चीनको वुहानबाट सुरु भएको कोरोना युरोप र अमेरिकामा फैलिन थालेपछि लापरबाही भएर लकडाउन गर्न ढिला गरेको, जहाज र खुल्ला सीमानामार्फत कोरोना बाहक व्यक्ति नेपाल भित्र्यएको र सरकार आफ्ना नागरिकको स्वास्थ्यलाई लिएर गम्भीर नभएको भनेर एउटा जमात सदनदेखि सामाजिक संजालामा सरकार विरुद्ध पोखियो।
देश भित्र र बाहिरबाट चर्को दबाब परेपछि सरकारले अर्को दिनदेखि हुन लागेको एसइई परिक्षा पनि स्थगित गर्यो र केही दिनमै सामान्य तयारी बिना नै लकडाउन घोषणा गर्यो। 'जसो-जसो पण्डित बाजे, उसै-उसै स्वाहा' भनेझैँ सुरुका दिनहरुमा लकडाउनका विषयमा सरकारले जुन निर्णय लिए पनि जनाताले खुलेरै साथ दिए।
पहिलो चराणको लकडाउनपछि दोश्रो चरण र त्यसपछि तेस्रो चराणको घोषणा भयो। बिना तयारिको यो लकडाउनले मध्यम र निम्न आर्थिक अवस्था भएका जनातालाई निकै मारमा पार्यो। तत्काल लकडाउन खुल्ने अवस्था नरहेको र आफूसँग रहेको खर्च सकिएपछि मानिसहरु मर्नभन्दा बौलाउन निको ठानेर पैदल नै सयौँ किमिको आफ्नो घरसम्मको यात्रामा निस्किए।
यस क्रममा सामाजिक संजालमा देखिएका हृदय विदारक तस्बिरले सरकारलाई नैतिक दबाब सिर्जना गर्यो। साथै हिजो किन लकडाउन गरिनस् भन्ने जमातले यो लकडाउनले जनातालाई सास्ती मात्र दिएको भन्दै सरकारको आलोचना गर्न थाले। सरकारले यसरी घर हिँडेका जनातालाई घरसम्म पुग्ने सहज वातावरण बनाइदिनुको साटो ठाँउको ठाँउ रोक्ने नीति लियो तर असफल भयो।
गाउँ र सहरमा निम्न वर्गीय जनता लकडाउनका कारण भोकभोकै रहने अवस्थामा पुगेका थिए। केन्द्र सरकारले स्थानीय सरकारलाई तत्काल राहत वितरण गर्न लगायो तर बिना कुनै योजना र अपारदर्शी रुपमा राहत वितरण हुन थालेपछि लक्षित वर्गमा राहत त पुगेन नै, उल्टै त्यसमा भ्रष्टचार व्याप्त भयो। केही स्थानमा त कुहिएको चामल र कुहिएको दाल वितरण गरियो।
फेरि एक पटक पहुँचवालाहरुले गरिब वर्गको गरिबीको भद्दा मजाक उडाउदै उनीहरुका राहातका नाममा आफ्नै घरका भकारी भरे। फेरि समाजिक संजाल र पत्रपत्रिका यस्तै अनियमितताका खबरले भरिए। फेरि सरकार आफ्नै चरम लापर्बाहीले उदांगियो र सरकार विरुद्ध जनाताको रीस र निराशा पोखियो।
सरकारले चैत्र ११ गते लकडाउनको भोषणा गर्दा समान्य स्तरको तयारी पनि गरेको थिएन। पछि लकडाउनको अवधि थपिदै गयो र सुरुका दिनहरुमा अवस्था खासै जटिल पनि थिएन। सरकारी निकाय त लकडाउनबाट नै कोरोनाबाट पार पाउन सकिन्छ भन्नेमा पुगेका थिए।
