट रगत बग्नु
-शरीर काप्नु वा शरीरमा कम्पन आउनु
-घाँटी दुख्नु, सुख्खा खोकी लाग्नु र ज्वरो आउनु
-स्वास प्रश्वास बढ्नु, सास फेर्न गाह्रो हुनु
-धेरै टाउको दुख्नु ,रिँगटा लाग्नु र आँखा धमिलो देख्नु
-हात खुट्टा र अनुहार सुनिनु
-धेरै कमजोर महशुस हुनु
-पेट धेरै दुख्नु
माथिका कुनै पनि लक्षणहरु देखिएमा महिलाले तुरुन्तै आफ्नो स्वास्थ्य जाँच गराई उचित स्वास्थ्य सेवा लिनु पर्दछ। यद्यपी निम्न लिखित कारणहरुले गर्दा उक्त सेवा सुबिधाको पहुँचबाट थप बन्चित हुनु परेको छ।
- कोभिड-१९ बाट संक्रमण हुन सक्ने डर
- सार्वजनिक यातायातको असुविधा र एम्बुलेन्सको बढ्दो भाडादर र पहुँचमा कमी
- आर्थिक संकट
- जनचेतनामा कमी
- परिवारको घट्दो सहयोग
- स्वास्थ्य संस्था गई बिना उपचार फर्कनु पर्ने डर
माथि उल्लेखित समस्याहरुलाई कम गरि हालको बढ्दो मातृ मृत्युदरलाई घटाउन गर्भवती महिला, उनको घर परिवार र सम्बन्धित निकायहरुबाट गर्न सकिने पक्षहरु यस प्रकार रहेका छन्।
१. गर्भवती महिला तथा घर परिवारको तर्फबाट
- माथि उल्लेखित कुनै पनि खतराका चिन्ह देखिएमा तुरुन्त स्वास्थ्य संस्था जाने वा स्वास्थ्य सम्बन्धी सल्लाह लिने। खतराका लक्षणहरुको साथै सुत्केरी व्यथा सुरु भएको शंका लागेमा तुरुन्तै अस्पताल जाने
- कोभिड-१९ को संक्रमणको लक्षण देखिएका वा शंका लागेका व्यक्तिको सम्पर्कबाट टाढा रहने
- सकभर कार्यालयका तथा अन्य कामहरु घरबाटै गर्ने
- साथीहरुसंग भेटघाट तथा जमघटमा उपस्थित नहुने
- साबुन पानीले कम्तिमा २० सेकेन्डसम्म राम्ररी हात धुने
- घर बाहिर वा स्वास्थ्य संस्था जानुपरेमा अनिवार्य मास्क लगाउने
- गर्भवतीले नियमित तथा स्वास्थ्य कर्मीको सल्लाह बमोजिम स्वास्थ्य जाँच गर्ने
- आफुले स्वास्थ्य परीक्षण गराई राखेको स्वास्थ्य संस्था वा स्वास्थ्य कर्मीको सम्पर्कमा रही टेलिफोन वा अन्य माध्यमबाट स्वास्थ्य सुझाव लिने
- सकेसम्म आफ्नो घर वरिपरि उपलब्ध भएका पौष्टिकयुक्त आहार खाने
- स्वास्थ्यकर्मीको सल्लाह अनुसार नियमित व्यायम गर्ने
२. स्वास्थ्य सम्बधित निकायबाट
- गर्भवती महिलालाई गर्भावस्थाको नियमित जाँच, खतराका लक्षणहरु , गुणस्तरीय गर्भवती जाँच वा सुत्केरी सेवा उपलब्ध हुने स्वास्थ्य संस्थाहरु साथै मातृशिशु उपचारमा सरकारी सहुलियत बिषयमा र कोभिड-१९ को रोकथाम तथा हेरचाहका विषयमा रेडियो, टेलिभिजन तथा सामाजिक संजालमार्फत सूचना प्रदान गर्ने
- स्वास्थ्य संस्था गर्भवती जाँच वा सुत्केरी सेवाका लागि जाँदा हुन सक्ने सम्भावित सम्पूर्ण संक्रमण रोकथामका लागि अत्यावश्यक कदम चाल्नु पर्ने
- एम्बुलेन्स सेवालाई सर्वसुलभ बनाउने
- स्वास्थ्य संस्था वा स्वास्थ्य कर्मीलाई चाहिने अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने
- स्वास्थ्य संस्थामा दर्ता भएका तथा वडा भित्रका बाँकी गर्भवती वा सुत्केरी महिला पहिचान गरी विभिन्न माध्यमबाट स्वास्थ्य सुबिधा तथा सुझावहरु प्रदान गर्ने
- मोबाइल वा घुम्ती स्वास्थ्य सेवाको मार्फत दुर्गम भू-भागमा बसोबास गर्ने गर्भवती वा सुत्केरी महिलालाई अत्यावश्यक स्वास्थ्य सुविधा प्रदान गर्ने
- कुनै पनि गर्भवती वा सुत्केरी महिलामा स्थानीय स्वास्थ्य संस्थाको क्षमताभन्दा बाहिरको स्वास्थ्य समस्या देखिएमा कत्ति पनि ढिलाई नगरी उच्च स्वास्थ्य केन्द्रमा पठाउने
(लेखक त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान पोखरा नर्सिङ क्याम्पसमा एमएन दोश्रो वर्षमा अध्ययनरत विद्यार्थी हुन्।)