विश्वमा माहामारिको रुपमा फैलिरेहको कोरोना भाइरस (कोभिड-१९) को असर दिनानुदिन फैलिरेको छ। देशमा संक्रमितको संख्या वृद्धि भईरहेको छ।
विभिन्न क्षेत्रमा काम गर्ने कर्मचारी, मजदूर, शिक्षक, विद्यार्थी, अभिभावक अन्यौल जस्तै अवस्थामा छन्। खासगरी यहाँ विद्यालयको शैक्षिक अवस्थाको बारेमा छलफल गर्ने प्रयत्न गरिएको छ।
चैत्र ११ गतेबाट देश बन्दाबन्दीमा रहेको छ। निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिका घरमै बस्नु परेको छ। २०७२ सालको भूकम्पले बालबालिकालाई एक किसिमको मनोवैज्ञानिक डर त्रास सिर्जना गरेको थियो भने कोरोना संक्रमणले अर्को किसिमको त्रास सिर्जना गरेको छ।
विद्यालयमा खेलिने कतिपय खेलहरु अब खेल्न नपाइने होकि, शिक्षकको नजिकै गएर वा नजिकै बसेर पढ्न नपाइने होकि, जस्ता धेरै प्रश्नहरु कलिला मन मस्तिष्कमा गडेका छन् भने भौगोलिक रुपमा विकट दुर्गम क्षेत्रका बालबालिकाहरुमा कोरोना भाइरस बारे केही अस्पष्टता पनि रहेको हुन सक्दछ।
त्यसैगरी बालबालिका सँगसँगै अभिभावका शिक्षक तथा विद्यालयसँग सम्वन्धित व्यक्तिहरुलाई पनि एक किसिमको मनोवैज्ञानिक त्रास पक्कै हुने गर्दछ। आफ्ना केटाकेटीलाई संक्रमण होला कि, आफ्ना विद्यार्थीलाई संक्रमण होला कि वा आफ्नो विद्यालय नै संकक्रमणको स्थल बन्ने हो कि जस्ता प्रश्नहरुले मनोबल कमजोर बनाउने गर्दछ या मनोवैज्ञानिक त्रास उत्पन्न गराईरहेको हुन्छ।
अर्कोतर्फ लामो समय लकडाउनपछि विद्यालय खोल्दा, पहिलाको अवस्थामा सञ्चालन गर्न नसकिने पनि हुन सक्दछ। विकट क्षेत्र हिमाल, पहाड, तराईका विभिन्न भूगोल वा क्षेत्रमा फरक-फरक किसिमका भौतिक संरचना निर्माण गरिएका हुन्छन्। कक्षाकोठा भित्र स्थाई किसिमले राखिएका फर्निचर डेक्स बेन्च, स्थाई किसिमले निर्माण गरिएका सामाग्रीहरु जस्तै कालोपाटी माथि स्थाई किसिमले राखिएको सेतोपाटी।
यसलाई अब विद्यालय सञ्चालन गर्दा अस्थाई किसिमले स्थान परिवर्तन गरेर पनि केही समय सञ्चालन गर्नु पर्ने हुन सक्दछ। यसलाई उदाहरणको रुपमा मात्र प्रस्तुत गरिएको हो। विद्यालय लामो समयसम्म नखोल्दा सरसफाई गर्नु पर्ने पनि हुन सक्दछ। विद्यालयमा लामो समय कोही नजादा भवन कार्यालय कागजपत्र पुस्तक बिग्रन सक्दछ। तिनको सदुपयोग र व्यवस्थापन पनि उत्तिकै आवश्यक हुन्छ।
ल्यापटप, कम्प्यूटर जस्ता विद्युतिय सामाग्रीलाई बेला-बलामा काममा ल्याउन सके थप समस्या आउदैन, जसले गर्दा आवश्यक परेको बेलामा नियमित काम गर्न सकोस्। यी र यस्ता विषयमा विद्यालयमा व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, प्रअ अभिभावकले सामाजिक दुरी कायम राखेर बैठक सञ्चालन गर्न सकिन्छ।
