समय सधैँ एकनास पक्कै पनि हुँदैन। कहिले कठिन, कहिले सहज, कहिले चिन्ता, कहिले खुशी। यो सबै जीवनरुपी फूलबारीमा फुलेको फूलहरु जस्तै हुन् जसले जीवन संगीन बनाउछ।
कहीँ लेखिएको थियो- यो समय पनि बित्नेछ। यो एउटै शब्द खुशीमा सुन्दा दुखी भइने र दुखमा सुन्दा खुशी भइन्छ। हो अहिलेको समयमा पनि यही शब्द काफी छ आफूलाई सम्हाल्न।
दैनिकजसो मानिसहरु स्थानान्तरण भइ नै रहेका छन्। तर को स्थानन्तरण भएका छन्? यो प्रश्न गहन छ। पक्का पनि कम आय भएका अनि दैनिक ज्याला गरेर ज्यान पालेका मजदूर नै पर्छन् यस समूहमा। अझ प्रवासी मजदूरको पीडा यस बेलामा बेग्लै छ। उनीहरुको लागि त यो समय अझ बढी नै पीडादायक छ।
नेपालका मात्र नभई संसारकै कैयौं ठूला भनाउदा सहरहरु जसले तिनै मजदूरका पसिनाले महल बनाए, तिनै मजदूरको हातमा उठेका ठेलाले कैयौं कारखाना चलाए, तिनै मजदूरका छाला काढीएका गोडाका सहाराले आफ्नो अरबपति हुने सपनाको बाटो तताए। तिनै मजदूरहरुको रंग त्यही अलकत्रा जस्तै होउन्जेल सडकमैं घोटाए।
त्यही हातका ठेलाले रेलका पटरी बिछाए। बाटो बनाउन पहाडका चट्टान फोर्न लगाए। किन? किन कि जब आपत पर्छ त त्यही आफैले बनाएको बाटै-बाटो आफैले देखेका सपना तुहाउँदै आफ्नै गाउँ खाली हात अनि भोको पेट फर्कनु पर्छ भनेर?
धनाढ्य भनाउदाहरु भन्ने गर्दथे तिम्रा गाउँमा अरु पनि मानिस भए ल्याउ। दुई छाक खान नसक्ने मानिस केही सपना बुन्दै सहर तिर हानिएकै थिए। कोहीको ऋण तिर्ने सपना थियो होला त कोहीको अन्य मजबूरी। खै अहिले तिनै धनाढ्य जब उनीहरु भोकै सडकको पेटीमा सुतेका छन्।
सहरमाथि ठूलो विश्वास गरि सपना बोकि धेरै युवा आफूलाई शिक्षित गराउन आफ्नो गाउँभन्दा सहर शिक्षित छ, त्यहाँ सम्भावना छ। सहर भनेको त सपनालाई बिपना बनाउने ठाउँ हो। त्यहाँ ज्यान मात्र पाल्न पनि समस्या छैन भन्दै सहर हानिन्थे दिन दिनै।
तर अहिले जब संकट आएको छ, तब सहर किन मौन छ? अहिले लाग्दछ सहर भनेको त केबल भ्रम रहेछ। यी युवाका सपना जब तुहिँदै छन् त किन मौन छ सहर? के सहरलाई अब ती युवा, ती मजदूर चाहिदैन?
टेलिभिजनमा कुर्लि-कुर्लि भट्टाइ रहेका पत्रकार अनि खोजी-खोजी फोटो खिचेर छाप्ने हतारोमा रहेका फोटो पत्रकारहरुले प्रक्षेपण गरेका समाचार हेर्दा लाग्दछ, सहर साँच्चीकै स्वार्थी रहेछ। यस्ता सामग्री हेर्दा मन कुडिन्छ।
चसक्क बिझेर आउँछ जब एक मजदूर श्रीमान-श्रीमती आफ्ना स-साना बालबच्चालाई काँधमा राखेर सहरलाई वित्रिष्णाको आँखाले अनि फेरि कहिले भेट होला कि नहोलाकै दोधारे नजरले हेर्दै त्यही सहर जसले दुई छाक खान देला भन्ने आशा थियो, उसैबाट एक छाक पनि खान नपाई, जसले बालबच्चालाई समेत रोजगारी देला भन्ने आशा थियो, उसैबाट आफ्नो समेत रोजगारी गुमाउँदै फर्किदैछन्।
किनकि विश्वास अब त्यही आफ्नै गाउँकै लाग्दैछ। अरुको कंक्रिटको महलभन्दा आफ्नै खरको झोपडी आरामदायी लाग्दैछ। ह्रिदय त तब विरक्तिन्छ जब, जुन सहरका लागि आफ्नो गाउँ, घर, परिवार, साथी सबैलाई छोडेका थिए, यस्तो कठिन समयमा पनि त्यही सहरले बससम्म भनेन।
लाग्दैछ त्यही सहरले जोड-जोडले चिच्याइ-चिच्याई भन्दैछ- 'भाग यहाँबाट। जा भाग, तेरो चिन्ता गर्ने यहाँ कोही छैन।' यहाँ जुन अस्पताल तैले बनाएको थिइस्, त्यसैले तलाई बचाउनेवाला छैन। जुन ट्रकले हरेक दिन बिहान तँलाई खोजी-खोजी बोकेर ढलान गर्न लग्थे, आपतमा तिनै ट्रक छैनन्।
अहिले त्यही सहरले किन रोक्न सकेको छैन ति मजदूरलाई? के सहरलाई अब मजदूर चाहिँदैन? किन आफ्नो अस्तित्वमा तुसारापात गर्दैछ सहर? फिर्दै गरेका हात, गोडाका पसिना त्यही सहरका लागि बगेका थिए। त्यही सहरलाई माया गरेका थिए, त्यही सहर प्रति बफादार भएका थिए। तर अहिले जब सहरले पालोको पैंचो तिर्ने बेला भयो त, किन मौन छ सहर?