प्रम ओलीले पनि कोरोनाका कारण डराउन पर्ने अवस्था सिर्जना नहुने भनिदिए। तर कही विज्ञ भने नेपालामा कोरोना परीक्षण फराकिलो नभएर संक्रमित नदेखिएको कुरामा एकमत थिए। पछि परीक्षणको विस्तार सँगै उनीहरुको तर्क प्रमाणित हुन गयो।
लकडाउन भनेको कुनै पनि संक्रमणलाई समुदायसम्म फैलिन नदिइ त्यसको उपचार वा निवारणको तयारीको लागि किनिएको समय हो। तर, सरकारले लकडाउनपछि परीक्षण विस्तार गर्ने, संक्रमित पहिचान गरेर उनीहरुको व्यवस्थापन गर्ने, समुदायमा संक्रमण फैलिन नदिन ठोस योजना ल्याउने, देश बाहिर रहेका आफ्ना नागरिकालाई तत्काल उद्दार गरेर ल्याउनेभन्दा पनि राजनीतिक जोड घटाउमा अल्झियो।
सरकारले अप्रत्यासित रुपमा ल्याएको विद्यायकको कारण आफ्नो ध्यान कोरोना नियन्त्रणभन्दा पनि सरकार जोगाउन र पार्टी समिकरण मिलाउन केन्द्रित गर्नु पर्यो। यसले लकडाउन गरेर किनिएको समय अन्य उद्देश्यका लागि खर्च गर्नु पर्यो।
सुरुबाटै लय गुम्यो
राष्ट्रिय र अन्तर्राष्ट्रिय दबाब साथै डब्लुएचओले चेतावनी दिएपछि सरकारले बिना कुनै तयारी र पूर्व-सूचना लकडाउनको घोषणा गर्यो। यसले गर्दा मानिसहरु सहरबाट गाउँ जान पाएनन् र आफ्नै कर्म थलोमा अड्किए। साथै विदेशमा अलपत्र परेका आफ्ना नागरिकको उद्दारका लागि जहाज नपठाएर र भारतीय सीमासम्म आइपुगेका आफ्ना नागरिकलाई पारि सीमामै रोक्ने निर्णय गरेर सरकार गैरजिम्मेवारी रुपमा प्रस्तुत भयो।
भारतीय सीमासम्म आइपुगेका आफ्ना नागरिकलाई कहिल्यै नेपाल ल्याउनै पर्दैन वा संक्रमित भए पनि उतै निको होउन् र यता अवस्था समान्य भएपछि मात्र नेपाल छिराउँला भन्ने मानसिकता राख्दा आजको विकराल परिस्थितिको सिर्जना भएको छ।
लकडाउन गर्ने बित्तीकै तत्काल खाली रहेका होटेललाई पेड क्वारिन्टाइन बनाएर र स्थानीय तहमा पनि आफ्ना स्थानीय नागरिकलाई क्वारिन्टाइनको व्यवस्था गरेर वैध बाटोमार्फत नै सीमामा आएका आफ्ना नागरिकलाई भित्र्याउन सकेको भए, आज अवस्था अलि व्यवस्थित हुने थियो। त्यस्तै तेस्रो मुलुकाबाट आउने नागरिकलाई काठमडौँ मै होटेलहरुमा पेड क्वारिन्टाइनमा राखेर कोरोना परीक्षण गरी घरघर पठाउन सकिन्थ्यो।
लकडाउनको पहिलो महिनामा नै परीक्षण व्यापक बनाएर संक्रमणको अवस्थाअनुसार लकडाउन कडा वा खुकुल्लो गराउन सकिन्थ्यो। तर बिडम्बना, पहिलो लटको किट खरिदमै सरकार भ्रष्टचारमा मुछिएको खबर बाहिर आयो। यता स्थानीय तहमा पहुँचवालाहरुले चामल, सिरक र डसना खरिदमा भ्रष्टचार गर्ने, उता केन्द्र सरकार किट र औषधी खरिदमा। एक छाक खान नपाइ-नपाइ लकडाउनको पालना गर्ने जनातामा यसले कस्तो प्रभाव पार्यो होला त?
