उपचारको क्रममा बिरामीको मृत्यु हुँदा देखिने हुलदंगा, तोडफोड, कुटाकुट जस्ता दृश्य र त्यसपछि विस्तारै विस्तारै देखिने चिकित्सकहरुको विरोध, जुलुश, धर्ना जस्ता दृश्यहरु आम मानिसले देख्दै भोग्दै आएका छन् र यो रोकिनेवाला पनि देखिँदैन। हामी सबै मिलेर यस्ता घटनाबाट हुने क्षति कम गर्ने उपायहरुमा बहस गर्नु जरुरी छ। एउटा चिकित्सक आखिर एक आम नागरिक पनि हो।
पहिला आम जनमानसको तर्फबाट कुरा गरौँ। हिँडेरै अस्पताल आएको, बोल्न सक्ने र खान सक्ने अवस्थामै रहेको, यस्तै समस्या भएका अरु बाँचेको देखेको, पक्कै पनि केही न केही त्रुटी भएको हुनुपर्छ।
चिकित्सकको तर्फबाट हेरौँ। आफ्नो ज्ञान, विवेक सबै प्रयोग गरेर उपचार गर्यौं, कोशिस गर्दागर्दै बचाउन सकिएन। यस्तै बिरामी मध्ये यति प्रतिशतलाई बचाउन सकिँदैन भनेर किताबमा नै लेखेको छ।
यी दुवै खाले प्रतिक्रिया मध्ये आखिर एक सही हुन्छ, अर्को गलत हुन्छ या भनौं चिकित्सकीय त्रुटी भएको पनि हुनसक्छ, नभएको पनि हुनसक्छ।
यस्ता घटना पछि अन्य धेरै पात्रहरु थपिदै जान्छन्। गाउँका साथीभाइ, छरछिमेक, नेतागणहरु समर्थनमा आइपुग्छन्। चिकित्सक तर्फमा पनि आम सहभागीता बढ्दै जान्छ। यस्तो अवस्था आउँछ कि चिकित्सकले हरेक बिरामी पक्षमा त्यस्तै रुप देख्न थाल्दछन्। बिरामी पक्षले पनि अस्पताल र स्वास्थ्यकर्मीलाई शंकाको नजरले हेर्न थाल्दछन्।
वास्तवमा आम स्वास्थ्यकर्मी र आम बिरामीहरु सबै असाध्यै इमान्दार हुन्छन्। अबको हाम्रो चुनौती भनेको यही हार्दिक सम्बन्ध फर्काउनु नै हो।
चुनौतीहरु बारे कुरा गरौँ।
मानौं कुनै घटनामा चिकित्सकीय त्रुटी रहेछ। यदि सबैले चिकित्सकले कहिल्यै गल्ती गर्दैन भनेर सोच्यौं भने बिरामी पक्षलाई अन्याय हुन जान्छ। यस्तै त्रुटीहरु पटक पटक दोहोरिदै जान्छ र बिरामीहरुले त्यसको परिणाम भोग्दै जानुपर्ने हुन्छ।
मानौं कुनै घटनामा चिकित्सकीय त्रुटी रहेनछ। बिरामीको मृत्यु जति प्रयास गर्दा पनि रोक्न नसकिएको दुर्घटना रहेछ भने बिरामी पक्षबाट हुने आवेग र उत्तेजनाले स्वास्थ्यकर्मीको मनोबल घट्दै जान्छ। भविष्यमा आफू जोगिने उपाय खोज्ने क्रममा सिरियस बिरामी सकेसम्म नहेर्ने, भर्ना नलिने, बिरामी पक्षलाई अनावश्यक धेरै अत्याइदिने जस्ता अमानवीय क्रियाकलाप नहोलान् भन्न सकिन्न।
यस्ता दुर्घटनामा देखापर्ने अन्य उद्देश्य बोकेका तत्वहरु भने सबैभन्दा बढी कुर्लन्छन् तर केही प्राप्त गरेपछि छिनमै बेपत्ता हुन्छन्। उनीहरुलाई न त बिरामी पक्षको पिडामा कुनै सहानुभूति छ न त स्वास्थ्यकर्मी र अस्पताल प्रति बितृष्णा नै।
ल एकछिनलाई मानौँ, यस्ता तत्वहरु बिरामी पक्षको भलाइको लागि देखा परेका रहेछन् रे। यदि अस्पताल वा चिकित्सकले केही लगानी गरेर यस्ता तत्वहरुलाई आफ्नो पक्षमा उभ्याए भने के हुन्छ? साच्चै चिकित्सकीय त्रुटिले बिरामीको मृत्यु भएको रहेछ भने बिरामी पक्षले यस्ता तत्वहरुको डरधम्कीले चुँ पनि गर्न सकेनन् भने के हुन्छ?
पत्रकारले रिपोर्टिङ गर्दा विचार नपुर्याउँदा एउटा पक्षलाई भड्काउने वातावरण पनि कहिलेकाही बन्न पुगेको देखिन्छ।
समस्याको समाधान कसरी गर्ने?
