विश्व समुदाय चन्द्रमा लगायत अन्य ग्रहमा मानव वस्ती बसाल्ने योजनामा छ। २१ औं शताब्दीका नयाँ प्रविधि र आविष्कारबारे दिन प्रतिदिन नयाँ नयाँ खोजहरु भईरहेका छन्। मानव सभ्यताको विकाससाँगै विश्व समुदाय प्राविधिक र आर्थिक रुपले कसरी सम्पन्न हुन सकिन्छ भनेर सोचिरहेका छन्।
नेपालमा भने अझै पनि अन्धविश्वास, रुढिवाद र कुरीतिले जरा गाडेर बसेको छ। रुकुमको सोती घटनाले समाजमा कुन हदसम्मको अमानवीय, संवेदनहीन र क्रुरता प्रर्दशन भयो भन्ने कुरालाई सहजै अनुमान लगाउन सकिन्छ।
विभेदको जडको रुपमा रहेको जातीय छुवाछूत जस्तो अवैज्ञानिक, हिंसात्मक र अमानवीय संस्कारलाई जगेर्ना गर्दै हामी भने आफ्नै समुदायका मानिसलाई दोस्रो दर्जाको नागरिकको उपमा दिएर हत्या गर्ने तथा सामाजिक सद्भावमा खलल पार्ने कार्यमा पूरै शक्ति र स्रोतहरु खर्च गर्ने र कथित उपल्लो जातको हुँ भन्ने घमण्डमा रुमल्लिरहेको छौं।
रुकुममा कथित माथिल्लो जातकी केटीसँग प्रेम गरेको निहुँमा नवराज विक सहितका लाउँलाउँ खाउँखाउँ भन्ने उमेरका युवाको निर्दोष नरसंहार हत्यालाई जातीय अहंकारवादको एउटा ज्वलन्त उदाहरण हो। यसबाट के प्रष्ट हुन्छ भने हजारौं वर्षदेखि एउटा सामाजिक संस्कारको मुख्य पाटोको रुपमा हिन्दु धर्मद्वारा संरक्षित जातपात र छुवाछुत हरेक नेपालीहरुको मन मस्तिष्कमा दिमागको ठूलो भाग ओगटेर बस्न सफल भएको छ।
चाहे शिक्षित समुदाय हुन् या अशिक्षित, हरेकको दिमागमा अत्यन्त नराम्रोसँग गाडिएर रहेको छ। जसले गर्दा हाम्रो नेपाली समाजबाट यो कलंक त्यति सजिलोसँग हटेर जाने कुनै पनि सम्भावना छैन।
नियम कानुन बनाएर यो कलंकलाई हटाउन २०२० सालको मुलुकी ऐनले छुवाछुत तथा जातीय विभेद अन्त्य गरेको छ भने २०६३ साल जेठ २१ गते संसदले समेत कानुनमा सिमित नभई व्यवहारमा पछि नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा गरिसकेको छ। तर पछिल्लो घटनाले यी सबै कानुनी व्यवस्थाहरु तथा संविधानमा उल्लेखित विषय केवल कागजी रुपमा मात्रै देखिए। व्यवहारमा कहिल्यै लागू भएनन्।
लागू होस् पनि कसरी? ऐन, नियम, कानुनलाई पालना गराउने ठाउँमा उनै व्यक्तिहरु छन् जसलाई छुवाछूत समाजको निम्ति खराब हो भन्ने कुरामा विश्वास नै छैन। बरु छुवाछूत हाम्रो हिन्दु समाजको अभिन्न अंग हो जसले पुरेतहरुको संरक्षण गर्छ, ब्राम्हणवादलाई संरक्षण गर्छ र तथाकथित शुद्रलाई शुद्रको ठाउँमा राख्छ भन्ने अकाट्य विश्वास राख्छ।
सामान्य रुकुमका एउटा गाउँको जनताको त कुरा छोडौँ, पिएचडी गरेको विद्यमान भनाउँदादेखि आफूलाई समाज परिवर्तनको नायक भन्नेहरुमा समेतमा यो भ्रम कायम छ।
यसको उदाहरणको रुपमा जनताको रगतमा होली खेलेर, झुटा सपना बाँडेर तिनै पिछाडिएका र मुक्तिको सपना देखेका जनताहरुलाई ढालको रुपमा प्रयोग गरेर सत्तामा आसिन तत्कालीन माओवादीको नेताहरु प्रचण्ड, जनार्दन शर्मा, राम बहादुर थापा, शक्तिबहादुर बस्नेतहरु, जातीयताको नाउँमा नवराजहरु मारिदा रातदिन अपराधीहरुको बचाउका निम्ति लागि परेका छन्। यसले न्यायको बलात्कार गरेको छ।
पीडितहरुको घाउमा नुनचुक छर्ने काम भएको छ। अत्यन्त खेदजनक छ। ऐनामा आफ्नै प्रतिबिम्ब हेरेझैँ छर्लंग छ कि नवराजहरुलाई हत्या गरेर नदीमा फालिएको हो। तर पनि अपराधीहरुलाई मुक्त गराउनका निम्ति हरेक खालका षडयन्त्रहरु गरिरहेको कुरा दुनियाको सामु लुकेको छैन। यदि सत्यलाई दबाउन खोजियो भने नवराजहरु सँगसँगै राजनीतिक पार्टीहरुको पनि जनताले नै अवसान गराउने छन्।