लकडाउन ठाउँ हेरी होइन, मान्छे हेरी
सरकारले लकडाउन गर्ने बित्तिकै सबै मानिस आ-आफ्नै घर वा डेरामा थुनिए। तर अत्यावश्यक औषधी र खाद्दय समाग्री लिन जान नपाउने अवस्थाको सिर्जना भयो। कयौँ स्थानमा जनाताले अनहाकमा प्रहरीको कुटाइ खाएको समचार पनि आयो। तर यस्तो कडा लकडाउन त फगत पहुँच नपुग्ने आम नागरिकलाई पो रहेछ।
पहुँच हुनेहरु त लकडाउन अवधिमा पनि सरकारी गाडी र पास भिरेर मावल, माइत, ससुराली र आफन्तीकोमा गएको देखियो। आम नागरिक औषधी उपचार गर्न जान नि नपाउने पहुँच हुनेहरु हुल बाँधेर सरकारी गाडिमै सुँइकिएको देखियो। यसले सरकारको लकडाउन व्यवस्थापन शैलीको धज्जी उडायो।
केही दिनका लागि घोषणा भएको लकडाउन हप्तौँ लम्बियो, त्यसपछि महिनौँ। यत्रो दिन केही काम नगरि खान परेपछि देशको र जनाताको ढुकुटी रित्तिन थाल्यो। अझ आजै काम गरेर आजै छाक टार्ने जनातालाई त यो लकडाउन अभिषाप भएको छ। तर बिडम्बना यो वर्गको कुरा सरकारको कानसम्म पुग्दैन र पुगेपनि खासै असर गर्दैन।
अनि यो वर्ग फेरि सहन्छ अर्को चराणको लकडाउन। त्यस्तै सामाजिक संजालमा आर्को वर्ग छ जसले सरकारलाई लकडाउन हटाउन त के खुकुल्लो पनि पार्न हुँदैन भन्छ। घरमै बसी-बसी तलब पाक्ने केही कर्मचारी, बैँकमा पैसा थुपारेका हुनेखाने र केही पेन्सन पाकेका अवकाश प्राप्तहरु जसलाई लकडाउनले खासै असार पार्दैन, सामाजिक संजालमार्फत त्रास देखाएर लकडाउनको समर्थन गर्छन। र यो वर्ग यतीस शक्तिशाली वर्ग हो, यिनको कुरा सरकारसम्म पुग्छ पनि र सरकारले सुन्छ पनि।
कोरोनाका कारण अहिलेसम्म आठ जनाको मृत्यु भयो तर लकडाउनको कारण नौ सयभन्दा बढीको मृत्यु भैसक्यो। महिलाको सुरक्षित रुपमा सुत्केरी हुन पाउने अधिकार खोसेको छ यो लकडाउनले। खानै नपाएर भोकैले जनाताको मृत्यु हुन थालेको छ। नेपाली किसानले उत्पादन गरेको तरकारी कि बारीमै कुहिँदै छ कि त जफत भएर खाल्डोमा पुँरिदै छ। तर भारतबाट आएको तरकारी गाउँगाउँमा पुगेको छ।
लुकिछिपी वा वैध रुपमै भारतबाट आएका जनता घरघर पुगिसके। लकडाउनले मात्र कोरोना निवारण नहुने पक्का छ। देशको अर्थतन्त्र धारासाही भैसक्यो। जनाता कोरोनाले भन्दा भोक र मनसिक तनाबले धेरै मर्दै छन। अनि यो अव्यवस्थित लकडाउन केका लागि?
अब के गर्ने?
कोरोना भाइरस इबोला, पोलियो र स्पेनिश फ्लूभन्दा कमजोर भाइरस हो भन्ने पुष्टी भैसकेको छ। यसले निम्त्याउने मृत्यु दर निकै कम छ। भारतमा आउँदो डिसेम्बरसम्म ६० करोड जनाता कोरोनाबाट संक्रमित हुने तर त्यसको ९० प्रतिशत जनातालाई आफू संक्रमित भएको थाहा पनि नभइ निको हुने अध्यायनले देखाएको छ। नेपालामा पनि अवस्था यस्तै हुन सक्ने अनुमान लगाउन सकिन्छ।
रोघ प्रतिरोधात्मक क्षमता बलियो भएका व्यक्तिलाई यसले खासै असार पुर्याउँदैन। तर यसको अन्तिम र सुरक्षित निवारण भनेको हर्ड इम्युनिटी नै हो। हर्ड इम्युनिटी भनेको अधिकांश व्यक्तिले यसको विरुद्ध प्रतिरोध क्षमताको निर्माण गर्नु र प्रतिरोध क्षमता नभएकालाई संक्रमणबाट जोगाउनु हो। मान्नुस् ५ जनाको परिवारमा ४ जनाले हर्ड इम्युनिटीको विकास गरे। अब ति ४ जनाको माध्यमबाट ५औँ सदस्यलाई संक्रमण हुने छैन। यो सयौँ शक्तिशाली सेनाहरुले घेरा हालेर एउटा कमजोर सेनाको रक्षा गरेजस्तै हो।
हर्ड इम्युनिटी तीन तरिकाले प्राप्त गर्न सकिन्छ।
