चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड-१९) अहिलेसम्म करिब २१३ देश र आसपासका क्षेत्रहरुमा फैलिसकेको छ। झन्डै ७० लाख मानिसहरु प्रभावित भैसकेको र झन्डै ४ लाख मानिसहरुको मृत्यु भएको अवस्था छ।
नेपालमा पनि यो भाइरस इन्फेक्सन दिनका दिन बढ्दै गईरहेको छ। यो लेख लेख्दासम्म तीन हजार जनाभन्दा बढीलाई सरिसकेको र थप सर्ने क्रम बढ्दै छ। १३ जनाको मृत्यु भैसकेको छ। यस्तो अवस्थामा डब्लुएचओले भनेअनुसार यो भाइरस प्लाष्टिक, कागज र स्टिल जस्ता वस्तुहरुमा पनि तीन दिनसम्म रहन सक्ने र संक्रमण हुने भएकोले हामीले दैनिक रुपमा निस्कासन हुने फोहर वस्तुहरुलाई सुरक्षित साथ व्यवस्थापन गर्नु अत्यन्तै आवश्यक छ।
हरेक घर परिवारबाट निस्कने फोहर वस्तुहरुलाई स्रोतमै वर्गीकरण गर्नुपर्ने हुन्छ। यस्तोबेला अझ बढी सजक भई आफूलाई र अरुलाई भाइरस सर्न नदिन सबैले फोहर वस्तुहरु स्रोतमै वर्गीकरण गरि सिक्ने र सिकाउने मौकाको रुपमा लिनुपर्ने हुन्छ। यसले कोरोना भाइरस समाप्त भएपछि पनि सहर सफा राख्न मद्दत मिल्नेछ।
१.फोहरलाई स्रोतमै कम गर्ने:
फोहर वस्तुहरु घरमा आउने मुख्य माध्यम भनेको नै हामीले पैसा तिरेर किनेर ल्याउने हो, वा कसैले उपहार वा मायाले दिने वस्तुहरुबाट आउने हो। त्यसैले कुनै पनि वस्तु हामीले किन्ने बेलामै आफूलाई आवश्यक भएको मात्र किन्ने र ल्याउने गर्दा राम्रो हुन्छ। अनावश्यक वस्तुहरु पसलमै छोडेको खण्डमा पसलेले पनि सफासँग राखि फोहर संकलन गर्नेलाई दिने गरेमा सफा वस्तुहरु बढीभन्दा बढी पुन: प्रसोधन केन्द्र पुग्ने हुन्छ र ल्यान्डफिल लगेर मिल्काउनु नपर्ने हुन्छ।
अर्को कुरा किनमेल गर्दा सस्तो, कम गुणस्तरीय सामान किन्ने नगर्दा राम्रो किनकि ती सामानहरु चाडै बिग्रिने र फोहर बन्ने हुन्छ। धेरै टिक्ने वस्तुहरु प्रयोग गर्दा अझ पैसाको खेरा पनि जादैन। विश्वको जुनसुकै क्षेत्रमा गए पनि फोहरको मात्र स्रोतमै कम गर्नुको अर्को राम्रो विकल्प छैन।
२.उत्पादित फोहरलाई स्रोतमै वर्गीकरण (सोर्स सेग्रिगेसन):
हामीले आफूले चाहँदा नचाहँदै पनि घरमा विस्तारै फोहर वा काम नलाग्ने वस्तुहरु आउने हुन्छ। त्यस्ता वस्तुहरु आउने बितिकै सफा अवस्थामै छुट्याएर राख्ने बानी बसाल्नु पर्ने हुन्छ। हामीले आफ्नो जीवनयापन गर्ने पहिचान बन्न जाने भएकोले सबैले घरमा आफूलाई काम नलाग्ने वस्तुहरु सफा अवस्थामै छुट्याई राख्ने गरे व्यवस्थित रुपमा घर सधैँ सफा हुन्छ र फोहर संकलन गर्ने गाडी नआएको अवस्थामा पनि कुनै ठूलो समस्या हुँदैन।