शिक्षक अभिभावक प्रअले अभ्यास गरेर अब विद्यालयको कक्षाकोठामा विद्यार्थीको सामाजिक दुरी कायम गरि शिक्षण गर्न सकिने सम्भावनाको खोजी गर्ने बेला पनि भएको छ। कक्षाकोठा मर्मत गर्ने सम्बन्धी छलफल, विद्यालयमा वृक्षारोपण गर्ने मनोवैज्ञानिक त्रासमा विद्यालय आउने बालबालिकालाई ढुक्क हुने वातावरण के कसरी बनाउन सकिन्छ, खेलमैदान, पिङ चाकाचुली स्थानीय श्रोतबाट निर्मित खेल स्थान तथा सामाग्री निर्माणका विषयमा विद्यालयमा छलफल बहस गर्ने समय पनि आएको छ।
त्यसैगरी विद्यालयको शैक्षिक शत्र अघिल्ला वर्षहरु जस्तो समयमा सञ्चालन हुन पाएको छैन यो समयलाई के कसरी व्यवस्थापन गर्ने? माध्यामिक तहसम्मको शिक्षाको अधिकार तथा जिम्मेवारी सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरेको हुनाले विद्यालयले स्थानीय तहसँग पनि केही मात्रामा छलफल गर्न सकिन्छ।
त्रासमा आउने विद्यार्थीहरुलाई विद्यालयमा कसरी स्वागत गर्ने र ढुक्क हुने वातावरण सिर्जना गर्ने भन्ने विषयमा त्रिपक्षिय सार्थक बहस र अभ्यासको खाँचो देखिन्छ। स्थानीय सरकार शिक्षक तथा अभिभावक।
विद्यालय व्यवस्थापन समिति, शिक्षक, प्रअ, अभिभावकले हप्तामा एक पटक भएपनि विद्यालय शिक्षा तथा केटाकेटीको स्वास्थ्य सुरक्षाको गहन छलफल र केही विज्ञहरुको सहयोगमा कोरोना भाइरसबाट बच्ने स्वास्थ्य सुरक्षा अभ्यास गर्नु आवश्यक देखिन्छ। कोभिड-१९ बाट बच्ने आधारभूत सीपको विकास सार्वजनिक स्थानहरुमा हुने जोखिम कम गर्ने अभ्यास सुरु गर्ने समय पनि आएको छ।
कतिपय विद्यालयमा अहिले पनि बालमैत्री शौचालय, खानेपानीको अभाव नै छ। कोरोना भाइरसबाट बच्ने मुख्य उपाय बाहिरी वस्तुको सम्पर्कमा गएपछि साबुनपानीले हात धुनु नै हो। तर विद्यालयमा शिक्षक विद्यार्थीले हात घुने व्यवस्था कसरी गर्न सकिन्छ भनि छलफल र केही काम गर्ने अवसर पनि हो यो बेला।
लकडाउनमा घर भित्र लामो समयसम्म जेल जस्तै जीवन बिताउन बाध्य बालबालिकाहरुमा विभिन्न किसिमका मनोवैज्ञानिक समस्याहरु देखिन सक्दछन्। दुई महिनादेखिको लकडाउनपछि आत्महत्या गर्ने संख्यामा वृद्धि भएको विभिन्न सञ्चार माध्यामबाट सुन्दै आएका छौँ। यस्तो समयमा हामीले लकडाउन सँगसँगै बालबालिकाले सिकेका ज्ञान सीपलाई पनि चलायमान बनाउनु पर्दछ।
कोरोना भाइरस सम्बन्धि विभिन्न किसिमका चुनौतीहरुलाई सामना गर्दै अगाडि बढ्नु अहिलेको आवश्यकता हो र एउटा जीवनको असल पक्ष पनि। जुन २०७२ सालको भूकम्प सँगसँगै अगाडि बढेका थियौं। एक नागरिकले आफू बच्नु र अरुलाई बचाउनु नागरिक कर्तव्य हो। लकडाउन बढिरहँदा यसलाई एकपक्षीय रुपमा स्वीकार गरिरहनु मात्र यसको विकल्प होइन।
सामाजिक दुरी कायम राख्दै शैक्षिक योजना निर्माण गर्नु र कार्यान्वयन गर्नु आवश्यकता र बाध्यता पनि हो।