चिकित्सकले बिरामी प्रतिको दायित्व मनैदेखि महशुस गर्ने तथा बिरामीको ठाउँमा आफूलाई राखेर सोच्नु पर्छ। समस्या समाधानको सुरुआत त्यहीबाट हुन्छ। धेरै अवस्थामा बिरामी र आफन्तले माया, सहानुभूति र राम्रो उपचार खोजेका हुन्छन्, ग्यारेन्टी खोजेका हुँदैनन्। लामो समयदेखिको रोगको उपचार गर्दा राम्रोसँग काउन्सेलिङ भएको छ र बिरामीसँगको सम्बन्ध राम्रो छ भने उपचारको क्रममा जस्तोसुकै परिणाम आएपनि सहर्ष स्वीकार्ने परिपाटी देखिन्छ।
यसमा चिकित्सकले बिरामी पक्षको धैर्यता र मेहनतलाई धन्यवाद दिन्छन् र बिरामी पक्षले चिकित्सकलाई पनि धन्यवाद दिएर जान्छन्। हिडेर आएको अथवा भनौं पहिला स्वस्थ मान्छे तर शल्यक्रिया गर्दा वा साधारण ठानिएको रोगको उपचार गर्दा मृत्यु भयो भने कसैको मनले थाम्न सक्दैन। बिरामी पक्षबाट ठूलो बिरोध सुरु हुन्छ।
हजारौंमा एकलाई देखिने यस्तो घटनापछिको पिडा सबैलाई सहन गाह्रो हुन्छ। यस्तो बेला सुरक्षाको प्रत्याभूति नभई बिरामी पक्षसँग नराम्रो खबर सुनाउन जानु हुँदैन। यहीबेला हो कुटपिट, तोडफोड सुरु हुने समय। यस्तो बेलामा छुट्टै संयन्त्र आवश्यक देखिन्छ।
सुरक्षा अंग परिचालन गरेर अस्पताल तोडफोड हुन दिनु हुँदैन, स्वास्थ्यकर्मीहरुलाई जोगाउनु पर्दछ, बिरामी पक्षलाई पनि थप हानी हुनबाट जोगाउनु पर्दछ। एउटा निष्पक्ष समिति बनाएर छानबिन सुरु गर्नु पर्दछ र छिटोभन्दा छिटो सत्यतथ्य बाहिर ल्याउनु पर्दछ।
चिकित्सकीय त्रुटी रहेछ भने अस्पताल तर्फबाट माफी माग्नुका साथै उचित क्षतिपुर्ति दिनु पर्दछ र अब आइन्दा यस्ता त्रुटी नदोहोर्याउने वाचा गर्नु पर्दछ।
त्रुटी नभएर उपचारको क्रममा कहिलेकाहीँ देखापर्ने जटिलता रहेछ भने समाजका विभिन्न वर्गहरुले बिरामी पक्षलाई सम्झाउने गर्नु पर्दछ। दुखको यस घडीमा सम्झन केही समय लाग्दछ। बरु नियम नै बनाएर यस्तो नचिताएको भवितव्यमा बिरामी तर्फलाई केही न केही सहयोग गर्नु पर्दछ। यस्ता घटनाहरु दुर्लभ देखिन्छन् तर हरेक अस्पतालमा बेलाबखत देखिने गर्दछन्।
यस्ता समाचार सम्प्रेषण गर्न विभिन्न मिडियाहरुले स्वास्थ्य पत्रकारितामा निपूर्ण रिपोर्टर्सलाई जिम्मा दिनु पर्दछ। छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउंदाका फाइदाहरु धेरै हुन्छन्।
आफ्नो स्वार्थ पूर्ति गर्न बिरामी पक्षसँग मिलेर आएको समूह विस्तारै निस्क्रिय हुन्छ। अस्पतालले दिने सहयोग पीडितले मात्रै पाउँछन्।
लापरबाही नगर्ने स्वास्थ्यकर्मी र अस्पतालको मनोबल उच्च रहन्छ। जस्तोसुकै सिरियस बिरामीले पनि भर्ना हुन र सम्भव भएसम्मको उपचार पाउन सहज बन्दछ।
लापरबाही रहेछ भने कहाँ र कसको कारणले भएको हो थाहा हुन्छ। सर्जन, एनेस्थेसिया, नर्स वा अस्पतालका उपकरण कसको कारण ले भएको हो भन्ने थाहा हुन्छ र भविष्यमा यस्तै त्रुटी दोहोरिदैनन्।
व्यवसायिकता कम भएका पत्रकारहरु र दर्शक बढाउन जालझेल युक्त समाचार सम्प्रेषण गर्ने युट्यूबरहरु पनि विस्तारै अस्पताल तिर देखिन छाड्दछन्।
एक चिकित्सकले राम्रो चिताएर निडर भएर जस्तोसुकै जोखिम मोल्दै धेरैभन्दा धेरै बिरामीको उपचार गर्न थल्नेछन्। यसरी नै बलियो बन्दै जान्छ बिरामी र चिकित्सक बीचको राम्रो सम्बन्ध।
(लेखक कन्सल्टेन्ट सर्जन हुन्।)