कुहिने वस्तुहरु एउटा हरियो प्वाल नपरेको भाडोमा राख्ने र नकुहिने सुख्खा वस्तुहरु कुनै एउटा बोरा वा प्लास्टिकमा राख्दा नि हुन्छ। कुनै वस्तुहरु यहाँले बिक्रि गर्न मिल्ने छ भने पनि त्यसलाई छुट्याई राख्न सकिन्छ।
३.पुन: प्रयोग गर्न मिल्ने वस्तुहरुलाई पुन: प्रयोग (रि-युज) गर्ने:
सुख्खा वस्तुहरु जस्तै कपडा, कागज, फलाम, सिशी, रबर, प्लास्टिक र अन्य धातुहरुका सामानहरु कुनै-कुनै आफूलाई पछि काम लग्न सकिन्छ। ती वस्तुहरु पहिलेकै कामको लागि वा अन्य प्रयोजनको लागि पनि हुनसक्छ। त्यस्ता वस्तुहरु बाट आफ्नो सीप/कलाअनुसार प्रयोग गर्ने बानीले पैसाको पनि बचत र फोहर उत्पादन पनि कम हुने हुन्छ।
आजकाल युट्यूब, पिनट्रेस्ट तथा अन्य धेरै सामाजिक संजालहरुमा यस्ता पुन: प्रयोग गर्न मिल्ने सीपहरु बारे जानकारीहरु दिएको हुन्छ। ती कुराहरु हेरेर पनि आफूले धेरै वस्तुहरुलाई पुन: प्रयोग गर्न सकिन्छ।
४.कुहिएर जाने वस्तुहरुलाई घरमै कम्पोष्ट मल बनाउने:
फोहरमैला व्यवस्थापन सम्बन्धि सन् २०१३ को एसियाली विकास बैंकको अध्ययन प्रतिवेदनअनुसार काठमाडौँ सहरी घरको फोहरमा ६६ प्रतिशत जैविक (कुहिने) वस्तुहरु निस्कन्छन्। त्यसैले ती वस्तुहरुलाई कम्पोष्ट मल सबैले बनाएको खण्डमा फोहरको धेरै मात्रामा समस्या समाधान हुन्छ।
कुहिएर जाने जैविक वस्तुहरु विशेषगरी भान्छाबाट निस्किन्छ। त्यस्ता वस्तुहरु अलग्गै एउटा भाडोमा राख्ने गर्नुपर्छ। घरमा सजिलैसँग कम्पोष्ट बिनको प्रयोग गरि कम्पोष्ट मल बनाउने सरल विधि यो तलको लिंकमा गएर हेर्न सकिन्छ। र यसबाट केही राम्रो प्रविधि सिक्न सकिन्छ।
https://www.youtube.com/watch?v=dIpoRKiS8PU&t=17s
सहरमा सानो कोठामा बसेका व्यक्तिहरुले पनि आफ्नै भान्छामा, कौसीमा छतमा जहाँ उपयुक्त हुन्छ त्यता राखी कम्पोष्ट मल बनाउन सकिन्छ। कम्पोष्ट मल बनाउदा सानोभन्दा सानो नकुहिने वस्तुहरुको टुक्राहरु जस्तै दुधको प्लास्टिकका टुक्रा, चाउचाउको मसालका प्लास्टिकका टुक्रा, अन्य चिजहरु बिर्सेर पनि राख्नु हुँदैन। तरकारी केलाउँदा, काट्ने गर्दाखेरी नै फाल्नुपर्ने वस्तुहरु पनि छुट्टै राखी त्यहि समयमै काटेर मात्र कुहिने वस्तु राख्ने भाडोमा राख्ने गर्नुपर्छ।
यसो गर्दा पछि काम गर्न सजिलो हुन्छ। मल बनाउँदा कुहिने वस्तुहरु एकै प्रकारको मात्र राखेर बनाउनेभन्दा थरीथरीको कुहिने वस्तुहरु मिसाएर राखेको खण्डमा राम्रो हुन्छ। कम्पोष्ट मल बनाउने सुस्म जीवाणुहरुको मार्फत हुने भएकोले यिनीहरुको लागि चाहिने पर्याप्त हावा, पानीको मात्रा, तथा जोरनको आवश्यकता पर्छ। भिडियोमा सबै वस्तुलाई मसिनो टुक्रा-टुक्रा गरि चनाचटपट बनेको जस्तरी राम्ररी मिसाएर मात्र कम्पोष्ट बनाउने भाडामा राख्ने गर्नु राम्रो हुन्छ। जसले गर्दा सूक्ष्मजीवाणु अनुकुल वातावरण बन्न मद्दत हुन्छ।