किन रोक्न सकेको छैन ती मजदूरलाई? किन यसरी अपहेलित गर्दैछ सहर आफ्ना प्रशंसकहरुलाई? किन उसप्रतिको विश्वास गुमाउँदै छ सहर? के फेरि यिनै मजदूरको विश्वास पलाउला सहर प्रति? फेरि केही कमाउने सपना, केही शिक्षित बन्ने सपना साँचो रहेछ भन्ने सोचमा पुग्न सक्लान् मजदूरहरु? जब आपत पर्छ, त्यती बेला एक्लै हुनु पर्ने नियती नै रहेछ प्रवासीको।
बीचैमा भारतमा रेल सुचारु गरियो किनकि कुनै पनि प्रवासीलाई त्यस सहरले पाल्न नसकेर लखेट्दैछ। रेल चले पनि कैयौं नेपाली साथमा भारतीय पनि पैदलै सडक नाप्न बाध्य भए। किनकि उनीहरुसँग सस्तो टिकट काट्ने समेत पैसा थिएन। त्यही विश्वास गरेको ठाउँले लुटि सकेको थियो उनीहरुलाई महँगाइको नाममा।
यस विषयलाई पत्रकारले समेत ठाउँ दिएनन् किनभने उनीहरु मजदूर थिए। मजदूरुहरुलाई के संसारको यो महामारी अनि लकडाउनका बारेमा थाहा छैन? के सरकारको यो निर्णय उनीहरुलाई मान्य छैन? उनीहरुलाई ज्यानको माया छैन? पक्का पनि मर्नबाट जोगिनु छ। तर महामारीभन्दा पहिला भोकमरीले, अपहेलनाले मरिने डर बढी छ। आखिर मर्ने त मजदूर नै हुन्।
यस समयले मजदूर वर्गलाई नै दोधारमा ल्याएको छ। हातमा पैसा छैन, साथमा रोजगारी छैन, गाँउको परिस्थिति पनि थाहा छैन। हुन त स्थानीय जनप्रतिनिधीहरुले आफ्नै ठाउँमा रोजगारीको व्यवस्था गर्ने भन्ने कुरा त बोल्दै छन् तर यो त्यती सहज पनि नहोला र यति चाँडो पनि सम्भव नहोला।
तर सरकारले अब केही पृथक योजना ल्याउन जरुरी छ। किनकी अब फेरि मजदूरलाई सहरले अपहेलित गर्न नसकोस्। देशमा रोजगारीको स्थिति निकै खराब छ।
ठूलाबडा अनि हुने खानेसँग सुख, दुख बाड्न कैयौँ मानिस अनि श्रोत साधन पनि छन्। मिठा परिकार सामाजीक संजालमा बाँडेका छन्। राहत छ उनीहरुसँग बाड्न। हुनेखानेले अनलाइन व्यापार, अनलाइन तालिम अनि अनलाइन शिक्षा समेत बाँडेका छन् तर मजदूरसँग त मात्र दुःख बाँड्न समेत कोही छैन।
उनीहरु आफ्नो दुःख कोसँग बाँड्ने? पहिला पनि त मजदूरहरुको दुःख कसले कति सुनेको थियो र? उनीहरुको जीवनको सुखको लागि कसले के गरेका थिए र? उनीहरु पहिला पनि मजदूर थिए, आज पनि मजदूर छन् भने भोलि पनि मजदूरै रहने छन्।
यिनै बेरोजगार, गरिब अनि मजदूरका नाममा राजनीतिक दललाई आफ्ना घोषणा पत्र बनाउन अनि भोट माग्न सजिलो भएको थियो तर अब मजदूरको संख्या बढेपछि त झनै सजिलो हुने भयो। जताततै फाइदामा धनिमानी अनि राजनीतीकर्मी नै देखिएका छन्। कोरोनाले निकै धेरैको जिंदगी तहस-नहस गरेको छ।
गरिबीले सधै जसो मध्यम वर्गका मानिसलाई नै चपेटामा लिएको छ। न त उनीहरु छ भन्न सक्छन्, न त छैन भन्नै सक्छन्। यस वर्गका मानिस कसरी अनि कहिले होला उघो लाग्ने? यो भन्न वा अनुमान लगाउनै पनि निकै मुस्किल छ।
सायद कसैले अनि कहिले कल्पना समेत गरेका थिए होलान् कि, हर कोही आफ्ना आफ्ना गुँडतर्फ उल्टा कदम पैदलै फिर्लान् भनेर। जुन काँधमा सहर लिएर हिँडेका थिए, त्यही सहर बिरानो बन्ला भनेर। जुन सहर उनीहरुको सहारामा हिडेको थियो, आज उनीहरुलाई सहारा चाहिदा किन मौन छ सहर?
मजदूर यो गुनासो गरुन् पनिको सँग? कसले सुन्ला उनीहरुका रोदन? केबल मौन भइ घृणाको नजरले हेर्न अनि बिदाइका हात समेत नहल्लाई बिदा हनु सिवाय उनीहरुसँग अन्य विकल्प छैन। बसुन् त्यही सहरमा त केका लागी? छोडुन सहर त केका साथमा?
त्यसैले त भन्दै आएको छु, मजबूर हुनु नै मजदूर हुनु रहेछ।