एक्काइसौं शताब्दीको सुरुआत अनि आधुनिक प्रविधिको तीव्र विकाससँगै इन्टरनेटको प्रयोग गरी सञ्चालन हुने अवास्तविक (भर्चुअल) सामाजिक सञ्जालको प्रयोग दिनानुदिन बढ्दो छ। हिजोआज यसको प्रयोग हाम्रो दैनिक जीवनको एक अभिन्न हिस्सा हुन पुगेको छ।
निश्चयनै सामाजिक सञ्जालको सही र समुचित प्रयोग हाम्रा लागि उपयोगी हुन्छ। यसको माध्यमबाट सामाजिक सम्बन्धको स्थापना एवं विस्तार हुने, आफूले चाहेको व्यक्तिसँग जुनसुकै समयमा सम्पर्क गर्न सकिने, आफ्ना विचार, भावना बृहत् समूहका अगाडि व्यक्त गर्न पाइने, सूचना, जानकारी एवं मनोरञ्जन पाइने र सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक आदि जुनसुकै विषयमा जहाँकहीँ बसेर पनि विचार वा सन्देश आदानप्रदान गर्न सकिन्छ।
सामाजिक सञ्जालमार्फत आफूलाई मन लागेको विषयमा तर्क, बहस गर्न पाइने मात्र होइन विभिन्न विषयको ज्ञान पनि प्राप्त गर्न सकिन्छ। तथापि हिजोआज सामाजिक सञ्जालको प्रयोग सहीरूपमा भन्दा पनि गलत ढंगले बढी मात्रामा हुन थालेको पाइन्छ। मानिसले आफ्नो व्यक्तिगत जानकारी, सफलता, असफलता, दुःख, सुख, पीडा, कुण्ठा, आक्रोश आदि अनावश्यक र भद्दारूपमा पोख्ने माध्यमका रूपमा यो विकसित हुँदै गएको छ।
सामाजिक सञ्जालमा सकारात्मक र उपयोगी कुराहरूको अपेक्षा नकारात्मक र हानिकारक विषयवस्तुको बाहुल्यता हुँदै जान थालेको पाइन्छ। विशेषगरी सामाजिक सञ्जालको प्रयोगमा मौलाउँदै गएको नकारात्मक प्रवृत्ति र अमार्यादित संस्कार अत्यन्त चिन्ताजनक छ। सामाजिक सञ्जालका भित्ताहरूमा देखिने अश्लील, छाडा एवं छुद्र भाषाको व्यापक प्रयोग सभ्य समाजकालागि लज्जास्पद र निन्दनीय छ।
सामाजिक सञ्जालमार्फत कसैले कुनै विचार वा भावना व्यक्त गर्दा, कुनै सूचना वा समाचारमा टिप्पणी गर्दा वा कुनै भिडियोमा प्रतिक्रिया जनाउँदा अत्यन्त अमार्यादित र निकृष्ट भाषा प्रयोग भएको पाइन्छ। यसैगरी कसैलाई कुनै समाचार, विचार वा कुरामा चित्त बुझेन वा कोहीप्रति विमति वा असहमति जनाउँदा अत्यन्त असभ्य, अश्लील एवं अशीष्ट भाषामा गाली, दोषारोपण गर्ने क्रम बढ्दो छ।
यसले परापूर्व कालदेखि नै मर्यादित र शीष्ट मानिदै आएको हाम्रो सामाजिक संस्कार, बोलीवचन एवं आचारणमा कति ह्रास हुँदै गएको छ भन्ने कुराको पुष्टि गर्दछ।
कतिपय अवस्थामा आफ्नो क्षणिक आनन्द वा अभीष्ट पूरा गर्न मिथ्या, हानिकारक वा भ्रमपूर्ण सूचना वा जानकारी सामाजिक सञ्जालमा राख्ने गरेको पाइन्छ। यतिमात्र होइन कसैको चरित्र हत्या गर्ने अभिप्रायले नक्कली अश्लील तस्वीर वा भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गर्ने सम्मको हर्कत पनि प्रसस्त मात्रामा हुन थालेको छ।