यसरी मल बनैसकेपछि आफैले ४-५ वटा गमला वा कौसी खेती नै गर्न सकिन्छ। जसले गर्दा हरियो ताजा विषादीरहित तरकारी उत्पादन आफैले गरि स्वस्थ खाना खान सक्नुहुन्छ।
५.नकुहिने सुख्खा वस्तुहरुलाई पुन: वर्गीकरण गर्ने र भण्डारण गर्ने:
नकुहिने वस्तुहरु जुन हजुरहरुले पुन: प्रयोग गर्न सकिदैन ती वस्तुहरुलाई सफा सुख्खा गरि बोरामा वा प्लास्टिकका झोलामा बन्द गरि राख्न सकिन्छ। सुख्खा वस्तुहरु जस्तै कागज, निश्चित खालको प्लास्टिकका सामानहरु (एलडिपिई, एचडिपिई, पिभिसी, पिइटी), नफुटेको सिसीहरु, जुत्ता चप्पलहरु, फलाम तथा अन्य धातुहरुलाई आरामले बिक्री गर्न सकिन्छ।
यसको लागि सामाजिक संजालमा र विभिन्न नयाँ कम्पनीहरु खुलेका छन्। जस्तै: कबाडी एट योर डोरस्टेप, Khalishisi, आदि जसले घरघरमै आएर संकलन गर्ने व्यवस्था गरेको छ। खालीसिसी। त्यसबाहेक बाटोमै पनि खालीसिसी भन्दै आउने साइकलवालाहरुले पनि किन्ने गरेको छ। तिनीहरुलाई पनि बेच्न सकिन्छ। यसले गर्दा फोहरको मात्रा घट्ने र थोरै भएपनि आम्दानी पनि हुनेछ।
अन्य वस्तुहरु सुरक्षित साथ भण्डारण गरेर राख्दा केही फरक पर्दैन र फोहर संकलन गर्ने गाडी आउँदा मात्र दिने गर्नुपर्छ।
६.औषधिजन्य वा रगत जन्य वस्तुहरुलाई अलग्गै राख्ने:
घरमा कहिलेकाहि कसैलाई घाउ चोटपटक लागेको, तथा कुनै औषधि उपचार गरिरहेको व्यक्ति हुनुहुन्छ भने त्यससँगै औषधिजन्य तथा संक्रमण हुने फोहर वस्तुहरु निस्कने हुन्छ। त्यस्ता वस्तुहरुलाई छुटै एउटा प्लास्टिकका झोलामा झोल नखस्ने गरि जम्मा गरि राम्ररी बन्द गरिराख्नुपर्छ। ती वस्तुहरुबाट संक्रमित हुने सम्भावना बढी हुने भएकोले यसलाई क्रस चिन्ह (X)लगाई सुरक्षित साथ राख्नुपर्छ र फोहर संकलन गर्ने गाडी आउने बेला संकलन कर्तालाई राम्ररी देखाई दिनुपर्छ।
यसले गर्दा संकलनकर्ताले पनि सुरक्षित साथ ती वस्तुलाई गाडीमा राखेर लान सकिन्छ र संक्रमित हुनबाट बच्न सकिन्छ। ती वस्तुहरुलाई नेपाल सरकार, स्वास्थ्य मन्त्रालयबाट जारी गरिएको स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन निर्देशिकाअनुसार सुरक्षित तवरले अटोक्लेव गरि निर्मलीकरण गरेर मात्र व्यवस्थापन गर्नुपर्छ। त्यसैगरी महिलाहरुको महिनावारीको बेला लगाउने प्याड र बाच्चाहरुको डाइपरहरु पनि राम्रोसँग प्लास्टिकको झोलामा बन्द गरि दिनुपर्ने हुन्छ।