अहिलेको युगमा छुवाछूत जस्तो अन्धविश्वास र कलंकलाई पालेर राख्दा विदेशमा रहने नेपालीहरुलाई समेत म नेपाली हुँ भनेर शीर उठाएर हिड्न गाह्रो बनाउनेछ। म नेपाली हुँ भनेर गर्व गर्ने दिनको समाप्त हुन सक्छ। त्यसैले हामी सम्पूर्ण न्यायका पक्षधर र अन्धविश्वासका पछि नलाग्ने हरेक मानव समुदायले नवराजहरु जस्ता महाअन्यायमा परेर ज्यान गुमाएकाहरुलाई न्याय दिलाउनको निम्ति आफ्नो ठाउँबाट निरन्तर आवाज उठाउनु पर्छ।
यो एउटा दलितको हत्या भएको मात्र सवाल होइन, यो एउटा सिंगो मावनताको हत्या हो। कानुनी राज्यको उपहास र अन्धविश्वासको पराकाष्ठ हो। आज सारा विश्वले हेरिरहेको छ। राजनीतिक र सत्ताको पावरको आडमा न्यायमाथि खेलबाड गरियो भने नेपालले अन्तर्राष्ट्रिय न्यायलयको सामना गर्नु पर्नेछ। यसबाट सिंगो मुलुकमा पर्न जाने असरको जवाफदेही अन्यायका पक्षधर सत्ताधारीहरु हुनुपर्नेछ।
कथित माथिल्लो जात भनिनेहरुसँग प्रेम सम्बन्ध राख्दा ज्यान गुमाउने नवराज विक पहिलो व्यक्ति भने होइनन्। तर कानुनी राज्यको सम्मान र मानवीयतको संरक्षणको लागि भए पनि अब आउँदा दिनहरुमा प्रेम गरेकै आधारमा कुनै पनि नवराजहरुले ज्यान गुमाउन नपरोस्। यो कुरा तपाई हामी न्यायका पक्षधरहरुसँग निहित छ।
जातियता जस्तो दुर्गन्धित र संकीर्ण सोचबाट माथि उठेर नवराजहरुलाई न्याय दिलाउनको निम्ति पहल गरौं। जसले गर्दा नेपालको इतिहासमा एउटा कालो इतिहास त कोरियो तर अब फेरि यो कालो दिन कहिल्यै पनि नदोहोरियोस्।
सबैलाई थाहा छ कि नवराजहरु माथि घोर अन्याय भएको छ। तर पनि आज धेरै जना महानुभावहरु खुलेर विरोध गर्न र नवराजहरुलाई न्याय दिन सघाउने कुरामा हिच्किचाइरहेका छन्। मैंले दलितको समर्थन गर्यो भनेर कसैले खिल्लि पो उडाउने हो कि भन्ने डर मनभित्र लुकेको छ। यदि तपाईहरुमा मानवता छ भने तपाई आज नवराज विक, सन्जु विक, गणेश बुढा, लोकेन्द्र सुनार, टिकाराम सुनार, गोबिन्द शाहीका बुवा आमाको ठाउँमा बसेर हेर्नुहोस्।
खाइ-नखाइ पालेर हुर्काएको आफ्नो एकमात्र प्राणभन्दा प्यारो सन्तानलाई बिनाकारण मारेर नदीमा फालिदियो भने तपाईलाई कस्तो अनुभूति होला? हो, त्यस्तै नियति नवराजहरुका अभिभावकहरुले भोगिरहनु भएको छ। त्यसैले यस्ता अपराधीहरुलाई कानुनी दायरामा ल्याउनु सम्पूर्ण मानवतावादीहरुको काम हो।
मर्ने त मरेर गए तर आज ६० लाखभन्दा बढी जनसंख्या ओगटेको समुदायको प्रत्येक व्यक्तिहरु हिन्दु संस्कारमा रहँदा जीउदै भएर पनि दिनदनै मरिरहेका छन्। अब उनीहरुले सहनुसम्म सहेका छन्। कयौं शान्तिपूर्ण आन्दोलनहरु गरेका छन्। तर केबल सबै बिफल।
आज नवराज मारियो भने भोलि आफ्नै छोराछोरीहरु मारिएलान् भन्ने डर र त्रासमा बाँचिरहेका छन्। तसर्थ यदि समयमा नै यो अन्धविश्वास र कुसंस्कारको अन्य नभए भोलिका दिनमा हतियार नउठाउलान् भन्न सकिन्न। कुनै पनि कुराको सीमा हुन्छ, जब सीमा नाघेर अन्याय र अत्याचारको राज हुन्छ भने त्यसलाई रोक्नका निम्ति आफ्नो प्राणको आहुति दिनको निम्ति जनताहरु पछि हट्दैनन्।
त्यसैले जातीय, धार्मिक, क्षेत्रिय कुनै पनि कुरालाई वास्ता नगरी सम्पूर्ण न्यायका पक्षधर र मानव हृदय भएका हरेक व्यक्तिले नवराजहरु र उनको परिवारलाई न्याय दिलाउनको निम्ति हामी सबैले आवाज उठाउनु अपरिहार्य छ। हामी सबैले प्रण गरौं कि अब आगामी दिनहरुमा कुनै पनि नवराजहरुले प्रेम गरेकै कारण ज्यान गुमाउनु नपरोस्।