कतिपय अवस्थामा फेसबुक, ट्वीटर, युटुवजस्ता सामाजिक सञ्जालका साइटहरूमा नक्कली खाता बनाइ अरूलाई गालीगलौच गर्ने, धम्की दिने वा अश्लील सन्देश वा सामग्री पठाएर मानसिक याताना दिने काम समेत भइरहेको सुनिन्छ। बिडम्बना नै भन्नुपर्छ यसप्रकारको गम्भीर अपराध गर्ने अपराधीहरूलाई कानुनी कारबाही शून्यप्रायः छ।
सामाजिक सञ्जालमा सकारात्मक र उपयोगी सामग्रीका तुलनमा नकारात्मक र मिथ्या सामग्री छिटो फैलिने गरेको पाइन्छ। समाचार वा जानकारी सेयर गर्ने नाममा हुँदै नभएका कपोलकल्पित कुराहरू क्षणभरमा सर्वत्र फैलिसकेको हुन्छ। सकारात्मक सूचना वा जानकारीका तुलनामा हत्या, हिंसा, अपराध वा नकारात्मक समाचारहरू भुषमा आगो फैलिएसरी केही क्षणमै सबैतिर फैलिन्छ।
अझै बिडम्बना त यस्ता सामग्रीको सत्य, तथ्य नबुझी, यसले पार्न सक्ने नकारात्मक असरको बारेमा कुनै हेक्का नराखी लाइक, सेयर वा प्रतिक्रिया दिने गरेको देखिन्छ। विभिन्न अनुसन्धानका अनुसार सामाजिक सञ्जालमा सकारात्मक विषयमाभन्दा कयौँ गुणा बढी बहस, टिकाटिप्पणी, लाइक एवं सेयर नकारात्मक विषयमा हुने गर्छ।
व्यवसायिक प्रयोजनका लागि सामाजिक सञ्जालको साइट प्रयोग गर्नेले सत्य, तथ्य जानकारी दिनेभन्दा पनि धेरैभन्दा धेरै दर्शकको ध्यान आकृष्ट गरी सबैतिर फैलाउन वास्तविकतालाई नियतवश तोडमोड गरी अर्धसत्य वा असत्य विषयवस्तु प्रस्तुत गर्ने गरेको प्रसस्तै पाइन्छ।
यसैगरी कुनै समाचार सामग्री वा भिडियोप्रति ध्यान आकृष्ट गरी बढीभन्दा बढी दृष्य संख्या बटुल्न उत्तेजक र अवास्तविक शीर्षक राखिएको हुन्छ, जबकि उक्त सामग्रीको विषयवस्तु नितान्त फरक रहेको हुन्छ। यसले गर्दा सामाजिक सञ्जाल नकारात्मकता र अफवाह फैलाउने एउटा माध्यम जस्तो हुन पुगेको छ।
सामाजिक सञ्जालमा कसैले आफ्नो विचार वा भावना व्यक्त गर्नु, श्रव्य, दृष्य सामग्री राख्नु, कसैसँग अन्तक्रिया गर्नु निश्चयनै उसको अधिकारको विषय हो। तर व्यक्तिगत स्वतन्त्रता र अधिकारका नाममा भ्रमपूर्ण, झुटो वा अश्लील सामग्री राखी अफवाह फैलाउनु गैरजिम्मेवार कार्य हो।
तसर्थ, कसैले पनि सामाजिक सञ्जाल प्रयोग गर्न पाउने, आफ्ना विचार, भावना वा सामग्री राख्न पाउने अधिकारको प्रयोग गदै गर्दा सत्यतथ्य र सकारात्मक कुराहरू राख्नुपर्ने कर्तव्यको पनि पालना गर्नुपर्ने हुन्छ। त्यसैगरी सामाजिक सञ्जालको प्रयोग गर्दा सभ्य, शीष्ट र मर्यादित भाषामा एकअर्काको सम्मान गर्दै यसको सही उपयोग गर्नु पनि प्रत्येक सामाजिक सञ्जाल प्रयोगकर्ताको कर्तव्य हो।