महिनावारीको प्याड र डाइपर खासमा वातावारणमा सचेत युवा पिडीहरुले प्रयोग नै बन्द गरिसकेको अवस्था छ। यसको लागि अन्य विकल्पहरु जस्तै महिनावारी कप, टेम्पन र घरेलु कपडाको प्याडहरु प्रयोग गर्ने गरेका छन्। यसले फोहर न्यूनीकरणगर्न धेरै सहयोग गरेका छन्। त्यसैगरी बालबालिकालाई पनि डाइपरको सट्टा कपडाको डाइपर प्रयोग गर्ने गरेका छन्।
७. पुन: चक्रण (रिसाइकल)मा पठाउने:
फोहर वस्तुहरु माथि उल्लेख गरेअनुसार वर्गीकरण गर्ने गरे कम फोहर मात्र ल्यान्डफिल लागि बिसर्जन गर्ने हुन्छ। कुहिने वस्तुहरु घरमै कम्पोष्ट मल, वा बायोग्यास बनाई प्रयोग गरे आफैले पुन: चक्रण गरेको धेरै मात्रामा पृथ्वीको बायुमन्डलमा विषालु कार्बन ग्यास (जसलाई हरित् गृह ग्यास पनि भानिन्छ) त्यसलाई कम गर्न ठूलो मद्धत मिल्नेछ।
यसको फाइदा अपरम्पार छ। र घरमा सबै सुख्खा वस्तुहरुको पुन: प्रयोग गर्न नसकिने भएकोले ति वस्तुहरु सुरक्षित रुपमा भण्डारण गरि बेला-बेलामा पुनः चक्रणको लागि पठाउने गर्नुपर्छ। फोहर संकलन गर्ने गाडी आउदा मात्र दिने गर्दा तिनीहरुलाई पनि काम गर्न सजिलो भई फोहरलाई पुन: ल्यान्डफिलमा लागि मिल्काउने मात्रामा कम हुन गई स्वच्छ वातावरणमा थप टेवा पुग्न जानेछ।
८.अन्तिम विसर्जनको लागि पठाउने:
फोहर व्यवस्थापनमा संलग्न कामदारहरुलाई कोरोना संक्रमण हुने डर बढीमात्रामा हुने भएकोले आफूलाई काम नलाग्ने वस्तुहरु सुख्खा राखि सुरक्षित तवरले ७२ घण्टासम्म आफ्ने स्थानमा राखी त्यसपछि मात्र संकलन गर्न आउने बेला गाडीमा दिने गरेको भए, फोहरबाट भाइरसको संक्रमणको जोखिम कम हुने हुन्छ। कामदारहरुले पनि आवश्यक मात्रामा सुरक्षित कवज लगाई मात्र संकलन, र प्रसोधनका काम गर्नुपर्ने हुन्छ।
अन्त्यमा भन्नुपर्दा, हामीहरु धेरै स्वार्थी भएका छौँ र हामीले जहिले पनि 'मैले मात्र गरेर के हुन्छ र सबैले गर्नुपर्यो नि', 'मैले फोहर छुट्याए पनि लानेले मिसाएर लान्छ', 'कम्पोष्ट बनाउने ठाउँ छैन, यो त नगरपालिकाको काम हो नि' जस्ता कुरा गर्दै बहाना बनाई पन्छिने बानीले हामीलाई सधै फोहरी सहरमा बस्नुपरेको अवस्था छ। त्यसैले फोहर व्यवस्थापन भनेको सम्पूर्ण नागरिकले उत्पादन गर्ने र सधै निरन्तर रुपमा सबैले गर्ने काम हो।
सबैले अनिवार्य रुपमा गर्नुपर्ने कुरा हो, यसलाई व्यवसायको रुपमा नहेरी सबैले साथ दिनु पर्छ। जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकारको विषय हो भनेर बुझेर सहयोग गर्ने अवस्था हो। आशा छ यसरी सबैले अपनत्व लिई आ-आफ्नो तर्फबाट काम गर्दिने हो भने काठमाडौँ सफा हुन धेरै बेर लाग्दैन।
(लेखक फोहरमैला व्यवस्थापन संघ नेपालका प्राविधिक सल्लाहकार एवम् ब्लु वेस्ट टु भ्यालुका सह-संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत हुन्।)