पहिलो: लकडाउन र सामाजिक दुरी पूरै हटाइदिने र संक्रमणलाई द्रुत गतिमा फैलिन दिने। यसले संक्रमण र मृत्युदर बढाउने छ। तर अन्त्यमा यसका बिरुद्द प्रतिरोध क्षमता भएका मात्र बाँच्नेछन् र संक्रमण हराउने छ।
दोस्रो: लकडाउन र सामाजिक दुरी भ्याकसिन पत्ता नलाग्दासम्म अझै कडा रुपमा लगाउने। भ्याकसिन पत्ता लागेपछि सबै व्यक्तिलाई प्रतिरोधको क्षमता विकास गराउन भ्याकसिन लगाइदिने।
तेस्रो: संक्रमणको दर हेरी लकडाउन र सामाजिक दुरी कम वा बढी गर्ने। आफू सुरक्षित रहेर आफ्ना गतिविधिलाई निरन्तरता दिने। समय सँगै केही व्यक्तिमा प्राकृतिक रुपमै प्रतिरोध क्षमताको बिकास पनि हुनेछ र भ्याकसिन निर्माणपछि भ्याकसिन लगाएर प्रतिरोध क्षमताको बिकास गराउने।
अमेरिकाले हर्ड इम्युनिटी हासिल गर्न पहिलो उपाए अघोषित रुपमा अबलम्बन गरेको पाइन्छ। यहाँ कयौँ राज्यमा लकडाउन छैन र भएकामा पनि पालना भएको छैन। मृत्युदर पनि निकै उच्च छ तर विस्तारै कम हुँदै छ। युरोप, भारत, कोरिया लगायतले तेस्रो उपाए अबलम्ब नगरेको देखिन्छ। हामीले ७० दिनभन्दा लामो लकडाउन अवधिमा हाम्रा आर्थीक गतिविधि शून्यप्रायः राखेका छौँ।
अझै पनि यस्तै कडा लकडाउन गरेर देशलाई अपांग गराउने छुट सरकारलाई छैन। अवस्था हेरेर हाम्रो देशमा पनि लकडाउन खुकुल्लो गराउन आवश्यक देखिन्छ। नत्र न कोरोनासँग जित्ने छौँ, न त निकट भविष्यमा आइलाग्ने भोकमरीसँग।
'कल करे सो आज कर, आज करे सो अब' भनेझैँ तत्काल भारत वा तेस्रो मुलुकबाट आउन चाहाने नेपालीलाई ल्याएर कोरोना परीक्षण गरी सक्नेलाई पेड क्वारिन्टाइन नसक्नेलाई सरकारले व्यवस्था गरेको क्वारिन्टाइन अथवा सुरक्षित रुपमा घरमै रहने व्यवस्था मिलाइनु पर्छ। जती छिटो यो काम गर्यो उति छिटो यो संकटबाट पार पाउन सकिन्छ।
सरकारमाथि विश्वास छ
सरकार राष्ट्रको अभिभावक हो। त्यतिबेला प्रम केपी ओलीको अडानलाई साथ दिएर ६ महिनासम्म नाकाबन्दी सहेर हाम्रो देश र सरकारलाई तल पर्न दिएका थिएनौँ। अहिले पनि लकडाउनको घोषणा सँगै सबै जनाताले सरकारलाई खुलेरै साथ दिएकै हुन्। तर बारम्बार जनाताका आशा र सपनामाथि सरकारी निकायबाटै तुसारापात हुन थालेपछि जनाता रिसाउनु र निराश हुनु स्वभाविक हो।
सारा विश्व कोरोनासँग लडिरहँदा हाम्रो सरकार सत्ता, पार्टीको आन्तरिक किचलो र अनेक काण्डमा मुछिँदा भोकभोकै बसेर लकडाउन पालना गर्ने जनातामा उत्पन्न हुने नैरश्यता बारे पनि सरकार जानकार हुनुपर्छ। आज कोरोनासँग लड्दै छौँ, भोलि भोकमरीसँग लड्नु छ। अझै पनि सरकारसँग ठेट योजना छैन। यही लकडाउनको अवधिमा ७०० जनाभन्दा धेरैले आत्महत्या गरेका छन्। भोली यो संख्या अझै बढ्न सक्छ।
यो रोक्नका लागि सरकारले तत्काल लकडाउन खुकुल्लो गरी केही हदसम्म आर्थिक गतिविधि संचालन गर्ने र परीक्षणको दायरा पनि बढाउँदै लान आवश्यक छ। संक्रमितको संख्या बढेसँगै सबैलाई अस्पतालका बेड नपुग्न सक्छ। यसका लागि संक्रमण नदेखिएका र सम्भव भएका संक्रमितलाई घरमै आइसोलेसनमा राख्न पर्न सक्छ। हामीले जनयुद्धका घाउ जितियो, भूकम्प जितियो, नकबन्दी जितियो। यो कोरोनाको महामारी पनि अवश्य जित्ने छौँ, फगत जिम्मेवार निकायले धमिलो पानीमा माछा मार्ने दाउ नखोजोस् र यो सरकार हाम्रो असल र जिम्मेवार अभिवावक होस् भन्ने विश्वास दिलाओस्।