सामाजिक सञ्जालका आमप्रयोगकर्ता, विशेषगरी युवायुवती एवं बालबालिकालाई यसमा मौलाउँदै गएको विकृतिले नकारात्मक असर पुर्याउनेमा कुनै सन्देह छैन। हिजोआज बालबालिकाले सानैदेखि सामाजिक सञ्जालको प्रयोग अत्याधिक मात्रामा गर्दछन्। सामाजिक सञ्जालमा हुने विषयवस्तुले उनीहरूलाई प्रत्यक्ष असर गर्दछ।
माथि उल्लेख गरिएझै सामाजिक सञ्जालमा राम्राभन्दा नराम्रा कुराहरू ज्यादा हुने भएकाले उनीहरूले सोहीअनुरुप नकारात्मकता, अश्लीलता र खराब आचरण चाँडै सिक्दछन्। सामाजिक सञ्जालले गर्दा हिजोआजका बालबालिकाको जीवनशैली नै बदलिएको छ। यसको ज्यादा प्रयोगले गर्दा आजका बालबालिका आफू समानका बालबालिकासँग खेल्ने, परिवार वा समाजका मानिससँग प्रत्यक्ष अन्तक्रिया गर्ने, जीवनका लागि आवश्यक व्यवहारिक ज्ञान सिक्ने अवसरबाट वञ्चित भई सानैदेखि असामाजिक, अव्यवहारिक एवं यान्त्रिक जस्तो हुँदै गएका छन्।
समय क्रममा हुने प्रविधिको विकाससँगै यस्तो अवास्तविक सामाजिक सञ्जालको प्रयोगमा वृद्धि हुँदै जाने हुनाले सर्वप्रथम विद्यालय शिक्षामा बालबालिकालाई नैतिक शिक्षा, सामाजिक मर्यादा र कर्तव्यका साथै सामाजिक सञ्जालको सही प्रयोगसम्बन्धी ज्ञान दिनु आवश्यक छ। अभिभावकले आफ्ना बालबालिकाको बोलीचाली, आनिबानी अनि सामाजिक सञ्जाल प्रयोगको गतिविधि निरन्तर निगरानी गर्नु जरुरी छ।
उल्लेखनीय कुरा के छ भने बालबालिकालाई मर्यादा, संस्कार र नैतिकता सिकाउने शिक्षक, अभिभावक वा व्यक्ति स्वयं प्रथमतः आदर्शवान् र नैतिकवान् हुनु जरुरी हुन्छ। यसैगरी सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित र उपयोगी बनाउन आवश्यक ऐन, कानुनको तर्जुमा गरी कडाइका साथ कार्यान्वयन गरिनु पर्छ।
इन्टरनेट वा अन्य विद्युतीय प्रविधिमार्फत हुने अपराध कम गर्न साइबर अपराधसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गरी समयानुकूल परिमार्जन गरिनु आवश्यक देखिन्छ। साथै सामाजिक सञ्जालको प्रयोग गर्दै कसैले कसैमाथि दुर्व्यवहार, गालीगलौच वा चरित्रहत्या गर्ने प्रयास गरेमा उजुरीकर्ताको पहिचान गोप्य हुने गरी अनलाइनमार्फत उजुरी दत्र्ता गर्न सक्ने संयन्त्रको स्थापना गर्नु उत्तिकै आवश्यक देखिन्छ।
अन्त्यमा सामाजिक सञ्जाललाई मर्यादित र उपयोगी बनाउन यसको प्रयोगमा देखिएको विकृतिको अन्त्य गरिनु आवश्यक छ। यसका लागि मुख्यरूपमा प्रयोगकर्ताले सामाजिक सञ्जाल प्रयोग गर्न पाउने आफ्नो अधिकारको उपभोग गर्दै गर्दा स्वस्थ्य, सभ्य एवं मर्यादित तवरले उपयोग गर्नुपर्ने आफ्नो कर्तव्यको पनि पालना गर्नुपर्छ।
(लेखक युएनडिपी सियरा लियोनमा अनुगमन तथा मूल्याङ्कन विशेषज्ञका रूपमा कार्यरत छन्।)